मलाई पत्रकार आचारसंहिताको ठुलो फ्लेक्स बनाएर, कुनै भित्तामा टाँगेर, त्यसका अक्षर देखिने गरी सेल्फी खिच्न मन छ । तर पत्रकार आचारसंहिताप्रति आम पत्रकार, सरोकारवाला र जनताको अपनत्व बढाउन योभन्दा राम्रा अरू उपायहरू पनि छन् ।
वस्तुतः कतिपय मोबाइलबाट सेल्फी हान्दा अक्षर उल्टो हुने भएकाले यसको अन्तर्यमा भएका सबै कुरा नबुझिने पनि हुन सक्छ । त्यसैले आम पत्रकारको मनमा यसप्रति दायित्वको भाव जगाउन अरू के गर्न सकिन्छ सोचौँ ।
नेपालको पत्रकार आचारसंहितामा कति शब्दहरू छन् ? ती शब्दहरूको गरिमा के छ ? जसको आचारसंहिता हो भनिएको छ, उनै यसका बारेमा कति जानकार र प्रशिक्षित छन् ? जे उद्देश्यका लागि यो बनाइएको छ, त्यो कति लागू भएको छ ? कति बुझिएको छ ? कति बुझाइएको छ ? कति पत्रकार, मिडिया हाउसले यसबारे जनतालाई सूचना दिनु आफ्नो दायित्व ठानेका छन् ? अपनत्व दर्शाएका छन् ? अनि, जुन बजारमा यो बिक्रीका लागि बनाइएको हो, त्यो बजारमा यसको मूल्य कति छ ? फैलावट कति छ ? गुणस्तर कति छ ?
के कसैले भन्न सक्छ, पत्रकार आचारसंहिता नेपालमा कति प्रतिशत पालना भएको छ ? कसले दिन्छ यसको उत्तर … पत्रकारहरूले ? पत्रकार महासङ्घले ? प्रेस काउन्सिलले ? सूचना विभागले ? कुनै मिडिया हाउसले ? वा पत्रकारिता सिकाउने गुरुहरूले ?
…
जसका लागि यो बनाइएको छ, त्यसको लक्षित वर्ग हौँ हामी । तर हामी यो दायरामा पत्रकार मात्र छैनौँ । कोही व्यापारी छौँ । कोही राजनीतिक कार्यकर्ता छौँ । कोही कानुन व्यवसायी छौँ । कोही एनजिओकर्मी छौँ । कोही कलाकार छौँ । कोही शिक्षक छौँ । सरकारी कर्मचारी पनि छौँ । कोही सेना, प्रहरी र अरू देशका लागि काम गर्ने जासुसहरू छौँ ।
भन्नु उसो होइन, कतिपय दलाल, कतिपय अपराधीका खल्तीमा पनि पत्रकारको कार्ड छ । ठिकै छ, कसैले आफ्नो अरू काम गरेर हरेक दिन राति निदाउनुभन्दा अघि केही समय पत्रकारिताको कामका लागि लगानी गर्छ भने भन्नु केही छैन । तर यो सबै घनचक्करमा व्यावसायिक पत्रकारिता र पत्रकार आचारसंहिताको मर्मचाहिँ के हुन्छ ?
यो ज्यादै गम्भीर प्रश्न हो कि आज हाम्रो समाजमा पत्रकार आचारसंहिताको पालना अपेक्षित किन हुन सकिरहेको छैन ? के छ यसमा त्यस्तो जसले गर्दा यो साँच्चिकै पालना गरुँ–गरुँ जस्तो लागिरहेको छैन लक्षित वर्गलाई ?
…
आचारसंहिता गीता, कुरान, बाइबल वा त्रिपिटक होइन । होइन यो सुफीहरूको ‘द बुक’ जस्तो पनि । सुफीहरूको द बुकका बारेमा सुन्नुभएको छ ? दुनियाँमा हजार पेजको एउटा यस्तो किताब छ, जसलाई सुफीहरू द बुक भनेर सम्मान गर्छन्, जसका सबै पेजहरू सादा छन् । किताब भनिसकेपछि यो त अक्षरै–अक्षरको सङ्ग्रह हुनुपर्ने हो । तर अहँ ! सुफीहरूको द बुकमा एउटै शब्द छैन ।
सुफीहरूको मान्यता छ, कुनै धर्म–ग्रन्थमा तपाई जे लेखिएको होस् भन्ने चाहनुहुन्छ, द बुकका सादा पानाहरूमा त्यही लेख्नुहोस् र त्यसको व्याख्या तपाईलाई कति गर्न मन लाग्छ, त्यति गर्नुहोस् । जतिलाई सुनाउन मन लाग्छ, त्यतिलाई सुनाउनुहोस् । यही हो यसको विशेषता ।
प्रश्न यो होइन कि कुनै पनि वर्गको आचारसंहिता द बुक जस्तो आफूखुसी व्याख्या गर्न मिल्ने हुनुहुन्छ वा हुँदैन ? प्रश्न यो हो कि हाम्रो आचारसंहिता द बुकको सन्दर्भ जस्तो दुनियाँलाई सुनाऊँ–सुनाऊँ लाग्ने किन छैन ?
सङ्ख्यामा नजाऊँ तर कति जना पत्रकारहरूले पत्रकार आचारसंहिता अक्षरशः पढेका होलान् ? कति जनाले यसको मर्म बुझेका होलान् ? अनि कति जनाले यसलाई आफ्नो दैनिक जीवनमा रूपान्तरको प्रयास गरेका होलान् ? आचारसंहिताका बारेमा सामान्य थाहा पाउने जो कोहीका मनमा यस्ता जिज्ञासा त आई नै हाल्छन् । दैनिक व्यवहारमा त्यसको खोजी त भई नै हाल्छ ।
…
बृहत् नेपाली शब्दकोशमा ‘आचार’ शब्दको अर्थ कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप भनिएको छ । र, आचारसंहितालाई आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र वा विद्याका रूपमा व्याख्या गरिएको छ । यसर्थ आचारसंहिता भनेको कुनै पेसा, वर्ग वा समुदायका व्यक्तिहरूले आफूले आफूलाई नैतिक बन्धनमा राख्न सार्वजनिक गरेको प्रतिबद्धता हो ।
यस्तो पृष्ठभूमिमा पत्रकार आचारसंहिता २०७३ को अन्तर्य कोट्याउनु निकै जोखिमपूर्ण छ । कोही सिपालु वकिलले सिडियो कार्यालयमा कुनै क्लब दर्ता गर्ने प्रयोजनका लागि पैसा लिएर लेखिदिएको विधानजस्तो भाषाशैली देखेपछि यो आचारसंहिता नै हो कि के हो भन्ने भ्रम उत्पन्न हुन्छ सुरुमै । फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन । अनि कसरी हुन्छ यो सर्व–स्वीकार्य ?
विद्यार्थीको आचारसंहिता हेरौँ । शिक्षकको, चिकित्सकको, गैरसरकारी संस्थाको, सवारी–चालकको आचारसंहिता हेरौँ । र, तुलाना गरौँ, पत्रकारको आचारसंहिता कस्तो छ ? के यो आचारसंहिताको मापदण्डअनुरूप छ ? के यसको भाषा–शैली अन्तर्राष्ट्रिय मूल्य–मान्यतामा आधारित छ ?
…
हाम्रो पत्रकार आचारसंहितामा पत्रकार भन्नाले यस्तो–यस्तो व्यक्ति सम्झिनुपर्छ भनेर लेखिएको छ । तर मैले आजसम्म विद्यार्थीको आचारसंहितामा विद्यार्थी भन्नाले, शिक्षकको आचारसंहितामा शिक्षक भन्नाले, सवारी–चालकको आचारसंहितामा सवारी–चालक भन्नाले के सम्झिनुपर्छ भनेर लेखेको देखेको छैन । प्रष्ट छ, तीन हजार पैसठ्ठी शब्द भएको पत्रकार आचारसंहितामा यति धेरै अनावश्यक पदावलीहरू छन्, जसले यो आचारसंहितालाई भद्दा बनाएको छ ।
नेपालको पत्रकार आचारसंहितामा ‘यस आचारसंहिताको व्याख्या गर्ने अन्तिम अधिकार काउन्सिलमा रहनेछ,’ भनिएको छ । यसको अर्थ के हो ? यसको अर्थ हो, यसमा भएका पदावलीहरूको भाव र सन्दर्भको व्याख्या गर्ने अधिकार केवल सरकारद्वारा गठित, निर्देशित निकाय तथा राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूलाई मात्र छ, स्वतन्त्र भनिएका पत्रकार, कानुन व्यवसायीहरूलाई छैन ।
अनि, यसको सुरुमै भनिएको छ । यो आचारसंहिता पत्रकारहरूले बनाएको होइन । प्रेस काउन्सिलले बनाएको हो । त्यसैले पनि यो पत्रकार आचारसंहिता होइन, पत्रकार आचारसंहिता भनिएको एउटा लखोटमात्र हो । खासमा यो प्रेस काउन्सिलको आचारसंहिता हो ।
…
यतिबेला आचारसंहिताको बुँदा–बुँदामा नजाऊँ । यसको प्रुफ पनि नपढौँ । तर यसमा भएका केही खास, लाजमर्दो सन्दर्भहरू चाहिँ देखेको नदेखै पनि नगरौँ ।
पत्रकार तथा सञ्चारमाध्यमले समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशीलतालाई सदैव ‘ख्याल’ गर्नुपर्छ भनी अहिले भएको आचारसंहितामा लेखिएको छ । ‘खयाल’ शब्दबाट अपभ्रंश भएर बनेको ख्याल एउटा अनेकार्थी शब्द हो । यसका मुख्यतः तीन प्रकारका अर्थ छन् । एउटा विचार, विवेक वा सोचाइ । अर्को सम्झना वा समझ । र, तेस्रो कुनै कुरालाई गम्भीरतासाथ नलिइनु, जिस्किनु, रमाइने कुरो, ठट्टा, हँसी–दिल्लगी, खेलबाड, खेलाँची र हेलचेक््य्राइँ । यहाँनेर हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने कुरा के हो भने हामी जो–जो यसका सरोकारवालाहरू छौँ, हामीले चाहिँ विद्यमान पत्रकार आचारसंहितालाई कसरी लिइराखेका छौँ ? ख्याल शब्दको पहिलो अर्थमा कि तेस्रो अर्थमा ?
पत्रकार आचारसंहितामा ‘पत्रकार तथा सञ्चारमाध्यमले सदैव सत्य–तथ्य सूचना प्रवाह गर्नुपर्छ, नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवं समर्पित रहनुपर्छ,’ लेखिएको छ । तर हामीले साँच्चिकै मनदेखि यस्तो गरिरहेका छौँ कि छैनौँ ?
यसबाहेक अहिले भएको पत्रकार आचारसंहितामा निर्देशित क्रियापदहरू व्यापक प्रयोग गरिएको छ । जस्तै गर्नुपर्दछ, रहनुपर्दछ, लिनुपर्दछ, अपनाउनुपर्दछ, सम्झनुपर्छ, मानिनेछैन, गर्नुहुँदैन, खुलाउनुहुँदैन, पु¥याउनुहँुदैन, खोल्नुहुँदैन, लिनुहुँदैन, मुछ्नुहुँदैन आदि । जबकि आचारसंहितामा अपनत्व प्रत्याभूत गर्न प्रथम पुरुष शैलीमा स्वेच्छिक क्रियापदहरू प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । जस्तै गर्नेछौँ, रहनेछौँ सम्झनेछौँ, मान्नेछौँ, मान्नेछौनौँ, गर्नेछैनौँ, खोल्नेछैनौँ, मुछ्नेछैनौँ आदि ।
अनि हरेक आचारसंहिताको अन्तमा ‘यो आचारसंहिता पूर्ण रूपले पालना गर्नेछौँ,’ भन्ने पदावली लेखिएकै हुन्छ । तर पत्रकार आचारसंहितामा चाहिँ यस्तो आशयको छेऊ–पुच्छर केही उल्लेख छैन ।
यसमा उल्लेख गरिएको ‘उजुरी र कारवाही’ खण्डको त के चर्चा गर्नु ! कतै पनि आचारसंहिता भनिएको लिखतमा यस्तो सन्दर्भ जोडिएको हुँदैन ।
…
सिद्धान्ततः आचारसंहिता भनेको कानुन होइन ।
आचारसंहिता दण्डरहित हुन्छ । स्वविवेकमा आधारित हुन्छ । यसमा दण्डको कुनै प्रावधान हुँदैन । दण्डको व्यवस्था त ऐन, नियम, कानुनमा हुन्छ ।
नेपालमा प्रेस कानुन छ । पत्रकारले गल्ती गरे भने सजाय गर्ने अनेकन व्यवस्था र निकायहरू छन् । आचारसंहितामै यो किन राख्नुप¥यो ? अरूले पत्रकारलाई ‘यदि तिमीले आचारसंहिता पालना गरेनौ भने,’ भन्दै दण्डको हतियार किन तेस्र्याउनुप¥यो ?
आचारसंहिता पालना स्वयम् पत्रकारको सरोकारको कुरा हो । यसका लागि विश्वासको वातावरण बनाउने काम स्वयम् पत्रकार र मिडिया हाउसहरूको हो । राज्य र जनताले नैतिक दबाब दिने हो । राज्यको कुनै निकायद्वारा पत्रकारलाई ‘तँ यो गर, तँ ऊ गर,’ भनेर निर्देश गर्ने, ‘मानिनस् भने यस्तो गर्छु, उस्तो गर्छु,’ भनेर थर्काउने कुरा हुन्न । पत्रकारले हामी यो कुरा गर्छौँ भनेपछि गर्छौँ । हामी यो कुरा गर्दैनौँ भनेपछि गर्दैनौँ । यसमा शङ्का गरेर समय किन खेर फाल्ने ?
…
यदि कसैले पत्रकारलाई मार्ग–निर्देश गर्ने यही नै सर्वोत्तम उपाय हो भन्ने कोणबाट कुरा उठाइरहेको छ भने त्यो गलत छ । किनकि फोर–जी पुस्ताको पत्रकारिता हुलाक पुस्ताको पत्रकारिताको पालामा जस्तो कमजोर छैन । उसले बुझेको छ, पत्रकारको क्षमता, अधिकार र दायित्व कति छ ।
अहिलेको आचारसंहितामा ‘पत्रकार तथा सञ्चारमाध्यम’ भन्ने संयुक्त पदावली ४० ठाउँमा प्रयोग गरिएको छ । यसलाई ‘हामी’ भन्ने एउटै शब्दले रिप्लेस गर्न सकिन्छ । अर्थात् यसलाई राम्ररी सम्पादन गरेर छरितो बनाउन र लेखिएका शब्दहरूको मर्म पालना गरौँ–गरौँ लाग्ने बनाउन सकिने पर्याप्त ठाउँ छ ।
सारमा विद्यमान पत्रकार आचारसंहितामा थप परिमार्जनको आवश्यकता छ । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनमा यो सन्दर्भ फ्लोरमा आयो । महासङ्घका पूर्व–सभापतिहरू तारानाथ दाहाल, शिव गाउँलेलगायतको अध्यक्ष मण्डलबाट ‘हुन्छ, राम्रो कुरा हो,’ भनेर स्वीकार पनि भयो । तर विद्यमान पत्रकार आचारसंहिताको भाषा तथा शैली परिमार्जनजस्तो विशेष महत्त्वको विषयले महाधिवेशनबाट पारित १९ बुँदे काठमाडौँ घोषणापत्रमा ठाउँ पाएन । किन ?
समयअन्तरमा यस्तो जिज्ञासा मनमा आइरहेका बेला पत्रकार आचारसंहिता ब्याकग्राउन्डमा राखेर खिचेको सेल्फीको क्याप्सन के लेख्नुपर्ला ?
…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

