बाल्यकालबाटै रङहीन जीवन बाँचिरहेकी अचला आज बालक छैन । हुर्किएको बैंस र वसन्तले उसलाई पूर्णतया रंगाएको छ तर पुरानो संस्कारको घर उसलाई रङहीन र उजाड नै देख्न चाहन्छ ।
होली आयो रङहरूको उत्साह लिएर । पिचकारी, लोला, रङका प्याकेटका प्याकेट बजार भए । उल्लासमय भयो वातावरण । होलीले केटाकेटीहरूको मनलाई रङ्ग्यायो, युवायुवतीहरूलाई काउकुती लगायो ।
अचलाले झ्याल खोली र बाहिर हेरी । उसलाई रंगीन सरोवरमा झ्वाम्म फाल हाल्न मन लाग्यो । सम्पूर्ण बाल्टिका बाल्टी रङहरू आफूमै खत्याउन मन लाग्यो । अचलाको पुरानो घर बोल्यो – ”के हेर्छेस्, तेरो भाग्य नै यस्तै । छैटीका दिन भावीले लेखेकै त्यस्तै । रंगीनु हुन्न तैँले । तेरो जीवन फीका जीवन, तेरो जीवन सादा जीवन ।”

परम्परा दोहोरिएको भए सुनेर रुनु पर्थ्यो तर अचलालाई रुन मन लागेन । आश्चर्य, अचलाका मनहरू बात मार्न पो थाले । एक मनले हौस्यायो, अर्को मनले हप्कायो । हौस्याउने मनले भन्यो – ”जा रंगी रङहरूमा । डुबुल्की मार् | रंगीन पानीमा निथ्रुक्क भिज् । नाँच्न मन लागे नाच्, गाउन मन लागे गा | हार मान्नेहरूका लागि होइन जीवन ।” हप्काउने मनले भन्यो – ”ए, हेर्, लक्ष्मण रेखा हेर्, नाघिएला । समाजको धर्सो नाघेर तँ कसरी बाँच्छेस् यै समाजमा ।” मनहरूले लठारो खेलिरहे ।

ढोका थुनी अचलाले । ब्यागभित्र रहेका रङका पोकाहरू खोली । यसपालिको होलीमा रङहरूले निम्ताको सुपारी दिएजस्तो लाग्यो उसलाई, राता, नीला, काला, सेता, पहेंला सबै रङहरू मुखभरि दली । मुसुक्क मुस्काई । अनुभवले भन्यो – ”जीवनको गोधुली कति मिठो हुँदोरहेछ ।”
पुरानो घरले हप्कायो – ”यो के गरेकी अचला ?”
अचलाले नसुनेझैँ गरेर भित्तामा झुन्डिरहेको ऐनामा आफ्नो अनुहार हेरी । आज उसलाई मायालु स्वरमा कसैले बोलाए जस्तो लाग्यो – ”अचला !”