साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः आँसु

Chovar Blues Mobile Size

हे घाम
तिम्रो प्रथम पाइलामा
रात चुहिएर फूलफूलमा
फूलका पात पातमा
तप्किएका शितका थोपाहरु
सनैः सनैः तिमीलाई समर्पण गर्छन्
तर किन मेरो आँखामा तप्किएको मात्र एक थोपा आँसु
तिमीलाई समर्पण गर्दैन ?
बरु तिमीतिरै फर्केर कुस्ती खेल्ने गर्छ
म त पर्खी बसेथेँ
मेरा नैनमा टिल्पिलाएको मात्र एक थोपा आँसु
तिमीेले सहजै सुकाउनेछौ
सहजै गलाउनेछौ ।

अशोक घिमिरे

हे वर्षा तिमी त
आकाशको नैनबाट स्वतन्त्र चुहिएर
झङ्कृत हावाको झर्नासँगै
मेरो शरीर निथ्रुक्कै भिजाइदिन्छौ
मेरो शरीर छपक्कै गलाइदिन्छौ
तर किन मेरा नैनमा तप्किएको
मात्र एक थोपा आँसुलाई
आँखामै अडाइदिन्छौ ?
म त पर्खी बसेथेँ
मेरा नैनमा तप्किएका आँसुहरु
तिमीेले सहर्ष बगाउनेछौ ।

हे घाम
हे वर्षा
कि तिमीहरु हलुका छौ आँसु भन्दा नि ?

कि हलुको छ म जेलिएर रहेको पहाड
अनि पहाड फोडेर निस्किने ज्वालामुखी
कि हलुको छ म जेलिएर रहेको समुद्र
अनि समुद्रका उच्छाव छालहरु
कि हलुको छ मेरै छेउबाटै गड्गडाएर बग्ने बाढी पहिरो
कि हलुको छ मेरा वरिपरि नाच्ने सुनामी र ज्वारभाटा
किन सबै एकाएक हलुका छन् आँसु भन्दा नि ?
किन यति धेरै शक्ति छ आँसुमा ?
किन फरक छन्
शीतका थोपा र आँसुका थोपा…
शायद आँसु छ र त म छु
मेरो जीवन छ, जीजिविषा छ
आँसुको गहिरो प्रेम छ हृदयसँग
हृदयको गहिरो प्रेम छ आँसुसँग ।

प्रतिक्रिया
Loading...