माघमै गुराँस फुल्यो । चैत्र वैशाखमा गुराँस, चुत्रो फुलेनन्, एक दशक अघिसम्म वसन्त ऋतु चैत्र वैशाखमा बनैभरि फूल फुल्थे, जङ्गलको बाटो हिँड्दा मौरी ठोक्किन्थे, पुतलीको झिलिमिली र भमराको भुनभुनले गर्मीमा शितलता दिन्थ्यो अनि शिशिरको चिसो भुलाउँथ्यो। अहिले शिशिरको सिरेटो त शुरू हुनै नपाई सकिन्छ। यस्ता कुरा धेरै समयदेखि सामान्य भइसकेका छन्। हो, हिउँद छोटिँदैछ। वनस्पतिहरू चाँडो फुल्छन्, छिटो मर्छन्। यो विश्वव्यापी घटना हो, जसलाई विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन्।
यो किन भइरहेको छ त? उत्तर धेरै स्पष्ट छ, हामीले उत्सर्जन गरेको हरितगृह ग्यास (Greenhouse Gases) ले विश्वव्यापी रुपमा पृथ्वीको तापमान बढिरहेछ। त्यसैले हिउँद छोटिँदै गएको छ भने वसन्त ऋतु धेरै गर्मी । यसले सबै भन्दा बढी वनस्पतिलाई असर गरेको छ। वनस्पतिहरूमा छिटो फूल फुले पनि चाँडो पालुवा खेल्दा वातावरणबाट कार्बन डाई अक्साइड (CO2) अवशोषित हुन्छ, त्यसले फाइदा नै पुग्ला भन्ने अनुमान गरिएको थियो। तर अहिलेका अध्ययनहरूले त्यसको विपरीत निष्कर्ष निकालेका छन्। वास्तवमा वनस्पतिहरू छिटो छिटो मरिरहेका छन् अर्थात् आयु पनि घटिरहेछ अनि नयाँ वृद्धि अर्थात् नयाँ विरुवा उम्रने दर पनि उल्लेख्य रुपमै घटिरहेछ।
वैज्ञानिकहरूले ३० वर्ष देखिका विभिन्न ठाउँहरूको भू-उपग्रह आधारित तस्वीरहरु र तथ्यहरूको क्रमिक विश्लेषण गर्दा वनस्पतिहरू वसन्त ऋतुमा (Spring) जति वृद्धि हुनु पर्ने हो त्यो हुन पाएका छैनन्। हिउँदको अन्त्य छिटो हुने भएकाले जमीनमा भएको चिस्यानलाई वनस्पतिले छिटो अवशोषित गरिसक्छ अर्थात् जमीन छिटो सुख्खा हुन्छ। वसन्तमा खडेरी पर्ने र जमीन पनि छिटो सुक्खा हुने कारणले फूल फुल्न, नयाँ पालुवा लाग्न सक्दैन।
अमेरिकाको राष्ट्रिय फेनोलजी नेटवर्क (USNPN) ले सङ्कलन गरेको तथ्याङ्कअनुसार पछिल्लो दश वर्षमै वनस्पतिका फूल फुल्ने क्रम झण्डै तीन हप्ता अगाडि सरेको छ। कतिपय वनस्पतिहरू त यो सराइलाई आत्मसात गर्नै सक्दैनन् र फुल्नै सक्दैनन्। यो सञ्जालले दशकौँदेखिको अमेरिकाको विभिन्न क्षेत्रको वनस्पतिको फूल फुल्ने समयको तथ्यहरु राखिरहेको छ।
अमेरिकाको बोस्टन विश्वविद्यालयका जीव वैज्ञानिक रिचर्ड प्रिमाकले लेखक हेनरी डेभिड थोरोको १८४० देखिको डायरी र नोटहरू (जसमा म्यासाचुसेट्समा अवस्थित उनको वरिपरिको वनस्पतिहरूको बारेमा तथ्यहरु संकलित छन्) केलाउँदा अहिले ती वनस्पतिहरू १८४० को तुलनामा औसतमा तीन हप्ताअगावै फूल्न थालेको स्पष्ट गरेका छन्।
प्लोस वन नामक जर्नलमा प्रकाशित सो अध्ययनमा Massachusetts र Wisconsin राज्यमा गरिएको सर्वेक्षणअनुसार जुन वनस्पति मे महिनाको मध्यतिर फुल्नु पर्ने हो अर्थात् १८५० को समयमा मे महिनाको मध्यमा (Mid May) फुल्थ्यो सो २०१२ मा अप्रिल १ मै फुलेको पाइयो। Ericaceae परिवारका वनस्पतिहरूको त्यस्तो परिवर्तन देखियो जस्तो High Bush Blueberry (Vaccinium corymbosum)। हाम्रो गुराँस जाति पनि सोही परिवार अर्थात् Ericaceae अन्तर्गत नै पर्छ।
बोस्टन विश्वविद्यालयकी जीव वैज्ञानिक एलिजाबेथ एलवुड भन्छिन्, “वसन्त ऋतुको औषत तापक्रमको वृद्धिसँग फूल फुल्ने समयको प्रत्यक्ष गणितीय सम्बन्ध छ। यो समयमा भएको १ डिग्री सेल्सियस तापक्रम वृद्धिले वनस्पतिको फूल फुल्ने समयलाई ३.२ दिन अगाडि सार्छ। यो सम्बन्ध यति स्पष्ट र बलियो छ कि कुनै पनि अरु तत्त्वहरूले सो समन्धलाई असर पार्नै सक्दैन।”
उनी अझै थप्छिन्, ” कुनै प्रजातिहरू समयअगावै पनि फूल्न सक्छन्, तर सबैको त्यस्तो क्षमता हुँदैन। केही प्रजातिलाई सापेक्षित लामो शीतकाल (Cooling period) चाहिन्छ। त्यो नपुग्दा उनीहरू फूल्नै सक्दैनन्।”
यसरी आवश्यक शितकालको अभावमा फूल्न नसक्ने वनस्पतिहरू प्रायः सबै समशीतोष्ण (Temparate zone) र शित प्रदेश (Alpine zone) का बढी हुन्छन्। त्यसैले विश्वभरिका यिनै प्रदेशका वनस्पतिहरू तीव्र गतिमा ह्रास भइरहेछन्। यसको उदाहरण हाम्रो लेकमा रहेका सदाबहार कोणधारी जङ्गललाई लिन सकिन्छ। यी वनस्पतिको उम्रने दर यसै ढिलो हुन्छ, त्यसमा पनि फूल फूल्न नपाउँदा यिनीहरू विलुप्त हुने क्रम अकल्पनीय छ।
अमेरिकाको कृषि मन्त्रालयले जारी गरेको प्लान्ट हार्डिनेस जोन म्यापमा पछिल्लो २२ वर्षको तथ्याङ्क हेर्ने हो भने दक्षिणी उष्ण प्रदेशका वनस्पतिहरू उत्तरी समशीतोष्ण क्षेत्रतिर उक्लिरहेको देख्न सकिन्छ। त्यस्तै नेपालको उदाहरण नै हेर्ने हो भने पनि यो वृक्ष रेखाको सराई महसुस गर्न सकिन्छ। उष्ण प्रदेशका वनस्पति समशीतोष्ण क्षेत्रमा, समशीतोष्ण क्षेत्रका शित प्रदेशतिर उक्लेका छन् भने, शित प्रदेशका वनस्पतिहरू अब पाइन छोडेको छ।
यही १५ वर्षको मेरो भेडीगोठ बसाईको क्रममा Aconitum प्रजाति, सुनपाती भनेर चिनिने सुनपाती (Rhododendron anthopogon), पदमचालका केही प्रजातिहरू (Rheum sp), पाखनवेद (Bergenia sp) र Saussurea का प्रजाति आदि वनस्पतिहरुले नपत्याउँदो तरिकाले उचाइ लिएको म स्वयंले भेटेको छु। कतिपय शित प्रदेशका वनस्पतिहरू आजकाल भेटिन छोडेको म स्वयंको अनुभव छ। आजकाल चिलाउने, कटुसहरुले गुराँसका वनलाई प्रतिस्थापन गरिरहेका छन् भने पहाडी जङ्गलहरूमा मिचाहा वनस्पतिहरू कालिमुन्टे (Ageratina adenophora), वनफाँडे (Lantana camara), गाजरे घाँस (Parthenium hysterophorus), Mikania sp, Chromolaena sp जस्ता वनमारा जातिहरूले क्षति पुराइरहेका छन्।
फूल्नै छोडेका वनस्पतिको समस्या भन्दा समयअगावै फूल्ने वनस्पतिको समस्या पनि सानो छैन। धेरै वनस्पतिहरू आफ्नो फूलमा हुने परागसेचन प्रक्रियाको लागि निश्चित किटपतङ्ग, पुतलीहरुमा भर पर्छन्। ती वनस्पतिहरूमा फूल फुल्दा ती किटपतङ्ग, पुतलीहरु आफ्नो जीवनचक्रको प्युपा अवस्थामा मै हुन्छन् भने कति सुषुप्त अवस्थामा हुन्छन्। जब ती प्राणीहरू सक्रिय हुन्छन् त्यो बेला फूलहरु झरिसकेका हुन्छन्। त्यसले गर्दा एकातर्फ परागसेचन हुन पाउँदैन, त्यसैले वनस्पतिको बीज उत्पादन हुँदैन भने अर्कोतर्फ खानाको अभावमा ती प्राणीहरू पनि विलुप्त हुन्छन्। यो प्रक्रिया झन् भयानक छ जसले तीव्र गतिमा वनस्पति र प्राणीहरू विलुप्त हुन्छन् र पुरै वातावरणीय सन्तुलन बिग्रन्छ।
हामीले यी अवस्थाहरूको गम्भीर भएर सोच्ने विश्लेषण गर्ने आवश्यकता छ। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका प्रभावहरू प्रत्यक्ष देखिने भन्दा पनि परोक्ष देखिने बढी गम्भीर छन्। जलवायु परिवर्तनले जति वनस्पतिलाई प्रभावित गर्छ त्यति पृथ्वीको वातावरण बिग्रन्छ। हामीले फेर्ने श्वासको आपूर्तिदेखि खाद्य श्रृङ्खलामा आउने विचलनको परिणाम भयानक हुन्छ। मानव प्रजातिको सामुन्ने भोलि गएर स्वजाति भक्षणको भयानकता फेरि नदोहोरिएला भन्न कसले सक्छ र ? त्यसैले यस्ता परिवर्तनहरूको विश्लेषण बेलैमा गरौँ र आफूले सक्दो प्रयास आफ्नो स्तरबाट थालौँ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।