प्रिय पुरुष मित्र,
आज मेरो दिन रे ! मैले हिजैदेखि, जताततैबाट शुभकामनाका शब्दगुच्छाहरु प्राप्त गरिरहेकी छु, सँगै खोज्दैछु ती एक एक शब्दका अर्थ पनि । खुब गह्रौँ लाग्दैछन् यी शब्दहरु । जननी रे म, सृष्टि अरे म । अझ कसैका शब्दहरुमा त देवीसमेत अरे म । के तपाईंलाई थाहा छ ? सृष्टि, जननी या देवीको अर्थ !
ओहो ! कस्तो मीठो भ्रम । एकछिन त फुरुङ्ग भएछु । धत्, महिनाका चार दिन मैले छोएको पानीसमेत जुठो हुन्छ, त्यसोभए म कसरी देवी ? मैले कुन समयमा कति सन्तान जन्माउने भन्ने निर्णय मेरो हातमा रहँदैन, म कस्ति जननी ? भो नदिनूस् मलाई फगत शब्द मात्रैका भ्रामक शुभकामना ।
यदि तपाईं साच्चै केही दिन चाहनुहुन्छ भने, मलाई त्यस्तो साँझ दिनूस्, जुन साँझ म घर फर्कन ढिला हुँदा मेरी आमाको मुटुको धड्कन नबढोस्, मेरा बाबाले बारम्बार बाटोतर्फ नजर बिच्छ्याउन नपरोस् ।
“आज फर्कन अलि ढिला भयो, चोकसम्म लिन आइज् है।”, उमेरमा झन्डै पाँच वर्ष सानो भाइलाई मैले यसरी आफ्नो अस्मिताको पहरेदार बनाइराख्नु नपरोस् ।
सार्वजनिक यातायातमा भीडको आड लिएर, कुनै पिपासु कुहिनाहरु, मेरो छातीमा घस्रिन नआऊन् । अँध्यारो गल्लीमा मेरा पाइलाहरुले केवल बाटोका ढुङ्गा र खाल्डाहरुसँग जोगिए पुगोस्, न कि पछाडिबाट आइरहेको कुनै अपरिचित पदचापको आवाजले तर्सिएर हिँडाइको रफ्तार बढाउनु परोस् ।
चकलेटको लोभ देखाएर कुनै बच्चीका कलिला ओठ ननिचोरियोस् । बलात्कृत चेलीलाई इज्जतको नाममा, बलात्कारीसँगै विवाह गरिदिएर समाज उसको दोश्रो बलात्कारी नबनोस् । जानाजान प्रमाण नष्ट गरेर प्रशासन स्वंयले अपराधीको मनोबल नबढाओस्, उनीहरुलाई राजनीतिक सरंक्षणको छाता कदापी नओढाइयोस् ।
मेरा दाजुले अर्की बिहे गर्लान् कि भन्ने डरले मेरी भाउजूले आफ्नो पाठेघरको दुखाइ लुकाउनु नपरोस् । मेरो विवाहमा मागिएको दाइजो मेरा बुवाको गलाको पासो नबनोस् ।
मासिकश्रावले दशैँ छेकिएला कि भन्ने डरले मेरी सानी बहिनीले हानीकारक नाेरथेस्टाेराेन पिल्सको चक्की खानु नपरोस् । छाउगोठमा कुनै चेली बाघको सिकार नबनोस् । किशोरीहरुसँग महिनावारीका कुरा गर्दा, महिनावारी स्वच्छता र महिला स्वास्थका विषयहरु खोतलिऊन् न कि उसलाई उक्त समय छुन हुने र नहुने कुराहरु एक एक गरी घोकाइयोस् ।
महिनावारीका बारेमा सोचिरहँदा म, चर्चित भारतीय योगी जग्गी वासुदेव अर्थात् सद्गुगुरुको एक अन्तर्वार्ताका शब्दहरु सम्झन्छु । उनको भनाईअनुसार, “मासिक चक्र एक प्राकृतिक प्रकृया हो । यस्तो समयमा महिलालाई अन्य समयभन्दा बढी आराम चाहिने हुँदा, ती चार दिन सम्मानस्वरूप महिलाहरुले कुनै काम नगरी आराम गर्न पाउने व्यवस्था गरिएको थियो । तर पुस्तान्तरणसँगै नारीप्रतिको सोच धमिलो बन्दै जाँदा त्यसले छुवाछुतको रूप लिन पुग्यो ।” वास्तवमै, सैद्धान्तिकरूपमा सकारात्मक ठानेर चलाइएका कतिपय सामाजिक चलनहरुले व्यवहारिक रूपमा भने उल्टो नतिजा दिइरहेका देखिन्छन्, जसबाट नारीहरु उल्टो प्रताडित हुनुपरेको छ ।
यदि तपाईं मलाई साँच्चै नारी दिवसको शुभकामना दिन चाहनुहुन्छ भने, नारी अस्तित्वसँग जोडिएका यस्ता यावत् चलनहरुका जरासम्म पुगेर एकपटक चिन्तन गरिहेर्नूस् । बेलाबेलामा वैज्ञानिक कारणबारे समेत बहस भइरहने कतिपय चलनहरु किन चलाइएका थिए र त्यसले आज कसरी उल्टो रूप हाँसिल गर्न पुग्यो ? त्यसपछि तपाईँको मानसिकतामा मप्रतिको धारणा केही सङ्लो बन्ला कि ?
मसँग त प्रेमको नाममा समेत बारम्बार स्वार्थको व्यापार हुने गर्छ । यदि स्वार्थ नहुँदो हो त कसैले मप्रतिको प्रेम दर्शाउन मैमाथि एसिड किन खन्याउँछ ? दाइजो नपाएको निहुँमा मेरो शरीर किन जलाइदिन्छ ?
मेरा श्रीमान् घर आउन ढिला भएको दिन म उनको लागि खाना पकाएर बस्छु तर म ढिला घर आएको दिन उनी आफ्नो मनभरि अनेक शङ्का पकाएर किन बस्छन् ?
प्रेमको नाममा आँखा बन्द गर्न बाध्य बनाइएको बेला, खुल्लै रहेको क्यामरामा कैद भिडियोले कुनै चेलीको भविष्य अन्धकार बनाउनेसम्मको तागत किन राख्छ ? दिनभर तपाईं हजुर भन्दै सँगै काम गरेको सहकर्मी साँझ च्याटबक्समा द्वीअर्थी शब्द पठाउने हिम्मत कसरी जुटाउँछ ?
मलाई जननीको उपमा दिइरहँदा के तपाईँले यो ख्याल गर्नुभएको छ – मैले कुन समयमा कति सन्तान जन्माउने भन्ने निर्णय कसको हातमा रहन्छ ? कतै मेरो पाठेघर छोरा जन्माउनका लागि पटक पटक प्रयोगशाला बन्छ त कतै मेरो बाँझोपनको उपचार अस्पतालबाट नभई मेरा श्रीमान्को दोश्रो विवाहबाट खोजिन्छ । अझ कतै, मेरो चाहनाविपरीत विभिन्न निहुँमा मेरो गर्भमा कैँचीसमेत चलाइन्छ । एउटी शिक्षित महिलालाई समेत “म मेरो करियरको यो खुट्किलापछि मात्र सन्तान जन्माउँछु” भन्ने निर्णयमा अडिग रहन हम्मेहम्मे पर्छ । यस्तो अवस्थामा मलाई जननीको रूपमा पुज्य मान्नुको के अर्थ ?
तपाईँलाई मेरो योग्यता, क्षमता मापनको दायरा साँघुरो भएको महसुस हुँदैन ? मेरा हातका टपरीको गोलाइ, सेलरोटीको घुमाइ या नाङ्लोको छिन्काइ हेरेर, घर गरी खाने भइछे भन्नेहरुले मेरो अधुरो पढाइ अनि आँखाभरिका सपना किन नियाल्दैनन ?
गाह्रो लगाउने मेरा पतिले, त्यति नै समयको हजार कमाउँदा, उनीसँगै दिनभर इँट्टा बोकेर मैले केवल पाँच सयमा चित्त बुझाउनुपर्छ । यो मेरो श्रमको अवमूल्यन कि मेरो क्षमतामाथिको प्रश्न ? कार्यालयमा, मैले तयार गरेका फाइलभन्दा पहिले मेरो हात किन समातिन्छ ? कार्यसम्पादन मुल्यांकनको आधार मेरो लैंगिकतालाई किन बनाइन्छ ? म चाहन्छु, कुनै क्ष्रेत्रमा अवसर प्राप्तिका लागि मेरो योग्यता र क्षमताका प्रमाणपत्रहरु जाँच गरियोस् न कि कुनै साँझको खानाको लागि एकान्तमा निमन्त्रणा ।
मेरा लागि चाडपर्वहरु हर्षोउल्लास कम अनि घरायसी कामको बोझ बढी बोकेर आउँछन् । सामान्य दिनहरूमै पनि घरायसी काममा मैले बढी नै समय खर्च गरिरहनुपरेको हुन्छ, त्यही समय मेरा पतिलाई भने टोलको चिया पसलमा अनावश्यक राजनीतिक विश्लेषण गरेर बस्ने फुर्सद मिलिरहेको हुन्छ । घरायसी कामलाई दोश्रो दर्जा दिइएको विषयलाई एक्कैछिन पर राखेर सोच्दा महिलाहरुले घर सम्हाल्ने र पुरुषले घरबाहिरका व्यवहार सम्हाल्ने गरी गरिएको बाँडफाँड तत्समयका लागि उपयुक्त थियो होला । तर, समाजको फेरिँदो रुपसँगै कामकाजी महिलाहरुको संख्या बढ्दै जाँदा फेरि एकपटक घरायसी कामहरुलाई व्यावहारिक तवरले बाँडफाँड गरिनुपर्ने आवश्यकता महसुस हुन्छ ।
विभिन्न ओहदामा मलाई मेरो संविधानले सुरक्षित गरिदिएको स्थान केवल कोटापूर्तिका लागि मात्रै प्रयोग गरिनुको साटो त्यस स्थानमा रहेर मैले व्यक्त गरेका विचारहरुले निर्णय प्रकृयामा आवश्यक स्थान प्राप्त गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।
हुन त तपाईँलाई लाग्दो हो, मेरा हरेक शब्दहले आरोप मात्रै लगाइरहेका छन् । समयले धेरै फड्को मारिसक्यो, अब यस्ता कुराहरुले कुनै अर्थ राख्दैनन् । समयसँग समाज परिवर्तन हुँदैआएको पक्कै छ, तर अझै पनि धेरै कुराहरु परिवर्तन हुन बाँकी नै छन् । मलाई स्वतन्त्रताको आकाशमा उडिरहेको जस्तो देखिएला तर मेरो उडानले अझै पनि अरूकै हातको लट्टाईबाट नियन्त्रित चङ्गा बन्नु परेको छ । म आफ्नै पखेटामा भर परेर निस्फिक्री उड्न पाउने पन्छी बन्न चाहन्छु ।
अन्त्यमा, मेरो लैंगिकता जे सुकैहोस्, सर्वप्रथम म मान्छे हुँ । मेरा आँखामा पनि तपाईँका जस्तै अनेक सपनाहरु छन् र मनमा ती सपनालाई चुम्न सक्ने हौसला । तर, समाजको नजरमा मान्छेको रूपमा स्वीकार्य हुनुअगावै “तँ छोरी होस् र यी तेरा लागि बनाइएका सीमारेखाहरु हुन्” भनेर बाँधिएका पाइलाहरुले मेरो मनको चाहना, साहस र हौसलालाई खुम्चन बाध्य बनाउँछ । त्यसैले, मलाई आफ्नो नजरमा “एउटी छोरी” को रूपभन्दा माथि, “एउटा मान्छे”को रुपमा स्वीकार गरिदिनूस् । त्यही नै मेरो लागि, मेरो दिवसको सच्चा शुभकामना हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।