१. विषय प्रवेश
खण्डकाव्यभन्दा ठुला र बृहत्तर महाकाव्यभन्दा साना ललित वा कलात्मक महाकाव्यहरूलाई कविताको बृहत् रूप भन्ने गरिन्छ । कविताले मानवजीवनको सिङ्गो अभिव्यक्ति दिन थालेपछि त्यो कविताको बृहत् रूप बन्दछ, जसलाई ‘सर्गबन्ध’ पनि भन्ने गरिन्छ । कविताको बृहत् रूपमा ललित महाकाव्यहरू पर्दछन्, जसमा एउटा जीवनको सिङ्गो चित्रण हुने गर्छ । महाकाव्य सर्गमा बाँधिएको हुनुपर्छ, त्यहाँ एउटा सद्वंश वा क्षत्रिय कुलको, धीरोदात्त स्वभावको, शूरवीर नायक हुनुपर्छ, महाकाव्यको कथावस्तु इतिहास प्रसिद्ध वा स्थापित विषयमा आधारित हुनुपर्छ, यो आठ सर्ग वा अध्यायभन्दा बढी हुनुपर्छ भनी आचार्य विश्वनाथले स्पष्ट उल्लेख गरेका छन् तापनि वर्तमानमा लेखिने महाकाव्यहरूमा यी सबै कुराको अक्षरशः पालना सम्भव छैन । यसमा प्रकृति, संस्कृति र परम्पराका विविध अवस्था र जीवनका अनेक सन्दर्भको कलात्मक चित्रण हुन्छ । तुलनात्मक रूपमा खण्डकाव्यमा भन्दा महाकाव्यमा आख्यानको विस्तार हुन्छ तर न खण्डकाव्यलाई तन्काउँदा महाकाव्य बन्छ न महाकाव्यलाई छोट्याउँदा खण्डकाव्य बन्छ । यी दुवै आफैँमा पूर्ण र स्वतन्त्र हुन्छन् । वि.सं. १८३९ तिर उदयानन्द अर्यालद्वारा लिखित ‘पृथ्वीन्द्रोदय’लाई नेपालीमा लेखिएको पहिलो महाकाव्य मानिन्छ । यसपछि कृष्णभक्ति धाराका वसन्त शर्माको ‘कृष्णचरित्र’मा महाकाव्यको आभास मात्र पाइन्छ तर रामभक्ति धाराका भानुभक्त आचार्यको ‘रामायण’ भने नेपालीमा लेखिएको पूर्ण र लोकप्रिय महाकाव्य मानिन्छ । यसपछि एकैपटक महाकवि लक्ष्मीप्रसाद देवकोटासम्म आइपुग्नुपर्छ । देवकोटाका ‘शाकुन्तल’, ‘सुलोचना’लगायतका आधा दर्जन स्वच्छन्दतावादी महाकाव्यहरू, सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’, बालकृष्ण समको ‘चिसो चुल्हो’ जस्ता परिष्कारवादी महाकाव्यहरू, मोदनाथ प्रश्रितको ‘मानव’ जस्ता वैचारिक महाकाव्यहरू र जगदीश शमशेर राणाको ‘नरसिंह अवतार’जस्ता प्रयोगवादी महाकाव्यहरूले यस परम्परालाई निरन्तरता दिए । २०५० को दशकपछि भने नेपाली महाकाव्यमा पनि पुनर्जागरण कालको थालनी भयो । त्यसपछिका अढाइ दशकमा नेपाली महाकाव्यले सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उच्चता हासिल गरेको छ । हालसम्ममा नेपालीमा २२५ भन्दा बढी महाकाव्यहरू लेखिइसकेका छन् । यस लेखमा त्यही महाकाव्यको विधागत चिनारीका साथै रचनाविधानका बारेमा विशेष जानकारी प्रस्तुत गरिएको छ ।
२. महाकाव्यको परिचय
‘महत्’ र ‘काव्य’ दुईओटा शब्दको मिलनबाट ‘महाकाव्य’ शब्दको निर्माण भएको हो । ‘महत्’को अर्थ ठुलो, उच्च, महान् वा विशाल भन्ने हुन्छ भने कविको कर्मलाई ‘काव्य’ भनिन्छ । अर्थात् कविको महान् कार्य नै महाकाव्य हो । कवितामा प्रवेश गरेको आख्यानले जब जीवन र जगत्को व्यापकतालाई समेट्न थाल्छ, तब त्यो महाकाव्य बन्दछ । महाकाव्यका बारेमा पूर्वीय तथा पाश्चात्य विभिन्न विद्वान्हरूले व्यापक रूपमा चर्चा गरेका छन् ।
इसाको छैटौँ शताब्दीका आचार्य भामहले आफ्नो कृति ‘काव्यालङ्कार’मा महाकाव्य सर्गबद्ध हुनुपर्ने, महान् घटना र महान् चरित्रको प्रयोग हुनुपर्ने, अलङ्कारसहितका विशिष्ट (अग्राम्य) शब्द र अर्थको प्रयोग हुनुपर्ने, सत्यको पक्षमा लेखिएको हुनुपर्ने, सङ्कल्प, सन्देश आदिको प्रयोग र नायकको उतारचढाव देखिनुपर्ने र अनेकौँ मोडहरूका साथै पञ्चसन्धिको प्रयोग हुनुपर्ने विचार राखेका छन् ।
आठौँ शताब्दीका आचार्य दण्डीले आफ्नो कृति ‘काव्यादर्श’मा महाकाव्य सर्गबद्ध हुनुपर्ने, आशीर्वाद, नमस्कार वा वस्तुनिर्देशमूलक मङ्गलाचरणबाट यसको थालनी हुनुपर्ने, सत्यमा आश्रित इतिहास प्रसिद्ध कथावस्तु हुनुपर्ने, चतुर्वर्ग (धर्म, अर्थ, काम, मोक्ष) फल प्राप्तिको उद्देश्य हुनुपर्ने, चतुर र उदात्त नायक हुनुपर्ने, नगर, शैल, चन्द्रोदय, उद्यान, जलक्रीडा, रतिक्रीडा आदिको वर्णन हुनुपर्ने, संयोग, विप्रलम्भ, बालजन्म, नायकको आरोह–अवरोह आदिको चर्चा हुनुपर्ने, अलङ्कारको प्रयोग, रसभावको निरन्तरता, पञ्चसन्धियुक्त, लोकरञ्जक र युगौँयुगसम्म स्थायी वा अमर हुन सक्ने हुनुपर्ने भन्ने मान्यतालाई अगाडि सारेका छन् ।
बाह्रौँ शताब्दीका हेमचन्द्रले महाकाव्य प्रायः पद्यबद्ध हुनुपर्ने, संस्कृत, प्राकृत वा जनभाषामा विभिन्न कथानकलाई उनेर अगाडि बढ्नुपर्ने, शब्दवैचित्र्य र अर्थवैचित्र्यले पूर्ण हुनुपर्ने र छन्दोबद्ध र लोकरञ्जक हुनुपर्ने मान्यतालाई अगाडि सारेका छन् ।
चौधौँ शताब्दीका आचार्य विश्वनाथले महाकाव्यका बारेमा विस्तृत र बहुमान्य सिद्धान्तको स्थापना गरेका छन् । उनको ‘साहित्यदर्पण’ नामक ग्रन्थमा अनुष्टुप् छन्दका दशओटा श्लोकमा महाकाव्यका लागि आवश्यक सबै कुराहरूलाई समेटेका छन् । जसलाई यहाँ फरक फरक रूपमा राख्दा सबैका लागि सहज हुन जान्छ—
— महाकाव्य सर्गमा बाँधिएको हुनुपर्छ ।
— महाकाव्यमा सद्वंशमा जन्मिएको, क्षत्रिय कुलको, धीरोदात्त स्वभावको, शूरवीर एउटा नायक हुनुपर्छ ।
— यसमा एउटै कुल, वंश वा बहुकुल वा परम्पराको चित्रण हुनुपर्छ ।
— यसमा शृङ्गार, वीर र शान्तमध्ये एउटा अङ्गी रस र अरू अङ्ग रसका रूपमा आउनुपर्छ ।
— धर्म, अर्थ, काम र मोक्ष चतुर्वर्ग फलप्राप्तिमध्येमा एउटा फलप्राप्ति अनिवार्य हुनुपर्छ ।
— सुरुमा आशीर्वाद, नमस्कार र वस्तुनिर्देश कुनै पनि प्रकारको मङ्गलाचरण हुनुपर्छ ।
— यसमा खराब पात्र र प्रवृत्तिको निन्दा र सज्जनको प्रशंसा हुनुपर्छ ।
— महाकाव्यमा धेरै छोटा पनि होइन र धेरै लामा पनि होइन, ठिक्कका आठ सर्गभन्दा माथिको संरचना अनिवार्य छ ।
— एउटै छन्दको निरन्तरता वा विभिन्न छन्दको प्रयोग गरे पनि सर्गको अन्त्यमा भावी सर्गको कथाको सूचना दिइएको हुनुपर्छ ।
— सन्ध्या, सूर्य, चन्द्र, रात्रि, प्रातःकाल आदि प्राकृतिक परिवेशको सुन्दर वर्णन हुनुपर्छ ।
— संयोग, विप्रलम्भ, सन्तानप्राप्ति, युद्ध, मन्त्रदूत आदिको प्रयोग, मूल शीर्षकीकरण र सर्गविभाजन आदिमा चरित्र वा कथावस्तु प्रतिविम्बित हुनुपर्छ ।
पूर्वीय काव्यशास्त्रीय परम्पराका उल्लिखित चार जना विद्वान्हरूका परिभाषाहरूलाई हेर्दा महाकाव्यका बारेमा पूर्वी जगत् निकै स्पष्ट र आधिकारिक देखिन्छ यसको अक्षरशः पालना वर्तमानका महाकाव्यहरूमा भएको पाइँदैन र हुनु अनिवार्य पनि छैन । सिर्जनामा नवीनताको खोजी वर्तमान नेपाली महाकाव्यको पनि चिनारी बनेको देखिन्छ ।
पाश्चात्य साहित्य सिद्धान्तका आधिकारिक मानिने एरिस्टोटलले महाकाव्यलाई यसरी चिनाएका छन्— “महाकाव्य त्यो काव्यरूप हो जसमा कथात्मक अनुकरण हुन्छ, जो षट्पदी (हेक्सामिटर) छन्दमा लेखिन्छ, जसको कथानक दुःखान्त नाटकको समान अन्वितियुक्त र कुनै आद्यन्त वर्णन गर्ने किसिमको हुन्छ तथा कथानकको आदि, मध्य र अन्त्ययुक्त जीवनविकास देखाइएको हुन्छ, जसले गर्दा यो पूर्ण प्रतीत हुन्छ र यसले जीवित प्रणालीले जस्तै आनन्द प्रदान गर्छ ।” यस परिभाषाले पनि पूर्वमा जस्तै विषय, नायक, संरचना र उद्देश्यमा नै जोड दिएको देखिन्छ । यसरी नै क्रिस वाइल्डले भव्य र सौजन्यपूर्ण शैलीमा एक वा अनेक कथात्मक नायकका ठुला कामको अभिनन्दन गर्ने लामो वर्णनात्मक कवितालाई महाकाव्य मानेका छन् भने मार्टिन ग्रेले उच्च शैलीमा अतिमानवीय पात्रहरू राखेर लेखिने लामो वर्णनात्मक कविता महाकाव्य हो भनेका छन् ।
नेपाली सन्दर्भमा भने कुमारबहादुर जोशीले कविताले जब सिङ्गो जिन्दगानी वा युगसमाजलाई बोकेर हिँड्न लाग्दछ र जब अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह वहन थाल्दछ, तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ भनी चिनाएका छन् । यसरी पूर्वीय र पाश्चात्य दुवै खाले परिभाषाहरूलाई हेर्दा यसले कृतिको विराटता र व्यापकतालाई सङ्केत गरेको पाइन्छ । जुनसुकै विषय भए पनि त्यसले लिने व्यापकता र समेट्ने जीवनका केन्द्रीयतामा यसको विधागत चिनारी समेटिन्छ ।
३. महाकाव्य हुनका लागि के के चाहिन्छ ?
महाकाव्यमा पञ्चसन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण), पञ्चअर्थप्रकृति (बीज, विन्दु, पताका, प्रकरी र कार्य) तथा पञ्चकार्यावस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम) यी तीनै तत्त्वको समुचित प्रयोग हुनुपर्छ भन्ने मान्यता पूर्वमा रहेको छ । यसका लागि वस्तु (कथावस्तु, घटना र कथानक), नेता (नायक, पात्र, चरित्र) र रस (भाव, ध्वनि, व्यञ्जना) तीनओटा कुराहरू अनिवार्य मानिन्छन् । महाकाव्यमा यी तीन मुख्य तत्त्वको केन्द्रीयतामा अन्य तत्त्वहरू पनि स्वाभाविक रूपमा जोडिएर आउने गर्दछन् । यसको रचनाका लागि निम्नलिखित प्रश्नात्मक प्रक्रियाबाट अनिवार्य तत्त्वहरूको खोजी गर्न सकिन्छ—
(क) महाकाव्य केका बारेमा लेख्ने ? (कथावस्तु),
(ख) कथावस्तुलाई कसले बोकेर हिँडेको छ ? (पात्र),
(ग) पात्रहरू उभिएको ठाउँ, समय र वातावरण कस्तो छ ? (परिवेश),
(घ) महाकाव्य किन लेख्ने ? (उद्देश्य),
(ङ) महाकाव्यले के दिन खोजेको छ ? (रस, भाव, विचार, ध्वनि, व्यञ्जना),
(च) महाकाव्यमा कस्तो भाषिक प्रयोग र अभिव्यक्ति कलाको प्रयोग भएको छ ? (भाषाशैली)
उल्लिखित कुरामा महाकाव्यकार सुरुमा नै स्पष्ट हुनु जरुरी छ । यिनै महाकाव्यका मूलभूत तत्त्वहरू हुन् । महाकाव्य कविताकै बृहत् रूप हुनाले यसमा पनि कवित्वकै बाहुल्य हुनुपर्छ । कथा भन्नु महाकाव्यको उद्देश्य बन्नु हुँदैन । यस कारण अनुभूतिको आख्यानीकरण महाकाव्यमा पनि हुनुपर्छ । महाकाव्यको कथावस्तु सपाट रूपमा अगाडि नबढ्न सक्छ । यसका लागि मूलकथा (सुरुदेखि अन्त्यसम्म पुग्ने कथा जस्तैः ‘रामायण’मा रामको आद्यन्त कथा), पताका कथा (बिचतिर आउने र अन्त्यसम्म पुग्ने कथा, जस्तैः ‘रामायण’मा हनुमानको कथा) र प्रकरी कथा (कतै बिचमा आउने र बिचमै हराउने तर सिङ्गो कृतिमा प्रभाव पार्ने कथा जस्तैः ‘रामायण’मा जटायुको कथा) जुनसुकै कथाको प्रयोग गर्न सकिन्छ ।
जीवन र जगत्को समग्रतालाई प्रतिविम्बन गर्नका लागि घटनाहरूको तारतम्य मिलाउँदै कविता अगाडि बढ्यो भने त्यो महाकाव्य बन्छ । यसको संरचना र घटनाविन्यास दुवैमा विराट् स्वरूप देखिने हुनाले आद्यन्त सरासर लेख्दै जाँदा त्यो महाकाव्य बन्दैन । यसलाई विभिन्न सर्ग, खण्ड, अध्याय र परिच्छेदमा विभाजन गर्न सकिन्छ तर काव्यशास्त्रीहरूले महाकाव्यचाहिँ ‘सर्गबद्ध’ नै हुनुपर्छ भन्ने स्पष्ट उल्लेख गरेका हुनाले यसलाई सर्गमा नै विभाजन गर्नु राम्रो हुन्छ । यसरी अनुभूतिको महाप्रवाह, जीवनको सिङ्गो अभिव्यक्ति, विशालकाय बोकेको आख्यानात्मक कविता, विराट् संरचनाभित्रको मानवसमाज र युगको एउटा पाटाको प्रतिनिधित्व गर्ने भावनाको विस्तृत पोखाइलाई कविताको बृहत् रूप भन्ने गरिन्छ । त्यही बृहत् रूप नै महाकाव्य हो ।
४. महाकाव्यको आकार कत्रो हुनुपर्छ ?
महाकाव्यको आकारका विषयमा खण्डकाव्यमा जस्तो अन्योल पाइँदैन । आचार्य विश्वनाथले महाकाव्यको संरचना आठ सर्गभन्दा माथिको हुनुपर्छ भनी स्पष्ट उल्लेख गरिदिएका छन् तर त्यही क्रममा उनले अति छोटा पनि होइन र अति लामा पनि होइन भन्ने उल्लेख गरेबाट श्लोकगत विस्तार र विषयगत विस्तृतिमा पनि सीमाङ्कन गर्न खोजिएको छ । सामान्यतः एउटा सर्ग एक सय श्लोकभन्दा माथिकै हुने र एउटा महाकाव्यमा आठ सर्गभन्दा माथिको संरचनामा हुने हुनाले श्लोकगत सीमाङ्कनमा जाँदा यसमा आठ सय श्लोकभन्दा माथिको बाह्य संरचना हुनुपर्ने कुरामा ध्यान दिनुपर्छ । त्यसैले महाकाव्यलाई बाहिरी सर्गविभाजन वा श्लोकसङ्ख्या निर्धारणका सन्दर्भमा उल्लिखित पक्षमा ध्यान दिनुपर्छ भने आन्तरिक पक्षमा विषयवस्तुको व्यापकता, पूर्णता र त्यसले पार्ने प्रभावका आधारमा यसको आकार निर्माण हुने कुरालाई पनि विशेष रूपमा हेरिनुपर्दछ । कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो कृति ‘तरुण–तपसी’लाई महाकाव्य नभनेर नव्यकाव्य भन्नुपरेको अवस्थालाई सम्झने हो भने विषयवस्तुको छनोट र अन्य संरचनाका क्षेत्रमा नवीनता र प्रयोगशीलताको खोजी भए पनि आयामका दृष्टिले महाकाव्य आठ सर्गभन्दा माथि र आठ सय श्लोकभन्दा माथि हुनुपर्छ भन्ने कुराको पालना चाहिँ हुनु राम्रो मानिन्छ ।
५. महाकाव्य कसरी लेखिन्छ ?
महाकाव्यमा एउटा सिङ्गो जीवनको चित्रण हुने गर्दछ । अर्थात् यसमा जीवन र जगत्को समग्रतालाई काव्यात्मक रूपमा प्रस्तुत गर्ने काम गरिन्छ । त्यसका लागि पञ्चसन्धि, पञ्चअर्थप्रकृति र पञ्चकार्यावस्ताको सैद्धान्तिक प्रयोग अनिवार्य मानिन्छ त्यसैले कविले महाकाव्यको सिर्जना गर्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—
पहिलो चरणः विषयवस्तुको चयन
महाकाव्य केका बारेमा वा के विषयमा लेख्ने हो महाकाव्यकार स्पष्ट हुनुपर्छ । महाकाव्य जुनसुकै विषयमा पनि लेख्न सकिन्छ तर त्यसले एउटा विराट् जीवन र व्यापक जगत्को चित्रण गरेको हुनुपर्छ । आदिकवि भानुभक्त आचार्यको ‘रामायण’ महाकाव्य पौराणिक विषयमा छ तर त्यो अनुवाद र मौलिकताको मध्यविन्दुबाट सिर्जना भएको छ । यसरी नै महाकवि देवकोटाको ‘शाकुन्तल’ र सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’ महाकाव्यहरू पौराणिक विषयमा लेखिएका छन् भने देवकोटाकै ‘सुलोचना’, बालकृष्ण समको ‘चिसो चुल्हो’, मोदनाथ प्रश्रितको ‘मानव’, रामप्रसाद ज्ञवालीको ‘औँसीका फूलहरू’ आदि महाकाव्यहरू सामाजिक विषयमा लेखिएका छन् । यसरी नै समाज, संस्कृति, जीवनपद्धति, दर्शन आदिसँग जोडिएका जुनसुकै विषयवस्तुको पनि छनोट महाकाव्यका लागि हुन सक्छ ।
दोस्रो चरणः अनुभूतिको विस्तार गरी खेस्रा लेखन
यस चरणमा महाकाव्यको निर्धारित सिद्धान्तमा केन्द्रित रहेर अनुभूतिको विस्तार गर्न थाल्नुपर्छ । यसका लागि विषयवस्तुअनुकूल पात्रछनोट, परिवेश छनोट, उद्देश्य आदिको निर्धारण गर्नुपर्छ । त्यसका लागि आवश्यक आदि, मध्य र अन्त्यको व्यवस्थापन, घटनाअनुकूल सर्गयोजना, तदनुकूल लयविधान, भावविधान, विम्ब, प्रतीक र अलङ्कार विधान, भाषाशैली आदि जस्ता कुरालाई ध्यानमा राखेर कवित्वको आख्यानीकरण गर्दै जानुपर्छ । विषय वा प्रसङ्गमा केही फरक मोड देखिनासाथ त्यसलाई सर्ग, खण्ड वा अध्यायमा विभाजन गर्नुपर्छ । यसरी आख्यान र कवित्वलाई मिश्रण गराउँदै महाकाव्यको आदि, मध्य र अन्त्य भागसम्मको संरचना निर्माण गरी महाकाव्यको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।
तेस्रो चरणः आवश्यक परिमार्जन गरी साफी लेखन
यस चरणमा आफैँले लेखेको महाकाव्यको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा लयविधानमा, विम्ब वा प्रतीक छनोटमा केही दोषहरू भए तिनलाई हटाउनुपर्छ । यसका साथै कुनै शब्दचयनमा आफूलाई चित्त बुझेन भने वा अभिव्यक्तिलाई अझै आलङ्कारिक र कलात्मक बनाउन मन लाग्यो भने त्यसलाई पनि परिष्कार गर्नुपर्छ । यति भइसकेपछि अब आफैँ समालोचक बनेर भावपक्ष र शिल्पपक्ष दुवैको निर्मम समीक्षा गर्नुपर्छ र त्यसमा पनि केही अभाव देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो महाकाव्य प्रकाशन योग्य हुन्छ ।
यी कुराहरू सिकारु चरणका कविहरूका लागि हुन् तर सिद्धहस्त कविले त एकैपटकमा एउटा महाकाव्यको साफी लेखन नै गर्न सक्छ । नेपाली महाकाव्य परम्परालाई हेर्दा दशै दिनमा ‘सुलोचना’ र तीनै महिनामा ‘शाकुन्तल’ जस्ता शक्तिशाली महाकाव्य लेख्ने महाकवि देवकोटा र २००० सालमा थालनी गरेको तर जीवनकालभर पूर्ण हुन नसकेको ‘गोविन्द’ महाकाव्य लेख्न थालेका माधव घिमिरे दुई कविलाई हेर्दा अनुभूतिको प्रवाह र परिष्कार दुवैको महाकाव्य सिर्जनामा विशिष्ट स्थान छ भन्ने कुरा स्पष्ट हुन्छ । यति हुँदाहुँदै पनि एउटा विशिष्ट र सुन्दर महाकाव्य सिर्जनाका लागि निम्नलिखित कुराहरूमा ध्यान दिनु राम्रो मानिन्छ—
— जीवन र जगत्का जुनसुकै क्षेत्रबाट विराट् विषयवस्तुको छनोट,
— निर्धारित विषयको आदि, मध्य र अन्त्यको व्यवस्थापन र तदनुकूल सर्गविभाजन,
— अनुभूति र आख्यान वा विषय र कवित्वको अन्तर्घुलन गरी विषयवस्तुको विस्तार,
— वस्तु, नेता र रस तीनओटा कुराको केन्द्रीयतामा प्रभावकारी बाह्य संरचना र आन्तरिक भावविधान गरी युगीन महत्त्वको काव्यसिर्जना,
— स्वतःस्फूर्त कवित्वको प्रयोग गरी महाकाव्य सिर्जना, निष्पक्ष पाठक बनी प्रथम पठन र परिमार्जन, गुणदोषको परीक्षणसहितको समालोचनात्मक दृष्टि राखी भाव र शिल्प दुवैको समीक्षापछि अन्तिम स्वरूप प्रदान र प्रकाशन ।
६. निष्कर्ष
नेपाली महाकाव्य परम्परामा प्रशस्त महाकाव्यहरू सिर्जना भएका छन् । थालनीदेखि हालसम्मको अवधिलाई हेर्दा नेपाली महाकाव्यले २४० वर्षको यात्रा पूरा गर्न लागेको छ । यस अवधिमा सङ्ख्यात्मक दृष्टिले लामाछोटा गरी २२५ भन्दा बढी महाकाव्यहरू प्रकाशन भइसकेको तथ्याङ्क फेला पर्दछ तर गुणात्मक मूल्यका दृष्टिले हेर्दा अहिले पनि मानक महाकाव्यको खोजी गर्नका लागि देवकोटा युगमा नै पुग्नुपर्ने हुन्छ । २०५० पछि मात्र पनि लगभग १५० ओटा महाकाव्यहरू प्रकाशन भएका छन् तर तिनमा पनि गुणात्मक मूल्यका दृष्टिले गर्व गर्न लायक महाकाव्यहरू एक वा दुई दर्जन जति मात्र छन् । कतिपय त नाम मात्र महाकाव्य दिइएका कृतिहरू पनि यस अवधिमा प्रकाशित छन् । यस आधारमा हेर्दा अबको महाकाव्य लेखन मात्रात्मक प्रतिस्पर्धामा नभएर गुणात्मक प्रतिस्पर्धामा जानुपर्ने देखिन्छ । समयको माग, युगको आवश्यकता र पाठकको अपेक्षाअनुकूल जीवनबोध, युगबोध र समाजबोधसहितका महाकाव्यहरू आउन सक्ने हो भने अहिले पनि यसको आवश्यकता रहेको यथार्थलाई भने नकार्न मिल्दैन ।
क्रमशः अर्को हप्ता….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।