उसै पनि करुणाको पढाइ राम्रो थिएन । केही समय यता स्वभाव पनि गम्भीर रूपमा बिग्रीयो । पढ्न भनेर कोठामा पस्ने र चुकुल लगाएर फिल्मी पत्रीका पल्टाउने , कापी र भित्तामा प्रेम निशानी कोर्ने र प्ंच् लेख्ने । फिल्मका डाइलग कण्ठस्थ पार्ने लत नै बसेको देखिन्थ्यो । उनी स्कुल ब्याग जस्ताको तस्तै राख्ने , खोल्दै नखोली स्कुल जाने गर्न लागिन् । बाबुआमाले सम्झाए, फकाए, धम्काए, पिटे । तर कुनै उपाय लागेन रे । सन्तानको नाममा दुई मात्र छोरीहरूमध्ये जेठीको यो हालतबाट चिन्तित उनीहरूले केही समय त ढाक्न खोजे । केही नलागेपछि कतै स्कुलले ठेगान लगाइदिन्छ कि भनेर मेरो सम्पर्कमा आए । बाबुआमालाई आफ्नो बच्चा बिग्रेको अरुलाई बताउँदा हुने
पीडासँग कुनै पीडालाई पनि तुलना गर्न सकिन्न । रुँदै हात जोडेर बिन्ती गरे, सर, प्लिज मलाई कम्पेलेन गर्न आएको थियोे नभनी दिनुहोला ऊसँग । बसीखानु हुँदैन फेरि । ती अभिभावकको हाउभाउले उनी बच्चा जस्ता लाग्दथे । मैले मेरो तर्फबाट नै कुरा गर्छु । त्यसैले, चिन्ता नगर्न भने। चिन्तै नगर्नु, हजुर आएको सुइँकोसम्म पनि पाउने छैनन् उनलाइ मैले आश्वस्त पारेर पठाएँ ।
अर्को दिन बिहान ११ बजे नै मैले उपस्थित गराएँ करुणालाई मेरो कार्यकक्षमा । अनुमति मागीन् र भित्र पसिन् । एक १३,१४ बर्षकी किशोरी लगलग काँप्दै थिइन् । ओठसम्म पनि काँपीरहेका थिए । प्रिन्सिपल रुममा बोलाईनु नै सजाय हो । नजर भुँईमा थियोे , पालैपालो हातका औंलाहरू पड्काउँदै थिइन् ।
प्रिन्सिपल हुनुको रवाफ देखाउने मौका
योभन्दा अरु के नै हुन सक्छ र मैले प्रश्नहरूको फायल खोलेँ किन पढ्दैनस् ? किन होमवर्क बुझाउन्नेस् ? किन भनेको मान्दैनेस् ? किन पर्पर स्कुल युनिफममा आउन्नेस् ? किन बाबुआमाले भनेको मान्दिनस् ? किन ? किन ?……………?
कुनै प्रश्नको पनि जवाफ आएन । फकाएर फेरि त्यस्तैत्यस्तै प्रश्नहरू सोधेँ । फेरि पनि कुनै जवाफ आएन । मुर्ति बोलोस् न ऊ बोलोस् । दुईपटक पाइपले पिडौलामा हिर्काए । तर पनि कुनै प्रतिक्रिया आएन । म आजित भएँ । घण्टी दबाएँ , पियन आए । मैले क्लासमा गएर उनको ब्याग ल्याउने आदेश दिएँ । ब्याग आयो । उनी तर्सीइन् किन, किन ११ एकएक बुक र कपी देखाउन भनेँ । उनले बडो जतनसाथ निकाल्दै देखाउँदै गरीन् । लगभग सबैजसो कपी खाली थिए र किताब सफा खोल्दै नखोले जस्ता थिए । अब बाँकी नरहेको संकेत गरीन् । मलाई शंका
लाग्यो र ब्याग खोसेँ । अर्कोतर्फ थप उल्लेखनीय बदमासी फेला पारेर केही थप कुट्नु थियो , प्रिन्सिपल हुनुको थप रवाफ देखाउनु थियो ।
मैले ब्याग खोतल्नै लाग्दा उनी पूरै नर्वस भइसकेकी थिईन् । बल्ल आवाज आयो , प्लिज सर नहेर्नु त्यो , आई वेग यु सर , प्लिज सर….. । वलिद्र आँसुका धारा खसाईन् आँखाबाट । लामो खोजका साथ अपराधका सबुत भेटाउँदा पुलिसको खुसी जस्तै म भित्रभित्रै खुसी थिएँ उसलाई हायलकायल बनाउन सफल भएकोमा । अझै ठूलो उपलब्धि हासिल हुनेवाला थियो म ढुक्क थिएँ । ब्यागको सानो सेक्सनतिर मैले एउटा डायरी भेट्टाएँ । उनलाई दोषी करार गर्ने प्रतिस्पर्धामा म विजय उन्मुख थिएँ भने उनी हार्दैहार्दै गईरहेकी थिईन् । प्लिज सर, आई बेग यु सर, नखोल्नु । बिन्ती गर्दै थिईन ।
तर मैले खोलेँ ।
पहिलो पृष्ठमा नै पानको पातमा दुईवटा छुट्टाछुट्टै फोटोहरू काटेर जोडेको थियोे । अंग्रेजी अक्षर प्ं च् लेखिएको थियोे र तलपट्टी ‘द बेस्ट कपल इन द वर्ल्ड’ लेखिएको थियोे ।
यो देखिसकेपछी मैले टाउको उठाएर हेरेँ देखिस् मलाई लुकाउन खोजेकी थिइस् नि भेट्टाएँ, अब पख् भावमा । तर अचम्म उनको भरखरै अधिको त्यो डरको भाव हराई सकेको थियो । म अंग्रेजीमा पड्कीए , ‘हे यु नन्सेन्स् रोटन् गर्ल , ह्वाट्स् इट ? पाना पल्टाउँदै गएँ । रगतको मसीमा प्रेमका वाणीहरू कोरीएका थिएँ । पढ्दा काँडैकाँडा आए शरीरभरि । प्रेमका अमर पुस्तक र फिल्महरूबाट उद्धरण गरिएका कथनहरू ११ कुनै कथनहरू त कति दुर्लभ थिए कि मैले अंग्रेजी साहित्यमा मास्टर्स गर्दासम्म पनि भेटेको थिइन जस्तो लाग्यो ।
प्रत्येक पृष्ठमा एउटा प्रेम कथन र एउटा त्यहीँ जोडीको फोटो थियो । उसैको पोटिलो शरीर र गोलो अनुहार भएको र अर्को उसकै जस्तो अनुहार भएको कालोकालो बर्णको १६, १७ बर्षको केटाको फोटो । दुईवटा काटेर फेरि गाँसेर एउटै बनाइएको, पृष्ठभुमिमा पानको पात हृदयको चित्र । अनि तल क्याप्सनमा ‘बेस्ट कपल इन द वर्ल्ड’ ।
मैले फेरि पाइपको छडी उठाएँ र पिडौलामा दुई पटक हिर्काएँ । मैले रिसले चुर भएको देखाएँ र उनको अनुहारमा एकोहोरो हेरिरहेँ । अचम्म उनले पनि टाउको ठाडो पारेर मलाई नै एकोहोरो हेरिरहेकी थिइन् । यसपालि उनीले कुनै प्रवाह गरिनन् ।
‘ह्वाट्स इट् ? मैले तर्साउन खोजेँ ।
‘इट्स् लभ बुढो’ ढुक्कसँग जवाफ दिईन् । मैले फेरि पाइप उठाएँ ।
ओके सर ‘किल मी, आइ डोन्ट केयर’ ढाड थाप्दै थिइन् उनी । म हिच्किचाएँ । मैले थप पिट्न सकिन । मेरा अघिदेखिका व्यबहार, हाउभाउ र प्रश्नहरूको जवाफी फाएर खोलिन् उनले । प्रेमका आधा दर्जन भन्दा बढी अमर वाणीहरू पोखिन् एकसासमै । ती वाणीहरू धेरै अंग्रेजीमा, केही नेपाली र केही हिन्दीमा थिएँ । कुनै रोमियो एण्ड जुलीयट लगायत प्रसिद्ध प्रेम कृतिहरूबाट उद्धरण गरिएका थिए भने कुनै तेस्रो श्रेणीका उपन्यास र फिल्मका डाइलग थिए ।
मैले आदेश भावमा उनलाई भने, यो सबै छोड । होइन भने म तँलाई स्कुलबाट निकाली दिन्छु ।
उनले बडो जोडदारसाथमा एउटा डाइलग भनिन् , ‘प्रेम झुकता नहीं’, सर । ऊसँगको संबन्धको अगाडि सबै कुरा गौण भएको
बताएकि मात्रै होइन घोषणा पनि गरीन् । ऊसँगको प्रेम उनको जिन्दगीको सबैभन्दा महत्वको कुरा रहेको खुलस्त गरीन् । मेरा प्रश्न बिना नै उनी बोली रहिन् । अघिको मूर्ति उनमा केले प्राण भरिदियो बोलीरहेछिन् ११ मेरो अघिको अक्त्तियारी सहितको बोली दबेको थियोे । उनले दोस्रो र बिदेशी भाषा प्रयोग गरिरहेकी थिइन् भने मैले कनीकुथी नेपालीका शब्दहरू निकालिरहेको थिएँ ।
मैले तिम्रो डायरी दिन्न, ल जफत भयो, म के भनुँ के भनुँ भन्दाभन्दै फुत्किएछ अनयासै मेरो मुखबाट ।
‘डायरी ११ इट् डजन्ट् मीन एनिथिङ्ग फर् मी नाओ’, उनले दायाँ हातले आफ्नो छातीमा जोडले च्यापिन् र भनिन् , ‘हि इज् इन्साड् मी, इन् माई हार्ट’,
मलाई हार्दै गएको पिडाले घाइते बनाउँदै लगिरहेको थियो ।
उसैले बुझाएको शुल्क र लगाएको युनिफमले मलाई उनलाई नै बेतर्कसंगत कुटेर तह लगाउन अनुमति मात्रै होइन अधिकार दिएको छ । घाइते बनाएर घरमा पठाउँदा अभिभावकले बल्ल यो स्कुलको प्रिन्सिपल चाहिँ प्रिन्सिपल जस्तो छ भनेर स्याबासी दिन्थे । थाहा थियोे अर्को साल केही विद्यार्थीहरू पनि बढ्थे । तह नलाग्नेहरू त्यहाँ भर्ना गर्दा तह लाग्छन् भनेर चियापसल, भट्टी, चौतारो जताततै मेरो चर्चा हुन्थ्यो । तर मैले हात उठाउन त परै जाओस् ओठ खुलाउन नसक्ने भएँ ।
धन्य कोही थिएन मेरो त्यो निरीहतालाई देख्ने उनी बाहेक ।
ठिक छ तिम्रो डायरी लैजाऊ, तर यसलाई फेरि नदेखाऊ। फेरि देखियो भने राम्रो हुने छैन । मैले फेरि पनि डर देखाउन खोजेँ ।
चाहिएन सर, म लग्दैन मेरो पटकपटकको आग्रहमा जवाफ यहीँ थियो ।
ठिक छ यहीँ सुरक्षीत राखिदिन्छु , जतिबेला मन लाग्छ , मसँग मागेर लैजाने है । मैले नजिक बनाउने खोजेँ । तर उनले कहिल्यै नलग्ने कसम खाईसकिन् ।
लगातार हारसँगै मैले एउटा मात्रै अन्तिम प्रस्ताव मान्न आग्रह गरेँ ।
भन्नुू उनले दयाभावमा भनेजस्तो लाग्थ्यो ।
मैले विन्ती गरेँ, बाहिर कपिल सरले खुब कुट्नु भयो भन्नू है, विन्ती ।
उनी खिसिक्क हाँसिन् र अनुमति पनि नमागीकनै अफिस बाहिर गइन् ।
म कति कम्जोर रहेछु , एउटी भर्खरै टीनएज् मा प्रवेश गरेकी केटीले नतमस्तक बनाई दिई १ यो त्यो केटी हो कि उसको प्रेम जस्ले मलाई उसको सामुन्ने बामपुट्के बनाई दियो ।
समय बित्दै गयो । कहिलेकाहीँ अरु केही खोज्दा त्यो उनको डायरी फेला पर्थ्यो । मलाई त्यो डायरी मेरो टेबुलको र्याकबाट हटाउने सहास हुँदैनथ्यो यद्यपि त्यसले मलाई हार्नुको पिडाबोध गराई नै रहन्थ्यो । कहिले लाग्थ्यो मैले प्रेमसँग हारेको न हो । दुनियाँमा को हारेन र प्रेम सँग ? म को हुँ हार्न अस्वीकार गर्ने ? कस्ताकस्ता सन्यासीले सन्यास त्याग्ने बाध्य बनायो , मूर्खलाई सज्जन बनायो, सज्जनलाई मूर्ख बनायो । महाभारतको लडाइँ गरायो । ट्रोरीको युद्ध गरायो । पटकपटक यी सोचाईहरूले पैठेजोरी खेलीरहन्थे मेरो अभिमानसँग ।
डायरी त्यहीँ थियोे । प्रत्येक बिहान त्यहीँ भएको नभएको सुनिश्चित गर्नु मेरो पहिलो प्राथमिकता हुन्थ्यो । तर मैले कहिल्यै त्यो डायरी खोल्ने सहास गरीन । उ
नी देखिन छोडीन् स्कुलमा अर्को शैक्षिकसत्रदेखि । सरकारी स्कुलबाट आठ कक्षाको जाँच दिएर नौ कक्षामा पढ्न थालिन् रे भन्ने सुनिन्थ्यो । सरकारी स्कुलमा पाँच कक्षा पढ्दापढ्दै गुणस्तरीय पढाईको खोजीमा बोर्डिङ स्कुलमा कक्षा दुईमा भर्ना हुन आएकी उनी पाँच बर्षपछी पून सरकारि स्कुलमा नै गईन् छ कक्षाबाट नौ कक्षामा । गुणस्तरीय शिक्षा पाईन् वा पाइनन् ! मलाई त्यसैको नाममा अरुले जस्तै छ बर्ष फी तिरीन्, युनिफम लगाईन्, प्रत्येक बिहान एसेम्ब्लीमा घोर पारेर र स्वर तानेर स्कुल सङ् गाईन्, अगाडि पर्दासाथ तनक्क तानिएर गुड मर्निङ सर भनिन् ,आम्दानी गराईन् । तर अरुकोभन्दा फरक अनुभूति दिलाएर गईन् ।
पाँच छ बर्षपछी एक्कासि बाटोमा उनै जस्तो कोही देखेँ, बच्चालाई उचालेर हिडिरहेकी साथमा कोही बिसएक्काईस बर्षको केटा थियो
। निश्चित गरेँ त्यो त्यहीँ उनको डायरीमा फोटो भएको केटा नै थियो । उनलाई भन्दा फोटोमा मात्रै देखेको केटोलाई चाँडै चिनेँ । उनले पनि मलाई देखिन् । हत्तपत्त बच्चा त्यो केटाको हातमा थमाइन् र नमस्कार गरीन् । म कृर्तव्यविमुढ भए ।
रञ्जन, उहाँ, मैले भनेथेँ नि, उहाँ सर हो । उनले मेरो परिचय गराईन् मेरो नामै उल्लेख नगरीकनै ।
ए, कपिल सर उहाँ हो ? उनको उत्तर नपर्खिइकनै बच्चालाई अँगालोमा अलि पर सार्दै निहुरिएर हातै जोडेर अभिवादन गरे, नमस्कार सर।
ल ! यसलाई पनि सबै कुरा भनिसकेकी रहेछ ! मेरो त्यो हारले श्रीजना गरेको शर्मिन्दा त छँदै थियो । तर त्यो शर्मीन्दालाई गर्वले जित्यो कि केले हो उनीहरूलेभन्दा लामो समय हात
जोडीरहेँ । पालैपालो उनीहरूको अनुहारमा हेरीरहेँ । उनको आवाज अझैसम्म पनि गुञ्जीरहे जस्तो लाग्यो, प्यार झुकता नहीं, सर । अनायासै मेरो मुखबाट फुत्कियो, ‘प्यार झुकता नहीं।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।