प्राग ऐतिहासिक कलाको सबैभन्दा पुरानो माध्यम जलरङ हो भन्ने कुरा मिश्रको अल्टामिरा र लसकस गुफामा पाइएका दस्ताबेजले प्रमाणित गरिसकेका छन्। मानिसले आफ्ना भावना व्यक्त गर्न र प्रकृतिलाई खुसी राख्न खरी ढुङ्गा र रुखका चोप पानीमा घोलेर चित्र बनाउँथे ।
धेरै समयपछि विशेष खालको चरित्र बोकेको रङलाई जलरङ भनेर परिभाषित गरियो। पुनर्जागरण कालमा माइकल एन्जलोले बनाएको “सिस्टिन च्यापल” लाई जलरङको इतिहासमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको रुपमा लिइन्छ।
अल्बर्ट डुअर ( जर्मन,1471-1528)लाई जलरङ माध्यमका सबै भन्दा अग्रज र विशिष्ट कलाकारको रुपमा लिइन्छ। उनले नै जलरङमा पारदर्शिता एवं उज्यालो र छायाँ ( लाइट एण्ड सेड)को सिलसिलाबद्ध प्रयोगलाई कागजमा उतारेका थिए।
त्यस्तैगरी हन्स बोल ( 1534-1593) ले जर्मनीमा जलरङको पाठशाला स्थापना गरेका थिए। ब्रिटेनमा “इङ्लिस आर्ट सोसाइटी” (1804 ) र न्यु वाटरकलर सोसाइटी (1832) को स्थापना भएपछि बिस्तारै अन्य देशमा पनि जलरङको परिचय स्थापित हुँदै गयो ।
त्यसो त ब्रिटिस साम्राज्यवादको स्थापनासँगै जलरङको प्रभाव विश्वव्यापीकरण भएको हो।
नेपाली जलरङको पृष्ठभूमि यिनै ब्रिटिस साम्राज्यवाद र छिमेकी देश भारतको सेरोफेरोमा बनेको छ। भारतमा ब्रिटिस साम्राज्यले आफ्नो जरो गाडिसकेपछि भारतीय समाज, कला र संस्कृतिमा बिस्तारै पश्चिमाकरण हाबी हुँदै गयो । यसको बाछिटा नेपाली समाज, कला र संस्कृतिमा नपर्ने कुरा भएन।
सन् १८१६ मा नेपालमा भारतीय दूतावासको स्थापना भएपछि भने नेपाली जलरङको क्षेत्रमा अर्को आयाम थपियो । उक्त दूतावासमा साजसज्जा गर्न उपत्यकाका चित्रकार समुदायका केही कलाकारहरुलाई रोजगारी दिइयो।
यसैक्रममा राजमानसिंह चित्रकारलाई चराचुरूङ्गी र जनवारका चित्रकला बनाउने जिम्मेवारी दिइएको थियो । उनले दूतावासमा पेन एण्ड इन्क र पानीरङका थुप्रै कलाकृति बनाएका थिए। उक्त ठाउँमा चित्रकलाको तालिमको पनि व्यवस्था गरिएको थियो।
सन् १८५० मा जंगबहादुर बेलायत भ्रमण गर्दा भाजुमान चित्रकारलाई सँगै लगेका थिए । त्यसैगरी सन् १९६८ मा राणा प्रधानमन्त्री चन्द्र शम्सेरले युरोपको भ्रमण गर्दा दीर्घमान चित्रकारलाई सँगै लगेका थिए।
यी दुई कलाकारले पश्चिमा कलालाई नजिकबाट नियाल्ने अवसर पाएका थिए। यही परिघटनालाई नेपालमा जलरङको पहिलो चरण शुरु भएको मान्न सकिन्छ।
पछि चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, केशव दवाडी लगायतका कलाकार भारतमा औपचारिक कला दीक्षा प्राप्त गरी फर्किएपछि नेपालमा जलरङले आकार ग्रहण गरेको देखिन्छ।
अमर चित्रकार, रामनन्द जोशी, मदन चित्रकार, दुर्गा बराल श्यामलाल श्रेष्ठ आदि कलाकारको प्रवेशपछि नेपाली जलरङले एउटा उचाई छोएको हो। पछिल्लो चरणमा केही युवा कलाकारहरुको प्रवेश भएसँगै नेपाली जलरङले नेपालमा मात्र सीमित नभएर विश्व जलरङको क्षेत्रमा आफूलाई परिचित गराउन सक्षम भएका छन्।
संस्थागत रुपमा नेपाल वाटरकलर सोसाइटी, ट्रान्सपरेन्ट वाटरकलर सोसाइटी र अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी अफ नेपालको स्थापना भएपछि जलरङले आफूलाई अब्बल दर्जामा उभ्याउन सफल भएको छ।
रतनकुमार राई, यादवचन्द्र भुर्तेल, बुद्धि गुरुङ,आलोक गुरुङ, श्रृजनकुमार राजभण्डारी, हरेराम जोजिजु, ज्ञानमणि राय, रमेश श्रेष्ठ, जीवन राजोपाध्याय, डिराम पाल्पाली, एनबी गुरुङ, डिबी राई, लालकाजी लामा, दीपेन्द्रमान बनेपाली, डि बराल, केशवराज खनाल, भीम श्रेष्ठ, महेन्द्र राई, विश्वराज पराजुली, विनोदकुमार गुप्ता, सुरेश स्याङ्तान, मनोज तामाङ लगायतका कलाकारहरु जलरङ विकास र प्रवर्धनमा लागिपरेका छन्।
यिनै कलाकारहरुको कलाकृतिमा देखिने विविधता, प्रयोग र प्रस्तुतिले अहिलेको नेपाली जलरङको अवस्थालाई देखाउँछ।
जलरङ चित्रकलाको सबैभन्दा पुरानो माध्यम र गौरवशाली इतिहास बोकेको माध्यम भैकन पनि वर्तमान विश्व परिदृश्यमा जलरङ मुर्छित अवस्थामा रहेको रहेको छ।
तेलरङ र एक्रेलिक कलर माध्यमको तुलनामा कम खप्ने, चाहेको आकारमा चित्र कोर्न नमिल्ने भएका कारणले यस माध्यमको आकर्षण घट्नुको प्रमुख कारण रहेको पाइन्छ ।
त्यसो त स्थापित कलाकारको मुख्य रोजाई र विद्यार्थी जीवनमा कलाकारिता सिक्ने ‘कि ड्रइङ’ को रुपमा लिइएका कारणले पनि जलरङ छायामा परेको हो।
यद्यपि मुर्छित अवस्थामा रहेको जलरङले बिस्तारै आफ्नो शिर उठाउने प्रयास गरेको छ। जलरङ प्रतिको गहिरो अध्ययन, सर्वसुलभ सामग्री र धेरै समयसम्म टिकाउने आधुनिक सामग्रीहरूको उपलब्धताले गर्दा यस प्रतिको आकर्षण बिस्तारै बौरिएको हो ।
ब्रिटिस वाटर कलर सोसाइटी, युरोपियन वाटरकलर सोसाइटी र अमेरिकन वाटर कलर सोसाइटीको सामूहिक प्रयासले यस प्रतिको आकर्षणलाई ह्वात्त बढाइदिएको छ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय जलरङ समाजको स्थापना भएसँगै जलरङ विश्वव्यापि भएको छ। अचेल हरेक दिनजसो जलरङ कला कार्यशाला, प्रदर्शनी र महोत्सवहरु निरन्तर भैरहेका छन् । सामाजिक सञ्जालदेखि छापाहरुमा प्रकाशित भैरहेका जलरङसम्बन्धी सामग्रीहरुले यस माध्यमको विकासलाई जबर्जस्त उजागर गरिरहेका छन्।
आउनुस्, आज हामी केही प्रतिनिधि जलरङका माध्यमबाट सिर्जित चित्रहरु अवलोकन गरौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।