१. पहिलो लघुकथा

(लघुकथाकारको नामबाट पुस्तकको नाम)

दीपक र दीपकहरु

दीपक लोहनी

शोभालाई आज घरबाट चाढै बाहिर निस्कनु थियो ।

उसले बूढालाई भनी, “छिट्टै खाना पकाउनु है दीपक, मेरो काम छ ।”

शोभा झटपट कोठामा आई । दराज घर्याक्क उघारी । सारी, पेटिकोट र ब्लाउज निकाली ।

ड्रेसिङमा क्रिम, फाउन्डेसन, रोज, आइस्याडो, लिबिस्टिक, टीका, नेलपोलिस, मस्कारा र पर्फिउम किसिम किसिमका सजिएका छन् । एक कुनामा सिन्दूरको बट्टा कोल्टिएर लढेको थियो ।

शोभाले ऐना हेर्दै सोह्रश्रृंगार अनुहारमा दली । डेढघण्टा त्यसै बितेछ । सारी मिलाउन थप एकघण्टा लाग्यो ।

श्रृंगारिएर भान्छामा आई । दीपक राइसकुकर, प्रेसरकुकर, चपिङबोड, मिक्सर र डाडुपन्यूसँगै खेलिरहेको थियो ।

“खाना पस्किन्छु, है ?” दीपकले सोध्यो ।

“मलाई हतार भो, बरु हिँडिहालौँ,” शोभाले भनी ।

पकाएको खाना त्यसै छोडियो ।

दीपकले हतारहतार स्कुटी निकाल्यो र शोभाको गन्तब्यसम्म पुर्याइदियो ।

गन्तव्यमा नारी दिवसको सभा रहेछ । कोही नारी स्टेजमा थिए । केही नारी कार्यक्रमको चाँजोपाँजोमा थिए । बाँकी नारीहरू स्रोता बनेका थिए ।

शोभा साथीहरूकै हूलमा मिसिई ।

कार्यक्रम सुरु भयो ।

स्पिकर ठुल्ठुलो स्वरमा गुञ्जिन थाल्यो, “पुरुषहरुले हामी नारीहरुलाई दबाएर राखेका छन् । पितृसत्ता धोस्त पारिनु पर्छ ।”

दीपक पछिल्लो सिटमा बसेर नारी दिवसको कार्यक्रम सुनिरहेको थियो । त्यहाँ दीपक जस्तै अन्य दीपकहरू पनि थिए ।
पछिल्लो सिटमा पितृसत्ता खिस्स हाँस्यो ।

###
(लघुकथाकारकै नामबाट लघुकथा संग्रहको नाम रहेको पहिलो कृति “दीपक र दीपकहरू” हो, जुन कृति नारी स्रष्टा समाजले १४ फाल्गुण २०७७ सालमा विराटनगरमा विमोचन गरेको थियो ।

दीपक लोहनी २०४६ सालदेखि कथा र लघुकथा लेखनमा रुचि राख्ने स्रष्टा हुन् । दीपकले लेखनभित्र शैली, विषय र बुनोटमा अनेक प्रयोग गरि समकालीन स्रष्टाहरूको माझमा आफूलाई फरक बनाउने प्रयास गर्छन् । पछिल्लो पटक साहित्यपोष्ट अनलाईनसंग जोडिएर दीपकले लघुकथाको खोजी र उत्कृष्टताको छनोटको काम गरिरहेका छन् । कविता, कथाको संग्रह प्रकाशनमा ल्याइसकेका दीपकको हालै “दीपक र दीपकहरू” लघुकथा कृति प्रकाशित भएको छ ।

प्रस्तुत लघुकथा “दीपक र दीपकहरू” नारीको सम्मान गर्दै लेखिएको पुरुष चेतको कथा हो । कथाको विषय प्राय: पाठकहरूलाई मेरै घरको हो कि ? जस्तो लाग्न सक्छ ।)

 

२. सक्रियकालीन लघुकथा

फुट

विनाेद नेपाल

विनोद नेपाल

“फुट्याे ! फुट्याे !”

ऊ सधैझैं काखभरी पत्रिका राखेर एकाबिहानै सडकमा चर्काे आवाजमा कराउँदै हिँडिरहेकाे थियाे ।

केही समय यता निरन्तर फुटकै चर्चा सुनिरहेकाेमा चर्काे आवाजले उसकाे ध्यान ऊतर्फ केन्द्रित भयाे ।

“हैन के फुठ्याे, कहाँ फुठ्याे, कहिले फुट्याे हँ ?” उसले झ्यालबाटै चिच्यायाे।

“यहाँ आउनुस् न तल, अनि थाहा पाउनुहुन्छ, टाढैबाट भन्याे भने त सक्किगाे नि, यसरी हिंडेकाे के काम ।”

झनै खुल्दुली भयाे । ओर्लेर ऊ नजिक पुग्याे ।

उसले एउटा पत्रिका ऊतर्फ साेझ्याउँदै भन्याे “लाै पढ्नुस् ।”

१० रुपियाँ उसकाे हातमा थमाएपछि पत्रिका खाेलेर पढ्न थाल्याे , जहाँ एउटा समाचारकाे शीर्षक थियो, ‘नेताजीहरु बीच बन्द भएकाे बाेली फुट्याे ।”

###
(नेपाली लघुकथाको लेखनमा ५० को दशकलाई सकृयकालीन समय मानिन्छ । यही समयभन्दा केही अघि नै लघुकथामा उदाएका विनोद नेपाल पचासको दशकमा सकृय हुँदा हुँदै एक्कासी हराएका थिए । पुन: ७० को दशकदेखि लघुकथामा आक्रामक उपस्थिति देखाएका विनोद लघुकथामा समसामयीक धारमा रहेर कथा बुन्ने काम गर्दछन् । उनी सामान्य विषयलाई समातेर मज्जाको लघुकथा बनाउन खप्पिस छन् ।

विनोद नेपाल लघुकथाको अलावा यात्रा निबन्ध र कविता पनि लेख्छन् । उनी अखवारि लेखनमा पनि सकृय छन् । भूगोल सहित्य समाज र स्रष्टा समाज, नेपालसंग पनि विनोद जोडिएका छन् । केही कृतिहरू प्रकाशनमा आएको विनोद नेपालको “गोदान” लघुकथा प्रकाशित छ ।

प्रस्तुत लघुकथा “फुट” समसामयीक राजनीतिक विषयमाथि लेखिएको कथा हो । कथामा सरल भाषाको प्रयोग हुँदा हुँदै पनि पाठकलाई अचम्मको अन्त्यमा थचाल्न कथा सफल छ ।)

 

३. मलाई मन परेको लघुकथा

मायाको रुख

लता केसी

उनीहरू नवविवाहित जोडी थिए । मन, मस्तिष्कमा रमाइलो भाव र उमङ्ग बोकेर घुम्दै जाँदा, उनीहरू गोदावरीको बोटानिकल गार्डेन पुगेका थिए । प्रकृतिको सुरम्यता , क्याक्टसको विविधता, सानो कलकल बगेको कुलोले मन फुरुङ्ग थियो । धेरै धेरै युगलहरु माया साटिरहेका दृश्य देखिन्थ्यो । उनीहरू एउटा मन्दिरमा पुगे । आफ्ना वाचा र भाका साटेर खुल्ला चौरमा विश्राम लिए ।

शायद दुवै मीठो क्षणको प्रतीक्षा गर्दै थिए । अलि पर एउटा खङ्ग्रङ्ग सुकेको रुखमा उनीहरु दुवै जनाको नजर रोकियो । एउटा परिपक्व मानिस त्यस रुखलाई सुमसुम्याउथ्यो , अङ्गालो मार्थ्यो । छेवैमा टाँसिएर म्वाई खान्थ्यो अनि रूखलाई च्यापेर सुत्थ्यो, फेरि उठथ्यो । निरन्तर यो क्रम देखेर उनीहरुलाई जिज्ञासा भयो , “ आखिर के हो ? को हो ? ´´ उनीहरु नजिकै गए ।

ऊ एक्लै बौलाहाझैँ बर्बराउदै थियो , “ मेरी माया , मेरो के गल्ती थियो र ? मैले भौतिक सुख र सन्तुष्टि दिएकै थिएँ । हाम्रो माया सबैका लागि आँखी थियो । सन्तान दिन सकिनँ भनेर मलाई किन एक्लै पारेर गएकी ? तिमीले मेरो जन्मदिनमा रोपेकी यो रूख ! हेर त यो रूखको अवस्था ! फल दिन नसक्ने भएको छ, म जस्तै ! म तिम्रो नामर्द लोग्ने है ? निष्ठुरी माया !´´

उनको आँखा टिलपिल भरियो । यो देखेर उसले आँसु पुछिदियो र अङ्गालोमा ग्वाम्मै कसेर भन्यो , “हामी चैँ फल दिने मायाको रुख रोपौँ है !´´

###
(लता के.सी. ७० को दशकमा नेपाली साहित्यमा उदाएर पछिल्ला वर्षहरू आक्रमक रुपमा लघुकथा विधामा समर्पित छिन् । लामो समय शिक्षण पेशामा केन्द्रित उनी पछिल्लो समय “हाम्रो लघुकथा पाठशाला” को संस्थापक एडमिन भई धेरैलाई लघुकथा लेख्न उत्प्रेरणा पनि प्रदान गरेकी छन् । लता के.सी.को “चोटदेखि मृत्युसम्म” नामक लघुकथा कृति प्रकाशनमा आएको छ ।

प्रस्तुत लघुकथा “मायाको रूख”मा मातृत्त्वको वर्णन प्रकृतिसँग गरिएको छ । कथामा नजानिदो पारामा स्वैरकल्पना मिसिएको छ भने प्रकृतिको वर्णन छताछुल्ल छ ।)