“हैन कुरा पनि पत्याउने गर्नुपर्छ के मान्छेले। जे मन लाग्यो त्यही भन्ने ? के सम्झेको हो आफूलाई ? हामी मूर्ख हो कि क्या हो उसले भनेको कुरामा सही थाप्दै बस्नलाई,” श्रीमती एक्लै फतफताउँदै छिरिन् कोठामा। एकछिन अगाडि फोनमा कोसँग कुरा गर्दै गरेको देखेको थिएँ, अहिले यसरी फतफताउन थालेको देख्दा ‘के भएछ’ भन्ने कौतुहलता जाग्यो मनमा। सोधेँ उनलाई, “हैन के भयो ? कसले के भन्यो ?”
एउटा अचम्मको अनुहार बनाउँदै उत्तेजित स्वरमा कराउन थालिन् उनी, “त्यो सरिताले के भन्ठान्छे आफूलाई ! धाक लगाउने पनि सीमा हुन्छ नि। मेरो कन्पाराको रौँ तातिरहेको छ त्यसको कुराले।”
कस्तो धाक लगाई छ त सरिताले, मेरो पनि जिज्ञासा बढ्यो सुन्नलाई। आवाजमा त्यही कम्पन कायम राख्दै भन्न थालिन् उनी, “आउँदो चुनावमा उसको बुढाले टिकट पाउने पक्का छ रे। जित्ने पनि पक्का छ रे। त्यो मात्रै कहाँ हो र मन्त्री बन्ने पनि पक्का भइ सक्यो रे । त्यसपछि ऊ झन्डावाल मोटर चढेर सपिङ गर्न जान्छे रे। यस्तो रिस उठिरहेको छ त्यसको कुराले के भन्नु !”
उनको कुरा हाँस्दै सुने पनि मलाई भित्रभित्रै चिसो महसुस भइरहेको थियो। सरिताको बूढो विष्णु राजनीतिक यात्रामा म भन्दा कान्छो मान्छे। अहिले नै उसले कसरी टिकट पाउन लाग्यो चुनाव लड्ने ? मैले आफूलाई लाइनमा उभ्याएर राखेको यत्रो भइसक्यो, उसले कसरी लाइन उछिन्यो। म दङ्ग परे। धाक लगाएकै होला भन्दै सम्झाउने प्रयत्न गरेँ आफैँलाई अनि अगाडि ठिङ्ग उभिरहेकी श्रीमतीलाई भने, “धाक लगाउनेलाई के नै गर्न सकिन्छ र ! एक कानले सुन्ने अर्को ले फाल्दिने। उसको धाकमा तिमी किन टाउको दुखाउँछौ ?”
तर यता आफ्नै टाउको दुख्न लागेको कुरा चाहिँ भन्न सकिनँ मैले।
भूमिगत हुँदादेखि चिनेको मान्छे विष्णु। अलि फाइँफ़ुट्टे त हो। यति छिटै त्यो रोग आफ्नी श्रीमतीलाई पनि सारी सकेछ। भूमिगतको बेला प्रहरीको एम्बुसमा परेर पनि बाँचेको ऊ आफूलाई ‘तिसमार खाँ’ नै सम्झन्छ। एम्बुसको पड्काईबाट नै त्यसको दिमागी हालत बिग्रेको पनि भन्छन् कसैकसैले । पहिले त धकौड़े थिएन रे तर अहिले त उसको हरेक वाक्यमा फुर्ति र ठालुपना सुनिन्छ। कुरैकुरामा सिहंदरबार आफ्नै घर अनि देशको प्रधानमन्त्रि आफ्नै मामा भन्नु उसको थेगो जस्तै बनिसक्यो।
उसकी श्रीमती सरिताको कुराले ठुस्किएकी मेरी श्रीमतीको अनुहार अझैसम्म उस्तै थियो। मलाई भने त्यो ‘धाक’को पछाडि कहीँ कुनै सत्यता त छैन भन्ने चिन्ताले सताई रहेको थियो। यसको समाधान विष्णुसँगै छ भन्ने ठहर गर्दै म उसलाई भेट्न निस्के।
टाढाबाटै देखेँ उसलाई । कसैसँग फोन गर्दै गरेको। नजिकै पुगेँ। ऊ मलाई नमस्ते गर्दै बोल्यो, “ओहो दाइ ! भर्खर प्रधानमन्त्रिसँग तपाईंकै कुरा गरिरहेको। उमेर त लामै छ।”
म छक्क परेँ। मेरो कुरा के नै छ र प्रधानमन्त्रीसँग गर्न। मेरो कौतुहलता मेट्दै भन्यो उसले, “देशलाई तपाईंजस्तो मान्छेको खाँचो छ दाइ। तपाईं राज्यमन्त्री बन्नु पर्यो। चुनाव नजिती त्यो सम्भव छैन । त्यसैले प्रधानमन्त्रीलाई अब आउने चुनावमा तपाईंलाई पनि टिकट दिनुपर्छ भनेर मैले सिफारिस गरेको छु।”
हे प्रभु ! यो चाहिँ धाक नभए पनि हुन्थ्यो भन्दै पुकारा गरेँ, आफ्नो इष्टदेवलाई मैले। ऊ भन्दै थियो, “हामी दुई राज्यमन्त्री भएपछि सिहंदरबार र टुँडिखेल भाग लगाउनु पर्छ है।”
मैले केही छेउटुप्पो लगाउन नसकेपछि उसले मलाई बुझायो, “सिहंदरबारलाई एउटा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटेल बनाउनु पर्छ अनि टुँडिखेलमा ठूलो सपिङ कम्प्लेक्स खोल्नुपर्छ। यति गर्न सकियो भने पुस्तौँपुस्तासम्मलाई आराम। मन्त्री नै त्यसैको लागि बन्ने हो दाइ। यसै एम्बुस र गोलीको रिस्क लिंदै भूमिगत भएको हो र ?”
कस्तो गजबको कुरो। म अचम्मित थिएँ। यस्तो खालको विकासको योजनाहरुबाट देशको अनुहार पनि बदलिने अनि आफ्नो सन्तान दरसन्तानलाई खाने जोहो पनि हुने। धाकधक्कु नै भए पनि यो भने राम्रो कुरा गर्यो है विष्णुले। मेरो मनमा खयाली पुलाउ पाक्न थाल्यो।
“यत्रो ठूलो कामहरु तिमीले र मैले मात्र गर्न सकौँला र विष्णु ?”, मैले प्रश्न तेर्स्याएँ उसलाई। ऊ केही समय बोलेन। मलाई इशारामा सँगै हिँड्न भन्यो। बहुतै अनुशासित शिष्यझैँ म उसको पछिपछि हिँड्न थालेँ।
एउटा अजंगको बिल्डिङअगाडि पुगेर विष्णु अडियो। चोरी औंलाले इशारा गर्दै भन्यो मलाई, “थाहा छ त्यहाँ के थियो पहिले ?”
मैले मुन्टो हल्लाएर आफ्नो अनभिज्ञता जताएँ। उसले भन्यो, “त्यहाँ एउटा ऐतिहासिक ‘हिटी’ यानी ढुंगेधारा थियो। अहिले यत्रो आलिशान घर छ। सरकारी भूमि हुने गर्थ्यो केही समय अगाडिसम्म। अनि त्यो चौरको दायाँपट्टि बनेका घरहरु त्यही चौरलाई मिचेर बनाइएका हुन्। त्यो सार्वजनिक चौर विशेष शहरको हरियाली जोगाउन अनि केटाकेटीहरुलाई खेलकुद गर्नको लागि उत्तम स्थान थियो तर अहिले निजी सम्पत्ति भएको छ कसैको। यस्ता उदाहरण धेरै छन्। यहाँ आफूले सकेको बेला जे गरे पनि हुन्छ। गर्न सकेन भने भोलि आफैँलाई पछुतो। त्यसैले तपाईंहामी मन्त्री भएपछि मैले भने जस्तै गर्नुपर्छ।”
म उसको दूरदर्शिताबाट कायल नभई रहन सकिनँ। आफूलाई मात्र नभई आउने पुस्ताहरुलाई पनि सोचेर बनाएको उसको त्यो योजनामा मेरो पूर्ण समर्थन जनाउँदै मन्त्री बन्ने सपना बुन्न थालेँ मैले पनि।
साँझ, घर फर्केपछि श्रीमतीलाई दिनभरिको बयान गर्ने हेतु बोलाएनजिकै। उसको ठुस्काइ अहिलेसम्म कायमै थियो। मेरो कुरा सुनेपछि मलाइ पनि “धकौडे” को उपमा दिँदै लागिन् भान्छातिर।
भोलिपल्ट एकाबिहानै ससुरालीबाट फोन आयो, “ज्वाईं साहेब, बधाई छ है हजुरलाई ! चुनावमा टिकट पाउने हुनुभएछ। चुनाव जितेपछि त हजुर मन्त्री हुने पक्का छ। हाम्रो पनि गरिबीका दिनहरु सुध्रिने भए अब त।”
म छक्क परेँ। कुरा कहाँबाट कहाँ पुगिसकेछ। हिजो राति नै श्रीमतीले सुनाउन भ्याई सकेकी रहिछन्। आखिर धाक लगाउन त उनले पनि छोडिनन् नि !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।