त्यो दिन शुक्रबारको दिन थियो । जुलाई महिनाको अन्तिम शुक्रबार । र शुक्रबारको दिन छुट्टी हुन्छ । छुट्टीको दिन प्राय: ओछ्यानबाट ढिलो उठ्छु । हप्ताभरिको थकान मेटाउनु पर्ने लालसाले आलस्यतामा उङेको हुन्छ शरीर र मन । मेरो कोठादेखि केही पर पश्चिमपट्टि मस्जिद छ । जहाँबाट जुमाह(दोहर)को प्रार्थनाको लागि आजानको उच्च करतल ध्वनि माइकबाट गुन्जियो । खुल्नै लागेको निदलाई सोही आजानको आवाजले अलार्मको काम गरिदिएको थियो र, म ब्युँझिएँ । मैले घडी हेरेँ । घडीले बिहानको ११:३५ बजाइरहेको थियो ।

म उङ्दै ओछ्यानबाट उठेँ । शरीर तन्काएँ । तर उभिइनँ । दुई गोडा तल भुईंमा झारेँ खाटबाट । हाई काढ्न मन थियो तर काढिनँ अनि सिरान नजिकै भुईंमा राखेको पानीको बोतल एउटा हातले उठाएँ । अर्को हातले गिलास समाएँ । गिलासमा पानी भरेँ अनि घटघटी पिएँ । बुवाले सुझाउनु भएको थियो, “बिहान उठेपछि खाली पेटमा पानी पिउनु पर्छ, अनेकौँ विकारहरु निको हुन्छ ।”

म अहिले अभ्यस्त भइसकेको छु । दिनको पहिलो कर्म पानी पिएर शुरू हुन्छ । यसरी तीन गिलास पानी पिएपछि म उठेर झ्यालको नजिक गएँ र पर्दा हटाएँ । नजरहरु फालहाल्यो झ्यालबाट बाहिर । केही पर सोही मस्जिदको छेवैमा एउटा खजूरको बोट ध्यानमग्न भएझैं अचलयामान थियो ।

निरन्तर घामको राप र तापले खजूरको बोट निन्याउरो मानेर कक्रिरहेको देखेँ । केही पातहरु सुकेर खैरो फुर्सो देखिएको थियो । उसको त्यो विवशता र संघर्षका बावजुद पनि केही दाना खजूरहरु फलाइरहेको थियो । जुन पाक्ने क्रममा थियो ।
नजरहरु दौडदै पूर्वतर्फ एउटा पिपलको बोटमा पुग्यो । खजूरको बोटको सामुन्ने सडक पारि एउटा ठूलो र पुरानो अग्लो घरको आडैमा झ्याम्म परेको त्यो पिपलको बोट उस्तै अमूक थियो ।

वरिपरि घरैघरको बीचमा हावा त्यति जोडले बहदैन । बहोस् पनि कसरी ? यो शहर हो । यहाँ अग्लाअग्ला गगनचुम्बी भवनहरु धर्तीदेखि आकाशसम्म ढाकेर बसेका जस्ता देखिन्छन् ।

हावाको गतिलाई पनि छेकेर । त्यसैले होला पिपलले ठूलो हल्ला गर्न जान्दैन । त्यसका पातहरु कैले झर्दैनन् कि ! म जहिले पनि उस्तै दुरुस्तै सदाबहार हरियो देख्थेँ । अफिस जाँदा र आउँदा त्यो पिपललाई हेर्नै पर्थ्यो । मैले नहेरे पनि उसले मलाई हेरिरहन्थ्यो । किनकि पिपलको बोटकै किनाराबाट म विचरित हुनु पर्थ्यो ।

“पिपललाई कसले पानी हाली देलान् ? कंक्रिट र बन्जर सुख्खा मरुभूमिमा सदा आफूलाई हरियो बनाउन पिपलले कति संघर्ष गरिरहेको होला ?” मनभित्र प्रश्न उठ्दै थियो जिज्ञासासहित ।

यसरी उष्णता सहेर मानिसलाई शुध्द हावा दिनु उसको महानता हो । मैले उसलाई मनमनै नमन गरेँ । सडक खाली थियो । गर्मीका सडकहरुमा फाट्टफुट्ट गाडी गुडेका थिए । आजान भर्खर भएकोले गर्दा मस्जिदमा कोही आइरहेका थिएनन् ।

भक्तजनहरु प्रार्थनाका लागि हिँड्न थालेका भए तिनीहरुको हल्लाखल्ला सुनिने थियो मेरो कोठाबाट । जुलाई महिनाको प्रचन्ड गर्मी थियो बाहिर । मैले एकचोटि झ्यालबाट देखिने अपरिमित आकाशलाई नियालेँ । बादलको अवशेष पनि थिएन । त्यो नीलो आकाशमा प्रज्ज्वलित दिवाकर आफ्नो उत्तप्त राप र तापको उन्मादमा थियो । रेगिस्तान भने त्यो उत्कट तापले त्राहित्राहि भैरहेको अड्कल काढ्दै थिएँ ।

उफ ! निस्सासिने गर्मी । जब खजूरहरु पाक्न थाल्थ्यो, गर्मीको रौद्रता उच्च भयो भन्ने सहज अनुमान लगाउनु पर्थ्यो । वर्षाको स्पर्श लिन खाडीले डिसेम्बरसम्म कुर्नुपर्छ । हेर्दाहेर्दै पिपलका पातहरुसँगै खजूरका पातहरु सुस्तरी हल्लिए । शायद मरुभूमिको तातो हावा बिस्तारै चल्यो होला । कतैबाट एक हूल परेवाका जोडीहरु उड्दै आकाशमा फन्को लगाए । शायद तिनीहरु रोमाञ्चित भए होलान्, हावाको प्रवेशसँगै । तिनीहरुसँगै मेरो मन पनि उड्यो एकछिन । तर तिनीहरुले न चाल पाए न अनुभूत गरे । हावाको कावा खाँदै केही चक्कर लगाएपछि शितलता खोजेर नजिकैको अग्लो घरको लिस्नोहरुमा र कोही झ्यालका कुना काप्चामा छुप्न गए । र, म पनि बेडमा फर्कें र बसेँ ।

*************************************************************************************

मोबाइल अन गरेँ र अनि फेसबूक ओपन गरेँ । मलाई फेसबूकका भित्ताहरु चहार्न मन लाग्छ । खै कुन प्यास तृप्त हुन्छ ! मौका पाउनेबित्तिकै हेर्न थाल्छु । र, यो एउटा आदत बनेको छ । मैले फेसबूक खोलेँ । एउटा नोटिफिकेसन देखेँ । नरेश भन्ने व्यक्तिले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ । कौतुहलता छायो र दङ्ग पनि परेँ । रिक्वेस्ट एक्सेप्ट गर्नुभन्दा पहिले प्रोफाइल हेरें ।

कस्तो अचम्म ! ऊ मेरो बचपनको साथी नरेश थियो । मलाई चिन्न कुनै बेर लागेन । मैले रिक्वेस्ट एक्सेप्ट गरेँ । संयोग ऊ अनलाइनमै थियो । त्यसलाई काकताली नै मान्नुपर्छ । कहिलेकाहीँ घटनाहरु आकस्मात हुनपुग्छन् । विस्मृत भइसकेका कतिपय परिदृष्य स्‍मृतिमा आएर आश्चर्यचकित पारिदिन्छ । म्यासेन्जेरमा घन्टी आयो उत्तिनखेरै ।

“के ऊ आतुर थियो मसँग कुरा गर्न ?” मैले आँफैलाई प्रश्न गरें । मैले “आहात” को नाममा फेसबूक अकाउन्ट खोलेकोले शायद यति लामो समयपछि उसले मलाई भेट्टाउन सक्यो होला । उसले सोध्ला “किन “आहत”को नाममा फेसबूक खोलेको ?” भनेर । मैले यस्तै सोचेँ ।

“मैले पनि उस्लाई किन फेसबूकमा सर्च गरिनँ ?” एकमनले पछुतो मान्दै थियो ।

“हेलो नरेश,” म प्रसन्न मुद्रामा बोलें ।

ऊ उताबाट उसले कन्फर्म गर्न सोध्यो ।

“दिलिप होइन ?”

तर उसले “आहत” छदम नामको कुनै वास्तै गरेन ।
“हो,” मैले सहज जवाफ दिएँ ।

अनि भिडियो अन गरेँ । मैले देखेँ ऊ उस्तै थियो ख्याउटे । एउटा अतित आँखाभरि छताछुल्ल भएर आयो । एकाएक मेरो मनमा उसप्रति प्रेम र सदभाव जागेर आयो ।

“तँ जिउँदो छस् कि मरिस् ?” मेरो अनुमानविपरीत उताबाट चिच्याउँदै बोल्यो ऊ । उसको त्यो अभिशप्त व्यञ्जना प्रश्न भएर मेरो कानमा शूल झै रोपियो र हृदयलाई विदीर्ण पार्यो । म हतप्रभ भएँ ।

“तँ पनि त मरेको रैनछस् नि !” मनमा उब्जिएको थियो जवाफ । तर प्रकटमा त्यति निकृष्ट, अप्रिय, कटुशब्दको प्रयोग गर्न मनले मानेन । उसको त्यो तिरस्कार या उपेक्षा, या थियो रोष या घृणा । उसको त्यो प्रश्नले मेरो माथिङ्गलमा नराम्ररी आघात पुर्याउँदै थियो । मेरो चेतन अवचेतन मनलाई प्रताडित गरायो । म अन्यमनस्क भएँ । एक निमेष निरुत्तर र भावविह्वल बनेँ । एक मनले भन्दै थियो ऊसँग कुरा नगरी बन्द गरिदिऊँ म्यासेन्जेर । भर्खरै उसप्रति जागृत प्रेमले ओइलाउने उपक्रम गर्दै थियो ।

“तँ यसरी निर्दयी भएर मलाई उपेक्षा नगर नरेश,” मैले त्यो अनपेक्षित र अप्रत्यासित प्रश्नको प्रतिवाद गरेँ । जुन शुष्क थियो । मरुस्थलमा शितका थोपाहरु बिलाएझैँ विलाएर गए । लाग्यो उसले वेवास्ता गर्यो ।

“तँ मुला कहाँ हराइस् त नि यत्तिका वर्षहरु ? अतापता नामो निशाना कहीँ छैन । यस्ता लापता भएर बस्नेलाई के भन्ने ? तँ रिसाए रिसा, खुसाए खुसा, कमाउने-नकमाउने त्यो आ-आफ्नो ठाउँमा छ तर यसरी गाउँघर साथीभाइ बिर्सेर बस्ने होइन है, बुझिस् ?” ऊ मलाई हकार्दै सम्झाइरहेको थियो ।

“तैँले भनेको जस्तो होइन । मैले गाउँघर भुलेको छैन,” मैले दृढतापूर्वक भनेँ ।

“स्वाङ नपार तँ । कति चोटि आइस् गाउँ भन त मलाई ?” उसको त्यो प्रश्नको अङ्कुशले म फेरि अक्क न वक्क भएँ ।

“मेरो पनि त केही बाध्यता हुन्छ । मलाई बुझ्ने कोसिस गर न,” मैले उसका सामू आफ्नो कारण बताउन खोज्दै थिएँ ।

“तँलाई केको बाध्यता ? गाउँमा हिँडेर आउन नसक्ने बाध्यता ?” उसको अर्को व्यङ्गय थियो र भन्दै थियो, “तँ हामी एउटै थालमा खाएर लड्दैबड्दै सँगै हुर्केको मान्छे । तँ भने आफ्नो जन्मभूमि छोडेर विदेसिया र शहरिया बनिस् अनि के पो सम्झन्छस् गाउँलाई !” ऊ बोल्दा बोल्दै रोकियो । हामी एक आपसमा एकअर्कालाई हेरी मात्र रह्यौँ । एक क्षण एउटा सन्नाटा व्याप्त भयो हाम्रा बीचमा । ऊ के सोच्दै थियो खै ? ऊ पुन: बोल्यो “मूला लापता भएर बस्छ !” उसले सन्नाटा चिर्दै पुन: उही कुरा दोहोर्‍यायो । अनि खिस्स हाँस्यो ।

ऊ फेरि एकपछि अर्को आक्षेप लगाउन उद्दत हुँदै थियो । गुनासाका बिस्कुनहरु पनि फिँजाउँदै थियो । एक प्रेमिकाले प्रेमीलाई घुर्क्याए जसरी । उसले मलाई पलायनवादीसम्म भन्न भ्यायो ।

उसका ती लाञ्छानाहरुलाई के भनौँ ? वाञ्छित या अवाञ्छित ? कुराहरु अनेकन थिए, भन्नु पर्ने-भनाउनु पर्ने, सुन्नु पर्ने-सुनाउने पर्ने । सोही क्रममा गाउँघरको जानकारी दिदै थियो । र भन्दै थियो,

“अर्जुनले पनि गाउँ छाड्यो” ।

“तेल पेल्ने ठाउँमा व्यापारी साइँलाले मेल राख्यो ।”

“पाटन नजिकै पनि सडक पुग्यो ।”

“गाउँको निमावि स्कूल पनि हाई स्कूल बन्यो ।”

मैले चाहिँ केवल “ए हो” र “हो है” मात्र भनिरहेँ ।

संक्षेपमा केही ईर्ष्या, केही घमन्ड, केही उपहास, केही पश्चताप । त्यस्तै त्यस्तै अनुबन्धित थियो लवजहरुमा ।

मलाई जानु कहीँ थिएन तर ऊसँग धेरैबेर कुरा लम्व्याउन मन लागेन । वार्ता छोट्याउने अभिप्रायले मैले भनेँ, “ल ल म अवश्य आउनेछु गाउँ । अनि खेतबारीमा पहिलेझैँ डुल्दै गफ गरौँला है ।”

मेरो आसय बुझ्यो होला उसले । “ल ल खेतबारी चैँ होइन केटा, वनघारी हेर्न चैँ आइज,” उसले भनेथ्यो ।

*******************************************************************************

हाम्रो सम्वादमा पूर्णविराम लागेपछि म लामो निश्वास तानेर मौरीजस्तो कोठामा एक्लै भुनभुनिन थालेँ । जीवनको आरोह अवरोहमा भोगेका भोगाइहरु सम्झन थालें । नरेशले भनेका कुराहरु अझै कोठामा प्रतिध्वनित भैरहेको अनुभूत गर्दै थिएँ । कतिपय खुद्रामुद्रा कुराहरु विस्मृत भैसकेका थिए । केही नमेटिएका पलहरुले भने स्‍मृतिको ढोकामा ढकढक गर्दै थियो ।
शैशवकाल हामीले सँगै बिताएका थियौँ । र, युवा वयमा पनि हामीले सँगै पौँठेजोरी खेल्यौं । हाम्रा समान कमजोरी भनौँ या समस्या भनौँ गरिबी थियो । हामी दुवैले एकैदिन एकैसाथ तेल खोला तरेर हात हल्लाउँदै उवा गाउँ छोडेका थियौं । गाउँ छोड्दा ऊ रोएको थियो । ऊ रोएको देखेर म पनि रोएको थिएँ । हामी धेरैचोटि सँगै हाँसेका थियौं र पहिलो चोटि सँगै रोयौँ पनि । हामी राजाधानी छिर्यौं । गरिबी निवारणका लागि । गरिबी निवारणका सूत्रहरु खोज्दै हामीहरु भौंतारी रह्यौं ।

काठमान्डुका गल्लीहरुमा, सडकहरुमा, पदचापहरुमा । गरिबी निर्मूलीकरणको अभियानमा कैले गलैँचा कारखानामा, कैले ईंट्टाभट्टामा, कैले रेस्टुराँमा, कैले होटेलमा अहोरात्र खटियौं । तर पनि गरिबीले हामीलाई जिस्काइरह्यो । उद्देश्य थियो, केही काम गर्दै पढ्ने अनि आफ्नो योग्यता र क्षमता पुगेपछि सोही अनुसारको पेशा वा व्यवसाय गर्ने । तर त्यो योग्यता र क्षमताको विकास गर्नुभन्दा पहिले कसरी जिउने भन्ने सवाल सगरमाथाझैँ सामुन्ने खडा भएर उभियो ।

गाउँबाट आएको दुई वर्षपछि नरेश आफ्नै गाउँमा गएर खेती र व्यवसाय गर्ने निर्णयमा पुग्यो । म भने आफ्नो भाग्य अर्जाप्नको लागि काठमान्डौमा नै बस्ने निधो गरें । यसरी हाम्रो अगाडिको गोरेटोहरु अलग अलग हुन पुगेथ्यो ।

नरेश गाउँ फर्कियो । म एक्लो बनेँ काठमान्डौमा । बुवाको उपदेश र आमाको आशीर्वाद सम्झिरहेँ र त्यही उपदेश र आशीर्वाद नै सहारा थियो ।

“मान्छेले जिउने आधार आफैँले खोज्नुपर्छ । मान्छेले आकांक्षा राख्नुपर्छ । हिम्मत हार्नु हुँदैन ।” आदि आदि।

म भने अरण्यमा पथ हराएको दिशाविहीन पथिक जस्तो भौतारी रहेँ । अनेकौं विकल्पहरु मनमा झुल्कन्थ्यो अनि मनको आकाशमै बिलाउँथ्यो । म मनमनै भन्थेँ, “सधैँ मनमा चाहना राख्नुपर्छ । चाहनाले नै विकल्प खोज्छ र कुनै दिन ती विकल्पहरुमध्ये कुनै विकल्पले अवसर दिन्छ-जिउनलाई अगाडि हिंड्नलाई ।” आफैँले आफैँलाई सम्झाउथेँ । जीजिविषाको अर्को नाम सप्ना हो । म हरेक दिन त्यस्तै त्यस्तै सप्नाहरु देखिरहेको हुन्थें । के गर्ने भन्ने निर्णय लिनुभन्दा अगाडि मनमा हजारौँ विकल्प र योजनाहरु आउँदा रहेछन् । र, ती सबै सुनौला र उत्तिकै उम्दा लाग्दारहेछन् । त्यो बेलाको जस्तो कल्पना, योजना सायद कहिल्यै फेरि आएन ।

एउटा अर्को मोड आयो यायावरको । त्यो मोडले मलाई आफ्नो देशबाट अर्को देशमा पुर्‍यायो । एउटा भूगोलबाट अर्को भूगोलमा । गहभरि आँशु र मनभरि बाध्यताका रहरहरु बोकेर जब विरानो मुलुकमा आफ्नो गन्तव्य निर्दिष्ट गरेँ । भनौँ, अनेकौँ विकल्पहरुमध्ये परदेशको गन्तव्य नै उपर्युक्त ठानेँ । गाउँ झन् साँच्चै विरानो बन्न पुग्यो । उसले परदेश र परदेशीलाई आफ्नै तरिकाले व्याख्या गर्ला । यादहरुको तरेलीमा नुनिलो आँशु पिउँदै कति चोटि यी ओंठले लाचार हाँसो हाँस्यो होला । अनुष्ठानहरुमा या पर्वहरुमा अरुहरु सगोलमा रमाइरहँदा हामी भने अर्को वर्ष, अर्को वर्ष भन्दै वाचा र आशामा रमाउनुको बाध्यतालाई कसरी भन्न सकुँला । परदेशको दुनियाँमा स्वचालित मसिनझैँ एकाकीपनमा बाँचिरहेको, व्यथित आद्र मनको तलाउमा नरेशले पत्थर फ्याँकिदिएको थियो । बीसौं वर्षसम्म गनेर ल्याउँदा शायद तीन – चार चोटि पनि पुगिनँ होला गाउँमा । व्यस्तता भन्दा पनि ऊसँग भेट्ने कुनै संयोग या साइत जुरेन । नरेशको रोष, सायद सान्दर्भिक थियो होला ।

म निस्पृह बनेँ, ऊसँग सम्वाद गरेर । म खुश या बेखुश के थिएँ ! यकिन थिएन । अनाहकमा एउटा विरक्तिले मेरो मनलाई क्षतविक्षत बनाउँदै थियो । अर्थात्, एउटा दुर्वोध्य असामन्जस्यताले मनभित्र अजारबजार गर्दै वितन्डा मच्चाइरहेको थियो । मन वशमा थिएन ।

र, पनि एकमनले भन्दै थियो, “लगौटिया यारसँग कुराकानी भयो । एउटा दुरुह कालखन्डपछि ।” धेरै वर्षहरुको अन्तरालपछि, सम्वादहीनता टुटेको थियो । शायद बीसौँ वर्षपछि ।