“मलाई लाग्छ हामीलाई अयोग्य ठहराउन सक्ने ठूलो माछा जन्मेको छ जस्तो लाग्दैन ।” बूढोले गर्वसाथ भन्यो ।
केटोले बूढोको भनाईमा समर्थन जनाउँदै भन्यो, ‘तिमी आफूलाई सक्षम छु भन्ठान्छौ भने त्यस्तो माछा साच्चिकै जन्मेको छैन पनि होला ।’
बूढोले आफैलाई शङ्का गर्दै भन्यो, “मैले सोचे जस्तो बलियो नहुन पनि सक्छु म । तर मसित थुप्रै उपाय र दृढता छ ।”
केटोले बूढालाई शान्त पार्दै भन्यो, “अब सुत, अनि मात्र भोलि बिहान फूर्तिलो हुन्छौ । सामान पुर्याउन चौतारी जान्छु म ।”
‘गुड् नाइट् त्यसो भए । भोलि बिहानै आउँला तिमीलार्इ उठाउन । ” बुढोले भन्यो ।
‘तिमी त मेरो लागि अलार्म घडी नै हो ।’ केटोले भन्यो । ‘उमेर नै मेरो अलार्म घडी हो ।’ साँच्चै बूढा मान्छेहरू किन चाँडै ब्यूँझिन्छन् है ? एउटा लामो दिनका लागि हो कि ?” बूढोले भन्यो ।
केटोले भन्यो, “खै मलाई त थाहा भएन, केटाहरू अवेरसम्म मस्त सुत्छन् भन्ने चाहिँ थाहा छ बरू ।”
“त्यो त मलाई पनि थाहा छ, म तिमीलाई बेलैमा उठाउँछु ।”
“मलाई त अरूले उठाएको मनैपर्दैन । के म केटाकेटी हुँ र ? मरेतुल्य लाग्छ मलाई ।”
बूढोले भन्यो, “हो त्यो त ।”
“राम्ररी सुत बूढो ।’ केटोले भन्यो ।
केटो बाहिरियो । बूढो सुरूवाल फुकालेर सुत्न गयो, अँध्यारोमै छाम्छाम्छुम्छुम् गर्दै । पत्रिका सिरानी हाल्यो उसले । त्यतिले नपुगेर थोत्रा पत्रिका पनि ओछ्यायो ओछ्यानमा स्प्रिङ छोप्नका लागि अनि कम्बलभित्र छिर्यो बूढो ।
बूढो सुत्नासाथ निदायो । आफू सानो छँदाको अफ्रिका देख्यो सपनामा उसले साथै सुनौलो र सेतो समुद्रतट पनि जुन आँखै तिर्मिराउने खालको थियो । त्यति मात्र होइन सपनामा उसले ठूला ठूला खैरो रङ्गका पहाड र अग्ला अग्ला टापुहरू पनि देख्यो । आजभोलि बूढो त्यही टापुमा त बस्थ्यो हरेक रात । सपनामा उसले समुद्री छालको आवाज पनि सुन्यो साथै तिनै समुद्री लहरका बीच आदिवासीहरूको डुङ्गा देख्यो । बूढोले सुतिराखेकै ठाउँमा डुङ्गाको सालधुपको गन्ध पनि सुँघ्यो । उसले विहानीपखको मन्दमन्द ठण्डी हावाले बोकिल्याएको अफ्रिकी गन्ध पनि सुँध्यो ।
विहानीपखको मन्दमन्द हावाको झोकासितै उठ्थ्यो बूढो । त्यसपछि ऊ लुगा लगाएर केटोलाई व्यूँझाउन जान्थ्यो । तर आज राति मन्द हावाको सुगन्ध अलि चाँडै आएको थाहा पायो उसले । तर त्यो त सपना पो रहेछ | सपनामा उसले अग्लाअग्ला टापुहरू देख्यो साथै थरिथरिका बन्दरगाह र क्यानरी टापुमा अवस्थित जहाजी लङ्गुर पनि देख्यो । आँधिको सपना देखेन उसले न त कुनै स्वास्नी मान्छे न त कुनै ठूला ठूला घटना, न त माछा नै, न कुनै युद्ध, न त कुनै प्रतियोगिता, न त स्वास्नीलाई नै देख्यो ।
सपनामा उसले देखेको भनेको विपनामा देखिराखेको चीज र ससमुद्रीतटमा पल्टेका सिंहहरू मात्र थिए । गोधुली साँझमा चल्ने विरालाका छाउरा जस्तै चल्थे ती सिंहहरू । केटोलाई माया गरे जस्तै बूढोले ती सिंहहरूलाई पनि गर्यो । केटाको बारेमा चाहिँ केही सपना देखेन उसले | बिस्तारै बिउँझेर झ्यालबाट बाहिर जूनतिर हेर्यो अनि लुगा लगायो । झुप्रो बाहिर निस्केर पिसाब फेर्यो अनि केटोलाई व्यूँझाउन हिँड्यो ऊ । बिहानको जाडोमा लुगलुग काम्दै थियो बूढो । सोच्यो एकछिनपछि डुङ्गा चलाउन थालेपछि जीउ तातिहाल्छ ।
केटो सुत्ने गरेको घरको ढोका भित्रबाट बन्द गरेको थिएन । बूढो बिस्तारै ढोका खोलेर नाङ्गै खुट्टा भित्र पस्यो । केटो खाटमा सुतिरहेको थियो । डुब्नै लागेको जूनको उज्यालोमा बूढोले प्रष्टै देख्यो केटोलाई । उसले बिस्तारै केटाको एउटा खुट्टा सुम्सुम्यायो । केटो ब्यूँझियो । बूढोलाई देख्यो उसले कोल्टो फर्किदाँ। बूढोले केटाको टाउको झक्झक्याएपछि केटोले राखेको लुगा लगायो ।
बूढो बाहिरिएपछि केटो पनि पछिपछि लाग्यो | निद्रा नपुगेको जस्तो देखिन्थ्यो केटोलाई । बूढोले उसको काँधमा हात राख्दै भन्यो, “तिम्रो निद्रा खल्बल्याएकोमा मलाई माफ गर ।’
“हैन हैन” केटाले भन्यो । तिमीले ठीकै त गरेका छौ ।यो त सबैले गर्नेपर्ने काम त हो ।
अँध्यारोमा दुवैजना बूढोको झुप्रोतिर लागे । बाटोमा मानिसहरू डुङ्गाको खाँबो बोकेर नाङ्गै खुट्टा हिँडिरहेका थिए ।
बूढोको झुप्रोमा पुगेपछि केटोले डोरीको गुजुल्टो, भाला र काँटेबल्छी डोकोमा हाल्यो । बूढोले चाहिँ बटारिएको पालसहितको खाँबो काँधमा बोक्यो ।
“कफी पिउँछौं ?” केटोले सोध्यो ।
“पहिला डुङ्गामा सामान हालौं अनि पिऔंला हुन्न ?” बूढोले भन्यो
माझीहरूले सँधै कफी पिउने ठाउँमा गएर दुवैले दूध कफी पिए ।
आज राति तिमी कत्तिको निदायौ हँ ? केटोले सोध्यो ।
बूढोले झक्झक्याउँदा पनि आज उसलाई ओछ्यान छोड्न निकै गाह्रो भएको थियो ।
“राम्रैसित निदाएँ । आज म निकै आशावादी छु ।’ बूढोले भन्यो ।
“म पनि छु ।’ केटोले भन्यो ।
बूढोले भन्यो, “अब तिमीले हामी दुवैजनाको लागि सामान ल्याउनै पर्ने भो ।”
“मेरो मालिक ऊ आफै ल्याउँछ । कसैले ल्याएको मनपर्दैन उसलाई ।’ केटोले भन्यो ।
“हामी अलि फरक खालका छौं । तिमी पाँच वर्ष हुँदा म सबै चीज तिमीलाई बोकाउँथे ।” बूढोले भन्यो ।
अँ थाहा छ मलाई । म आइहाल्छु तुरून्तै । तिमी अर्को एक कप कफी पिउँदै गर । उधारो पाइहालिन्छ के भो र ? केटोले भन्यो । त्यति भन्दै चारो राखेको बरफ घरतिर नाङ्गै खुट्टा गुलाबी रङको ढुङ्गा टेक्दै गयो केटो ।
बूढो बिस्तारै कफी पिउन थाल्यो । बूढोले प्रायःजसो खाने भनेको त्यही कफी त हो । उसलाई खान पनि अल्छी लाग्न थालेको थियो । त्यसैले ऊ साथमा खाना कहिल्यै बोक्दनैनथ्यो डुङ्गामा दिनभरिलाई पुग्ने एक बोतल पानी हाल्न चाहीँ बिर्सिदैनथ्यो ।
पत्रिकामा दुईवटा चारो पोको पारेर फर्क्यो केटो । त्यसपछि दुवैजना ग्रेग्य्रान बाटो हुँदै डुङ्गातिर लागे ।
“भाग्यले साथ देओस् तिमीलाई बूढा ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

