पूर्णतः संयत भैसकेपछि पाभेल बढी सिधासादा शब्दमा शान्तभावले बोल्न थाल्यो । भीड बिस्तारैबिस्तारै उसको अझ नजिक सर्न थाल्यो । मानिसहरु आपसमा यसरी टाँसिन थाले, मानौं त्यो भीड हजारौं टाउको भएको एउटै शरीर हो । त्यो भीड आफ्ना असङ्ख्य आँखाहरुले बडो ध्यानपूर्वक पाभेलको मुख हेर्दै थिए र उसका एकएक शब्द अमृतको थोपाजस्तो पिउँदै थिए ।
“त्यस बेलासम्म हामीले आफ्नो अवस्था सुधार्न सक्नेछैनौं, जबसम्म हामी सबै साथीहरु हौं, एउटा परिवारको सदस्य हौं, आफ्नो अधिकारहरुका लागि सङ्घर्ष गर्ने एकमात्र इच्छाको गाँठाले आपसमा बाँधिएका छौं भन्ने कुरा हामीले बुझ्नेछैनौं ।”
“कामको कुरा गर् ।” आमासँग उभिएको कुनै व्यक्ति रुखो स्वरमा चिच्यायो ।
“बाधा नदे !” एकैचोटि दुईतिरबाट आवाज आयो ।
तेलको दागले कालो भएका अनुहारहरु अविश्वास र निराशाको बादलले ढाकिएका थिए तर केही आँखाहरु बडो ध्यानपूर्वक पाभेलको अनुहार हेर्दै थिए ।
“समाजवादी रहेछ, तर उल्लू त होइन, हँ !” – कसैले आफ्नो मन्तव्य प्रकट गर्यो ।
“हँ, हँ, बडो हिम्मतसाथ बोल्दैछ !” – एक अग्लो कानो मजदुरले आफ्नो कुहिनाले आमालाई इसारा गर्दै भन्यो ।
“साथीहरु, अब हामी सबैले बुझ्ने समय आइसकेको छ । हामीले आफैंले आफूलाई मद्दत गरेनौं भने अरु कसैले हामीलाई मद्दत गर्ने छैन । यदि हामीले आफ्नो शत्रुलाई पराजित गर्नु छ भने हाम्रो नारा हुनुपर्छ – यदि कसैमाथि कुनै विपद आइलाग्यो भने सबैले उसलाई मद्दत गर्नेछन्, प्रत्येक व्यक्तिले सबैका लागि सङ्घर्ष गर्नेछ !”
“साँचो कुरा गर्दैछ ।” माखोतिनले हावामा आफ्नो मुठी हल्लाउँदै भन्यो ।
“डाइरेक्टरलाई डाक्नुपर्छ ।” – पाभेलले भन्दै थियो ।
अचानक भीडले चिसो हावाको एक लहर फैलिएजस्तो अनुभव गर्यो । भीडमा खलबली मच्चियो । एकैचोटि दर्जनौं आवाज सुनिए –
“डाइरेक्टरलाई डाक !”
“डाइरेक्टरकहाँ प्रतिनिधिमण्डल पठाउनुपर्छ ।”
आमा अझ अगाडि बढिन् र छोरालाई एकटकले हेर्न थालिन् । उनको हृदय गर्वले चम्कियो । उनको पाभेल यी प्रौढ, सम्मानित मजदुरहरुअगाडि उभिएको छ, सबै उसलाई सुन्दैछन् र उससँग सहमत हुँदैछन् । आमालाई मन पर्यो – पाभेल न अरुजस्तो रिसले बढबडाउँदैछ, न त गाली गर्दैछ ।
टिनको छानामा असिना बर्सेजस्तो मानिसहरुको गालीगलौज, क्रोधित शब्दहरु सुनिन थाले । पाभेलले त्यस भीडतिर हेर्यो, यस्तो लाग्थ्यो ऊ आफ्ना ठूलठूला आँखाहरुले केही कुरा खोज्दैछ ।
“प्रतिनिधि मण्डल छान !”
“सिजोभ !”
“भ्लासोभ !”
“रीबिन ! उसको दाँत नै भयङ्कर छ ।”
अचानक भीडमा खस्याकखुसुक सुनियो !
“ऊ आफैँ आउँदैछ .. !”
“डाइरेक्टर आउँदैछ .. ।”
भीड चुच्चे दाह्री र लामो अनुहार भएको एक अग्लो मान्छेलाई बाटो छाड्दै थियो ।
“बाटो दिनोस् !” – ऊ हातको इसाराले मान्छेहरुलार्य बाटो छाड्ने सङ्केत गर्दै अगाडि बढ्दै थियो । यस्तो लाग्थ्यो, कसैले छोला भन्ने उसलाई डर छ । ऊ आँखा खुम्चाउँदै मजदुरहरुलार्य एक त्यस्तो अनुभवी मालिकका दृष्टिले हेर्दै थियो, जसले अनुहार हेर्नासाथ नै मान्छे चिनिहाल्छ । मान्छेहरु हतारहतार आफ्नो टोपी फुकाल्दै उसको अभिवादन गर्थे तर अभिवादनको जवाफ नदिइकन ऊ अगाडि बढ्दै थियो । भीडमा सन्नाटा फैलियो । मानिसहरु अलि हडबढाएका थिए र लज्जित मुस्कुराहटसहित बिस्तारै कानेखुसी गर्दै थिए, मानौं उनीहरु बदमासी गर्दागर्दै पकडिएका केटाकेटीहरु हुन् ।
उसले कठोर दृष्टिले आमाको अनुहार हेर्यो र त्यहाँबाट अगाडि बढ्यो, अनि फलामको थुप्रोअगाडि गएर उभियो । कसैले उसलाई सहारा दिन आफ्नो हात अगाडि बढायो, तर उसले वास्ता गरेन, ऊ उफ्रेर माथि चढ्यो र पाभेल र सिजोभको अगाडि गएर उभियो ।
“किन जम्मा भएको हो यो भीड ? किन काम बन्द गरेका तिमीहरुले ?” एकछिन सबै चुप लागे । मानिसहरुको टाउकाहरु धानको बालीजस्तै झुल्दै थिए । सिजोभले आफ्नो टोपी हल्लायो, कुमको इसाराले आफ्नो विवशता प्रकट गर्यो, अनि टाउको झुकायो ।
“मेरो प्रश्नको जवाफ देऊ !! डाइरेक्टर चिच्यायो ।
पाभेल अगाडि बढ्यो र डाइरेक्टरको नजिक आएर सिजोभ र रीबिनतिर देखाउँदै ठूलो स्वरले भन्यो – “यहाँ जम्मा भएका साथीहरुले हामी तीनजनाको प्रतिनिधिमण्डल छानेका छन् । तपार्यले कोपेकको कटौतीसम्बन्धी आफ्नो आदेश फिर्ता लिनुपर्छ भन्ने हाम्रो माग छ ।”
“किन र ?”डाइरेक्टरले पाभेलतिर नहेरिकनै सोध्यो ।
“हामी यो कर अन्यायपूर्ण ठान्छौं ।” – पाभेलले ठूलो स्वरले भन्यो ।
“के तिमीहरु ठान्छौं, म यो धाप मजदुरहरुको रहनसहनमा सुधार गर्नका लागि होइन, उनीहरुको शोषण गर्नका लागि सुकाउन चाहन्छु ?”
“हो ।” पाभेलले जवाफ दियो ।
“तिमी पनि यस्तै सोच्छौ ?” – डाइरेक्टरले रीबिनतिर हेर्दै भन्यो ।
“हामी सबैको एकै राय छ ।”
“तिमी नि, महाशय ?” डाइरेक्टरले सिजोभलाई सम्बोधन गर्दे सोध्यो ।
“म पनि यही अनुरोध गर्छु, हजुर हाम्रो कोपेक हामीसँग रहन दिनोस् !” सिजोभ फेरि टाउको झुकाएर अपराधीजस्तो मुस्कुराउन थाल्यो ।
डाइरेक्टरले बिस्तारै भीडतिर हेर्यो र कुम हल्लायो । अनि पाभेलतिर फक्र्यो र उसलाई ध्यानपूर्वक हेर्दै भन्यो ।
“तिमी केही पढेलेखेको मान्छेजस्तो देखिन्छौ । के तिमी पनि यस कामको फाइदा देख्दैनौ ?”
“यदि फैक्ट्रीले आफ्नो खर्चले धाप सुकाउन लाएको भए हामी त्यसको फाइदा बुझ्थ्यौ होला ।” पाभेलले सबैले उसको कुरा सुन्न सकून् भन्ने उद्देश्यले आफ्नो स्वर चर्को पार्दै भन्यो ।
“फैक्ट्री कुनै धर्मशाला होइन ।” – डाइरेक्टरले रुखो स्वरमा जवाफ दियो –
“तिमीहरु सबै काममा फर्क !”
ऊ बडो सावधानीसाथ खुट्टाले फलाम छामछुम गर्दै कतै नहेरी तल ओर्लदै थियो ।
भीडमा असन्तोषको लहर फैलियो ।
“के हो ?” – डाइरेक्टरले बीचैमा थामिँदै सोध्यो । टाढाबाट आएको कसैको आवाजले त्यो निस्तब्धता तोड्यो ।
“जाऊ तिमी आफैं काम गर .. ।”
“यदि तिमीहरु सबै पन्ध्र मिनेटभित्र काममा फर्केनौ भने म सबैमाथि जरिवाना लगाउने आदेश दिन्छु ।” डाइरेक्टरले निकै कडाइसाथ चर्को स्वरमा भनयो ।
ऊ फेरि भीडमा बाटो बनाउँदै अगाडि बढ्न थाल्यो, तर यसपालि ऊ जतिजति अगाढि बढ्दै गयो, भीडमा उत्तिकै खलबली पनि बढ्दै गयो र यो खलबली गर्जनमा परिणत हुँदै गयो ।
“देख्यौ, कस्तो कुरा गर्छ !”
“यो पनि कुनै न्याय हो ! यस्तो जिन्दगी पनि जिन्दगी हो !”
अब उनीहरु पाभेललाई सम्बोधन गर्दै चिच्याउन थाले –
“ए कानुनवेत्ता, अब बता के गर्ने हो ?”
“भाषण त बडो मीठोमीठो गर्छस् तर मालिक आएर तेरो सब भाषणसाषण हावामा उडाइदियो नि !”
“लौ, भ्लासोभ बता, के गर्ने हो अब ?”
यी आवाजहरु चर्को हुन थालेपछि पाभेलले भन्यो –
“साथीहरु, मेरो प्रस्ताव छ, जबसम्म कोपेक काट्ने आदेश रद्द गरिँदैन, तबसम्म हामी काममा नजाऔं ।”
मानिसहरु उत्तेजित हुँदै भन्न थाले –
“के बेबकुफ ठानेको छस् हामीलाई !”
“के हड्ताल गर्ने रे ?”
“एक–दुई कोपेकका लागि ?”
“के भयो त ? हड्ताल भए हड्तालै सही ।”
“सबैलाई निकालिदिन्छन् .. ।”
“अनि कसले काम गर्छ त ?”
“भेट्टाइन्छन् !”
“गद्दारहरु ?”
पाभेल तल ओल्र्यो र आमासँग आएर उभियो । भीड उत्तेजित भयो । सबै उत्तेजित थिए, ठूलठूलो स्वरले आपसमा बहस गर्दै थिए ।
“तिमी यिनीहरुलाई हड्ताल गर्न कदापि मनाउन सक्दैनौं ।” – रीबिनले पाभेलको नजिक आएर भन्यो – “पैसाको लोभ त यिनीहरुलाई अवश्य छ, तर सङ्घर्ष गर्ने ह्याउ छैन । तीन सयभन्दा बढी मान्छेले तिम्रो साथ दिने छैनन् । यत्रो कुँडा करकट एकैचोटि कसरी साफ गर्न सकिन्छ र .. ।”
पाभेल चुप थियो । भीडको त्यो विशाल कालो अनुहार जसको अगाडि घुम्दै थियो र उसको आँखामा आफ्नो प्रश्नको जवाफ खोज्दै थियो । उत्तेजनाले गर्दा पाभेलको मुटु बेस्सरी हल्लिन थाल्यो । उसलाई लाग्दै थियो – उसको शब्दले कुनै प्रभाव पारिरहेको छैन, मानौं दीर्घकालीन सुख्खाले तप्त जमिनमा पानीका दुईचार थोपा झर्नासाथ गायब हुँदैछ .. ।
ऊ थाकेर र निराश भएर घर फक्र्यो । आमा र सिजोभ उसको पछिपछि आउँदै थिए, रीबिन ऊ सँगसँगै हिँड्दै भनिरहेको थियो –
“तिमी बोल्न त निकै राम्ररी बोल्छौ, तर हृदयसम्म पुगदैन । यही त छ कुरा ! तिमीले उनीहरुको मुटुसम्म पुग्ने गरेर बोलनुपथ्र्यो । उसको जुँगा र ओठ फड्फडाउँदै थिए र पेलागेया नीलोभ्नालाई लाग्दै थियो, ऊ हेर्न चाहना कहिले उनको आँखाबाट आँसु झर्नेछ र उनी छट्पटाउँदै ऊसँग प्रार्थना गर्न थाल्नेछिन् । आफ्नो समस्त शक्ति सँगालेर उनले छोराको हात समाइन् र सास रोकेर सानो स्वरमा बडो प्रेमपूर्वक भनिन् –
“लौ पाभेल, जा ! आफूलाई चाहिने सबै कुरा लिइस् होइन ?”
“सबै लिएँ आमा, हरेस नखानुहोला .. ।”
“ईश्वरले तेरो रक्षा गरुन् ।”
जब उनीहरुले पाभेललाई लिएर गए, उनी एउटा बेन्चमा बसेर चुपचाप रुन थालिन् । उनी भित्तातिर पिठ्यूँ फर्काएर बसेकी थिइन्, त्यसरी नै जसरी उनको लोग्ने बस्ने गथ्र्यो । उनको हृदय वेदनाले भरिएको थियो र उनलार्य आफ्नो निःसहाय अवस्थाको वेदनापूर्ण चेतनाले पिरोल्दै थियो । आफ्नो टाउको पछाडि फर्काएर आमाले लामो सुस्केरा हालिन् । यस क्रन्दनमा उनको समस्त वेदना उर्लिएको थियो । उनको दिमागमा त्यही मुकुण्डोजस्तो भावहीन पहेँलो अनुहार, त्यही पातलो जुँगा र खुसीले चम्किरहेका सानासाना आँखा घुम्दै थिए । उनको हृदयमा ती व्यक्तिहरुप्रति जो आमाहरुसँग उनीहरुका छोराहरुलार्य खोस्छन्, मात्र यसनिमित्त कि उनीहरु सत्य चाहन्छन्, कटुता र घृणाको घना बादल उर्लदै थियो ।
धेरै चिसो थियो र पानीका थोपाहरु झ्यालमा झर्दै थिए । आमालार्य लाग्दै थियो, लामालामा हात भएका, आँखा नभएका र राताराता अनुहार भएका खैरा आकृतिहरु रात्रि पहरेदारहरुजस्तो उनको घरवरिपरि चक्कर लगाउँदैछन् र उनी उनीहरुको बुटको मन्द आवाज सुन्दैछिन् । मलाई पनि लिएर गएका भए बेस हुन्थ्यो । आमाले मनमनै सोचिन् ।
मानिसहरुलाई काममा डाक्दै फैक्ट्रीको साइरेन बज्यो । किन हो कुन्नी, आज त्यो आवाज अरु दिनभन्दा कमजोर र आत्मविश्वासरहित लाग्थ्यो । ढोका खुल्यो र रीबिन भित्र पस्यो ।
“त्यसो भए समाएर लगे ?” – उसले आफ्नो भिजेको दाह्री हातले पुच्छ्दै सोध्यो ।
“हो, लगे पापीहरुले ।” आमाले लामो सास फेर्दै जवाफ दिइन् ।
“यो त पहिले नै थाहा थियो नि ।” रीबिनले बिस्तारै मुस्कुराउँदै भन्यो – “मेरो घरको पनि खानतलासी लिन आएका थिए, एकाएक खोतलेर हेरे । खुब गालीगलौज गर्दै थिए, तर बिगार–सिगारचाहिँ गरेनन् । ए, त्यसो भए पाभेललाई लिएर गएछन् ! डाइरेक्टरले इसारा गरे, पुलिसले टाउको हल्लाए र मान्छे बेपत्ता भइहाल्यो ! एकसेएक छन् । एकथरी सीङ समाउँछन् र अर्काथरी एकएक थोपा दूध निचोर्छन् ।”
“तिमीहरुले पाभेलका लागि आवाज उठाएको भए बेस हुन्थ्यो !” – आमाले आफू उभिएकै ठाउँबाट चर्को स्वरमा भनिन् – “उसले त यो काम सबैका लागि गरेको हो !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

