नेपाली भाषा कुनै जाति विशेषको पेवा अवश्य होइन । आम नेपालीले अहिलेको अवस्थामा प्रयोग गरिरहेको एउटा माध्यम भाषा मात्र हो । साझा सरोकार र सद्भाव कायम राख्ने सबैको विचार सम्प्रेषण गर्ने एक सूत्रीय आधार हो । कमसेकम नेपालको एउटा नेपाली भाषा विश्वव्यापीकृत स्तरको छ । यसको अर्थ नेपालमा नेपाली भाषा सिकेर विदेशीले फैलाएका होइनन्, नेपालीहरू विदेशिएका हुन् । यसको अर्थ नेपाली भाषा नेपालका कुनै भाषिक समुदाय वा जाति मात्र गौरव होइन । यो त नेपालको गौरव हो । कतिपय विचारकले नेपाली भाषाले हाम्रो मातृभाषालाई दबाएर हामी कमजोर भयौँ भन्ने आरोप लगाइरहेको पाइन्छ । यो केवल साम्प्रदायिक पूर्वाग्रह र अपवाह फैलाउने सोच मात्र हो । अतः नेपालका मातृभाषाको रक्षार्थ नेपालीलाई माध्यम बनाएर सबै माझ पुर्याउने गरी सबै भाषाको जगेर्ना गर्न तथा व्यापकता दिने विषय आजको चिन्ता हो ।

अर्को कुरा कुनै पनि भाषा कुनै जातिका नाममा हुँदैमा त्यो भाषा अरू जातिको होइन भन्नु सङ्कुचित धारणा हो । जस्तो तामाङ भाषालाई तामाङ जातिले प्रयोग गरेका छन् भन्दैमा उक्त भाषा क्षत्री, बाहुन या अन्य थर वा जातिको हाेइन भन्नु बिलकुल सङ्कुचित सोच हो । सबै भाषा नेपालकै भाषा हुन् । कुरा यति मात्र हो– त्यो भाषालाई निश्चित समुदायले प्रयोग गर्छन् । वास्तवमा त संसारका सबै भाषा मानिस मात्रका साझा पहिचान र अस्तित्वका निधि हुन् । सबैले सबै भाषालाई अनमोल मानवीय निधिका रूपमा बोध गर्नु आवश्यक छ । किनभने, कुनै पनि भाषा जीवन्त हुन त्यस भाषाको कथ्य रूप, वर्ण, लिपि, व्याकरण, साहित्य, वाङ्मय आदिको भूमिका हुन्छ । कुनै पनि भाषा संसारबाट लोप हुनुभनेको मानिसको ठूलो र गौरवमय इतिहास मासिनु हो ।

नेपालमा भाषाको कुरामा सचेतनापरक वा जागरणमूलक त्यस्तो ठूलो नीति छैन । जङ्गबहादुर बेलायतबाट फर्केपछि उनले आफ्ना छोराछोरीलाई पढाउन चाहे । वि.सं. १९१० असोज २७ गते उनले दरबार स्कुलको स्थापना गरी अङ्ग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाए । तर, सो समयमा संस्कृत पाठशालामा संस्कृत तथा गुम्बाहरूमा तिब्तीयन भाषा पढाइ हुन्थ्यो । नेपालमा त विद्यालयकै अभाव थियो । यसर्थ डेनियल राइट (Daniel Wright) ले नेपालको विद्यालयीय विकासलाई आइसल्यान्डको सर्प मानेका थिए । यो इतिहासलाई हेर्दा नेपालमा अङ्ग्रेजी भाषाका लागि त्यतिखेर नै सरकारी प्रबन्ध गरियो । बरु भारतमा अङ्ग्रेजको उपनिवेशको पालामा दबाइएर अङ्ग्रेजी भाषालाई लादिएको इतिहास देख्न सकिन्छ ।

२०१५ सालबाट बल्ल त संविधानतः नेपालमा भाषाको कुरालाई छुस्स राखियो । यसअघि भाषाका विषयमा उस्तो ठोस नीतिगत आधार स्पष्ट थिएन । भाषाको विषयलाई प्राथमिकतामा राखेर उस्तो चासो नै नदेखाइएको भाषिक इतिहासका दस्ताबेजलाई नपढी हामी विवाद र बेमेल हुने बेतुकका तर्क गरेर समयलाई बर्बादी गर्नतिर लाग्यौँ भने त्यसबाट प्रभावकारी निकास निस्कँदैन । किनकि, भाषा प्रयोक्ता र राज्यको भाषानीति तथा योजनामा बाँच्ने विषय हो । बरु राणाकालीन समयमा नेपालमा थुप्रै मातृभाषाहरू सक्षम थिए भन्न सकिन्छ । सर्वसाधारणले आफ्नै भाषामा विनिमय गर्थे तर आजको नयाँ पुस्ताले न मातृभाषा जान्दछ न त अङ्ग्रेजी न नेपाली जान्दछ । आज तामाङ समुदायले आफ्ना पुस्तालाई तामाङ सिकाउँदैन, मगर समुदायको आजको पुस्ताले मगर भाषा नै जान्दैन । यो कुरामा हरेक भाषिक समुदाय सजग रहनु आवश्यक छ ।

अबको बहुभाषिक नीतिलाई हेर्दा हरेक समुदायमा त्यस भाषाका ज्ञातालाई लिएर मातृभाषिक कार्यक्रम, मातृभाषिक साहित्य सङ्गम तथा बहुभाषिक जमघटको खाँचो छ । नेपालका भाषालाई नेपालीले सिकौँ । नेपाली भाषाले एक–आपसमा भाषिक बोधगम्यतामा सहायता पुर्याउँछ । जुन जातिले बोलिरहेको मातृभाषा भए पनि सबैले सबैको सादर कदर गर्ने परिपाटी बसाउनुपर्छ । बहुभाषिकता युद्ध र द्वन्द्वका लागि होइन । यो अभिशाप होइन यो त छाती ढक्क फुलाएर गर्व गर्न लायक हाम्रो ठूलो वरदान हो । यसका लागि नेपाली भाषाले अरू मातृभाषाका ज्ञानलाई सबै समक्ष बुझाउन र प्रस्तुत गर्न, अनुवाद गर्नमा मद्दत गर्नुपर्छ । यसको अर्थ भाषा त समुदाय र समाजका प्रयोक्ताले जोगाउने हो । हाम्रो समाज मनोविज्ञानमा मगर, तामाङ, गुरुङ आदि मातृभाषीले नेपाली र अङ्ग्रेजी सिकाउन खोजे भने नेपाली मातृभाषीले अङ्ग्रेजी सिकाउन चाहे । यही मनोविज्ञानको सिकारमा आज हाम्रो समाज यता न उताको भएको छ ।
विश्वव्यापीकृत प्रभाव र कमजोर भाषाको लोप !

आजको पुस्ताले आफ्नो मातृभाषा जानेर, मातृभाषाका कला र सीपलाई जानेर रोजगार पाउँदैन त्यसैले विदेशी भाषा सिकेर विदेशिनु उसको बाध्यता बनेको छ । आजको विश्वव्यापीकृत समाजको असरसँगै काम र मामका लागि वर्तमान पुस्ताबाटै भाषिक लोपको खतरा ह्वात्तै बढेको देखिन्छ । यसर्थ सरकार तथा सरोकार निकायद्वारा मातृभाषाको ज्ञान हुने र सिक्न चाहनेका लागि अब प्रोत्साहन गर्दै भाषिक अपनत्वको विकास गर्नुपर्छ । तिनका कला, रैथाने ज्ञान, संस्कृति, भेषभुषा, औषधीविज्ञान, जीवनशैली आदिको विकास गरिनुपर्छ । सबै भाषा र जातिको रक्षार्थ लम्बीय र क्षितिजीय भाषिक नीतिको निर्माण आजको आवश्यकता हो । भाषा जोगाउनु, आफ्नो संस्कृतिको रक्षा गर्नु, आफ्नोपनमा बाँच्नु सबैको अधिकार हो ।

वास्तवमा विकासोन्मुख मुलुकमा भाषाभन्दा ठूला कुरा काम र मामकै हुन्छ तथापि विकासको एउटा चरण पूरा गरेपछि फेरि मान्छेले अपनत्व खोज्न थाल्छ ।

यद्यपि अहिले अधिकारका कुरा हुन्छन्, अर्कोलाई सकेसम्म र पाएसम्म लाञ्छना लगाइन्छ तर आफ्नो धरातल बिर्सिइरहिएको छ । विश्व समाजका विकसित स्थानमा भाषिक अपनत्वको प्रभावलाई बढावा दिइरहिएका उदाहरणलाई हेरिइरहँदा हामी चाहिँ आपसमा लड्ने बहाना खोज्नतिर लागेका छौँ ।

हाम्रो देशका नेपाली भाषाका विद्वान्हरूद्वारा वर्णविन्यासका कारण भएका खेमाबद्ध सोचले झनै भद्रगोल बनाइएको हो । अझ शिक्षाशास्त्रका भाषाका विद्वान्लाई मानविकीतिरका विद्वान्ले नगन्ने समस्या विद्यार्थीका मुखबाट सुन्नुपर्ने लज्जास्पद कुरा छन् । यसको अर्थ ज्ञानलाई तोल्ने र दम्भ राख्ने विद्वत भनिएका वर्गले नेपाली भाषाका विषयमा व्यक्ति विचार हाबी छ । सत्य हो अनि यथार्थ पनि– दुवै खेमा (भाषिक वर्णविन्यास) का विद्वान्मा ठूलो र लोभलाग्दो विद्वता पनि छ । वर्णविन्यासगत या सङ्कायगत विभेद यी दुवै सोच भएका वा नेपालका विद्यमान अवस्थाका विद्वत् वर्गले एउटा टेबलमा बसेर बहस गर्ने हो भने यतिखेर साँच्चै नयाँ र सिर्जनशील विचार जन्मन्छ । महान् विद्वान्हरू हाम्रो देशमा अवश्य हुनुहुन्छ तर केवल मेरो गोरुको बाह्रै टक्का र दम्भको समस्या हो । नेपालका भाषा र नेपाली भाषाका विषयमा जातिगत महासङ्घभित्र पनि केवल विवाद गर्ने र खेमाबद्ध स्वार्थका कुरा गर्नेको लर्को मात्रै छ । अनुसन्धानात्मक निकास र साझा चौतारी बनाउने विषयमा चिन्ता भएन । केही प्रयास भएका छन् तर राज्यकै स्तरबाट चिन्ता गरेर अन्य विषयलाई जसरी संसद, सदन र सडकमा चासोको स्थानभित्र समेटिने भनेर सोचिएकै छैनन् ।

वास्तवमा विकासोन्मुख मुलुकमा भाषाभन्दा ठूला कुरा काम र मामकै हुन्छ तथापि विकासको एउटा चरण पूरा गरेपछि फेरि मान्छेले अपनत्व खोज्न थाल्छ । तबसम्ममा हामी ढिलो भइसकेको हुनेछौँ । यो हाम्रो गरिब मुलुकका लागि गम्भीर चिन्ताको विषय हो । यसर्थ राज्य र ठूला विद्वान्हरू नै यसमा सक्रिय नभई भाषिक अपक्षय रोकिँदैन । यो समस्या सुल्झाउने एकतागत सोच र प्रभावकारी भाषानीति तथा भाषायोजना निर्माण गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो । यो सबै मातृभाषी समुदाय तथा सरोकारको अहम् सवाल पनि हो ।