परिच्छेद-११

वातावरण नि:शब्द थियो । काउन्टेस मधुर मुस्कानका साथ पाहुनातर्फ हेर्दै थिइन्‌ र उनको अनुहारबाट यो पनि लुकेको थिएन कि उनीहरू अब उठेर गए पनि केही फरक पर्नेवाला छैन र उनको चित्त दुख्ने-पनि छैन । महिला पाहुनाकी छौरीले प्रश्नसूचक दृष्टिले आफ्नी आमातर्फ हेर्दै त्यहाँबाट उठ्ने उपक्रममा आफ्नो पोशाक ठीकठाक पनि गर्न लागेकी थिई । त्यत्तितै खेर छेउको कोठाबाट थुप्रै केटाकेटीहरू हल्ला गर्दै र दौडँदै ढोकानिर आइपुगेको पदचापका साथै ढ्याम्म गर्दै एउटा कुर्सी ढलेको आवाज सुनियो । मलमलको छोटो फ्रकमा केही कुरा लुकाउँदै एउटी १३ वर्षकी बालिका उफ्रिँदै भित्र पसी र कोठाको मध्य भागमा उभिई । ऊ यहाँ यति टाढासम्म आफैले नचाहँदा-नचाहँदै पनि दौडेर आएकी हो भन्ने प्रष्ट रूपमा बुझिन्थ्यो । उसको पछाडि ढोकेमा गुराँस रङको कोट लगाएको एउटा विद्यार्थी, गार्डरेजिमेन्टंको एक जना अफिसर, १५ वर्षीया एउटी केटी र छोटो ज्याकेट लगाएको राताराता गाला भएको एउटा मोटे केटो, पनि देखिए ।

काउन्ट उफ्रिँदै उठे । यताउति ढल्कँदै हात फैलाए र उक्त दगुर्दै आउने बालिकालाई अङ्गालोमा लिए । अहो, धन्न आइपुगी । “यही हो, मेरी प्यारी छोरी जसको आज जन्म दिन हो,” उनी हाँस्दै फलाक्न थाले । “मेरी प्यारी छोरी !”

“कस्तो मेरी प्यारी, जे कुराको पनि एउटा समय हुन्छ,” काउन्टेसले अलि कठोर भए जस्तो अभिनय गर्दै भनिन्‌ । “तपाईंले उसलाई पुल्पुल्याएर बिगार्नु भयो, इल्या” उनले लोग्नेतर्फ फर्कदै थपिन्‌ ।

“तिमीलाई कस्तो छ, मेरी प्यारी ? तिम्रो जन्म दिनको लागि धेरै धेरै सुखद कामनाहरू अर्पण गर्छु,” पाहुनाले भनी । “हरे, कति राम्री रहिछन्‌,” उसले बालिकाकी आमालाई सम्बोधन गर्दै थपी ।

काला आँखा र चौडा मुख भएकी यो बालिका खास राम्री त होइन तर ऊ जीवन्त थिई । धेरै नै दगुरेकी हुँदा चोली सर्केर उसको काँध खुला र नाङ्गो देखिन्थ्यो । उसका घुम्रिएका काला केशराशि पछाडिपट्टि छिरल्लिएका थिए । उसका पातला-पातला पाखुराहरू नाङ्गै थिए । सानासाना गोडामा झल्लरयुक्त सुरुवाल थियो र पाउमा चप्पल थिए । उमेरका हिसाबले उसको अवस्था यस्तो थियो कि बालिका-केटी पनि थिइन तरुनी युवती पनि थिइन । अब ऊ बुबाको काखबाट छुट्टिएर आमासँग गई र आमाका कडा शब्दहरूको वास्तै नगरेर उत्तेजित हुँदै आफ्नो रातोरातो लज्जायुक्त अनुहार लेसयुक्त पछ्यौरीमा छोपेर हाँस्न थाली । र, उसले हाँसीहाँसी आफ्नो फ्रकमा लुकाएर ल्याएको पुतली निकाली र अडकी-अड्की त्यसको परिभाषा दिन लागी ।

“देख्नु भो, मेरी पुतली….. मिमी…. देख्नु भो?” नताशा योभन्दा बढी बोल्न सकिन । (उसलाई जे कूरा पनि हास्यास्पद लाग्थ्यो) ऊ आमासँग ढेप लागी । र ऊ यति ठूलो र गुन्जायमान आवाजमा हाँसी कि ती चेपारे पाहुना पनि नहाँसिकन बस्न सकेनन्‌ ।

“ठीकै छ, अब आफ्नो यो डरलाग्दो पुतली लिएर उता जाऊ,” बनावटी रिसमा छोरीलाई धकेल्दै आमाले भनिन्‌ । उनले पाहुना महिलातर्फ फर्कदै भनिन्‌, “के गर्ने यो मेरो सबभन्दा कान्छी छोरी हो ।”

नताशाले आफ्नी आमाको पछ्यौरीबाट एकैछिन मुन्टो उठाएर रुन्चे हाँसो हाँस्दै उनलाई हेरी र फेरि मुन्टो लुकाई ।

यो पारिवारिक दृश्य हेर्न बाध्य भएकी महिला पाहुनाले आफूले पनि यसमा केही न केही हिस्सा लिन आवश्यक भएको विचार गरी ।

“लौ भन त प्यारी छोरी, यो ‘मिमी’ तिम्रो के नाता पर्छे ? सायद छोरी होली होइन त,” उसले नतासालाई भनी ।

नतासालाई केटाकेटी कुरामा महिला पाहुनाको यस्तो खालको अनुग्रहपूर्ण शैली मन परेन । उसले कुनै उत्तर दिइन तर उसलाई गम्भीरतापूर्वक हेरिरही ।

यसै बेला नयाँ पुस्ताका- अन्ना मिखायलोभ्नाको अफिसर छोरो बोरिस, काउन्टको स्तातक उत्तीर्ण नगरेको जेठो छोरो निकोलास, काउन्टकी पन्ध वर्षीया भान्जी सोन्या, र कान्छो छोरो पेत्या सबै प्रतीक्षालयमा बसिसकेका थिए । र, उनीहरूले आफ्नो अन्तस्करणमा उम्लिरहेको उल्लास र उत्तेजनालाई आफ्नै सदाचारभित्र नियन्त्रण गर्ने प्रयास गरिरहेका थिए भन्ने कुरा उनीहरूको अनुहारको चमक देखेर सजिलै थाहा पाउन सकिन्थ्यो ।

वास्तवमा उनीहरू यसरी जोस्सिएर आएको पछाडिका कोठाहरूमा चलिरहेको गफगाफ र रमाइला कुराहरू, यो प्रतीक्षालयमा चलेको समाजका निन्दा, चुक्ली, काण्डैकाण्डहरू, मौसम र काउन्टेस अप्राकसिनाका तुलनामा धेरै गुना रोचक थिए । मुखबाट बाहिर प्रस्फुटन हुन लागेको हाँसो थाम्दै उनीहरू एक-आपसमा घरिघरि आँखा जुधाइरहन्थे ।

विद्यार्थी र अफिसर यी दुई जना युवक बाल्यकालदेखिका सँगाती थिए । उनीहरूको उमेर पनि एउटै थियो । दुवै जना उत्तिकै राम्रा थिए । तर उनीहरूको शारीरिक बनावट र आकृति भने एकनासको थिएन । बोरिस अग्लो र सलक्क परेको थियो । उसका केश सुनौला थिए, उसको अनुहार सदा शान्त, सुन्दर र कोमल थियो र निकोलास पुड्को थियो । उसको कपाल घुम्रिएको थियो र अनुहार एकदम निष्कपट देखिन्थ्यो । उसका काला कपाल सधैँ माथिल्लो ओठसम्म झुलेका हुन्थे । र, उसको सम्पूर्ण अनुहारमा उल्लास र उत्साह झल्किरहेको देखिन्थ्यो: निकोलास- कोठामा पस्नेबित्तिकै लज्जावनत भयो । ऊ केही भन्न चाहन्थ्यो तर शब्द, पाइरहेको थिएन । अर्कोतिर बोरिसको दिमागमा भने तुरुन्तै केही कुरा फुर्यो । उसले शान्त र ठछ्यौलो पारामा. वर्णन गर्यो- “उसले यो मिमी पुतलीलाई पहिलेदेखि नै चिनेको छ । त्यति बेला ऊ मस्त तरुनी नै थिई । उसको नाक भाँच्चिएको थिएन । तर उसलाई चिनेको पाँच वर्षभित्रैमा ऊ कति चाँडै बुढी भइसकिछ । टाउको पनि ठाउँठाउँमा चोट लागेर फुटेको रहेछ” यति भनेर उसले नतासालाई हेर्यो । नतासाले उसबाट मुख फर्काएर आफ्नो भाइतर्फ हेरी । हाँसो रोकेका कारण भाइका आँखा खुम्चिरहेका थिए र शरीर हल्लिरहेको थियो । नतासा पनि हाँसो थाम्न नसक्ने स्थितिमा पुगेपछि आफ्ना चपल गोडाले भ्याएसम्म छिटोछिटो दगुर्दै कोठाबाट बाहिर निस्की । बोरिस भने पटक्कै हाँसेन ।

“आमा, तपाईं बाहिर कतै जान चाहनुहुन्थ्यो, होइन ? बग्गी ल्याइदिउँ ?”, उसले मुस्कुराउँदै आमालाई सोध्यो ।

“हुन्छ, जाऊ र उनीहरूलाई बग्गी तयार पार्न भन,” आमाले पनि हाँस्दै जवाफ दिइन्‌ । बोरिस विस्तारै बाहिर आएर नतासालाई खोज्न लाग्यो । मोटे केटो रिसाउँदै उनीहरूको पछि लाग्यो । ऊ सायद आफूले बनाएको योजना गडबड भयो भनेर रिसाएको थियो ।