तपाईँले jigsaw 🧩 puzzle खेल्नु भएको छ ? हामी बोर्डमा विभिन्न टुक्राहरूलाई यता उता सार्दै एउटा निश्चित चित्र बनाउँछौँ। त्यस्तैगरी पृथ्वी पनि एउटा त्यस्तै jigsaw puzzle बोर्ड हो। विभिन्न चित्र बनाइएका यसका गोटीहरू पृथ्वीका टेक्टोनिक प्लेटहरू हुन्। तिनै टेक्टोनिक प्लेटहरूमाथि महासागरहरु र महादेशहरु स्थित छन्। हामीले puzzle का गोटीहरू सारेजस्तै ती विशाल प्लेटहरू पनि निरन्तर चलायमान हुन्छन्। एक आपसमा ठोक्किन्छन्, रगडिन्छन्, एक अर्काको तल माथि घुस्छन्। यसरी नै jigsaw बोर्डमा चित्र बनेजस्तै हामीले पृथ्वीको सहतको स्वरूप देख्छौँ।

दिपेश मूर्ति पन्त
करिब ३० करोड वर्षअघि पृथ्वीमा आज जस्तो ७ वटा महादेशहरु थिएनन् (८ वटा जिलाण्डिया Zealandia सहित)। त्यो बेला एउटै वृहत् महादेश थियो प्यान्जिया (Pangaea), जसलाई एउटै वृहत् महासागर प्यान्थलासा (Panthalassa)ले घेरेको थियो। पृथ्वीको गर्भमा भैरहने गतिशीलताको कारण करिब २० करोड वर्षअघि यो प्यान्जिया टुक्रिन थाल्यो।
पृथ्वीको मेन्टल (Mantle) मा फलाम, एल्मुनियम, सिलिकाजस्तै अनेक धातु, चट्टान आदि वस्तुहरु अत्यन्त तातो र अर्धतरल अवस्थामा हुन्छन्। तिनै अर्धतरलमाथि तैरिरहेका ठूला ठूला सात वटा स्ल्याबहरु छन्। तिनै स्ल्याबहरुलाई टेक्टोनिक प्लेट्स (Tectonic plates) भनिन्छ। तिनै टेक्टोनिक प्लेटहरुमाथि महासागरहरु र महादेशहरु रहेका छन्। ती टेक्टोनिक प्लेट्सहरुको गतिशीलताका कारण यी महादेश र महासागरहरु बिस्तारै टुक्रिँदै गएर प्यान्जियाले अहिले सात महादेशको रूप लिएको छ भने प्यान्थलासा महासागर पनि त्यसरी नै विभाजन भएको छ।
पृथ्वीको mantle निरन्तर गतिशील छ र टेक्टोनिक प्लेटहरू पनि गतिशील नै हुने भएकाले कालान्तरमा पृथ्वीको यो रूप पनि त्यही गतिशीलताको कारण अर्कै हुनेछ। जब टेक्टोनिक प्लेट्सहरु एक अर्कोमा ठोक्किन्छन् र एकअर्कोसँग घर्षण गर्छन्, त्यो बेला पृथ्वीका जमीनका आवरणहरु पनि परिवर्तन हुन पुग्छ । उदाहरणका लागि भारतीय टेक्टोनिक प्लेट तिब्बती टेक्टोनिक प्लेट या यूरेशियन प्लेट (Eurasian Plate) लाई धकेल्ने क्रममा सापेक्षित स्थिर तिब्बती प्लेटको मुन्तिर घुसिरहेको छ, जसले Tethys sea (टेथिस सागर)लाई माथि उठाएर नेपाल र हिमालयको निर्माण भएको हो। हालसालै बढेको सगरमाथाको उचाइ पनि यही प्रक्रियाअन्तर्गत आउँछ।
हाम्रो हिमालय क्षेत्र अस्तित्वमा आउन थालेको आजभन्दा करिब ४ -५ करोड वर्ष पूर्वबाट हो। त्यसभन्दा अगाडि यस क्षेत्रमा Tethys sea (टेथिस सागर) अवस्थित थियो। कालीगण्डकीको किनारमा पाइएका र हाम्रा पूजाकोठामा सजिएका शालिग्रामहरु त्यसैका प्रमाणहरु हुन्। तिनीहरू त्यसबेलाको समुद्री जीवहरूका जीवाशेष (Fossils) हुन् ।
टेक्टोनिक प्लेटहरुलाई गतिशील बनाउने शक्ति गुरुत्व नै हो। पृथ्वीको बाहिरी सतहबाट (Crust) भन्दा ६ किमी (समुद्री सतह) देखि ४० किमी (महादेशीय) भित्र भीषण तापमा पृथ्वीले यी सबै पकाइरहेको हुन्छ। त्यस भागलाई मेन्टल (Mantle) भनिन्छ जसको मोटाई झण्डै २९०० किमी छ। यस भागमा फलाम, अल्मुनियम, सिलिका (Silicon dioxide) लगायतका विभिन्न यौगिकहरु अर्धतरल अवस्थामा हुन्छन्। जब टेक्टोनिक प्लेटहरू विशेषगरी महासागरीय प्लेट अर्कोसँग ठोकिन्छन्, सापेक्षित गरुङ्गो प्लेटहरू त्यही अर्धतरलमा डुब्छन्। यस प्रक्रियालाई Subduction भनिन्छ। जस्तो हामीले केही तरल पकाउँदा भाँडोको बीचमा बढी तापको कारणले पदार्थ माथि आउँछ भने किनाराको पदार्थ सापेक्षित काम तातो हुने हुनाले डुब्छ। यसले एउटा लगातारको प्रक्रिया सृजित हुन्छ। त्यसलाई हामी Convection Current भन्छौँ। हाम्रो भान्सामा त्यसलाई छड्किनु अर्थात् उम्लिनु भन्छौँ। त्यस्तै पृथ्वीको मेन्टलमा पनि हुन्छ। त्यही Convection current ले गर्दा टेक्टोनिक प्लेटहरू निरन्तर चलायमान हुन्छन्।
महासागरीय टेक्टोनिक प्लेटहरूको यो गतिशीलताले महादेशीय टेक्टोनिक प्लेटहरुलाई पनि टुक्राउने, धकेल्ने अर्कोसँग ठोक्काउनेदेखि घर्षण गराउने गर्छन्। जसले पृथ्वीमा नयाँ-नयाँ संरचनाहरु बन्छन्, कति बनेका सरंचनाहरु भत्किन्छन्। प्लेटहरू ठोक्किँदा, घर्षण हुँदा टुक्रिँदा जुन शक्ति निष्कासन हुन्छ त्यसले भूकम्पहरु जान्छन् भने crust च्यातिएर ज्वालामुखीमार्फत ती ताता तरल पृथ्वीको सतहमा आउँछन्। पृथ्वीको सतहमा पाइएका विभिन्न धातुहरू, खनिजहरूको स्रोत पनि यस्तै प्रक्रिया हो भने यसले पृथ्वीको गर्भभित्र रहेका तत्त्वहरू र प्रक्रियाका बारेमा अध्ययन गर्न सकिन्छ।
पृथ्वीको मेन्टल र बाहिरी केन्द्र (Outer core) मा हुने यही प्रक्रिया अर्थात् Convection Current को कारणले पृथ्वीको वरिपरि विशाल चुम्बकीय क्षेत्रको रचना पनि हुन्छ। पृथ्वीको सतहबाट झण्डै ३००० किमीको गहिराई अर्थात् मेन्टलमा रहेका तरल फलाम र निकेल (Iron, Nickel) अनि यिनैका मिश्रणहरुको Convection Current ले विद्युतीय आवेशहरु (Electric Charges) हरु पैदा गर्छन्। जसले पृथ्वीलाई विशाल डाइनामो (Dynamo) मा रूपान्तरण गर्छन्। यही चुम्बकीय क्षेत्रले अन्तरिक्षबाट निरन्तर अझ विशेषगरी सूर्यप्रेषित उच्च शक्तियुक्त कणहरू (High energy particles), र ब्रह्माण्डीय रश्मिहरु (Cosmic rays) लाई पृथ्वीमा प्रवेश गर्न दिँदैन। त्यसैले पृथ्वीमा जीवन सम्भव भएको हो। नत्र ती तत्त्वले पृथ्वीमा जीवनको सम्भावना नै शून्य बनाइदिन्थे। सूर्यप्रेषित उच्च शक्तियुक्त कणहरुले उच्चब्-उच्च अक्षांशीय क्षेत्रहरू (High Latitude regions) अर्थात् ध्रुवीय क्षेत्रहरूमा पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरकृया गर्दै पृथ्वीको वायुमण्डलमा शक्ति सञ्चार गर्छन्, जसबाट त्यहाँ सुन्दर Light Show देखिन्छ, जसलाई हामी ध्रुवीय प्रकाश (Polar Lights) भन्छौँ।
यसरी पृथ्वीले आफ्नो रचनाको प्रक्रिया र आफू नि:सृत जीवनको रक्षा गर्दछ। भूकम्प, ज्वालामुखीजस्ता क्रियाकलापहरू पृथ्वीको सृजनशीलता र जीवित हुनुको प्रमाण हुन् भने पृथ्वीमा निहित जीवनको सुरक्षाको प्रत्याभूति पनि हो। पृथ्वीको यही गुण सबै ग्रहमा पाइँदैन, त्यसैले त भनिन्छ नि, त्यहाँ अहिलेसम्म कुनै दोस्रो पृथ्वी छैन, जहाँ गएर आफ्नो तारा सूर्यतिर फर्केर हामी जीवनको महसुस गर्न सकौँ। हाम्रो कर्तव्य र आवश्यकता पृथ्वीको जैविक विविधताको रक्षा गर्दै हाम्रो पर्यावरणलाई कत्ति पनि बिग्रन नदिनु हो। हामीले त्यसबारे कहिल्यै सोचेका छौँ त ? सोचेका छैनौँ भने अब सोच्न थाल्नुपर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

