सन्ध्याको लालिमामा
त्यो पर क्षितिजमा
डुब्दै गरेको बूढो घाम
हेर्दाहेर्दै उज्यालोले
अँध्यारोसँग हार मान्यो
रात छिप्पिँदै जाँदा
चोइटिएर खसेका
ताराहरु बटुल्ने तरखरमा थिएँ।

मेरो गाउँमा डुल्दै आएको जून
बाटो बिर्सिएर पिपलको रुखमाथि
अलपत्र परेछ
मलाई देखेर झस्कियो,
म गम्भीर हुँदै भनेँ-
तिमीभित्र कति खुसीका छालहरू छन् ?
अलिकति मलाई पनि बाँढ्ने गर न!
शान्त गम्भीर विशाल मन थियो उसको
दुःखहरू साटासाट भए
मनको बह अझ पोख्न बाँकी नै थियो
तर उसलाई हतार थियो।

सानो उपहारको पोको अगि सारें
हत्तपत्त लिने प्रयास गर्दा
धेरै समयसम्म आँखा जुधिरहे
अनि जुधिरहे…
हेर्दाहेर्दै दुब्ला, झन् दुब्लाउँदै गए ऊ
रोगी, लाचार र वृद्ध भए
उपहारमा सन्तुलित आहार र
स्याहार सुसारको खाँचो रहेछ
उनको निर्दोष अनुहारमा
मेरो कालो चश्माले
यथार्थको दाग मात्र देखेँ

फूलजस्तो शरीर
स्वप्निल मेरा आँखाले
अँध्यारोका राजकुमारका
एक एक गरी काटिए पखेटा
दिनदिनै रूप बदलिँदै गयो।

समय सान्दर्भिक
फेरि अर्को पक्षमा आउने
आश्वासन दिँदै
अनन्तमा विलिन भयो ।

असम, भारत