

विश्वराज पराजुली
पोखराका युवा कलाकार विश्वराज पराजुली अंग्रेजी विषयका उपप्राध्यापक हुन । धेरैजसो समय ध्ययन, अध्यापन र खोजमूलक अनुसन्धानमा व्यतित गर्नुपर्ने भए तापनि फुर्सदमा कलाकारिता गर्नु उनको अर्को विशेषता हो।
फुर्सदकै समय निकालेर सकेसम्म उनी कलाका कार्यक्रमहरुमा नछुटाई सहभागी हुन्छन् । कलाप्रदर्शनी, कलाका कार्यशाला र कलाका रचनात्मक कार्यक्रममा उनको सहभागिता रहने गरेको छ।

एन.बी. गुरूङ
अधिकांश पोखरेली कलाकारहरु जस्तै पराजुलीका कलाका विषयवस्तु दृश्य चित्र हो। उनका दृश्यचित्रहरुमा पोखरा वरिपरिका प्रकृतिक सौन्दर्य र गाउँले परिवेश अटाउने गरेका छन् । कुहिरोले आफ्नो अँगालोमा छोप्नै आटेका माछापुछ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृखंला, गुरुङ गाउँका पुराना घर र पाखापखेरीहरु साथै मानव जीवनका दैनिक क्रियाकलापहरु उनका रोजाईका विषयवस्तुहरु हुन्।
उनको दृश्यचित्रण गर्ने विधि र शैली अन्य कलाकार भन्दा तुलनात्मक रुपले पृथक् देखिन्छ । रङको विविधता, रेखाहरुको चित्रण र वस्तुहरुको संयोजनमा उनले सकेसम्म नयाँ तरिकाले पस्कने प्रयास गरेका छन्। यस अर्थमा उनको कलामा नयाँपन र मौलिकता छ ।
कलामा आफ्नो पहिचान र मौलिकता स्थापित कायम गर्न सक्नु चानचुने कुरा होइन।
कलाकार पराजुली विविध रङ र तिनको संयोजनमा बढी चनाखो छन् । उनलाई जथाभावी रङको प्रयोग मन पर्दैन । ठीक ठाउँमा सही रङको प्रयोग गर्न सके राम्रो र मनमोहक चित्र सृजना हुन्छ भन्ने कुरामा उनी विश्वस्त छन् । सोहीअनुसार कला सृजना पनि गर्छन् । यसका बाबजुद उनी कलाका केही सैद्धान्तिक पक्ष र विधिलाई वास्ता गर्दैनन्। यसका केही कारण छन्- जस्तो कि सर्वप्रथम, कलामा निरन्तर नयाँ प्रयोग र अभ्यास भइरहेका हुन्छन्। दोस्रो, कलाकारको सोच र कल्पनाशीलता ठाउँ र परिवेशअनुसार परिवर्तन भइरहेका हुन्छन्। यही कारणले कला सिर्जना गर्दा कलाको सैद्धान्तिक पक्षलाई अक्षरशः पालना गर्न निकै गाह्रो हुने हुनाले छिटफुट गल्तीले ठूलो अर्थ राख्दैन। सायद पराजुलीमा केही नयाँ गर्नुपर्छ भन्ने चेत र हुटहुटीले गल्तीहरु देखिनु स्वाभाविक हो। यसलाई अन्यथा लिनुहुँदैन।
दृश्य चित्रको अलवा पराजुली समसामयीक विषयमा पनि चित्र रचना गर्छन् । चित्रकला सिक्ने समयदेखि नै उनले केही न केही रुपमा समसामयिक विषयवस्तुलाई उठान गरेको देखिन्छ ।
विज्ञान र प्रविधिको विकासले मानवले हासिल गरेका उपलब्धि र तिनैको सेरेफेरोमा मौलाएको सामाजिक विसंगतिलाई
उनले आफ्नो कलामार्फत चिरफार गर्ने प्रयास गरेका छन्। साथै धार्मिक विसंगति र अन्धविश्वासले समाजलाई बन्धनमा परेको यथार्थलाई उनले देखाउने प्रयास गरेका छन्।
उनका कलामा कतै कालो रङ र रातो रङको सम्मिश्रण, त कतै गाढा निलो, हरियो र पहेलो रङका प्रयोगले विषयवस्तुको अन्तर्निहित सम्बन्धलाई इंगित गरेका हुन्छन्। त्यसो त ब्रुसका मिहिन धर्सा र भैपरी आउने कडा धर्साहरु वर्तमान समयजस्तै विरोधाभाषायुक्त देखिन्छन् । यस अर्थमा उनका कला वर्तमान समयको सही चित्रण हो भन्नुमा कुनै अतिशयोक्ति रहेन।
स्वअध्ययनबाट कला क्षेत्रमा प्रवेश गरेका पराजुलीले विश्व साहित्य, कला र दर्शनलाई नजिकबाट अध्ययन गरेका छन्। फलस्वरुप उनी कला र शैक्षिक क्षेत्रमा उत्तिकै सफल छन्। राजधानी काठमाडौँ र पोखरामा गरी उनका एकल कला प्रदर्शनी दुई पटक सम्पन्न भैसकेका छन् । देशविदेशमा उनका दर्जनौँ पटक सामूहिक कला प्रदर्शनी भैसकेका छन्। यसका अलावा कला विकास र प्रवर्ध्दनका लागि विभिन्न कलासंस्थामा उनको महत्त्वपूर्ण योगदान रहेको छ।
आउनुस्, यिनै कलाकारका केही कलाकृति नजिकबाट नियालौँ:



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
