“पाइँदैन ? किन पाइँदैन ? अवश्य पाइन्छ । यसपालि सब मोराहरूको बेनामी जमीनहरू सरकारले खोस्नेछ र तिमीहरूलाई बाँडिदिनेछ र जति जनाले बर्गा गर्नेछन् तिनैको नाममा दर्ता गरिनेछ । ल अगाडिको बाटो छाड त, म दण्डवत गरौँ ।”

शोभन षडगी मेलामा वर्षैपिच्छे धर्मराजको सामुन्ने आएर खाँबो हेरेर प्रत्येक पटक दण्डवत गर्दै भुइँ कोर्दै दण्डवत गर्दछ । त्यसपछि देवता उसको शरीरमा प्रवेश गर्दछन् र ऊ कपाल खोलेर नाच्न थाल्दछ । र , यस्तो बेलामा ऊ नानाथरिका ज्ञानका कुरा गर्दछ ।

शोभन षडगीले भनेका भरमा रतन जस्ता मानिसहरू ती कुरालाई त्यति महत्व दिँदैनन तर हाटबजार,सडकगल्ली सबैतिर त्यही कुरो धेरैको मुखबाट सुनिन थाल्यो । त्यसपछि चरसाका चीरपरिचित मानिसहरू आए – गौर ,कदम र दीनु । तिनले भने, “जे सुनिएको छ ,त्यो साँचो हो ।”

रतन जस्ता मानिस किन पत्याउँथे ? घर जलाएर बेघर गरिएको गाई हो ऊ । उसलाई राम्ररी थाहा छ– जे देखेर ऊ डराएको छ ,त्यो रातो–पहेँलो बादल होइन,आगो हो । रतनको मूल्य–मान्यता एकदम प्रष्ट छ । खतरा देखेपछि डराऊ ,सतर्क होऊ र जब देख्छौ कि चारैतिर राम्रा राम्रार थरिथरिका अफवाह फैलिएको छ भने भन्न डराऊ । अन्नहीन दुःखी जिन्दगीमा ठूला विपत्तिहरू मैत्री रूपमा उपस्थित हुन्छन् । अचानक सरकार किन गरिब दुःखीहरूका बारेमा चिन्तित भइरहेको छ ? अवश्य पनि कुनै विपत्ति आउँदैछ ।

कदमले भन्यो, “होइन, होइन । हेर न यस पटक फरक पर्दैन ।”
“के हेर्नु,बाबु ? तिमीहरू पटकपटक जे गर्न खोजिरहेका छौ त्यो गर्न सकेका छौ र ? छैनौ नि । ”
“ होइन । सारा जमीन निस्कन्छ यसपालि । ”
“ कसरी ?”
“तपाईँ हामीउपर विश्वास गर्नुहुन्न ?”
“विश्वास गर्छु । किन नगर्नु ? तिमीहरू त इमान्दार छौ ।”
“त , सम्झनुस् ,हामी सूचि तयार पार्छौँ ।”
“अनि हरहिसाब ?”
“कानूनविद हाम्रै उमेरका मानिस हुन् । उनले भनेका छन् – तपाईँहरू भन्नोस् ,केही अप्ठ्यारो छैन । म सरकारी अभिलेखबाट सबैकुरो पत्ता लगाउँछु । जसले गैरकानूनी तरिकाले सरकारी जमीन दखल गरेका छन् , ती जमीन म बाँडिदिउँला । जसले जोत्छ उसको नाम अभिलेखमा दर्ता गरिदिउँला ।”

“ अप्ठ्यारो भन्ने कुरो किन र कहाँबाट आयो ?”
“होइन, त्यस्तो केही होइन ।” दीनुले साग्रह भन्यो, “ ती मानिसका लागि अप्ठ्यारो छ जसले यतिञ्जेलसम्म गैरकानूनी जमीनमा अधिकार कायम गरिराखेका छन् । त्यो तिनले छोडिदेलान त ? जोतदार कसैसँग पनि डराउँदैन । यतिञ्जेलसम्म डराएन । यसपालि थाहा पाउनेछ कि ऊ कोसँग लडदैछ ?”

सिञ्चित क्षेत्रमा र सिँचाइ नहुने क्षेत्रमा कसले कति जमीन राख्न पाउँछन् भन्ने कुरा रतनले काली साँतराको मुखबाट धेरै पटक सुनेको थियो । काली साँतराले आफ्नो अखबारमा छाप्नको लागि धेरै गाउँको जग्गाजमीन आफैँले नापेका थिए । रतन भन्थ्यो,् “ तपाईँको काम बालुवामा धान रोप्ने जस्तो छ । त्यतिका मिहिनेत गर्नुहुन्छ तर फल भने नास्ति ।”
त्यसो भनेपछि काली बाबु आशा विश्वास दिलाउँदै भन्थे,“हुन्छ , हुन्छ ।”
“कहिले ? म मरेपछि ?”

“ होइन , पहिले नै । आऊ बस । तेभागा (तेभागा आन्दोलनः सन् छयालिसमा अधियामा जग्गा कमाइरहेका किसानको हितमा किसान सभाद्वारा जोतदार तल्सिङका विरुद्ध चलाइएको आन्दोलन । यस आन्दोलनले जोताहा किसान वा मोहीले उत्पादनको दुई तिहाई र जग्गाधनीले एक तिहाई बाली मात्र पाउनुपर्ने नारा अघि सारेको थियो । तिनताकाको मुस्लिम लिगको मन्त्रिमण्डलले आन्दोलनकारी किसानको मागलाई सम्बोघन गर्दै जग्गाधनीले एक तिहाई बालीमात्र पाउने भनी बर्गादार ऐन लागु ग¥यो तर त्यसको राम्रो कार्यान्वयन भएन र व्यवहारमा आएन ।)को कथा सुनाउँछु।”
” कथा सुनेर के गरुँला ,बाबु ? त्यसले त हामो पेटको एउटा कुनो पनि भरिँदैन ।”

अनि फेरि रतनले एक्कासी सोध्यो, “सदर गाउँमा तपाईँहरूको मोति बाबुसँग कुस्त जमीन छ । पाँच घर काउराहरूले जोतिराखेका छन् । त्यो जमीन पनि जफत हुन्छ त ?उनीहरूको जोत दर्ता होला त ?”
गरिब किसानका छोराहरू गौर र कदम अनि मालिकहरूको चरुवाको छोरा दीनु चुपै लागिरहेका थिए । उनले दृढ विश्वासका साथ भने, “ हुन्छ , अवश्य हुन्छ । हुनै पर्दछ ।”
“ राम्रो । एकदम राम्रो ।”
“ठूलोबा, तपाईँ पनि हामीसँगै रहनु पर्दछ ।”
“ किन ?”

दीनु र उसका साथीले भने, “ रतनका नभए त ठूलो कुनै काम पनि गर्न सकिँदैन ।”
कानून अधिकारी अजय मजुमदारले आफ्नो अनुभव पनि सुनाएका थिए । जमीन जोत्नेको हुन्छ भन्ने कानून निकै पुरानो हो तर कहिल्यै पनि त्यति कडाइका साथ लागु भएन,गरिएन । सन् छयहत्तरमा कुनैकुनै ठाउँमा कानूनअनुसार काम गर्दा माथिबाट दबाब आयो । त्यसबेलामा पनि अनेक थरिको अप्ठ्यारो झेल्नुप¥यो ।
“बर्गादार (मोही) नै भन्छन् कि ऊ मोही होइन ।”
“ किन त्यसो भन्छ ?”

“ उसलाई रक्षा गर्ने कानून छ भनेर केही फाइदा छैन किनभने उसले त जमीनको मालिकसँग लडनुपर्यो । जमीनको मालिकले चाहेको खण्डमा उच्च न्यायालय(हाईकोर्ट)सम्म मुद्दा ठेलिन सक्छ । मोहीसँग उच्च न्यायालयसम्म जानका लागि खर्च हँुदैन । हुन त केही क्षेत्रहरूमा कोहीकोही सम्पन्न मोहीहरू पनि नभएका होइनन र तिनलाई थाहा छ कि एक न एक दिन ती जमीनका मालिक बन्छन् तर त्यस्ताहरू खासै धेरै छैनन् ।”

“मोहीलाई आफ्नो हकहित थाहा नभएको हो र ? राम्रोसँग थाहा छ तर पनि ऊ भनिदिन्छ कि ऊ मोही होइन । किनकि मोहीहरूलाई थाहा छ कि सरकारी वकिल उसको नाम लेखाएर कानूनले व्यवस्था गरे अनुसारको आश्वासन र विश्वास दिलाएर उम्किहाल्छन् । तिनले त त्यही बेलामा मात्र जमीन मालिकको खप्की खालान् तर उसले त जिन्दगीभरि जग्गाधनीको धाकघुर्की बेहोर्नु पर्छ । जिन्दगीभरि जोसँग सुख्खाखडेरीका बेलामा,बाढी अनिकालका बेलामा ऐँचोपैँचो लिनुपर्छ ,तिनलाई चिढाएर के फाइदा ? तिनले बचाए बाँचियो,मारे मरियो । अनि ? भन त भाइ हरि ?”

“यही कारणले गर्दा सरकारी जमीनको गैरकानूनी भोक्ता हुन्छन् – जोतदार अर्थात् तल्सिङ । तिनको कब्जाबाट जमीन भूमिहीनलाई दिएपछि त त्यो भूमिहीन जग्गाधनीको रिसको तारो बन्ने भयो नि । ”

“साँच्चै भन्ने हो भने यतिञ्जेलसम्म पनि भूमिसम्बन्धी कुनै कानून लागु भएन । त्यसको कारण के होला ?”
“त्यो सबै लागु गर्नेगराउने दायित्व कानून अधिकारीको हो ।”

“राजनीतिक प्रभुत्वका कारणले गर्दा जग्गाधनी तल्सिङहरू मन्त्री,न्यायाधीश र पुलिसका उच्च अधिकारीहरूलाई आफ्नो हितमा प्रयोग गर्दछन् । कानूनलाई लोप्पा ख्वाएर ईस्स गरिदिन्छन् र कानून अधिकारीहरू हेर्याहेैर्यै हुन्छन् ।”

“मोही र कृषि मजदुरहरू अर्थात् जोताहा हली र खेतालाहरूको मनमा भित्रैसम्म डर पसेको छ । त्यसैले उनीहरू तिनका विरुद्धमा अगाडि बढन सक्दैनन् । सरकारी कानूनले तिनको रक्षा गर्न सक्दैन भन्ने कुरा उनीहरूले राम्ररी बुझेका छन् । यसैले बरु अन्याय सहन्छन् र चुपचाप बस्छन् । लाग्छ कि सरकार यसपटक केही गर्न चाहिरहेको छ । यो राम्रो कुरो हो । अजय मजुमदार घुस लिँदैनन । यदि तिनले पार्टीका युवा कार्यकर्ताहरूको सहयोग पाइरहेभने यस सम्बन्धी काम तिनैले गर्नेछन् । र, सबभन्दा जरुरी कुरो के छ भने जनताको मनमा यस कुरोको विश्वास जगाउन सक्नु पर्दछ कि पार्टीले यसपालि भूमिसम्बन्धी यो कानून अवश्य लागु गर्नेछ । हुन त यो प्रारम्भिक तहकै काम हो । जोमाथि मानिसको आस्था,विश्वास छ ,पार्टीको त्यस्तो व्यक्तिले जनतालाई सम्झाउने प्रयास गरेपछि पनि यो सम्भव छ ।”

“त्यसपछि यदि कोही नामीगिरामी सामन्त तल्सिङको बेनामी जमीन खोसेर खेत नभएका मानिसहरूलाई बाँडिदिने हो भने र धेरैजसो मोहीहरूको नाम अभिलेखमा दर्ता गरिदिने हो भने त सम्झ समस्या सल्टिहल्यो । अनि थाहा हुन्छ कि मानिसहरू सरकारउपर विश्वास गर्छन् कि गर्दैनन् । अनि त मान्छेहरू आपसे आप अघिसरा भएर मोही दर्ता गराउन थाल्नेछन् ।”
यस्ता धेरै कुराहरू दीनु र उसका साथीहरूले रतनसँग भने । अझ थप सम्झाउँदै भने, “ अजय मजुमदार मात्र किन ,उनी जस्ता कतिपय इमान्दार र राम्रा अधिकारीहरू– आवास अधिकारी(सेटलमेन्ट अफिसर),कानून कार्यान्वयन अधिकारी,अनि तिनका सहायकहरू जो सन् अडसठ्ठी पछि भिन्नभिन्न शाखाबाट यही कामलाई सघाइरहेका छन् –ले आआफ्ना क्षेत्रबाट यसको कार्यान्वयन गरिरहेका छन् ,सबै खुसी भएका छन् ।”

“यस पटक लाग्छ केही त हुन्छ नै ।”

क्रमश…………