साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पढ्दा हाम्रा दिमागमा के प्रभाव पर्छ ? स्नायुविज्ञानले के भन्छ ?

स्नायुतन्त्रले हामीले पढेका कुराहरू दिमागमा खाँदखुँद पारेर राख्ने होइन । यसले त मस्तिष्ककै कार्यशैली परिवर्तन गर्ने क्षमता राख्छ ।

हामी सबैलाई थाहा भएकै कुरा हो, पढ्ने कार्यले हामीलाई तथ्यसँग परिचित गराउँछ, सही कुरा सही समयमा सही ठाउँमा प्रयोग भयो भने त्यसले तपाईंलाई अझ बढी सफल बनाउँछ । तर जीवनमा सफलता हासिल गरेका या औसत सफलभन्दा अति सफल व्यक्तिहरूको त्यो सफलताको कारण पुस्तकलाई मान्छन् । चाहे त्यो एलन मस्क, बिल गेट्सको कुरा होस् या बाराक ओबामा नै किन नहुन् ! उनीहरू हदभन्दा बढी पढ्छन् ।

विभिन्न प्रयोगहरूले देखाइसकेको छ, कि वास्तवमा पढाइले तपाईंको मस्तिष्कमा सूचनाहरू ठसाठस भरिदिने होइन । यसले त तपाईंको मस्तिष्कको काम गर्ने शैली नै परिवर्तन गरिदिन्छ । र, समग्रतामा यसले राम्रो परिणाम नै दिने गरेको छ । सकारात्मक परिवर्तन गरिदिने गरेको छ ।

छोटो अवधिको पढाइ र लामो अवधिको पढाइले के फरक ल्याउँछ ?
छोटो अवधिको पढाइले मानिसमा समभाव र करूणाजस्ता भावना बढाउने गर्छ । निरन्तर पढ्ने मानिसको इमोसनल इन्टेलिजेन्स नपढ्नेहरूभन्दा बढी हुन्छ । वैज्ञानिकहरूले जब पढिरहेका मानिसहरूको दिमागी अवस्था परीक्षण गरे, त्यो बेला उनीहरूको मस्तिष्कको तरङ्गहरू जाँचे । त्यसबेला निसृत तरङ्ग अन्य बेलाको तरङ्गभन्दा फरक थियो ।

मानौँ तपाईंले पढिरहेको पात्रले टेनिस खेलिरहेको छ भने टेनिस खेल्ने खेलाडीको दिमागी सक्रियताको अवस्था र पाठकको दिमागी सक्रियताको अवस्था बराबर हुने गरेको मस्तिष्क परीक्षणका बेला पाइएको थियो ।

गहन अध्ययन गर्नेहरूका बीच गरिएको एक अर्को अध्ययनले भने त्यस्ता पाठकहरूमा ध्यान केन्द्रित गर्ने क्षमता बढी थियो । उनीहरू अरूभन्दा केन्द्रीकृत देखिन्थे । उनीहरूमा क्लिष्ट किसिमको सोचलाई सहज तरिकासँग बुझ्न सक्ने क्षमता पनि पाइएको थियो । अध्ययनले के पनि देखाएको छ भने कम समय पढ्ने वा नपढ्नेहरूमा क्लिष्ट कुरा चाँडो बुझ्ने क्षमता शुष्क पाइएको थियो । (मोबाइलमा पढ्ने भए पनि पढिरहने क्षमता हुनुपर्यो ।)

उसो भए लामो समय पढ्ने भन्नाले कस्तो लामो समय ? निरन्तर पढिरहने कि निश्चित समयावधिमा आफ्नो पढ्ने बानीलाई निरन्तर दिइरहने बानी लामो समय हो ?

यस विषयमा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ हेनरिकले ती प्रश्नको उत्तर गहनतापूर्वक खोजेका छन् । उनको द वेर्डेस्ट पिपल इन द वर्ल्ड आलेखमा यसबारे विस्तारमा चर्चा गरेका छन् । तर ती लामा कुरामा हामी नजाऔँ । हामीले यति बुझौँ कि पढ्ने निरन्तरको बानीले हाम्रो दिमागलाई पुनः नवीकरणको अवस्थामा पुर्याउने गरेको छ । (प्राध्यापक हेनरिकले त दिमागका क्लिष्ट कुराहरूलाई अझ क्लिष्ट बनाएर व्यक्त गरेका छन्, जुन हामीले यहाँ जानिरहन आवश्यक छैन ।)

समग्रमा हामीले के बुझौँ भने पढ्नु भनेको जानकारी ठुँस्नु, चाहिएका बेला खोतलखातल, दिमागलाई जोड गरेर निकाल्नु मात्र होइन । बरू यसले आफ्नो काम गर्ने शैलीलाई नै परिवर्तन गरिदिन्छ । रिवायर गर्ने काम पठन क्रियाले गर्छ । भन्नाले यति शक्तिशाली काम पढाइले गर्छ । यसले हामी कल्पनाशीलता बढाउँछ, वैकल्पिक बाटाहरू सुझाउँछ, मिहिनतापूर्वक ससाना कुरा पनि स्मरणमा राख्छ, वृहद् कुरा पनि यसले तस्बिरले जस्तै ठ्याक्कै स्मृतिमा भण्डारण गर्छ र क्लिष्ट समस्याहरूलाई सोचमार्फत् बाहिर ल्याउँछ ।

किताबले हामीलाई बढी समझदार, स्मार्ट, सूचनासम्मको पहुँच मात्र दिँदैन बौद्धिक रूपमा नम्रसमेत बनाउँछ । तर यीमध्ये पनि सबैभन्दा शक्तिशाली फाइदा के हो थाहा छ ? नियमित रूपमा पढ्नेहरूमा अरूप्रतिको समानुभूति बढी हुन्छ । करूणा भाव बढी हुन्छ ।

शब्दहरूका माध्यमबाट तपाईं हामीले अरूका धारणा र विचारहरू ग्रहण गरिरहेका हुन्छौँ । यस्तो अवस्थामा हामीले अरूका आँखाबाट पढिरहेका गुनिरहेका हुन्छौँ । तिनका पीडा, तिनका खुसी हामीले बुझिरहेका हुन्छौँ ।

पठनमार्फत् हामीमा भएको एकान्तिकताबाट त्राण मात्र पाउँदैनौँ, जिन्दगीलाई अझ बढी आनन्ददायी पाउँछौँ । र, यो व्यक्तिगत जीवनमा मात्र होइन, तपाईंले गर्ने व्यवसाय, जागिरका सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ । कारूणिक व्यक्तिले ग्राहकहरूको समस्या बुझ्छन्, उनीहरूलाई अझ बढी महत्त्व दिन्छन् । ग्राहकहरूसँग सहकार्य गर्न उत्प्रेरित हुन्छन् वा ग्राहकहरूलाई सहकार्यका लागि प्रेरित गर्छन् । यसो गर्दा कहिलेकाहीँ नसोचेको सिर्जनशिलताले जन्म लिने गर्छ ।

यसै कारणले पनि हामीले पढ्ने कार्यको प्रशंसा गर्नुपर्छ र सकेसम्म पढ्ने बानीलाई लम्ब्याउनु पर्छ ।

(इन्क म्यागेजिनमा प्रकाशित आलेखको नेपाली भावानुवाद ।)

प्रतिक्रिया
Loading...