“भन्न सक्थेँ गौर र कदमको भनाइमा लागेर तिमीहरूको कुरोमा विश्वास गरेको थिएँ र‘ सामन्त बाबुलाई भोट दिऊँ । यस पटक रोतोनी साऊ र रामेश्वर भुइँयाको हुकुम चल्दैन ।’भन्दै भोट माग्दै हिड्यौँ । ‘सामन्त बाबुलाई भोट दिऊँ ’ को नारा लगाउँदै कति फन्का मारियो , कति जुलुस र आमसभा गरियो,त्यसको लेखाजोखा छैन । सामन्त बाबु , तिमी जित , भोको पेट झ्यालीझ्याम्टा बजाउँदै हामी तिम्रो जयजयकार गरौँ ,त्यसपछि तिम्रा सारा कामहरूमा हात जुटाऔँ । सब थोक बिर्सौँ ? यसैले त यो मन दुःख्छ । त्यो दिन भनेको थियौँ ,‘भोटले जसले जित्छ,उही रावण बन्छ ।’र , फेरि घर फर्केनौँ ।”
सदानन्द असमञ्जसमा परेर पुरानो कुरा सम्झँदै भन्न थाल्यो, “अहँ, ऊ घर फर्केन । मकहाँ रक्सी पिउन पनि आएन । जे ग¥यो त्यो एकदम अचम्भ गर्यो ।”
चरसाको बगरमा गएर चुपचाप बसेको थियो रतन । किन बसेको थियो भनी सोध्दाखेरि भनेको थियो कि भोट माग्ने बाबुहरूको आनीबानी र चरित्र त उसलाई राम्रोसँग थाहा थियो तर पनि पाँच जनाको कुरो खाएर उसले सामन्तलाई भोट दिएको थियो । उसले भनेको थियो– गाउँका मानिसहरूको जिन्दगीमा धेरै दिनदेखि बिसङ्गति छ ,निराशा छ । सामन्तलाई भोट दिएपछि जमीनमा मालिकहरूको आतङ्क कम हुन सक्थ्यो ,जेलमा थुनिएका केटाहरू छुट्न सक्थे । चरसा नदीलाई उसको मनको एक एक कुरो थाहा छ । त्यसैले चरसाका अगाडि मनको वह पोख्न बसेको थियो । यति ठूलो दुःख रक्सीको मातमा बिर्सनु ठीक हँुदैनथ्यो र बिर्सन्थ्यो पनि किन ? सम्झनै पर्छ त्यो त ।
दिलीप सोरेनले उसको हात समातिराखेको थियो । भन्यो,“जाऊँ काका, घर जाऊँ । कतिथोक काम गर्नु छ । तपाईँ त हाम्रो अगुवा हुनुहुन्छ । तपाईँ यसरी बसिदिएर त काम बन्दैन नि । हिँडनुस घर जाऊँ । ”
कुरुमकुरुम आवाज आउँदै थियो । सुनेर सोध्यो,“ यो केको आवाज हो ?”
रतन झसङ्ग झस्केको थियो ।
“फरई (खास किसिमले तयार पारेर भुटिएको चामलको भुजा । यो मुरही जस्तो नरम नभएर सिरौँला जस्तो अलि कडा हुन्छ ।) खाँदै छु । लिनुस् फरई र प्याज ।”
फरई र प्याज खाँदै रतन घर फर्केको थियो । गाली गर्दै भन्यो, “ हरामीले जागिर पनि खाएन । सुनेर सामन्त एकदम रिसाएका रहेछन् ।”
दिलीपले सोध्यो, “ खोर्सानी लिनुहुन्छ ? फरईसँग खोर्सानी नहँुदा नि स्वादै आउँदैन । लिनुस् न ,लिनुस् ।”
उनीहरू गाउँमा फर्केका थिए । धेरै दिन बितिसक्यो । समय कसरी बित्यो , रतन भन्नै सक्दैन । शायद पछुतोमा वा गल्ती गरिएछ भन्ने बोधमा । सामन्तले एउटा काम चाहिँ ग¥यो । जुनबेला जागुलामा ग्रामीण हस्तकलाको प्रदर्शनी भएको थियो त्यसबेला उसले केटाहरूसँग भनेको थियो , “सामानहरू उचित मुल्यमा बेच्नु पर्नेछ ताकि गाउँले कामदारहरूले उचित मुल्य पाऊन । अनि चरसाको रतन डुमसँग भन कि डुमहरूलाई भनेर बाँस र निगालाका सारा सामानहरूको एउटा प्रदर्शनी कक्ष बनाउन लगाओस । कच्चा सामग्रीहरू उनीहरूले ल्याऊन र डोरीसोरी तिमीहरूले देऊ अनि आधा रकम पेस्कीको रूपमा देऊ र बाँकी आधिचाहिँ काम पूरा हुनासाथ दिइहाल । ”
रतनले सोचेको थियो कि काम गर्ने छैन तर दिलीप,गौर र कदमसँगै जागुलाको परिक्रमा गर्दैगर्दा रतनलाई फकाउँदै सम्झाउँदै उनीहरूले भने ,“ दशपन्ध्र जना मिलेर घर ठड्याऊ र बाँस काट्न र चिर्नका लागि बिस जनालाई साथी लेऊ ।”
”सामन्त बाबुले कति रुपियाँ दिन्छन् त ?”
”त्यस्तै..चार हजार । ”
”के भन्छस् ,तँ ?”
“अँ , चार हजार ।”
“हँ , दिन्छन् हामीलाई ?”
“दिएभने गर्छौ त ?”
“दिऊन न पहिला । पहिले रुपियाँ त हातमा परोस ।”
रुपियाँ रतनकै हातमा परेको थियो । ती बिस जनाले मिलेर नै सारा काम गरेका थिए । पूरै चार हजार नै पाएका थिए उनीहरूले । प्रत्येकको भागमा दुई सय रुपियाँ । त्यो त उनीहरूका लागि एकदम आश्चर्यको कुरो भएको थियो ।
घरको शोभा गजबको भएको थियो । कर्ताल डुमले भनेको थियो, “ देवीको मन्दिर बिर्साइ दिउँला ।”
बासुली मन्दिर काँकडासाोलको सीमानामा छ । निकै राम्रो, झकिझकाऊ । कलशमाथि कलश । दुबैतिर दुई दुर्गाका दुई वटा नाऊ । तिनै नाऊमा चढेर बासुली देवी आफ्ना सखी–सँगीहरूसँगै विचरण गर्दै आकासमार्गबाट आएर यहाँ बसेकी थिइन् । देवीको आदेश अनुसार राजाले यो मन्दिर बनाउन लगाएका थिए ।
रतन र उसका साथीहरूले यही परिचित मन्दिरको नक्कल गरेर नै देवी आमाको घर ठड्याएका थिए – कर्तालको निर्देशन अनुसार । बाँस र भाटाहरूले बनेको बिचित्रको मन्दिर । ससाना विद्युत चिमहरूको माला पहिरेपछि मन्दिर झिलीमिली भएको थियो । धेरैले मन्दिरको निकै तारिफ गरेका थिए । व्यङ्ग गर्दै मोति बाबुसँग कतिपयले भनेका थिए, “ तिमीहरू त टाउको छप्काउने पार्टीका मान्छे हौ । यस्ता कामहरू बिर्सेका रहेनछौ । अचेल किन गर्दैनौ यी कामहरू ?”
रतनको मनको प्रसन्नता दूधझैँ फाट्यो र रिसले उसको अनुहार तमतमाउँदो भयो ।
”भन त , गर्छौ कि गर्दैनौँ ?” सोध्यो उसले ।
”जे भन्छु , त्यो गर्या छौ के ?”
”किन छैन ? भोकै राख्छौ ,भोकै बसेकै छौँ । काम हुँदा हुँदै काम लाउँदैनौ ,भोकै सीकाउँछौ , सीकेएकै छौँ र रुपियाँ दिएर काम गराउँदा पनि काम गरेकै छौँ । तिमीहरू त अझै पनि हाम्रा लागि देवतासरि नै छौ ।”
मोति बाबुका कुराले चिढिएर रतनहरू फर्केर आए । त्यसपछि जागुलामा निकै उत्सवहरू मनाइए,निकै मण्डपहरू बने । तर रतन र उसका साथीहरू फेरि बोलाइएनन ।
”मद्दत मिल्दैन बाबु, मद्दत मिल्दैन । पहिले राजा र जमीनदारहरू चाडपर्वमा अनेकथरिका चिजबिज बनाउन पेस्की दिन्थे । हामीले बनाएका पनि हौँ । देशी बस्तुहरूबाट अब भरथेग मिल्दैन । यसैले बनाउँदैनौँ बाबु । हजुरहरूको त अचेल दिनदिनै नयाँनयाँ पर्व उत्सवहरू हुन्छ । सभाहरू पनि कहिल्यै सिद्धिने हैनन् । देशी कुराहरूबाट इन्द्रसभाको सजावट ! तपाईँहरू पनि सरसहयोग गर्नुहुन्न । हामीसँग जे सिप छ त्यो छोराहरूलाई सिकाउँदैनौँ । सिकाएर पनि के फाइदा ? अँ , डालो, ढकी, टोकरी आदि बनाउन चाहिँ सिकाउँछु । ”
फेरि भन्न थाल्यो,“ जागुलामा धर्मराजको मेला लाग्दछ । हामीहरू धर्मराजको ध्वजा बोकेर लग्छौँ । मयुर, माछा, हात्ती आदि थरिथरिका ध्वजा बन्दछन् । ती ध्वजाहरू देखेर कति तारिफ गर्छौ तिमीहरू ! छिटछिटो फोटो खिच्छौ । तर सरसहयोग गर्दैनौ । यी सारा कुराहरू कस्को व्यवस्थामा भइरहेको छ ?”
रतनले यसैगरी कुराहरूको जालो बुन्दै गयो । त्यसै बेला इन्द्रलाई अचानक शङ्का लागेर उसले सोध्यो, “ रतनदा , के तिमीले धेरै दिनपछि आज पेटभरि भात खाएका हौ त ?”
रतन दुर्बोध हाँसो हाँस्यो ,अनि प्रतिवाद गर्दै सोध्यो, “ किन ? भातको मातले बोलिरहेको छु भन्ठान्यौ कि क्या हो ?”
“अँ ।”
“बुझेनौ ?”
“के बुझिनँ ?”
“किन यो सब कुरा गरिरहेको छु ?”
“किन ? तिमी नै भन । ”
रतन फेरि अडिइअडिइ हाँस्यो र भन्न लाग्यो, “साला, तिमीलाई सम्झाउन खोजिरहेको थिएँ कि पार्टीको काम चरसामै बसेर गर । हेर न , हामी कुनै पनि सरकारसँग झगडा गर्दैनौँ । नक्सलीहरूलाई बिर्सिदेऊ । तिनीहरूसँग हामी किन मिलेका थियौँ ? कुन दुःखका कारणले मिलेका थियौँ ?त्यतातिर बिचार गर । दुःखको कारण नाश गरिदेऊ ,बस ,हामी ज्यान दिन तयार छौँ । जो मानिस दुःखमा हाम्रो साथी हुन्छ तिनैलाई मद्दत गर्छौँ हामी । यति कुरा यसैले गर्दैछु ता कि मलाई चिन्न सक । यदि मेरो कुरो सुनेनौ भने मलाई चिन्लाऊ कसरी ?”
“भन ,सबै सुन्दैछु । ”
“ भातको मातले निद्रा लाग्छ तर कुरो फुर्दैन । ”
“ के थाहा , कति दिनदेखि भात खाइरहेको छु ।”
“यो कस्तो कुरा गर्छौ ?”
“रोटी र प्याज खान्थेँ ।”
“ए हे , कहिले ?”
“धेरै वर्षदेखि ।”
सुनेर रतन छक्क प¥यो र सोध्यो, “ जेलमा भात दिदैनथे ? जेलैमा न थियौ तिमी ?”
“दिन्थे दिन त । ”
“रोटी र प्याज ? त्यहाँ चामल दिँदैनथे ?”
“दिन्थे तर पकाउने कसले ?”
“बाबु, अन्न त लक्ष्मी हुन् । चामल थियो । इच्छा भएको भए पकाएर खान्थ्यौ । खाएनौ ,त्यसैले भातको दुःख बुझ्दैनौ । भातको मर्म थाहा पाउन सक्दैनौ । त्यसैले भन्दैछौ कि भातको मातले यो डुम बकबक गरिरहेको छ ।”
“त्यसो होइन । भन ,अरू भन , रतनदा । रात त छिप्पिइरहेको छ । ”
सदानन्दले खोक्दै घाँटी सफा गर्दै भन्यो, “सुन्न त म सुनिरहेको छु ,बाबु । तर मेरो आँखा त झपक्क लागिसक्यो ।”
रतनले खिस्सि गर्दै भन्यो,“धत् ,साला !”
“तिमी जाग्राम बस्न सक्छौ तर ममा त्यस्तो तागत छैन । ”
पल्टनासाथै सदानन्द निदायो । मधुरो बलिरहेको लालटीनतिर हेर्दै रतन कुनै सोचमा डुबेझैँ देखियो तर एकछिनपछि भन्न थाल्यो, “यतिका कुरा भनेर के फाइदा ? एउटा कुरा अझ भनौँ ? त्यस मामिलामा दीनु जस्ता धेरै केटाहरूको , धेरै इमान्दार केटाहरूको , मन भाँचिएको थियो र जसको मन भाँचिन्छ ,तिनै नक्सली बन्दछन् । यस्तो नि कुरा हुन्छ ,बाबु ?तिम्रो पार्टी, नक्सली र काङ्ग्रेसहरू – यीबाहेक के अरू कुनै पार्टी छैनन् ? यीबाहेक पनि अनगिन्ती मानिसहरू छन् । सुकुल बाबु पनि कुनै पार्टीमा थिएनन् । अहिले पनि कुनै पार्टीमा आवद्ध भएका छैनन् ।”
यस प्रसङ्गमा सुकुल वकीलको कथा अर्थात् उनको अनुभव निकै महत्वपूर्ण कुरो हुनेछ । ती घटना–अनुभवहरू सुनेरै इन्द्र एउटा निर्णयमा पुग्न सकेको थियो ।
“बाढी र बाढीउप्रान्त निकै दिन बितेर गयो । प्रशासनको तौर तरिकामा परिवर्तन होला भन्ने आशा ती डुमहरूमा मरिसकेको थियो । सबै कुरो पहिलेकै जस्तो गरी चलिरहेको थियो । अझ पहिलेको भन्दा झन नराम्रै थियो शायद वा राम्रो । खासमा राम्रो–नराम्रो भन्ने केही छैन । इन्द्र बाबु, कुनै कुरो रामका लागि रामो हुन्छ भने त्यही कुरो श्यामका लागि नरामो । रतनको उमेर थोरै त होइन नि । नारायणी सिनेमा हल जहाँ बनेको छ , देख्या छौ त्यो , देखेका छैनौ ? हेरेर आऊ । निकै उत्ताउलो हल हो त्यो । त्यही हलअगाडि रतनको छोरा अभागी मातो डुम रिक्सा लिएर बसिरहन्छ । बाबु , हेर न थरिथरिका जुत्ताचप्पल अनि कपालको पनि थरिथरिको फेसन । ”
रतन भन्दै गयो, “ अहिले जहाँ नारायणी सिनेमा हल छ ,पहिले त्यहाँ घना जङ्गल थियो । जागुलाको नाम थियो – भुइँया जागुला । तिनताका पनि जागुला शहर कहलिन्थ्यो तर सानो । शहर निकै देखेको छ रतन डुमले । अहिले जहाँ राजमार्गको बस जङ्कसन छ ,त्यहाँ हात्ती हेर्न जान्थ्यौँ हामी । त्यहाँ भुइँया राजाहरूको हात्ती चर्ने गर्दथ्यो । बाँसघारी थियो त्यहाँ , हात्ती बाँसको हाँगा–पात खान्थ्यो ।”
“राम्रो भनेको के हो र नराम्रो भनेको के , हँ बाबु ? अहिले पुलिसबालाहरू सामन्तको ज्वाइँ बनेका छन् । पुलिसहरूको जिउमा केहीले यसो कोरिँदा पनि बाबुहरूको आँखा रसाउँछ । पार्टीका केटाहरूलाई अन्धाधुन्ध लाठी बर्साउँथ्यो त्यही पुलिसले । अचेल त केटाहरूले ती सब कुरा बिर्सिसके । तिनीहरू नै अचेल भित्तामा लेख्छन् –पुलिसमाथि भइरहेको अत्याचार शिघ्र रोकिनु पर्दछ ।”
“यसो गर्दा पुलिसको हित हुन्छ । पार्टीका केटाहरूको हित हुन्छ वा अहित , त्यो रतन जान्दैन । केटाहरू एकदम बेकुफ छन् । तिनमा सोच्ने–बुझ्ने क्षमता छैन । हेर्ने आँखा र सोच्ने मस्तिष्क तिनले पार्टीमा बन्धकी राखेका छन् । रतन यही ठान्दछ ।”
“पुलिसका लागि हितकारी कुरो भनेको घुस लिनु हो । पुलिसले घुस खाइरहेको छ । गरिब निम्छराहरूलाई सताइरहेको छ ,दुःख दिइरहेको छ तर चोर, बदमास, लुटाहा, मिचाहाका मण्डलीलाई अनि सर्दार र ठालूहरूलाई सघाइरहेको छ । ”
“यो कुरो रतन जस्ताका लागि दुःखदायी कुरो हो किनभने उनीहरू पुलिसद्वारा सताइएकै थिए । सबै क्षेत्रमा यस्तै छ ,बाबु । गौर , कदम, रजत,दीनु जस्ता केटाहरूका छातीमाथि बडेमान ढुङ्गाले थिचिराखेझैँ गहौँ भइरहेको छ । तिनीहरू गाडीमा चढेर काला चश्माभित्रबाट नाडी घडीको समय हेर्दै भाषण छाँट्नेजस्ता होइनन् । ‘कामरेड ! साथीहरू !! बन्धुहरू !!! महिला तथा सज्जनवृन्द !’ भन्दै दुई मिनेटको भाषण छाँटेर इलाकाका सबै पुराना समस्याहरूको समाधान सुझाउने पार्टीका सोखिन बाबुहरू जस्ता होइनन । तिनीहरू त सडक छाप कार्यकर्ता हुन । जनताको सामना गर्नुपर्छ तिनीहरूले ।”
रतन रोकिएन, भन्दै रह्यो, “जागुला पनि ठेकेदार,कालाबजारिया र सर्दार मुखियाहरूको पञ्जामा छ । चिजबिजहरूको भाउबेसाहा बढिरहेछ औषधि पाइँदैन । मट्टितेल पाइँदैन । यी कुराहरू रतनहरूका लागि चिन्ताको कुरो हो । यस्तो हुनुले फाइदा कसलाई भइरहेको छ, तिमी आफैँ बिचार गर , इन्द्र बाबु ।”
”यो सबै कसको अरनखटनमा भइरहेको छ ?”
”धेरै दिनदेखि बौलठ्ठीझैँ रतन त्यही मान्छेको खोजीमा लागेको छ, जसको निर्देशनमा यी कुराहरू भइरहेको छ र भइरहनेछ । उसको बौलठ्ठी चिन्तनको कुरो बसाई टुडुलाई थाहा थियो । उनी गम्भीर भएर उसको सारा दुःखेसो सुन्थे र भन्थे – यो भयो नि कुरो.. ती सबैलाई मैले चिनेको छु । म तिनैसँग लडिरहेको छु । ”
”बसाईको कुरो रहन दिनुस् । इन्द्र ती सारा कुराहरू बुझ्न सक्दैन । अहिले त सुकुल बाबुको कुरो सुनाउनुस् ।”
सुकुल साँतरा । शहरका वकिल हुन् –वरिष्ठ,जल्दाबल्दा र चलेका । अहँ , काली साँतराका कोही पनि होइनन । केही सम्झ्यो त इन्द्रले ? तिनै जसको घरअगाडिको मूलद्वारको माथि पुच्छर हल्लाउँदै गरेको सिंह छ –सिमेन्टीको । सुकुल साँतराका पिताजी विक्रम साँतराले त्यो घर बनाएका थिए ,मूलद्वारमाथि सिंहको मूर्ति राख्न लगाएका थिए । सुुकुल साँतरा ठूला वकिल हुन् । जमीनसम्बन्धी कानूनका सिद्धहस्त ज्ञाता । बेलाबेलामा, खोई किन हो कुन्नि रतनलाई त्यो थाहा छैन, सुकुल बाबु पार्टीका एकदम तल्ला तहका कार्यकर्ताका मुद्दाहरू हेर्दछन् । जस्तो कि वादी मोहनचाँद बागडियाका विरुद्ध प्रतिवादी उद्धरण भुइँमालीको मुद्दा । हुन त त्यो मुद्दामा उद्दरणले नै जितेको थियो तर पछि उद्दरणलाई केही रकम दिएर बागडियाले त्यो विवादास्पद जमीन हात पारेको थियो ।
यस वर्षको बाढीको अनुभवपछि रतनले बिर्सेर पनि सोचेको थिएन कि सेलाइसकेको वा चित्त बुझाइसकेको उसको मन फेरि यसरी भडकेला । तर अचानक शहरको एउटा घुम्तिमा ,अदालत तथा नगरपालिकाको कार्यालयको भित्तामा ,बस बिसौनीको मोडमा तथा सबै दर्शनीय ठाउँहरूमा ठूलाठूला होर्डिङ बोर्डहरू राखिएको थियो । अपरेसन बर्गालाई सफल पार्नका लागि आम जनतालाई अघि बढन आदेश दिँदै हृष्टपुष्ट काला हरफहरू चर्काचर्का स्वरमा कराइरहेका थिए । ‘बर्गा’ शब्दको लेखाइ हेर्नेबित्तिकै अनुमान गर्न सकिन्थ्यो कि यो लेख्ने ठेक्का कसलाई दिइएको हो । शोभन षडगी नै यस शहरको यो शासनदेखि त्यो शासनसम्म सबभन्दा महँगो होर्डिङ लेख्छन् , आफ्नो कपालकुण्डला आर्ट स्टुडियोमा ।
शोभनको कपाल लामोलामो छ –घँुडा छुने । जुन बेला पनि स्टुडियोको अघिल्तिर मेच राखेर बस्छ र कपाल सुकाउँछ । भन्दछ ,“ उसका पुर्खा अभिराम षडगी छ फिट अग्ला थिए र उनको कपालले त कुर्कुच्चा छुन्थ्यो । एक साँझ समुदको किनारमा कपाल सुकाइरहेका थिए ,त्यसैबेला बङ्किमचन्द्रले ‘कपालकुण्डला’को कपालको वर्णन गरेका थिए ।” उसको यो भनाइको सत्यासत्यको बारेमा कसैले जाँचबुझ गरेनन । हुन त शोभन षडगी आफूलाई रविन्द्रनाथ ठाकुरको नातेदार भन्थ्यो । जेसुकै भए तापनि उसको घरको नाम ‘रविन्द्र कुञ्ज’ र स्टुडियोको नाम ‘कपालकुण्डला’ र उसले चढने गरेको साइकलको नाम ‘धर्मेन्दर’ थियो ।
शोभनले नै धर्मराजको मेलामा रतनसँग भनेको थियो, “यसपालि त सब राजा हुने भए । सबैले जमीन पाउने भए । ”
रतनले सोधेको थियो, “ जमीन मात्रै , घरबार,खेतखलो,बगैँचा, गाईगोरु आदि पाइँदैन ?”
क्रमत्र……..
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।