बलुनमान यादव काठमाडौंको एक अस्तव्यस्त ठाउँमा पानीपुरी अनि चटपटे बेचेर आफ्नो गुजारा टार्ने गर्छ। बलुनमान आफ्नो कमाइबाट जति सन्तुष्ट देखिन्छ, त्यति नै असन्तुष्ट पनि । असन्तुष्ट यस मानेमा छ कि मान्छेहरू कनकन गरेरै भए पनि पानीपुरी चटपटे खाएको पैसा त तिर्छन्। तर उनको कामलाई सम्मान भने कोही पनि गर्दैनन् । बलुनमान नेपालकै तराईबासी एक नेपाली नागरिक हो। तर हाल काठमाडौमा पानीपुरी चटपटेको व्यवसाय गर्दै आएको बलुनमानले यहाँका हरेक मानिसहरूलाई आफू नेपाली नै हुँ भनेर हरेक दिन परिचय दिनुपर्ने बाध्यता छ । किनकि बलुनमानको बोलीमा अलिअलि हिन्दी शब्द मिसिने भएकाले उनलाई भारतीय नागरिक भन्ने भ्रम काठमाडौँका मानिसहरूमा देखिन्छ।
बलुनमान यादवले काठमाडौँमा यो व्यवसाय गर्न थालेको झन्डै एक दशक पुग्न आँट्यो । तर उसलाई आजसम्म कसैले नेपालीलाई जस्तो व्यवहार गरेको अनुभव छैन । मान्छेहरू प्रायः ए भैया! पानीपुरी बनाई । ए भैया ! चटपटे बनाई जस्ता हेपुवा शब्द प्रयोग गर्ने गर्छन् । तर पनि बलुनमान भइहाल्न्छ नि हजुर भन्दै नम्र बोली बोल्दै आफ्नो कामतिर ध्यान बढाउँछ । फेरि जब मानिसहरू पानीपुरी चटपट खाइसक्थे।कोहि मान्छेहरु फेरि फलाक्न थाल्दथे,`धोतीले यो पिरो गराएछ, धोतीले त्यो चर्को बनाएछ, धोतीले त्यस्मा अमिलो कम गरेछ। यो यस्तो, त्यो तेस्तो गराएछ।´
बलोनमान (मलिन अनुहार बनाउँदै)ः त्यस्तो नभन्नुहोस् हजुर, म पनि नेपाली छु…। (बलोनमानको कुरा नसिद्धिदै )
‘बर्ता बोल्छ यो धोती यस्ले पक्कै पनि नेपाली नागरिकता किनेको हुनुहुपर्छ।नेपालीलाई ठगेर खान पल्केका यी धोतीहरुले पक्कै नक्कली नागरिकता बनाएर नागरिकतालाई ठगी खाने भाँडो बनाएको होला ।’
(बलुनमान साह्रै दु:खी हुँदै) ‘होइन हजुर होइन । म पनि तपाईहरु जस्तै नेपाली छु। मेरो बाबा, आमा, बुढिया (`बुढिया´ तराईमा आफ्नो श्रीमतीलाई बोलाउँदा प्रयोग गरिने प्रचलित शब्द) बालबच्चा सबै यही नेपालके तराईमा छ। म मेरो परिवार पाल्न र आफ्नो पेट पाल्न यहाँ पानीपुरी चटपट बेच्ने काम गरेछु।’
बलुनमान आफ्नो दैनिकी काम सकेर डेरा फर्कंदा दुई गिलास रक्सीको सहारा लिने गर्छ।(नोट: धूमपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक छ। धूमपान वा मद्यपानलाई बढुवा दिने यो कथाको कुनै मनोशाय होइन) किनकि रक्सीले मीठो निद्रा आउँछ रे,पीडा भुलाउँछ रे। सायद होला पनि, रक्सी नपिएको दिन बलुनमानलाई झट्टै निद्रा पर्दैन। मान्छेहरु रक्सी कि त दु:ख कम गर्न पिउँछन, कि त सुख बाँड्न तर बलुनमान हरेक दिन दुःख कम गर्ने बहानामा नै रक्सी पिउने गर्छ। रक्सी पिएपछि बलुनमानले भट्टिमा बसिरहेका मानिसहरुसँग गर्ने एउटै कुरा हो। यो देसमा पहाडिया मात्र नेपाली छ।हामी तराईबासी त सब धोती छ।यो पहाड जो छ किन बिर्सन्छन्, तराई पनि नेपाल नै हो भनेर? तराईमा बस्ने मान्छेहरु पनि नेपाली नै हुन भनेर? बलुनमानको कुरामा कोही ध्यान दिँदैनन्। बलुनमान रक्सीको पैसा तिरेर आफ्नो डेरातिर लाग्छ।
एकाबिहानै उठेर बलुनमान पानीपुरी अनि चट्पटको सामान तैयार गरिरहेको हुन्छ। आज पनि त्यही काममा जुटिसकेको छ।त्यहीबेला ढोकामा ढकढकको आवाज आयो। बलुनमान हिन्दीमै कौन हे? भन्दै ढोका खोल्छ।
‘ए घरबेटी दाजु पो पाल्नु भएछ।’
बलुनमान फेरि थप्दै भन्छ, ‘साँची महिना खत्तम भएछ क्यारे, घरभाडा लिन नै त आउनु भयो होला नि घरबेटी दाजु होइन?’
घरबेटी अलि कडा स्वभाव देखाउँदै भन्छ, ‘हो, महिना सकियो त्यसैले भाडा तिर अनि अर्को कुरा, उता युरोपमा बस्ने मेरा छोरा बुहारी र नातिनातिना आउँदै छन् । तेसैले तिमी यो कोठा पनि एक दुई दिनमै खाली गराऊ ।’
बलुनमान अक्कमक्क पर्दै भाडाको लागि समालेर राखेको पैसा घरबेटीलाई बुझाउँछ। पैसा हात पर्दासाथ घरबेटी आफ्नो बाटो लागिहाल्छन्। काठमाडौँमा भनेको बेला कोठा पाइँदैन। पाइएछ भने पनि अग्रिम भाडा बुझाउनुपर्छ। आफूसँग भएको पैसा घरबेटीलाई बुझाइसकेको बलुनमानलाई दिमागमा तनाव उत्पन्न हुन थाल्यो। काममा कुनै जाँगर चलेन। तैपनि काम नगरी सुख थिएन। बलुनमान मन खल्लो बनाउँदै कामतिर लाग्छ।
काम अलि छिटै छोडेर बलुनमान डेरा खोज्ने निधो गर्छ। धेरै ठाउँमा सोधिसक्दा पनि डेरा भने कहीँ पाउँदैन। बोल्दा केही शब्दहरु हिन्दी मिसिने अनि अलि कालो वर्णको भएको कारण बलुनमानलाई डेरावालाहरु डेरा छैन भनेर फर्काउँछन्। बेलुनमान मनमनै आफैँले आफैँलाई प्रश्न गर्छन्। यो काठमाडौँले हामी तराईबासी नेपालीलाई किन दुश्मनलाई झैं व्यवहार गर्छन् ? आखिर त्यही तराईले फसल(अन्न बाली) उब्जाएर यी पहाडेहरुलाई भोको हुनबाट बचाएको छ, त्यही तराईमा भएका सिमेन्ट, चिनी, चुरोटजस्ता कयौँ कारखानाहरुले देशमा आयात प्रतिस्थापन गराएको छ। र पनि तराई र तराईबासीप्रति यी मान्छेहरुको व्यवहार किन यस्तो नीच छ? तराईप्रति यी पहाडियाहरु किन समान व्यवहार गर्दैनन् ? कहाँ गयो होला त्यो हिमाल, पहाड, तराई कोई छैन पराइ भन्ने नारा?`सयौं थुँगा फुलका हामी एउटै माला नेपाली! सार्बभौम भै फैलिएका मेची महाकाली!´यति मीठो राष्ट्रियता बोकेको हाम्रो राष्ट्रिय गीतअनुरुप किन यी मान्छेहरु हुन सक्दैनन् होला?मनमा अनेकौं प्रश्न र तिनै प्रश्नको गहिराईबाट उत्तर खोज्ने प्रयास गर्दा गर्दै बलुनमान निदाउँछ।
हरेक दिनजसो ठेलामा पानीपुरी अनि चटपट बेचिरहने बेलुनमानको ठेलागाडी आज उदास थियो।किनकि आज पानी पुरी र चटपट बेच्नलाई बलुनमान थिएन। ठेलागाडीले सोच्यो आज बलुनमान कुनै समस्यामा परेको हुनुपर्छ भोलिदेखि अवश्य आउने छ। क्रमशः भोलि पर्सि निकापर्सि हुँदै दिन बित्दै गए तर बलुनमान फर्किएन। त्यहाँ सधैँ चटपट पानीपुरी खाना आउने मान्छेहरु पनि अचम्मित पर्न थाले।
अब भने मान्छेहरुले बलुनमानलाई सम्झन थाले। सधैँ सामान लिन आइरहने पसलेले बलुनमानलाई नदेखेको धेरै दिन बितिसक्यो। हरेक दिन साँझमा भट्टिमा रक्सीको आडमा गम भुलाउन भट्टी धाउने बलुनमान यो पटक धेरै भयो भट्टीमा देखिन छोडेको। हरेक महिनाको आधाआधिमा परिवारको खर्च भन्दै दुई चार पैसा आफ्नो परिवारका लागि पठाउने बलुनमान यो पटक पैसा पठाउन बैंक पनि गएन। ढोकामा भोल्टे ताल्चा लगाएर लापत्ता भएको बलुनमानको डेरा कहिले खुल्ला भनेर बिहानै बेलुकै दिउसै बलुनमानको ढोका हेर्दाहेर्दै दिक्क बनिसके घरबेटी। कतिकति बेला त घरबेटी रिसाउँदै बर्बराउँथे।कस्तो धोतीलाई डेरा दिन पुगेछु। एक दुई दिनमा डेरा खाली गर भनेको त झन् यत्रो भोल्टे ताल्चा लगाएर बेपत्ता भएको यत्तिका दिन बितिसक्यो।यी धोतीहरुलाई विश्वास गर्नुहुँदैन थाह थियो। धत् ! कसरी विश्वास गर्न पुगेछु !
उता चोकमा, जहाँ बलुनमानले पानीपुरी चटपट बेच्ने गर्थ्यो, खाइसकेपछी यस्तो र तेस्तो भनेर खोट लगाउने मान्छेहरू पनि बलुनमानलाई गालLका शब्द फलक्न नपाएको धेरै दिन भैसक्यो।त्यही भएर तिनीहरुको अचेल घाँटी चिलाउँछ होला। त्यो बाटो हिँड्दा हरेक दिन बलुनमानलाई सम्झने गर्छन्त र उनीहरुले बलुनमानलाई सम्झने नजर भने फरक हुने गर्दछ। खै बलुनमानले ती मान्छेहरुको के बिगारिदिएको छ कुन्नी? जब जब तिनीहरु बलुनमानको ठेलागाडी त्यो चोकको छेउमा बेलुनमान बिना देख्दछन् अनि भन्छन्, ‘धोतीले कुन चाहिँ सोझो नेपाली ठेगेर फरार भए जस्तो छ। नत्र किन यसरी आफ्नो ठेलागाडी रोडमै छोड्थ्यो र ? किन चटपटे पानीपुरी नै बेच्न छाड्थ्यो र ?’
हरेक मान्छेहरुको आ-आफ्नै तरिका थियो बलुनमानलाई सम्झने। छ महिना पालेको कुकुरको त कति माया लाग्छ। तर बलुनमान त त्यही चोक तिनै मान्छेहरुको बीचमा दशकौँदेखि आफ्नो व्यवसाय चलाइरहेको थियो। कहिल्यै कसैलाई नमिठो बोलेको थिएन। कसैलाई नराम्रो व्यवहार गरेको थिएन। न त कहिल्यै कसैको उधारो लिएर तिर्न बाँकी राखेको थियो तर पनि यी काठमाडौँबासीहरु बलुनमानलाई किन गलत बुझिराखेका होलान्? सायद त्यो छेउमा रहेको ठेलागाडी यतिबेला यही सोच्दै होला। किनकि बलुनमानलाई यो शहरमा सबैभन्दा नजिकबाट चिन्ने र बलुनमानको सबैभन्दा नजिकको साथी यो शहरमा त्यही एउटा ठेलागाडी थियो।
रेडियो टेलिभिजन पत्रपत्रिकामा हिजोआज एउटै समाचारको हेडलाइन थियो। `नेपाल भारत सीमा क्षेत्रमा भारतद्वारा सीमा अतिक्रमण´। एक्दिन अचानक बलुनमानको फोटो पत्रपत्रिका टेलिभिजनमा देखिन थाल्यो। बलुनमानको नाम रेडियोमा आउन थाल्यो। समाचारमा बलुनमानको फोटोसहित बलुनमानकै नामको हेडलाइन बन्यो। तर यस पटक बलुनमानको नामअगाडि स्वर्गीय पनि थपिएको थियो। पत्रिकामा छापिएको ठूलो बलुनमानको फोटोसँगै ठूलै अक्षरमा माथि `हार्दिक श्रद्धाञ्जली´ पनि लेखिएको थियो। जो जो बलुनमानलाई चिन्दथे उनीहरुलाई एक किसिमको झट्का लाग्यो। कुरा खास के रहेछ भनेर समाचार पढ्दै जाँदा अब बलुनमानलाई सलाम गर्न थाले ती मानिसहरू। जस्ले जब हिजो बलुनमान जीउँदै हुँदा एक पलको लागि पनि मानवीयताको व्यवहार देखाएका थिएनन्। पहिला बलुनमानलाई धोती, भैया, भारतीय भन्नेहरु आज लाचार र निःशब्द देखिन्थे। ती मान्छेहरु ज-जस्ले बलुनमानलाई गालीगलौज गर्थे एकाएक मसिना कुरा सम्झन थाले। बेलुनमान कुनै धोती भैया हैन रैछ। ऊ त एउटा सच्चा नेपाली रहेछ।कति गलत थियौं हामी, खास देशका असली रक्षक त तिनै नेपाली हुन्, जो सीमा क्षेत्रमा हरदिन आफ्नो वीरता देखाउँदै आफूलाई नेपाली साबित गरिरहन्छन्।
साँची बलुनमानले तराईबाट काठमाडौँ आएर पानीपुरी र चटपटे मात्र बेचेका थियो तर कहिल्यै आफ्नो मानवीयता र यो देश प्रतिको जिम्मेवारीबाट पन्छिएको थिएन । ऊ आफ्नो पेट पाल्न पानीपुरी बेच्थ्यो तर हामीले सधैँ उसको निःस्वार्थ मानवीय भावनामाथि लात मारिरहेका रहेछौं। धेरै गलत थियौं हामी, हामीले हिमाल पहाड तराई कोइ छैन पराइ भन्ने हाम्रा पुर्खाहरुले न्याय गरेर बनएको यो नारालाई बेवास्ता गरिरहेका रहेछौं।
मान्छेहरुमा एकाएक बलुनमानप्रतिको सम्मान जाग्न थाल्यो।
बलुनमान त्यो दिन जब डेरा कहीँ नपाएपछि मनमा अनेकौं प्रश्नहरु खेलाउदै गर्दा निदाएको थियो। त्यस रात अचानक उनलाई घरबाट फोन आयो। जब भारतले सीमा अतिक्रमण गरेर आफ्नो नेपाली भूमिमा रहेको घर रातारात भारतीय भूमिमा पुगेको थाहा पायो, बलुनमान रातारात तातो नेपाली रगत उमाल्दै घरको बाटो तय गर्यो । सिमानामा आन्दोलन त चलिरहेको थियो तर नेपाल सरकारले भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याइहाल्ने कुनै ठोस निर्णय लिन सकेको थिएन।सरकारले आफ्नो लागि केही गर्ने सुर नदेखाएपछि बलुनमान आफ्नै आत्मबलमा मरे पनि नेपालमै मर्ने र नेपाली नै भएर मर्ने विचारले भारतविरुद्ध प्रतिकारमा उत्रिन्छ।
बलुनमानलाई सबैले साथ दिन थाल्छन्। सिमानामा धेरै नै तनाव उत्पन्न हुन थाल्छ। त्यही मुडभेटको शिकार बन्न पुग्छ ऊ । बलुनमान र बलुनमानकै अन्य संयुक्त सहकर्मीको मृत्युसँगै अन्तर्राष्टिय चासो नेपाल भारत सीमा सम्बन्धमा बढ्दै जान्छ।अन्ततः नेपाली भूमिमाथि आँखा गाड्ने भारत बलुनमान र बलुनमानहरु जस्तै अन्य नेपालीहरुको वीरताको अगाडि शिर निहुर्याउँदै पछि हट्न बाध्य हुन्छ। नेपाल सरकारको तर्फबाट बलुनमानसँगै वीरगति प्राप्त सबैलाई नेपालको झण्डा ओढाइ सहिद घोषणा गरिन्छ।
र, नेपाल सरकारको तर्फबाट बलुनमानले पानीपुरी व्यवसाय गर्ने ठाउँमा उसको शालिक बनाउने र उसको ठेलागाडीलाई पनि संग्रहालयमा सम्मानका साथ राख्ने निर्णय गर्दछ।
बेनी नगरपालिका ६, म्याग्दी
हालः काठमाडौ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला