यो माग्ने सित के माग्न खोज्यौ?
हैन ए ! निर्लज्ज बटुवा
पोल्टाको मकै पुग्ने भए लैजा
भोक छैन भने के हेरी बस्यौ?

रुप छैन आफ्नो बास छैन
किन लोभित हुन्छौ ए बटुवा
तेरो सुद्घी कता हराएछ !
निर्धो माग्नेसंग के लिन खोज्यौ ?

न गाँस छ न कपास आफ्नो !
यही बाटो मेरा बिछ्यौना
खुल्ला आकाशले छहारी दिंदैछ
एक्लो छाडी देऊ ए बटुवा !

अलका मल्ल

धर्तीका किरा फट्याङ्ग्राहरु
हर दिनका बाँच्ने साक्षीहरु
रात मेरा प्रिय सपनाहरु
बिहानी मेरा मुस्कानको पाटो ।

अनगिन्ति लालचमा नडुबाए है !
ए बहिरे अर्धङ्गे बटुवा !
यहाँ वायुका सुक्ष्म तरङ्गहरु
मेरै लागी धुन खोज्दैछन्

दिनहरु मेरा ऐना हुन्
बैँस मेरो नफुलेको फूल
कोही जान्दैनन् मेरा भाग्यहरु
तिखो हेराईले नघोचे बटुवा ।

केहि छैन स्वामित्वहरु धर्तीमा
साथ दिन नखोज रित्तो बाटोमा
दिलाउन नखोज आत्मीय पनहरु
ब्यर्थ यो संसारका माया जालहरु ।

यो माग्ने सित के माग्न खोज्यौ ?
हैन ए ! निर्लज्ज बटुवा
पोल्टाको मकै पुग्ने भए लैजा
भोक छैन भने के हेरी बस्यौ ?

काठमाडौं