एउटा मात्र काम नं. १ नोकर र २ नं. नोकर दुवै मिलेर गर्नुपर्थ्यो । कम्तीमा हप्तामा एकपटक साँझ करिब छ बजेतिर रामप्रसाद र म हिँडेर तल उल्लिखित साइनबोर्ड भएको पसलमा जान्थ्यौँ । जहाँ लेखिएको थियो-

“ज्याकपट बेलायती रक्सी पसल
भारतीयले बनाएको विदेशी रक्सी यहाँ पाइन्छ”

श्रीमान्‌ जियाबाओ, मैले तपाईंलाई भन्नै पर्छ कि यो देशमा दुई थरी मान्छे छन्‌- भारतीय रक्सी खाने र बेलायती मदिरा खाने । भारतीय रक्सी भनेको ठ्वास्स गन्हाउने घरपाला रक्सी हो जुन मजस्तो गाउँलेलाई हो । बेलायती रक्सी धनीलाई हो । बेलायतीहरूले छोडेर गएको जेसुकै होस्‌- रम, ह्विस्की, बियर, जिन इत्यादि । (तपाईंको देशमा पनि रक्सी बन्छ, महामहिम ? मलाई एक चुस्की चाख्न मन छ |)
ड्राइभर नं. १ को एउटा सबैभन्दा महत्त्वपूर्ण कर्तव्य के हो भने हप्तामा एकपटक ज्याकपटमा आएर भुँडीफोर र उसको छोरोका लागि सबैभन्दा महँगो एक बोतल ह्विस्की किनेर लानु । मलाई नसोध्नुस्‌ किन हो, यो नोकरहरूको मर्यादाक्रमको कारणले हो कि कनिष्ठ चाहिँ वरिष्ठ बाहिर जाँदा उसको पछिपछि जानैपर्ने हुन्थ्यो । मलाई लाग्थ्यो

मेरो काम अर्को ड्राइभर बोतलै लिएर नभागोस्‌ भनेर पछ्याउनु नै थियो । विभिन्न आकारका रङ्गीन बोतलहरू ज्याकपटको दराजमा सजाइएका हुन्थे ।

दुई वटा केटाहरू काउन्टरको पछि उभिएर भ्याइनभ्याई बेच्थे । पसलको एकापट्टिको भित्तामा बगेको अक्षरमा रातो रङ्ले विभिन्न नामका मदिराहरूको मूल्यसूची लेखिएको थियो । त्यसलाई बियर, रम, ह्विस्की, जिन र भोड्का गरी पाँचवटा तहमा बाँडिएको थियो ।

“ज्याकपट बेलायती मदिरालय’”
मूल्य सूची
“क’ वर्गको हाम्रो ह्विस्की
चौथाइ आघा/हाफ बोतल
ब्ल्याक डग – – १३३०।-
टिचर्स – ५३०।- १२३०।
भ्याट ६९ – – १२१०

‘ख’ वर्गको ह्विस्की
चौथाइ आघा/हाफ बोतल
रोयल च्यालेन्ज ११०|- २२०|- ३९०/-
रोयल स्ट्याग ११०|- २१९।- ३८०/-
ब्यागपाइपर ८४|- २००/- २८८|-

‘ग’ वर्गको ह्विस्की
चौथाइ आघा/हाफ बोतल
रोयल च्वायस ६१/- ११०/- २००।-
वाइल्ड हर्स ६४/- १२०/- २००।-

(सस्तो खाले हिवस्की चाहिएमा कृपया काउन्टरमा सम्पक गर्नुहोला |)
हाम्रो भोड्का

भोड्का ‘क’ वर्ग – _ _ आदि ।

यो पसल सानो थियो | काउन्टरको अगाडिको १० फुटको सानो ठाउँमा कम्तिमा ५० जना मानिस कोचिन्थे र हातमा ठूलाठूला दरका नोट हल्लाउँदै भ्याएसम्म चिच्च्याउँथे ।
मलाई किङफिसर स्ट्रङुग एक लिटर !
मलाई ओल्ड मोङ्क आधा बोतल !
‘मलाई थन्डरबोल्ट’, कस्तो नसुन्या ? थन्डरबोल्ट देऊ भन्या ।
तिनीहरूको फोहोर र च्यातिएको लुगाले नै बताउँथ्यो कि उनीहरू त्यो रक्सी आफैँलाई किन्न आएका होइनन्‌ | लुगाले नै बताउँथ्यो कि उनीहरू नोकर नै हुन्‌ । रामप्रसाद र म पनि मालिकहरूकै लागि बेलायती रक्सी किन्न आएको हो । हप्तामा अन्तिम दिन साँझ यदि हामी आठ बजेपछि ज्याकपट आयौँ भने त, काउन्टरको अगाडि त गृहयुद्ध नै देख्न पाइन्थ्यो । मेरो काम मान्छे तर्काउने हुन्थ्यो भने रामप्रसाद भिंड छिचोलेर काउन्टरमा पुग्थ्यो र चिच्च्याउँथ्यो, “ब्ल्याक डग पूरा बोतल देऊ ।’

‘ब्ल्याक डग’ भनेको ‘क’ वर्गको ह्विस्कीहरूमध्ये सबैले लिने पहिलो नाम हो । भुँडीफोर र उसका छोराहरूले पिउने मात्र यही यौटा हो !

रामप्रसाद काखीमा बोतल च्यापेर लिएर आउँदा मेरो काम भिडभाड गरी उभिएका नोकरहरूलाई घचाटेर पन्छाउने र उसलाई बाहिर निस्कन सजिलो पार्ने हुन्थ्यो । यतिबेला, मात्रै हामी एकतामा बाँधिन्थ्यौँ ।

घर फर्किँदा सधैं रामप्रसादले बाटोको छेउमा उभिएर “ब्ल्याक डग’ बोतल खोलबाट बाहिर निकाल्थ्यो । रामप्रसादले यो काम ‘ज्याकपट’ले ठग्यो कि भनेर जाँचेको हो भन्थ्यो । म बुझ्थैँ ऊ झुटो बोल्दै छ । उसले बोतल आफ्नो हातमा लिन चाहन्थ्यो । नखोलेको एक नम्बर रक्सीको बोतल आफ्नो हातमा लिन चाहन्थ्यो ! ऊ कल्पना गर्न चाहन्थ्यो कि यो उसले आफ्नै लागि किनेको हो । अनि फेरि बोतललाई खोलमा राखेर ऊ अघिअघि, म लुरूलुरू पछिपछि घर पुग्थ्यौँ । यत्रो बिघ्न विदेशी मदिरा देखेर म जिल्ल पर्थे ।

राति रामप्रसाद आफ्नो बिस्तारामा घुर्दा, म भुडँमा पुर्पुरो हातमा टेकाएर पल्टिन्थेँ ।

म छततिर टोलाएर हेरिरहन्थेँ ।

म सोचिरहन्थेँ कसरी एउटै बाबु भुँडीफोरका छोराहरू दिन र रात जस्तै फरक स्वभावका भएका होलान्‌ !

मुकेशजी अलि पुड्का, काला र नराम्रा थिए तर चलाख । हामी, गाउँमा भएको भए उनलाई ‘न्याउरीमुसो’ भन्थ्यौ । उनले विहे गरेको धेरै वर्ष भैसक्याथ्यो । उनकी दुई छोरीकी आमा भैसकेकी, मोटी हुन थालेकी, तर सौम्य श्रीमती थिइन्‌ । यो न्याउरीको शरीर बाबुको जस्तो थिएन तर दिमाग उस्तै थियो । उसले म एक सेकेन्ड पनि चुप लागेर बसेको देख्यो भने थर्काइहाल्थ्यो, “ए ड्राइभर गाडी सफा गर्‌, के हेरेर बसेको ?’
“गरिसकँ हजूर ।!”
“त्यसो भए कुचो लिएर आँगन सफा गर्‌ ।”
जमिनदारको छोरोजस्तै अशोकजीको शरीर बाबुको जस्तै थियो । उनको अग्लो शरीर, चौडा निघार थियो । म उनलाई साँझपख घर परिसरमा श्रीमतीसँग टेनिस खेलिरहेको देख्थे । उनी ट्राउजर्स/पाइन्ट लगाउँथिन्‌ । म ट्वाल्ल परेर उनको पाइन्ट हेथेँ । यस अघि सिनेमामा बाहेक पाइन्ट लगाएका महिला पहिले कसैलाई देखेको थिइनँ

म सुरूसुरूमा अनुमान गर्थें कि अशोकजीले अमेरिकाबाट लिएर आएको लबज र दाह्री काटेपछि लगाउने हर्र बास्ना चल्ने जादुमय चिजजस्तै उनी पनि अमेरिकन नै हुन्‌ ।

दुई दिनपछि रामप्रसाद र चिम्से नेपाली गफ गर्दै थिए । म हातमा कुचो लिएर आँगन बढार्दै उनीहरूको नजिक नजिक गएँ |
‘तिमीलाई थाहा छ ? उनी क्रिस्चियन हुन्‌ ।’
‘होइन होला ।’
‘हो भन्या ।’
‘अनि उनले कसरी बिहे गरे त ?”
‘उनीहरूले बिहे अमेरिकामै गरेका । हामी भारतीयहरू अमेरिका गएपछि जातभात सबै बिर्सन्छौँ ।” नेपालीले थप्यो |

“बूढा त बिहेका पूरै विरूद्धमा थिए । उनका आफन्तहरू पनि त्यति खुसी थिएनन्‌ ।”
अनि कसरी बिहे भो त ?
नेपालीले मतिर आँखा तर्काएर भन्यो, “ए तँ हाम्रो चियो गर्ने ?
“होइन तपाईं । किन चियो गर्नु ?”