कला र व्यापार–व्यवसाय पर्यायवाचीको रुपमा जोडिएको छ । कलालाई सिर्जनशील र व्यावसायिक कला भन्ने प्रचलन छ । तथापि सिर्जनशील कला पनि बिक्रीका लागि नै राखिन्छन् । दुवै कलाहरू बिक्री हुने हुनाले यसलाई अलग्याउन भने सजिलो छैन । सामान्य अर्थमा व्यवसाय–कला भनेकोे ठूलो मात्रामा उत्पादन गरेर यसलाई सस्तो मूल्यमा बेचिने कला हो । यसलाई फ्याक्ट्रीमा उत्पादन गर्ने वा नक्कल गरी बनाइने वा पार्श्वभागमा मिसिनको प्रयोग गरेर एकैजस्तो देखिने कला भन्ने सामान्य अर्थ लगाइन्छ । तर आजको समसामयिक कलाको नौलो धारले यस्ता विशेषतालाई उछिनी सकेको छ । यसको हेक्का भने हामीले गरेका छैनौँ । आज व्यवसायीले बनाएका कलालाई आधार मानेर आफ्नो अवधारणा मात्र गाँसेर कलाकारले सिर्जनशील कला बनाइसकेका छन् । यस्ता कलाहरू कत्ति बिक्री हुन्छन्/हुँदैनन् थाहा छैन । तर ठूलाठूला कलाकारहरू यस्ता कला बनाउन लागिपरेका देखिन्छन् । यस्तै स्वरुपमा बनेको एउटा इन्स्टलेसन कलालाई भर्खरै लन्डनको बजारमा राखियो । र, आम मान्छेले यसलाई टिकट काटेर अवलोकन गरे । अस्थायी रुपको इन्स्टलेसन कलालाई स्थायी रुपमा दिगो बनाउने यो प्रक्रियाले गर्दा अब जस्तो कला पनि व्यवसायको परिधिभित्र अटाउने निश्चित छ ।

सामान्यतया इन्स्टलेसन कला भनेको निश्चित समयमा, निश्चित ठाउँ र दर्शकको लागि बनाउने कला हो । जसलाई प्रदर्शन गरिसकेपछि भत्काएर पुनः व्यावसायिक कलाको रुपमा वा उपयोगी कलाको (वस्तुको) रुपमा दोकानमा बेच्न भनेर राखिन्छ । यसरी व्यावसायिक वस्तु कलाको रुपमा अनि तत्क्षणै आम उपभोक्ताको लागि उपभोग्य वस्तुको रुपमा परिणत हुन्छ ।

भावकले त्यही वस्तु कलाको रुपमा हेर्छन् अनि उपभोग पनि गर्दछन् । आज यसरी कला मानव मात्रको एक अङ्गजस्तो बन्न पुगेको छ । यसर्थ यी थरीथरीका चरित्र बोकेका र नामाङ्कन गरिएका कलाको सिमाङ्कनलाई कसरी अलग्याउने अर्को ठूलै चुनौती छ । विदेशमा कलालाई विश्लेषण गर्ने चलन छ र आधिकारिक परिभाषासहित नाम दिने प्रचलन पनि छ । नेपालमा यसो गर्न चासो नदिँदा अझ यसले अन्योल थपिने काम भएको देखिन्छ । सामान्य अर्थमा व्यावसायिक कला गर्नेलाई कारीगरी भन्ने चलन पनि छ । उही कलाकार कहिले कारीगरी, कहिले शिल्पी अनि कहिले पुनः कलाकारको रुपमा काम गर्न सक्छ । कलाकार जन्मजात हुन्छ अनि जीविकोपार्जनका लागि, रमाइलोका लागि, वा आफूले मानी आएको धर्मको लागि वा मनाउँदै आएको जात्रा–पर्वका लागि विविध प्रकारका कला बनाउँछ । यसर्थ साधारण रुपमा बुझिने हो भनेदेखि यी सबै कला नै हुन् । अलग अलग ठाउँ र सन्दर्भमा अलग अलग स्वरुप र नाउँ बोकेका हुन् भन्दा सम्भवतः फरक पर्दैन । तर यसबारे खुलेर नभन्दा वा आधिकारिक रुपमा यसको चर्चा बहस नहुँदा हाम्रो कला हामीलाई नै नबुझिने भएर देखापरेको छ । मूल कुरा के हो भने कारीगरी, शिल्पी वा कलाकारको अर्थ र परिभाषा कहीँ उल्लेख भएको भने पाइँदैन । यी दुवै समान दर्जाका हुन् भन्दा पनि कारीगरी भन्दा कलाकारलाई माथिल्लो दर्जामा राख्ने प्रचलन चाहिँ अहिले पनि छ ।

उहिले यस्तै कला बनाउने तर व्यवसायकै रुपमा लान नमिल्ने कला बनाउनेलाई शिल्पी भन्ने चलन थियो । धार्मिक कला वा परम्परागत कलाको रुपमा विशेष गरेर चिनिने यस्ता कलाहरू बेचिन हुँदैन भन्ने बलियो मान्यता थियो । तर आज यी र यस्तै कलाहरू पनि अझ बढी मात्रमा बेचिने गरिन्छ । विशेष गरेर धर्म–पंडितहरूको निर्देशन अनि राजा महाराजाको लगानीमा यस्ता ठूला ठूला मूर्ति वा चित्र बनाइन्थ्यो । कति ठाउँमा कलाकारलाई विशेष मान्यता दिएर मान–सम्मान गरेको पनि देखिन्छ भने कतिमा केही अर्थ वा सुविधा दिएर पनि यस्ता चित्र वा मूर्ति बनाउने गरिन्थ्यो । अहिले बुझिने भाषामा यसलाई कमिसन वर्कको रुपमा लिने गरिन्छ । अनि कमिसन वर्क भनेको अर्कैको इच्छा र चाहनाअनुसार बन्ने हुनाले यसमा कलाकारको सोच, आफ्नोपन हुँदैन भन्ने अर्थमा यसलाई व्यवसायी कला भन्ने प्रचलन छ । तथापि यस्ता कलाहरूमा कलाकारको आफ्नो निजी विशेषता, वा सिर्जनशीलता कसो गरे हुन्छ वा हुँदैन भन्ने कुरा भने कहीँ अध्ययन गरेको देखिँदैन । सतही स्तरमा रहेको यस्तो प्रचलनले गर्दा यसलाई पुनर्व्याख्या गर्नुपर्ने क्षेत्र भनेको अनुसन्धान हो । जसलाई कलाका आधिकारिक निकायहरूले आँखा चिम्लेर पाखा लगाएको अवस्था छ । यसर्थ पनि यसबारे अन्योल कायमै रहेको छ ।
कुनै पनि कलामा प्रत्यक्ष रुपमा अर्थको संलग्न नदेखिए पनि एक प्रकारले कहिन यसमा कहीँ न कहीँ अर्थको लगानी हुने हुँदा यो व्यापार–व्यवसायजस्तै स्वरुपमा देखिन्थ्यो । उहिले जमानामै वाह्य राष्ट्रसँग सम्बन्ध बलियो बनाउन वा व्यापार व्यसाय बढाउन यस्ता कलाहरू उपहारमा दिने प्रचलन थियो । यस प्रकारले वाह्य धेरै कलाहरू नेपाल पसेको छ भने नेपाली कला पनि वाह्य राष्ट्रमा पुगेको इतिहास छ । कालान्तरमा यस्तै कला व्यापारको रुपमा मुख्य विषय पनि बनेका छन् । हातैले बनाउने अति मिहिनेत पर्ने अनि आफ्नै एक सीप र अलग स्वरुप देखापर्ने भएकोले गर्दा पनि विदेशमा यसको माग ज्यादा हुने गर्दछन् । अनि यस्ता कलाहरू स्वाभावतः व्यवसायमा परिणत हुने गर्दछ ।

आज व्यवसायी कला वा सिर्जनशील कलामा कलाकार वा आम मान्छे पनि चासो राखेको देखिदैन । किनकि आज क्राफ्ट रुपमा चिनिने कला मात्र व्यवसायी कला भन्ने प्रचलन छैन कि उहिले जमानामा बनेका सिर्जनशील कला पनि आज व्यवसायी कला बनेको छ । यसलाई मापन गर्ने खासै सूचकहरू विकसित भएका छैनन् । कलालाई आय आर्जनको गहकिलो स्रोत हुन सक्छ भन्ने राष्ट्रको सोच फितलो भइदिँदा यसका कला मात्र हेर्ने अधिकांश निकायहरू पनि कलालाई अर्थको रुपमा परिणत गर्ने पहल गर्न सकेका छैनन् । व्यापार व्यवसायलाई सरकारी लगानीमा प्रोत्साहनको रुपमा देखिन हुँदैन वा लगानी गरे पनि यसबाट सरकारलाई करको रुपमा अर्थ वापसी गरिनु पर्छ भन्ने अवधारणा थियो । आज व्यावसायिक कला भनिने कलाहरू प्रज्ञा प्रतिष्ठानको मूल विषयमा प्रवेश गरेको छ । तथापि यसलाई कसरी ग्रहण गरिरहेको छ । यसका कार्यक्रमहरू कसरी अगाडि बढिरहको छ सम्भवतः कसैलाई पनि स्पष्ट छैन । यो एउटा खड्किने कुरा हो भन्ने हेक्का भने हामीले राख्न सकेका छैनौँ ।

अझ गहिरेर हेर्दाखेरी भने व्यवसाय भनेर भनिने कलाभन्दा कयौँ गुणा बढी मात्रमा यस्ता सिर्जनशील कलाको मूल्य रहेको हुन्छ । सिर्जनशील कला एउटै हुन्छ तर मूल्य बढी हुने गर्दछ । दुवै कला सिर्जनामा कलाकार नै संलग्न हुने गर्दछ । दुवैमा शिल्प– दक्षता र रचना– दक्षता आवश्यक हुन्छ । मिहिनेत पनि हुन्छ, भावना र समय पनि लाग्ने गर्दछ ।

कलाको केन्द्रविन्दु
कला शुरूका कालदेखि नै उपयोगी कलाको रुपमा विकास भयो । पूर्व ऐतिहासिक कालमा प्राकृतिक झारपात वा जनावरको छाला वा हड्डीबाट लुगाफाटा वा हतियार बने । यी सबै अहिले पुरातात्विक कलाको रुपमा विश्वभरि नै ठूला ठूला कलाको सङ्ग्रहलायमा सजिएर रहेका छन् । ती कला आफैँमा महङ्गो मात्र होइन, यसैलाई अवलोकन गर्न पनि महङ्गो पैसा तिरेर हेर्नुपर्ने हुन्छ । यस हिसाबले गर्दा पनि कलालाई व्यापारको माध्याम बनाइयो भन्ने अर्थ निक्लन्छ । दैनिक प्रयोग हुने वस्तुहरू कलाको रुपमा विकास भयो । यति मात्र होइन हस्तकला जुन उपयोगी कलाकै एउटा रुप हो । हरेक जाति समुदायले आ–आफ्नो पहिचानलाई कायम राखी हस्तकला बनाए । कलाको रुपमा बने पनि पछि गएर यही हस्तकला पनि बिक्री वितरणको मुख्य क्षेत्र बन्न गएको देखिन्छ । संस्कारसँग आबद्ध भएर लोककलाको विकास भयो । पछिल्लो कालमा आएर कुनै पनि राष्ट्रको लागि आफ्नो मौलिकता झल्काउने पहिचानको रुपमा व्यापार व्यवसायको रुपमा विकसित भयो । धर्मको एक अभिन्न बनेको कला जुन धेरै समयसम्म बौद्ध कला वा हिन्दु कलाको वा धर्मको कुनै पनि सम्प्रदायको मुख्य अङ्ग बन्दै गर्दा आज यही परम्परागत कला पनि व्यवसायको रुपमा सबैभन्दा अगाडि बढेको छ । अरु कुरा त के आधुनिक कला वा उत्तर आधुनिक कला जुन सम्भवतः आफ्नो भाव अभिव्यक्तिको लागि बन्दै गयो वा पछिल्लो कालमा कन्सेप्चुअल कला जुन समसामयिक राजनैतिक वा सामाजिक सवालहरूलाई लिएर कला बन्न थाले यही कलाहरू पनि आर्ट कलेक्टरहरूले धेरै मूल्यमा किनेर यसलाई पनि व्यापारको रुपमा अगाडि लिएर आए । अनि आजका समसामयिक कलाकारहरू यस्ता अन्तर्राष्ट्रिय आर्ट कलेक्टरको नजिक हुन चाहन्छन् । स्वाभावतः वाह्य देशमा यस्ता संस्कार र प्रचलन बढी हुने हुँदा आजको नेपाली कलाको स्वरुप पनि कता कता वाह्यका कला जस्तो भएको छ । कार्यक्रम र कलाको भाषा पनि वाह्य राष्ट्रको जस्तो हुँदा भने हाम्रो कलाको मौलिकता हराएको भन्ने आरोप पनि हुने गरेको देखिन्छ । यसको केन्द्रविन्दु भनेको अर्थकै रहेको देखिन्छ ।

रिसेल भ्यालुको सन्दर्भ
आज कला रिसेल भ्यालुको रुपमा सबैको अगाडि आएको देखिएको छ । कलाले कसैको मन छुन्छ छुँदैन वा कसैलाई मन पर्छ पर्दैन । तथापि खारिएको शिल्प–दक्षताले भरिएका कलाहरू बिक्रीको रुपमा अब्बल मानिन थाल्यो । आज समसामयिक कलाहरू प्रदर्शन कक्षमा प्रदर्शित भइरहँदा पनि महङ्गा महङ्गा मूल्य सुचीको ट्याग टाँसिएको हुन्छ । साह्रो महङ्गो भएर हामी त किन्न नै सक्तैनौँ भन्ने उक्ति त नेपालमा प्रचलित नै छ । तथापि कुनै पनि कलाको रिसेल भ्यालु हुने हुँदा यस्ता कलालाई किनेर घरमा थुपार्ने अनि कुनै समय यसलाई पुन बिक्री गर्ने परम्परा विदेशमा यथेष्ट मात्रमा छ । त्यहाँ कलालाई भावनात्मक सामीप्य भन्दा पनि कलात्मक गुणस्तरको हिसाबले हेर्ने गरिन्छ । यस्ता कलाको गुणस्तरको पहल गर्ने पहिचान गर्ने कलाविद् र कला समीक्षकहरूलाई अति सम्मान गरिने संस्कार छ । नेपालमा भने यो क्षेत्र शून्य अवस्थामा छ भन्दा अतिशयोक्ति हुँदैन ।

(मल्ल नेपालका प्रख्यात कलाकार र कला समीक्षक हुनुहुन्छ ।)