परिच्छेद -१२

अतिथि युवती र काउन्टेसकी जेठी छोरीलाई नगन्ने हो भने (जो आफ्नी छोरीभन्दा चार वर्ष मात्र जेठी भए पनि उमेर पुगेकी महिलाले जस्तो व्यवहार गर्थी), प्रतीक्षालयमा अब तिकोलास र काउन्टकी भान्जी सोन्या मात्र बाँकी थिए । सोन्या कालो कपाल भएकी, दुब्ली-पातली र सानो-सानो कदकी केटी थिई । उसका सुन्दर आँखाका परेलाहरू लामा-लामा थिए । उसले आफ्ना बाक्लो तथा कालो केशराशिले शिरमाथि दुई पटक बाँधेर जुरो पारेकी थिई । उसको अनुहार खास गरेर उसका खुला पातला-पातला तर सजिएका बलिया पाखुरा र गर्दनको छाला तथा सम्पूर्ण शरीरको वर्ण पहँलो खालको देखिन्थ्यो ।
उसको गतिविधिको मृदुलता, साता-साना अङ्गहरूको कोमलता र लचकता तथा उसको व्यवहारमा देखिने एक प्रकारको गम्भीरता तथा लजालुपनाका कारण ऊ एउटा बिरालीको सानी बच्चीजस्ती लाग्थी, जो पछि गएर एउटी सुन्दर र पूर्ण रूपकी बिरालीमा परिणत हुन सक्थी । उसले सामान्य रूपमा बोलचाल गर्दा पनि मुसुक्क मुस्कुराएर शिष्टता प्रकट गर्थी । तर उसका बाक्लो तथा लामा-लामा परेलामुनिका आँखाहरूले उसको इच्छाविरुद्ध सैनिक सेवामा जान लागेको मावलीतर्फको दाइलाई यसरी युवतीसुलभ प्रेम दर्शाएर हेर्थी कि उसको मुस्कानले एक छिन पनि कसैलाई झुक्याउन सक्तैनथ्यो । र, यो स्पष्ट थियो कि हाल सुस्ताउन बसेकी यो बिरालीकी बच्ची केही छिनपछि नै ठूलो बल लगाएर उफ्रिनेछ र आफ्नो त्यो दाइसँग त्यसबेला खेल्न सक्नेछ, जुन बेला बोरिस र नतासाझैँ उनीहरू दुई जना पनि यस प्रतीक्षालयबाट बाहिर निस्कन सक्नेछन्‌ ।

“हो, मेरी प्यारी,” महिला पाहुनालाई सम्बोधन गर्दै र निकोलासतर्फ सङ्केत गर्दै, काउन्टले भने, “उसको साथी अफिसर भइसक्यो, त्यसैले साथीका लागि ऊ विश्वविद्यालय र म बुढो भएको बाबूलाई पनि छोडेर सेनामा भर्ती हुँदैछ । मेरी प्यारी, हेर त उसका लागि अभिलेखालयमा जागिर र अन्य सबै चिजको व्यवस्था भइसकेको थियो । यसैलाई भन्दारहेछन्‌ सायद असली मित्रता कि कसो ?” काउन्टले प्रश्नवाचक ध्वनिमा सोधे ।
“तर उनीहरू त युद्धको घोषणा भइसक्यो भन्छन्‌ नि,” महिला पाहुनाले प्रतिक्रिया जनाई ।

“यस्तो भनेको त धेरै दिन भइसक्यो । र, उनीहरूले यो पटकपटक भेनिरहने छन्‌ तबसम्म भन्न छोडदैनन्‌, जबसम्म युद्ध सुरु हुँदैन,” काउन्टले भने । “मेरी प्यारी, मित्रता भनेको यस्तो पो हुनुपर्छ,” काउन्टले फेरि उही कुरा दोहोर्याए । “ऊ हुस्सार (युरोपेली सर्वियाली सेना) सेनामा भर्ती हुँदैछ ।

यसको जवाफ के दिने भन्ने नसुझेर पाहुनाले टाउको मात्र हल्लाई । निकोलासले च्याँठिदै र मुन्टो एकातिर बटार्दै भन्यो, “मित्रताको लागि हुँदै होइन । आफूमाथि लागेको लज्जास्पद कलङ्क मेटाउन आफ्नै प्रेरणाले सैनिक सेवामा जान लागेको हुँ । मित्रताको कारणले हुँदै होइन,” उसले फेरि दोहोर्यायो ।

उसले महिला पाहुना र फुपू्पट्टिकी बहिनी सोन्यातर्फ दृष्टि दियो र उनीहरूले पनि स्वीकृतिसूचक मुस्कानका साथ उसलाई हेरिरहेका थिए ।

“आज हामीकहाँ पाभ्लोग्राडको हुस्सार रेजिमेन्टका कर्नेल सुबेर्त रातको खाना खान आउँदै हुनुहुन्छ । उहाँ छुट्टिमा यहाँ आउनुभएको हो-र यहाँ आई फर्कदा उहाँले निकोलासलाई आफूसँगै लिएर जानुहुन्छ ।” “अब यसमा कसैको केही सीप लाग्दैन,” काउन्टले कुम जुर्क्याउँदै भने । उनले यो कुरा ठट्यौलो ढङ्गबाट भने पनि उनको मन रमाएको थिएन भन्ने स्पष्ट रूपमा बुझ्न सकिन्थ्यो ।

“बुबा, मैले तपाईंलाई भनिसकेको छु- यदि तपाईं छोड्न चाहनुहुन्न भने भैगो म जान्नँ,” निकोलासले भन्यो । “तर म सैनिक सेवामा बाहेक अरू कुनै काममा पनि योग्य छैन । म कूटनीतिज्ञ पनि हुन सक्तिनँ र अन्य सरकारी जागिर पनि खान सक्तिनँ । मन लागेको कुरा म लुकाउन पनि जान्दिनँ ।” यो स्पष्टोक्ति मुखबाट निकाल्दा उसले एउटा सुन्दर र जवान युवकले जस्तो सोन्या र महिला पाहुनातिर दृष्टि दिइरहेको थियो ।

निकोलासमाथि आँखा गाडिरहेकी सानी बिराली आफ्नो त्रीडा फेरि सुरु गरेर बिरालीको जस्तो आफ्नो स्वभाव कुनै पनि क्षणमा प्रदर्शन गर्न तयार भएजस्ती देखिन्थी ।

“ठीकै छ, ठीकै छ” बुढा काउन्टले भने । “मन नपरेको कुरामा च्याँट्ठी हाल्ने उसको स्वभाव नै यस्तै छ । यो बोनापार्टले सबैको बुद्धि भुटिदिएको छ । यिनीहरू सबै कसरी बोनापार्ट एउटा सैनिक अफिसरबाट सम्राट्सम्म हुन सफल भयो भन्ने कुरा मात्र कल्पना गर्छन्‌ । ठीक छ, भगवानले कल्याण गरुन्‌,” अतिथि महिलाको व्यङ्ग्यपूर्ण मुस्कानतर्फ ध्यानै नदिई उनले थपे ।

बुढापाकाहरू बोनापार्टका बारेमा चर्चा गर्न लागे । जुली कारागिना, निकोलास रोस्तोभतर्फ फर्की । “अस्ति बिहिबारका दिन तपाईं अरखारोभहरूकोमा नआउँदा मलाई कति नरमाइलो लाग्यो,” मन्द मुस्कान छोड्दै उसले भनी ।.

मनमा काउकुती लाउने खालका यस्ता शब्द सुनेर निकोलास पनि ओठमा हाउभाउसहितको मुस्कान लिएर जुलीका सामु गएर बस्यो र मुस्कुराइरहेकी उससँग मस्तसँग गफ गर्न लाग्यो । तर अनायास प्रकट भएको उसको ओठको यो मुस्कानले सोन्याको कमलो छातीमा चरचरी चिरा परेको उसले अनुभूति गर्न सकेन । तर रिस र डाहाले गर्दा रातोपिरो अनुहार लाएकी सोन्या कृत्रिम हाँसो हाँसिरहेकी थिई । जुलीसँग गफ गर्दै उसले सोन्यालाई यसो हेर्यो । सोन्याले उसलाई वक्रदृष्टिले हेरी र आँखामा सक्कली आँसु र आँठमा नक्क्ली मुस्कान थाम्त नसकेर क जुरुक्क उठी र कोठाबाट बाहिर निस्की । निकोलासको होसहवास गुम भयो । चलिरहेको कुराकानीमा पहिलो विराम लाग्नेबित्तिकै ऊ निन्याउरो मुख लगाएर कोठाबाट निस्क्यो र सोन्यालाई खोज्न थाल्यो ।

“यी युवायुवतीहरूको दिलको कुरा यिनीहरूको अनुहारले नै स्पष्ट रूपमा बताउँछ,” निकोलास त्यहाँबाट हिँडेपछि उसलाई सङ्केत गर्दै अन्ना मिखायलोभ्नाले प्रतिक्रिया जनाई । “मामा-चेला, फुपू-चेलीका बीच स्वाभाविक रूपमा प्रेम भइहाल्ने मात्र होइन, उनीहरू बीचको सम्बन्ध खतरनाक पनि हुन्छ ।”

“हो” यी युवापिँढीले प्रतीक्षालयभित्र प्रवेश गर्दा ल्याएको उज्यालो तथा रमाइलो हराइसकेपछि कोउन्टेसले भनिन्‌ र मानौँ उनले त्यो प्रश्नको उत्तर दिइन्‌, जो उनलाई कसैले सोधेकै थिएन तापनि उनको दिमागमा सधैँ खेलिरहन्थ्यो- आफ्ना छोराछोरीहरूबाट सुख-सन्तोष पाउन सकौँ भनेर हामीले कति दुःख कष्ट र कति चिन्ता व्यहोर्नु पर्छ तर यथार्थ त यस्तो रहेछ कि पहिलेभन्दा पनि अहिले झन्‌ ठूलो चिन्ता लाग्दो रहेछ । जहिले पनि र सधैँभरि मनमा एक प्रकारको त्रास भइरहँदो रहेछ । किनभने यो उमेर केटा र केटीहरू दुवैका लागि अत्यन्त खतरनाक हुन्छ नै ।

“यी सबै पालनपोषण र शिक्षादीक्षामा भर पर्ने कुरा हुन्‌,” पाहुना महिलाले भनी । “हो, तपाईंले एकदम ठीक कुरा गर्नु भयो,” काउन्टेस भन्दै गइन्‌ । “भगवानका कृपाले मेरा छोरीहरूका लागि म अहिलेसम्म सधैँ एउटी साथीजस्ती भएकी छु र मेरो उनीहरूमाथि पूर्ण विश्वास छ- उनीहरू मसँग झुट्टा कुरा कहिल्यै गर्दैनन्‌ ।”

धेरैजसो बाबु-आमा आफ्ना छोराछोरीहरूले आफूहरूसँग झुठा कुरा गर्दैनन्‌ भन्ने विश्वास गरेर गरेको गल्ती दोहोर्याउँदै उनले भनिन्‌।

मलाई थाहा छ, मेरी छोरीको सबभन्दा नजिकको विश्वासपात्र सधैँभरि म नै हुनेछु, र निकोलासले यदि व्यक्तिगत स्वभावबस (यस उमेरका अन्य केटाहरूले जस्तै) कनै गल्ती काम गर्यो नै भने पनि पिटर्सबर्गका अन्य तन्नेरी केटाहरूले जस्तो कदापि गर्ने छैन ।”

“हो, प्रिया केटोकेटीहरूको चरित्र साह्रै राम्रो छ । तिम्रो कुरामा म सहमत छु,” काउन्टले स्वरमा स्वर मिलाए । काउन्टको स्वभाव पनि यस्तै थियो । उनी आफूमाथि आइपरेका समस्या आफ्नो किसिमले समाधान गर्ने प्रयास गर्थे । उनको सोचाइ सधैँ सकारात्मक हुने गर्थ्यो ।

अब त समय नै छैन तिमी नै विचार गर प्रिये ! ऊ त हुस्सार रेजिमेन्टमा भर्ती हुन दृढ सङ्कल्पित छ । यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ, तिमीले नै भन ।

“तपाईंकी कान्छी छोरी खास्साकी छ । उसलाई एउटा सानो-तिनो ज्वालामुखी भने पनि हुन्छ,” महिला पाहुनाले भनी ।

“हो, ऊ एक प्रकारकी नियमित ज्वालामुखी हो,” काउन्टले भने । “छोरी भए तापनि उसले मेरो धेरै हेरविचार गर्छे । उसको स्वर पनि असाध्य मीठो छ । म यति कुरा ठोकेर भन्छु, ऊ एकदिन एउटी प्रसिद्ध गायिका हुनेछ-सोलोमोनीकी उत्तराधिकारी ।
प्रशिक्षण दिन एक जना इटालियाली सङ्गीतकार पनि नियुक्त गरेका छौँ ।” “उसको उमेर निकै सानो छैन र ? मैले सुनेबमोजिम त यो उमेरकी केटीलाई गायनसम्बन्धी प्रशिक्षण दिँदा उसको गलालाई झन्‌ खराब गर्छ ।”

“होइन हो, ऊ त्यति सानी छैन अब,” काउन्टले उत्तर दिए । “हाम्रा आमा र हाम्रा दिदी-बहिनीहरूको पनि कुरा गरौँ न, जसको विवाह बाह्र-तेह्र वर्षको उमेरमा नै हुने गर्थ्यौ ।”
“ऊ त अब बोरिसको प्रेममा परिसकेकी छ । अब तपाईं आफै विचार गर्नुस्‌,” मन्द मुस्कानका साथ काउन्टेसले भनिन्‌ । यसो भन्दा उनले बोरिसतर्फ हेरिन्‌ र आफ्ना मनभित्रका कुरा स्पष्ट रूपमा प्रकट गर्दै गइन्‌ “यदि म मेरी छोरीका विरुद्ध कठोर रूपमा प्रस्तुत भएकी भए र उसको बाटोमा तगारो बनेकी भए, उनीहरूले के गर्थे वा के गर्दैनथे, त्यो कुरा भगवानलाई मात्र थाहा होला” (काउन्टेसको आशय उनीहरूले आफूसँग चुम्बनको आदानप्रदान गर्थे) “तर अहिले म उसले प्रकट गर्ने सङ्केत शब्दको अर्थ बुझ्न समर्थ छु । ऊ बेलुकीपख आफूखुसी दगु्दै मसँग आउँछे र मलाई सबै कुरा एकएक गरेर बताउँछे । हुन सक्छ, म उसलाई बिगार्दै छु तर मलाई यसो गर्नु नै सबभन्दा राम्रो तरिका हो जस्तो लाग्छ ।,यसकी दिदीचाहिँलाई भने मैले असाध्य कडा अनुशासनमा राखेकी थिएँ …..।”

“हो, मलाई अर्कै किसिमले पालनपोषण गरिएको थियो,” त्यो राम्री, जेठी छोरी काउन्टेस वेराले मुस्क्राउँदै भनी ।

तर जस्तो कि सामान्यतया हुन्छ, वेराको मुस्कानले उसको सुन्दरता बृद्धि गरेन, बरु उल्टै उसको अनुहार अस्वाभाविक र नमीठो जस्तो देखियो । वेरा हेर्नमा राम्री, व्यवहारमा समझदार र पढाइमा जेहेन्दार थिई । उसको बानीव्यहोरा र चालचलन असाध्यै राम्रो थियो । स्वर पनि उसको त्यत्तिकै मीठो थियो र ऊ आफैले भनेझैँ उसको पालनपोषण अर्कै ढङ्गले तर सुखसयलमा भएको थियो । तर यहाँनिर एउटा अचम्म, के भयो भने- उसले ती कुरा किन गर्नु परेको थियो, जसले गर्दा महिला पाहुना र आफ्नी आमाले समेत छक्क पर्दै उसलाई हेर्न लागे । अरूहरू सबैलाई पनि असजिलो लाग्यो ।

“मानिसहरू आफ्नो पहिलो सन्तानप्रति अति सम्वेदनशील हुन्छन्‌ । उसलाई समाजको अगाडि अपवादका रूपमा प्रस्तुत गर्न चाहन्छन्‌,” महिला पाहुनाले भनी ।

“अब यो कुरा लुकाएर केही फाइदा छैन प्रिय, तिमीले पनि हाम्री यो जेठी छोरी वेरालाई यस्तै गरेकी थियौ,” काउन्टले भने । “तर, त्यसले के फरक पर्यो र ? ऊ आफ्सेआफ असल छोरी भएर निस्की,” खुसी तुल्याउने हेतुले छोरीतिर आँखा झिम्क्याउँदै काउन्टले थपे ।

रात्रिभोजमा आउने प्रतिज्ञा गर्दै पाहुना आमा-छोरी बिदा भएर गए । “कति सोमत नभएकाहरू ! मलाई त जाँदै जाँदैनन्‌ कि जस्तो लागेको थियो,” उनीहरूलाई बिदा गरिसकेपछि काउन्टेसले भनिन्‌ ।