परिच्छेद-१३
” प्रतीक्षालयबाट निस्केर नताशा फूलबारी कोठासम्म आएकी रहिछ । यहीँ उभिएर उसले प्रतीक्षालयमा भइरहेको गफ सुन्दै बोरिस कति खेर निस्केला भन्दै पर्खन लागी । बोरिस तत्काल त्यहाँबाट नआएकोमा ऊ खुट्टो बजार्दै रुन मात्र लागेकी थिई । त्यहीबेला उसले न ढिलो न छिटो एक किसिमको भावात्मक चालमा हिँड्दै आफूतिर आइरहेको बोरिसको पदचाप सुनी अनि ऊ फूलका ठूल्ठूला गमलाहरूका बीचमा गएर लुकी ।
बोरिस कोठाको मध्यभागमा गएर ठनास्न लाग्यो । उसले चारैतिर हेर्यो । बर्दीमा लागेको धूलो-सुलो टकटक्यायो र ऐनामा गएर आफ्नो सुन्दर अनुहार जाँच गर्यो । बोरिसले के गर्दो रहेछ भनेर नताशा सासै नफेरेर आफू लुकेको ठाउँबाट उसलाई चियाउँदै थिई । ऊ एकैछिन ऐनाअगाडि उभियो, मुस्कुरायो र अर्को ढोकातिर लाग्यो । नताशा उसलाई बोलाउनै’ लागेकी थिई तर उसको विचार बदलियो । उसले “मलाई खोजिरहोस् न,” नताशाले विचार गरी बोरिस जानेवित्तिकै सोन्या मुख रातो पार्दै र रिसको झोँकमा के के फलाक्दै अनि रुँदै अर्को ढोकामा आइपुगी । नताशाले. दौडदै गएर उसलाई भेट्ने विचार थाति राखी । अदृश्य हुन सक्ने टोपी लगाए जस्तो -संसारमा के के हुँदो रहेछ भनेर हेर्ने विचारले ऊ लुकेकै ठाउँमा बसिरही । उसले एक प्रकारको अनौठो र किसिमको मज्जा आइरहेको अनुभव गरिरहेकी थिई । सोन्या आफैसँग भुत्भुताउँदै ढोकातिर हेर्दै थिई । ढोका खुल्यो र निकोलास भित्र पस्यो।
“सोन्या, के भयो तिमीलाई ? यस्तो पनि गर्ने हो ?”, उसको नजिकै पुगेर नसकोलासले भन्यो ।
“मलार्इ केही भएको छैन , केही भएको छैन, छोड्देउ मलार्इ ” सोन्या सुँक्कसूक्क गर्न लागी ।
“मलार्इ थाहा छ के भयो भन्ने कुरा ।”
“थाहा छ भने ठीकै छ, झन् राम्रै भयो जाऊ उसैसँग ।”
“प्रिय सोन्या ! सानो कुृराले गर्दा मनमा नानातरहका शङका गरेर आफुलार्इ र मलार्इ पनि िकन यातना दिन्छ्यौ ? ” उसका हात समातेर निकोलासले भन्यो ।
सोन्यले हात तानी र रून पनि बन्द गरी ।
सोन्याले चलमलै नगरेर सानो-सानो सास फेर्दै दुवैजनालार्इ हेरी रही
“अब के हुने होला ? ” उसले विचार गरी ।
“सोन्या, मेरा लागि तिमीबाहेक दुनियाँमा कोही छैन । तिमी नै मेरो सबैथोक हौ । र, म यो कुरा प्रमाणित गरेर देखाउँछु,” निकोलासले भन्यो ।
“मलाई तिमीले यस्तो कुरा गरेको मन पर्दैन ।”
“ठीकै छ, त्यसो भए गर्दिनँ,” तर तिमीले मलाई क्षमा दिनैपर्छ,” उसले सोन्यालाई तान्यो र म्वाइँ खायो ।
“आहा ! कस्तो मज्जा भयो,” नताशा उत्तेजित भई, जब सोत्या र निकोलास त्यहाँबाट हिँडे, उसले पनि गमलापछाडिबाट निस्केर बोरिसलाई आफूसँग बोलाई ।
“बोरिस छिटो यहाँ आउ,” एक प्रकारको धूर्तता र अर्थपूर्ण ढङ्गले हेर्दै उसले भनी । “मैले तिमीसँग केही कुरा गर्नु छ, यहाँ आऊ,” यति भनेर उसले बोरिसलाई आफू लुकेको ठूला गमलाहरू भएको ठाउँमा लगी । बोरिस पनि मुस्कुराउँदै लुरुलुर उसको पछि लाग्यो ।
“के भन्न चाहन्छ्यौ, लौ भन ?” बोरिसले सोध्यो । नताशालाई के भनूँ, कसो गरूझैँ भयो । उसले चारैतिर हेरी, एउटा गमलामाथि फालेको आफ्नो पुतली खेलौना देखेर त्यसलाई उठाएर समाती ।
“लौ, यसलाई म्वाइँ खाऊ,” उसले भनी ।
ठूलो स्नेह र ध्यानपूर्वक बोरिसले उसको अनुहार हेर्यो तर केही बोलेन ।
“म्वाइँ खाँदैनौ यसलाई ? त्यसो भए यहाँ आऊ,” उसले भनी र अलि अगाडि गएर पुतलीलाई फेरि फूलका गमलामाथि फ्याँकी । “अलिक नजिक आऊ, अलिक नजिक,” ऊ फुस्फुसाई र सैनिक अफिसर बोरिसलाई उसले लगाएको बर्दीको मोहतामा समाती । यसो गर्दा उसको रातो भएको अनुहारमा रहस्य र भयका रेखा प्रष्ट देखियो । “त्यसो भए मेरो म्वाइँ खान चाहन्छौ त ?” नताशाले बोरिसलाई कर्के नजरले हेरी, मुस्कुराई, र उत्तेजित भएर झण्डै रुल्चे स्वरमा केही फुस्फुसाई तर उसले बोलेका शब्दहरू श्रवणक्षम थिएनन् ।
बोरिसको अनुहार पनि रातो भएर आयो ।
“तिमी पनि अचम्मकी केटी रहिछौ,” नताशातर्फ झुक्दै उसले भन्यो । उसको अनुहार अझसम्म लजाएको देखिन्थ्यो । उसले केही छिन पर्ख्यो तर केही गरेन ।
अचानक नताशा बोरिसभन्दा अलिक अग्ली हुने हिसाबले एउटा टबमाथि चढी र बोरिसलाई अङ्गालो मारी । यसो ऊ दुवै हातद्वारा बोरिसको घाँटी बेरियो । नताशाले आफ्नो केशराशि, पिठ पछाडिपट्टि पन्छाउँदै बोरिसका ओँठको निर्धक्कसँग म्वाइँ खाई।
त्यसपछि ऊ टबको अर्को छेउको गमलाको बीचबाट तल ओर्ली र शिर निहुराउँदै ठिङ्ग उभिई ।
“हेर नताशा, तिमीलाई थाहा छ, म तिमीलाई प्रेम गर्छु तर …” बोरिसले भन्यो ।
“ए, तिमीले मलाई साँच्चै प्रेम गछौ ?”
नताशाले अविश्वासजनक विरोध जनार्इ ।
“अवश्य गर्छु, तर हामीले यस्तो व्यवहार कहिले गर्नु हुँदैन … । तिमीसँग यो मेरो अनुरोध छ … चार वर्ष जति पर्ख … म तिमीसँग विवाहको प्रस्ताव लिएर अवश्य आउनेछु ।”
नताशा विचारमग्न भई ।
“तेह्र, चौध, पन्ध, सोह्र,” नताशाले आफ्ना साना-साना औँलाहरू भाँच्दै वर्ष गनी । “ठीकै छ, त्यसो हो भने कुरो मिल्यो, होइन त ?” उसको उत्सुक अनुहारमा खुसी र सन्तोषको सानो झिल्को उठ्यो ।
“नमिल्ने त कुरै छैन” बोरिसले प्रत्युत्तर दियो ।
“सम्बन्ध गाँसिने भयो ?” सानी केटीले भनी । “नमरुन्जेलसम्मका लागि होइन त ?” नताशा बोरिसको हात समातेर प्रसन्न मुद्रामा उसँगसँगैको कोठाभित्र प्रवेश गरी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।