एक दिन । बिहानै ड्राइभरहरूको कोठाको ढोकामा ढ्वाकढ्वाक आवाज आयो । म जब बाहिर गएँ, पिङ्कीजी हातमा दुई वटा च्याकेट लिएर बाहिर उभिरहेकी थिइन् । आँगनको एउटा कुनामा दुई वटा पोलमा जाली बाँधेको रैछ । उनी जालीको एकातर्फ गइन्, म अर्कोतर्फ । उनले कर्क हिर्काइन् जुन् माथि पुगेर मेरो गोडा छेवैमा खस्यो |
“ए, के हेर्या ? फर्का न ।”
“माफ गर्नुहोला हजूर !”
मैले यो खेल कैले पनि खेलेको थिइनँ । सटल कर्क के हानेको थिएँ सीधै जालीमा गएर अड्क्यो ।
“छ्या कस्तो काम नलाग्ने मान्छे । अर्को ड्राइभर खोइ ?” उनले रिस पोखिन् ।
रामप्रसाद हाम्फाल्दै जालीछेउ आयो । छेउमा बसेर छ हामी खेलेको हेरिरहेको थियो । ब्याडमिन्टन रेल्न ऊ पोख्त थियो ।
उसले जोडका तोडले उनको प्रहार फर्काएको मैले मनमनै जलेर हेरिरहँ । यो दुनियाँमा नम्बर दुई ड्राइभरले नम्बर एकलाई गर्ने जति घृणा त अरू के होला र ? हामी मात्र केही फुटको फरकमा एउटै कोठामा सुत्थ्यौँ, तर हामी कहिल्यै गफगाफ, सन्चोबिसन्चो, “आमालाई सन्चै छ ?” आदि जस्ता भलाकुसारी गर्दैनथ्यौँ ।
म सहजै थाहा पाउँथे कि ऊ असिनपसिन भएर निद्रामा मलाई सरापिराख्थ्यो, टुनामुना बुनिराख्थ्यो । प्रत्येक बिहान सबेरै कोठामा टाँसेका बिसौँ देवदेवताको फोटोअघि ओम् ओम्_ओम् गरिसकेपछि मात्र उसको दिनचर्या सुरू हुन्थ्यो । ऊ यसो गरिरहँदा आँखाहरू उसका छड्के आँखा मतिरै हुन्थे र तिनले मलाई सोधिरहेको भान हुन्थ्यो कि ‘तँ प्रार्थना गर्दैनस् ? तँ नक्सलवादी हो ?”
एकदिन साँझपख म पनि बजार गएर भेटेजति सस्तोखाले २ दर्जनभन्दा बढी हनुमान् र रामका मूर्ति किनेर ल्याएँ र कोठाभरि राखेँ ! अब हाम्रो कोठामा हामी दुवैका देवताहरूको सङ्ख्या बराबर छ । बिहान आआफ्ना देवताहरूको अगाडि हामी प्रार्थना गरेर गुन्गुनाउँथ्यौं ।
नेपाली र रामप्रसाद खुबै मिल्थे । एकदिन नेपाली ठूलो प्लास्टिकको बाल्टीमा पानी लिएर हुरिँदै मेरो कोठामा आयो र बाल्टिन थचार्यो ।
मुसुक्क हाँस्दै सोध्यो, “ए पाखे, तँलाई कुकुर कतिको मनपर्छ ?” घरमा कुडल र पुडल नामका २ वटा सेतो पोमेरानियन जातका कुकुर थिए । धनाढ्यहरू आफ्ना कुकुरलाई मानिसकै जस्तो व्यवहारको अपेक्षा गर्छन् । कुकुरलाई डुलाइयोस्, खेलाइयोस्, माया गरियोस् नुहाइयोस् भन्ने चाहन्छन् । तपाईं अनुमान गर्नुस् त यो सब कसले गर्नुपर्थ्यो । म घुँडा टेकेर कुकुरलाई साबुन लगाइदिने, कोरिदिने, ,मिचिदिने, पखालिदिने र ड्रायर मेसिनले सुकाइदिने गर्थे अनि सित्रीले बाँधेर भित्र परिसरमा कुकुर डुलाउँथेँ, तर नेपालको राजाचाहिँ एउटा कुनामा थपक्क बसेर चिच्च्याउँथ्यो-
“ए अलि बिस्तारै तान् । तेरोभन्दा यिनीहरूको मूल्य बढी छ ।”
कुकुरको काम सकेपछि म हात सुँघ्दै कोठातिर फर्कन्थेँ । नोकरको हातको कुकुरको गन्ध, मालिकलाई मालिस गरेपछि मात्र हराउँथ्यो ।
अशोकजी मेरो कोठा बाहिर उभिएका रहेछन् ।
मैले दौडिँदै गएर स्वस्ती गरेँ । उनी कोठाभित्र छिरे । मैले लुते कुकुरले झैँ पछ्याएँ । उनी निहुरिएर ढोकाभित्र छिरे, किनकि ढोकाको चौकोस खान नपाएको च्याँसे नोकरमात्र छिर्ने खालको होचो थियो । हृष्टपुष्ट अग्लो मालिक यसबाट छिर्दैनथे । शङ्कालु नजरले छानोतिर हेरे ।
“छ्या, कस्तो बैराग लाग्ने उनले भने !
यति बेलासम्म मैले त्यो उप्केको रङ्गको लोप्रा र कुनाकुनामा माकुराको जालो देखेकै थिइन् । यति बेलासम्म म यही कोठामा खुसी नै थिएँ ।
‘यहाँ के गन्हाएको यस्तो ? झ्याल खोल त, ए – -‘
उनी रामप्रसादको ओछ्यानमा बसेर औँलाले यसो दबाएर बिस्तरा छाम्न थाले । उनलाई त्यो साह्रो लाग्यो । अनि अचानक रामप्रसादप्रतिको मेरो ईर्ष्या मरेर गयो ।
(अनि त्यो कोठा उनकै आँखाले देखेँ, उनकै नाकले सुँघेँ, उनकै औँलाले दबाएर छाँमे – यसको अर्थ मैले पूरै मेरो मालिकलाई पचाइसकेको थिएँ, गजबको कुरा ।)
उनी मतिर फर्के, तर नजर जुधाएनन् मानौँ उनलाई केही पीडाबोध भएको छ |
“अब तेरो र रामप्रसादको सुत्ने कोठा अलि राम्रो हुनेछ । ओछ्यान पनि छुट्टाछुटै ता कि तिमीहरूलाई केही एकान्त पनि होस् ।’ फ्याट्ट उनको मुखबाट निस्क्यो ।
“कृपया टाउको नदुखाउँ हजूर । हाम्लाई यो दरबार जस्तै छ ।’
यो सुनेर उनले अलि सजिलो माने र बल्ल मलाई सीधा हेरे ।
“तँ लक्ष्मणगढबाट आको होइन त ?” सोधे !
“हो हजूर”
“म पनि जन्मेको त त्यहीँ हो, तर त्यसपछि त्यो ठाउँ देख्या छैन । तै पनि त्यही जन्मेको हो ?”
“हो हजूर । जन्ने हुर्केकै त्यहीँ हो ।”
“पक्कै त्यो ठाउँ कस्तो छ ?”
“पक्कै त्यो राम्रै ठाउँ होला” म बोल्नुभन्दा पहिल्यै बोले ।
“स्वर्ग छ हजूर ।”
उनले मलाई माथिदेखि तलसम्म नियालेर हेरे जसरी त्यो घरमा आएको दिनदेखि मैले उनलाई हेर्थे ।
उनी आश्चर्यचकित भएको कुरा आँखैबाट झल्किन्थ्यो । उनी सोधिरहेका थिए कि कसरी यही माटो घाम र हावापानीमा यति भिन्न मानव आत्मा भएका प्राणी जन्मे होलान् ?
ओछ्यानबाट उठ्दै उनले भने, “ठीक छ ल | म आज त्यहाँ जाने हो | मलाई तैँले नै गाडीमा लानुपर्छ, ठीक छ ? मलाई म जन्मेको ठाउँ हेर्न मन छ ।
“हुन्छ हजूर !”
मेरो पोसाकमा ठाँटिएर भुँडीफोरको कार चलाएर उनकै छोराबुहारीसँग कुरा गर्दै घर जाने ! कति मजा !
मलाई त खुसी थाम्न नसकेर उनको खुट्टा ढोगेर चुम्बन गरौँ जस्तो लाग्याथ्यो ।
भुँडीफोर पनि हामीसँगै जान चाहन्थ्यो | ऊ सँगै जाँदा गाउँमा मेरो अझ इज्जत बढ्थ्यो । कुन्नि किन हो अन्तिम समयमा उसले नजाने निर्णय गर्यो |
अन्त्यमा अशोकजी र उनकी श्रीमती पिङ्कीलाई होन्डा सिटीमा लिएर गाउँको बाटो हुँदै लक्ष्मणगढतिर लागेँ ।
मैले उनीहरूलाई गाडीमा लिएर हिँडेको पहिलोपालि हो । आज अघिसम्म त्यो विशेषाधिकार रामप्रसादमा मात्र सीमित थियो | होन्डा सिटी जस्तो आफ्नै दिमाग भएको सनकी कारमा मेरो हात बसेको थिएन | मबाट गल्ती नहोस् भनेर मैले सबै भगवान्को नाम पुकारेँ ।
आधा घन्टासम्म उनीहरू चुपचाप बसे । ड्राइभर भएको नाताले अनुभव गर्न सकिन्छ कि जब गाडीमा केही तनाव उत्पन्न हुन्छ, गाडीभित्रको तापक्रम पनि बढ्छ । गाडीभित्रकी महिला रिसाएकी थिइन् ।
“हामी यो गाउँको बिचैबिचबाट त्यहाँ किन जाने ?” धेरै बेरको सुनसानलाई चिर्दै उनी बोलिन् ।
“यो मेरो पुर्ख्यौली गाउँ हो पिङ्की । तिमीले नहेर्ने, कस्तो रै छ ? म त्यही जन्मेको हो, तर म सानै छँदा बुबाले बाहिर पठाउनुभो । त्यति बेला यहाँ कम्युनिस्ट गुरिल्लाहरूको बिगबिगी थियो | मैले सोचेँ हामी _ _ _ ”
“फर्किने कहिले सोच्या छौ तिमीले ?” बिच्चैमा उनी बोलिन् ।
“मेरो मतलब न्युयोर्क कहिले फर्किने ?”
“मैले त्यस बारेमा सोचेको छैन, तर छिट्टै हुन्छ होला ।”
उनी एकछिन चुप बसे । मेरो कान अझ चनाखो भयो । यदि यिनीहरू अमेरिका फर्के भने घरमा २ नम्बर चालक नचाहिने पो हो कि ? म झस्किएँ ।
उनी केही बोलिनन्, तर म कसम खाएर भन्छु उनले दाँत किटिराखेकी थिइन् रिसले चुर परेर ।
अशोकले कुनै सङ्केत गरेनन् बरू गीत गुन्गुनाइरहे ।
“रमाइलो ठट्टा त हो नि ।” उनले भनिन् !
“के ?”
“तिमी झुटो बोलेको होइन त ? तिमी अब अमेरिका कहिल्यै फर्किन्नौ, फर्किन्छौ त ?”
“म तिमीलाई सबैकुरा पछि भनुँला । ड्राइभरले सुन्ला अहिले हुँदैन ।”
“सुनेर के भो त ? ऊ ड्राइभर मात्र न हो ! तिमी कुरा टार्न खोज्दै छौ ।”
कारभित्र मिठो बास्ना हर्र आयो । मैले बुझेँ उनी कतै फर्केर लुगा मिलाउँदै छिन् !
“हामीलाई ड्राइभर नै किन चाहियो र पहिला जस्तै तिमी आफैँ चलाक न”
“न्युयोर्कमा चलाउन संकिन्छ पिङ्की । यो भारत हो । बाटोमा सवारीको भिड हेर त कति छ ? नियम कसैले मान्दैन । मानिसहरू पागलजस्तै बाटो काट्छन् । ऊ ऊ हेर त अगाडि ।’
एउटा ट्रयाक्टर पुतपुत धुँवा फाल्दै तीव्र गतिमा आउँदै थियो ।
“त्यो ट्रयाक्टर गलत साइडमा गुडिराख्याछ, तर ड्राइभरलाई थाहै छैन । अचम्म !” साँच्चै मैले पनि ख्याल गरेको रैनछु । यहाँ देब्रे साइड च्यापेर चलाउनुपर्छ, तर आजसम्म यो नियम पालना गर्नुपर्दा यति विघ्न चिढिएको मान्छे चाहिँ देखेको थिइनँ ।
“त्यो डिजेलको पुतपुत धुँवा हेर त । पिङ्की म यहाँ गाडी चलाएँ भने त बौलाउँछु |”
नदीको तिरैतिर गएपछि कालोपत्रे बाटो सकियो । उबडखाबड कच्ची बाटो हुँदै हामी यौटा सानो बजारबाट छिर्यौँ जहाँ जम्मा तीन वटा मट्टितेल, अगरबत्ती, चामल बेच्ने एउटै खालका पसल थिए । सबैले हामीतिर हेरे । बच्चाहरू कारको पछिपछि दगुरे । अशोकजीले उनीहरूलाई हात हल्लाए । उनी चाहन्थे पिङ्कीले पनि हल्लाउन्, तर उनले हल्लाइनन् ।
बच्चाहरू देखिन छोडे । तिनीहरूले हामीलाई भेटाउन सकेनन्, किनकि हामीले यौटा सानो सडक काटिसकेका थियौं । हामी जमिनदारको बासस्थानमा पुग्यौँ ।
भुँडीफोरको हवेलीको पाले गेटमै पर्खिराखेको रै छ । मैले गाडी रोक्न नपाउँदै आएर कारको ढोका खोलेर अशोकजीको गोडा छोयो र चिच्च्यायो- “छोटे सरकार, तपाईं यहाँ ? तपाईं कसरी अन्तिममा आज !”
अशोकजी र पिङ्की म्याडमसँगै खाना खान बनेल पनि आयो । जे होस् ऊ तिनीहरूको काका बाउ नै हो । जब खान खान ऊ हवेलीभित्र छिर्यो, मैले भान्सामा गएर पालेलाई भनेँ, “खाना म नै लगिदिन्छु किनकि अशोकजी मलाई साह्टै मनपर्छ !” भान्छेले हुन्छ भन्यो । मैले धेरै वर्षपछि बनेलको अनुहार देख्न पाएँ | ऊ मैले सोचेभन्दा अलि बूढो रै छ । कुप्रो शरीर तर दाँत उही पहिलेको जस्तै कालो, दुईतिरबाट उछिट्टिएर बाहिर निस्केको । अग्लो छानो, झालरबत्ती, पुरानो टेबल कुर्चीले झकिझकाउ भएको डाइनिङ कोठामा उनीहरूले खाना खाए ।
“बडो सुन्दर हवेली । सबै चिज भव्य छ यहाँ” अशोकजीले भने ।
“अरू सबै ठिकै हो, तर झालरबत्ती अलि पुरानो रै छ उनले थपिन् ।
“तेरो बुबालाई झालरबत्ती खुप मनपर्छ ।” बनेलले भन्यो ।
“स्नानघरमा पनि यौटा राख्ने विचार थियो वहाँको । तैंले सुन्याथिस् ? मैले साँच्चै भनेको हो, गफ होइन ।”
पालेले खानेकुरा टेबलमा राखिदिएपछि यसो हेर्दै अशोकजी बोले, “शाकाहारी परिकार केही छैन ? म मासु खान्न ।”
“जमिनदार शाकाहारी हुन्छ भन्ने मैले आजसम्म सुनेकै छैन ।” बनेलले प्रतिवाद गर्यो । “यो राम्रो कुरा होइन । बलियो हुनलाई पनि मासु चाहिं खानैपर्छ ।’ मुख खोल्द्रा बाङ्गो दाँत देखियो ।
“मलाई अनावश्यक रूपमा जनावर मारेर खाने कुरा नै मन पर्दैन । अमेरिकामा पनि शाकाहारी छन् । मेरो विचारमा तिनीहरूले ठीक गरेका छन् ।
“आजमभोलिका केटाहरू कस्तो पागल बिचार लिएर आउँछन् ।’ बूढो झर्किँदै बोल्यो । ‘तँ जमिनदारको छोरो हो । शाकाहारी त ब्राहमण मात्र बन्छन्, हामी होइन ।”
खानापछि मैले भाँडा माझ, । पालेलाई चिया पकाउन सघाएँ । मालिकहरूलाई सेवा गर्ने छँदै छन् । अब मेरो परिवारलाई भेट्ने बेला आयो । पछाडिको ढोकाबाट म बाहिर निस्कें । म आएको सबैलाई थाहा रै छ । सबैजना हवेलीमा आएर छोए बिग्रन्छ कि जस्तो गरेर होन्डा कार दङ्ग पर्दै हेरिरहेका ।
मलाई देखेपछि किसनले हात उठायो । तीन महिनाअघि धनबाद छोडेर खेतमा काम गर्न घर फर्केपछि मैले उसलाई देखेकै थिइनँ । म निहुँरिएर छोएर उसको गोडा धेरै बेरसम्म समातीरहेँ, किनकि मलाई थाहा छ मैले उसको गोडा छोड्ने बित्तिकै अब उसले नराम्ररी झपार्छ । कारण मैले विगत २ महिनादेखि घरमा एक पैसा पठाएको थिइनँ ।
“जे भए पनि परिवार बिर्सेको रैनछ, यसले“ खुट्टाबाट मलाई उठाउँदै उसले भन्यो । “हामीलाई कसरी सम्झेछ त यसले ?”
“दाइ मलाई माफ गरिदेऊ ।”
“तैंले महिनौंदेखि एक पैसा पनि घर पठाएको छैनस् । हामी बीच के समझदारी भएको थियो, बिर्सिइस् ?”
“दाइ मलाई माफ गरिदेऊ ।”
तर उनीहरू मसँग त्यति धेरै रिसाएका रहेनछन् । मलाई याद छ पहिलो पटक मैले हाम्रो भैसीले भन्दा बढी माया पाएँ । पाखुरा कन्याउँदै, ङिच्च हाँस्दै अलि बढी गनगन बूढी कसुमले नै गरिन् ।
मेरो गालामा चिमोट्दै भनिन्, “कसरी मैले तेरो मुखभरि मिठाइ कोचिदिन्थे, याद छ ?’ मेरो पोसाक देखेर उनी डराएकी थिइन्, त्यसैले अरू ठाउँमा छुने साहस नै गरिनन् ।
म साँच्चै भन्दै छु कि उनीहरूले हाम्रो पुरानो घरसम्म मलाई झन्डै बोकेरै पुर्याए । छिमेकीहरू मेरो पोसाक हेर्न लाइन लागेर पर्खेर बसेका थिए ।
मलाई म घर छोडेर गएपछि जन्मेका एक एक बच्चाहरू चिनाइयो, निधारमा म्वाइँ खान लगाइयो । म गएपछि काकी लैलाले दुईजना बच्चा पाएकी थिइन् । भतिज पप्पुकी श्रीमती लीलाले एउटा पाएकी थिइन् । परिवार ठूलो भएको थियो । आवश्यकताहरू बढेका थिए | सबैले मलाई हरेक महिना पैसा किन नपठाएको भनेर हकारे ।
टाउको ठोक्दै छिमेकीले सुन्ने गरी कुसुमले रुँदै भनिन् ‘नातिको जागिर छ तर म बूढीले काम गर्नुपर्ने । यो संसारमा म बूढीको फुटेको कर्म ।’
“यसको बिहे गर्देऊ !” सबै छिमेकी चिच्च्याउन थाले । “साँढेलाई तह लाउने यसै गरी हो ।’
ङिच्च हाँसेर पाखुरा कन्याउँदै कुसुमले भनिन्, ‘ठिक भन्यौ तिमीहरूले । राम्रो कुरा । ठिक भन्यौ ।”
किसनले मलाई धेरै कुरा सुनायो । यो ठाउँ नै अन्धकार भएको हुनाले सबै समाचार नराम्रो थियो ! महान् समाजवादी नेता पहिले जस्तै भ्रष्ट थियो । नक्सलवादीहरु र जमिनदार बीचको लडाइँ रक्तपातपूर्ण भएको थियो । हामीजस्ता साना गरिब चेपुवामा थियौँ ।
प्रत्येकका आआफ्नै सेना थिए । उनीहरू आफ्ना विरोधीलाई सदभाव र समर्थन गर्ने जो कोहीलाई छोड्दैनथे । गोली हानीदिन्थे ।
“यहाँ त जिउन गाह्रो छ ।’ किसनले भन्यो । “हामीलाई खुसी छ कि तँ यो गन्जागोलबाट बाहिर छस् । राम्रो मालिक पाइछस्, जागिर छ, पोसाक छ !’
किसन अर्कै भएछ ! दुब्लो, घाँटीका नसा देखिने, ख्याउटे भएछ । कति चाँडो ऊ मेरो बुबाजस्तै भएछ ।
कुसुम ङिच्व हाँस्दै, पाखुरा कन्याउँदै मेरो बिहेको कुरो गर्दै थिइन् । मलाई खाना उनैले दिइन् । मलाई मात्रै भनेर कुखुराको मासु पकाएकी रैछिन् । डाडुले मासु दिँदै भनिन्, “तेरो बिहे यही वर्षको अन्त्यतिर गर्ने हो, हुन्न ? यौटी राम्री केटी भेट्टा छ । महिनावारी हुन थालेपछि ल्याउने हो ।”
मेरो अगाडि रातो मसालेदार मासु थियो ! मलाई लाग्यो कि मेरो अगाडिको मासु किसनकै शरीरको मासु हो ।
आफू अगाडिको ठूलो रातो मासुको टुक्रा हेर्दै मैले भनेँ, “‘हजूरआमा, मलाई अलिबेर सोच्न समय दिनुस् । मेरो अहिले बिहे गर्ने मन छैन ।’
मुख बाउँदै भनिन्, “अहिले नगर्ने रे ? के भनेको तैँले ? हामीले भनेपछि तैँले गर्नैपर्छ ।’ मुस्कुराउँदै भनिन्, “खा बाबु, खा । तँलाई मात्रै मासु पकाइदिएको हो ।”
“म खान्न !”
“खा न खा ।”
प्लेट मतिर सारिदिइन् !
घरका सबैले हाम्रो झगडा हेर्ने छाडे ।
छड्के आँखाले पुलुक्क मलाई हेर्दै भनिन्, ‘तँ बाहुन हो? खान ।”
“खान्न” ।
प्लेट मिल्काउँदै मैले भने, ‘म बिहे गर्दिनँ ।’
प्लेट गएर कुनामा भित्तामा ठोक्कियो । रातो मासुको लेदो भुइँमा पोखियो । उनी जिल्ल पर्दै केही बोलिनन् । म उठेर हिँडेँ। किस॒नले बाटो छेक्न खोज्यो | मैले यति साह्रो घचेटेँ कि ऊ भुइँमा ड्याम्म पछारियो र म घरबाहिर निस्किएँ ।
केटाकेटीहरू मेरो पछि दौडिए । देख्दै घिनलाग्दा जर्बुटेहरू ककसका सन्तान हुन् म चिन्दिनथेँ । मलाई तिनीहरूलाई छुन पनि मन थिएन । बिस्तारै म रिसाएको थाहा पाएपछि फर्किए ।
मन्दिर, बजार, सुँगुर र नाली पछि छोड्दै म गएँ । म एक्लै त्यही कालो किल्लाको छेउ, पोखरी भएको ठाउँमा पुगेँ ।
पानीको छेउमा दाह्वा किटेर बसेँ !
मलाई किसनको शरीरको झल्को आइरह्यो । तिनीहरूले किसनलाई जिउँदै खाएछन् ! तिनीहरूले किसनलाई मेरो बुबाको हालत बनाउने छन् । कमजोर, बेसहारा, बिचरालाई बाहिर फालिदिने छन् । बुबाजस्तै क्षयरोगले गलेपछि, रगत बान्ता गर्दै सरकारी अस्पतालमा डाक्टर कुरेर बस्दा उसको अन्त्य हुने छ !
पानीमा छ्याप्प गरेको आवाज आयो ! टाउकोभरि जलकुम्भिले ढाकिएको भैँसीले टाउको उठाएर मलाई हेर्यो । एक खुट्टाले टेकेर एउटा बकुल्लाले मलाई हेरिरह्यो ।
म घाँटी घाँटी पानीसम्म हिंडेर गएर पौंडिँए । पौडिँदै म जलकुम्भीभन्दा पर, कलमभन्दा पर, भैंसीभन्दा पर, चेपागाँडा, माछा र ठूला ठूला ढुङ्गाभन्दा ‘पनि पर पुगेँ ।
भत्केको पर्खालमा बसेर बाँदरहरू मलाई हेरिरहे । म पहाड चढ्न सुरू गरेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।