उनले विश्वास गरे, उनी डेइजीलाई भगाएर विवाह गर्न गइरहेका छन्‌ । डेइजी उनी भएको ठाउँमा आइपुगेकी थिइन्‌ । यतिबेला विन्टरबोर्नको नजिकै होटलका कामदार थिए । उनीहरू काम गर्नको लागि जम्मा भइरहेका थिए । कस्तो अचम्म ! विन्टरबोर्न डेइजीलाई हेरेर लट्टिइरहेका थिए भने उनीहरूले पनि डेइजीलाई नै एकोहोरिएर हेरिरहेका थिए। उनले विन्टरबोर्नसँग भेटहुनासाथ गफ गर्न सुरू गरेकी थिइन्‌। विन्टरबोर्नले उनलाई सानो रेलगाडीबाट चिलोन महल लैजान चाहन्थे तर उनी सानो पानीजहाजबाट जान ज्यादै इच्छुक थिइन्‌। उनले आफूलाई पानीजहाजबाट यात्रा गर्न ज्यादै मन लाग्दछ भनेकी थिइन्‌ । यसरी यात्रा गर्दा तालको ताजा हावाको आनन्द लिन सकिनुका साथ्रै यस्तो आनन्द लिइरहेका मानिसलाई देख्न समेत सकिने हुनाले यात्रा ज्यादै रमाइलो हुने उनले बताइन्‌ । चिलोन महलसम्म पुग्ने जलयात्राको समय ज्यादै लामो त थिएन तर पनि विन्टरबोर्नको साथीले धेरै महत्त्वपूर्ण कुरा गर्ने अवसर पाएकी थिइन्‌ । ती युवकका लागि भनी यो यात्रा ज्यादै साहसिक र रोमाञ्चक थियो । डेइजीले यो यात्रामा स्वतन्त्र भएर सहजरूपमा आफ्ना विचार प्रस्तुत गरिरहेकी थिइन्‌ | विन्टरबोर्नले पनि उनका कुरालाई पत्याउँदै ध्यान दिएर सुनिरहेका थिए । डेइजीले विन्टरबोर्नको काकी आफूसँग नकारात्मक भएको कुरा पनि गरेकी थिइन्‌। यो कुराले विन्टरबोर्नलाई निराश बनाएको थियो। डेइजी एकदम उत्साहित भएकी थिइन्‌ । उनी सुन्दर देखिइरहेकी थिइन्‌ र प्रसन्न पनि । उनी ज्यादै उत्तेजित भने भइरहेकी थिइनन्‌ । उनको मुटुको ढुकढुकी पनि बढिरहेको थिएन। उनले विन्टरबोर्नलाई हेरिरहेकी थिइन्‌ भने अरूले उनलाई हेरिरहेका थिए। यतिबेला उनले कत्ति पनि लाज मानिरहेकी थिइनन्‌ । अरू मानिसले आश्चर्य हुँदै डेइजीको क्रियाकलाप निरन्तररूपमा हेरिरहेको समयमा विन्टरबोर्नले आफ्नी आकर्षक साथीको सुन्दर अनुहार हेरेर अधिक सन्तुष्टि लिइरहेका थिए। डेइजीले चर्को स्वरमा कुरा गर्छन्‌ कि ? बढी हाँस्छन्‌ कि ? डुङ्गामा बढी समय घुमिरहन चाहन्छिन्‌ कि ? यस्तै कुरा सोचेर विन्टरबोर्नलाई थोरै डर लागिरहेको थियो तर डेइजी पानीजहाजमा कत्ति पनि नचली बसिरहेकी थिइन्‌ । उनले शान्त भएर आफ्ना विचार प्रस्तुत गरिरहेकी थिइन्‌ । डेइजीका यी क्रियाकलापले उनको डर बिर्साइदिइरहेका थिए । विन्टरबोर्नले उनको अनुहारमा आफ्ना आँखा बिछ्याएर हाँसिरहेका थिए । डेइजी कुरा गर्न मस्त थिइन्‌ । विन्टरबोर्नले अहिलेसम्म यस्ता आकर्षक कुरा सुनैकै थिएनन्‌।विन्टरबोर्नले ठाने, उनी असभ्य युवती हुन्‌ तर यथार्थमा उनी साँच्ची नै यस्तै थिइन्‌ त वा विन्टरबोर्नले डेइजीको असभ्य क्रियाकलापको यतिबेला अनुभव गरिरहेका थिए त ? डेइजीका हरेक कुरा सनसनी उत्पन्न गर्ने खालका थिए तर यथार्थमा यो उनको व्यक्तिगत शैलीमात्र थियो ।

“तपाईं त गम्भीर हुनुभएको छ नि ?’ आफ्ना प्रफुल्ल आँखा जुधाउँदै डेइजीले सोधिन्‌।

“म गम्भीर छु र ? मलाई लाग्दछ, म खुसी भएर हाँसिरहेको पो थिएँ त,’ विन्टरबोर्नले भने ।

“तपाईँ त मलाई कसैको दाहसंस्कार गर्न लैजाँदै गरेको जस्तो पो देखिनुहुन्छ नि ! तपाईंले खुसी भएर हाँसिरहेको त भन्नुभयो, यो हाँसो तपाईंका कानले मात्र सुने होलान्‌ तर मेरा कानले त सुनेनन्‌ नि !’ डेइजीले भनिन्‌।

“तपाईंले मलाई पानीजहाजभित्र एक्लै राम्रो नाच नचाउन चाहनुहुन्छ र ?’ विन्टरबोर्नले प्रश्न गरे।

“चाहन्छु नि ! अनि तपाईंको टोप मैले लिइदिउँला। अब भएन त ! हामीले यात्राको पुरै फाइदा लिने छौँ,’ डेइजीले भनिन्‌।

“म जीवनमा कहिल्यै पनि यति धेरै खुसी भएको थिइनँ,’ विन्टरबोर्नले हतारिँदै भने ।

डेइजीले विन्टरबोर्नको अनुहारमा एकछिन हेरिरहिन्‌ अनि खित्का छाडेर हाँस्दै भनिन्‌, ‘मैले तपाईंबाट यिनै कुरा भनाउन चाहन्थेँ। तपाईँ त अनौठो हुनुहुन्छ नि! ‘

उनीहरू पानीजहाजबाट उत्रेर चिलोन महलभित्र प्रवेश गर्नासाथ त्यहाँको वास्तुकला देखेर निकै प्रभावित भएका थिए। डेइजीलाई गुम्बजाकार बैठक कक्षभित्र प्रवेश गर्न लाग्दा ठेस लागेको थियो । उनी आफ्नो फ्रक सहित तल्ली कोठाभित्र जाने भर्याङको ढोकामा ठोक्किन पुगिन्‌ र जोडले हुत्तिँदै कब्लिएट (प्राचीन समयमा जमिनमुनिको कोठामा रहेको गोप्य अन्धकार कारागार वा कालकोठरी जसको माथि कैदीहरू पस्ने सानो ढोका हुन्थ्यो र तल पुग्नको लागि सिँढीहरू हुन्थे । भाग्य नभएका कैदी यी सिँढीबाट लड्दथे तर गुल्टिएर केही समयपछि रोकिन्थे । यो कोठा असी फिट गहिरोसम्म हुन्थ्यो र यो कारागार चिलोन महलको जमिनमुनि थियो।) को एकदम नजिक पुगिन्‌ । उनको फ्रक घास्रिँदा आवाज समेत निस्केको थियो । उनी डरले काँप्दै एक्कासी चिच्याउँदै पछाडि हटिन्‌। उनी आफ्ना चिटिक्क परेका कान अचम्मसँग हल्लाउँदै उक्त कालकोठरीको बारेमा विन्टरबोर्नले भनेका कुरा सम्झेर चनाखो भएकी थिइन्‌ । विन्टरबोर्नले उनलाई यरोपको मध्ययगीन कृषिसामन्तवादी पराम्पराको यादका साथै थोरै भए पानि चिलोनका अँध्यारा कालकोठरीमा सजाय दिने परम्पराको झझल्को रहेछ भन्ने अनुमान गरेका थिए। यतिबेला उनीहरूले महलको बारेमा राम्रो जानकारी प्राप्त भएका मानिसबिना नै यसका विभिन्न भागको ज्ञान हाँसिल गर्ने राम्रो अवसर पाइरहेका थिए । विन्टरबोर्नले डेइजीलाई महलका कुनै पनि वस्तु हेर्न हतार गर्न नहुने र आफूले मन पराएका वस्तु हेर्नभन्दा अगाडि त्यसको बारेमा जानकारी लिएर मात्र हेर्नुपर्दछ भनेका थिए । विन्टरबोर्नले महलको राम्रो जानकारी भएका केही मानिसलाई भेटेका थिए। उनीहरूले पारिश्रमिक लिएर महल घुमाइदिने गर्दथे । उनीहरूले विन्टरबोर्नसँग पारिश्रमकको उदार तरिकाले घटाघट गरिरहेका थिए । विन्टरबोर्नले उनीहरूलाई अझै उदार हुन कर गरिरहेका थिए। पारिश्रामकमा कुरा नमिलेपछि विन्टरबोर्नले उनीहरूलाई सँगै नलैजाने निर्णय गरेका थिए। उनको इच्छा डेइजीसँग एक्लै घुम्ने थियो त्यसैले उनले डेइजीको अगाडि पारिश्रमक नमिलेको बहाना गरिरहेका थिए । डेइजीले विन्टरबोर्नसँग पुनः कुरा गर्न सुरू गरिन। उनले सबैँ एकै प्रकारका कुरा गर्दथिन्‌ । उनको भनाइमा कुनै नयाँ कुरा हुँदैनथे । उनको भनाइ त्यति तार्किक पनि हुँदैनथ्यो अनि ती भनाइमा एकरूपता पनि पाइँदैनथ्यो । उनले आफ्ना हरेक भनाइमा एउटा न एउटा बहाना बनाइरहेकी हुन्थिन्‌। उनीहरू महल क्षेत्रको ढुङ्गाको पुरानो पर्खाल भएको ठाउँमा हिँड्दै गइरहेका थिए । डेइजीले विन्टरबोर्नलाई अचानक उनी र उनको परिवार, उनको विगतको इतिहास, उनलाई मनपर्ने खानाको स्वाद, उनको बानी र उनको जीवनको लक्ष्यको बारेमा थुप्रै पश्न सोधेकी थिइन र उनले पनि विन्टरबोर्न समक्ष यी प्रश्नसँग सम्बन्धित आफ्नो बारेमा साँच्ची नै राम्रो वर्णन प्रस्तुत गरेकी थिइन्‌ । यो विवरण उनले धेरै दिन अघिदेखि तयार पारेजस्तो लाग्दथ्यो ।

विन्टरबोर्नले डेइजीलाई दुःखी बोन्निभार्डको ( बोन्निभार्ड (ई.सं. १४९६-१५७१ ?) जसले जेनेभा नगरीलाई गणतन्त्र बनाउने प्रयास गरेका थिए, त्यसैकारणले उनलाई साभोइ राज्यका राज्यप्रमुखले चिलोनमा ६ वर्षसम्म कैदमा राखेका थिए।) इतिहास सुनाए । यिनको इतिहास सुनेपछि डेइजीले भनिन्‌, ‘ अँ, मलाई आशा छ, तपाईँले धेरै कुरा जान्नुभएको छ । मैले अहिलेसम्म यति धेरै कुरा जानेको मानिसलाई भेटेकी थिइनँ।’ उनीहरूको कुराकानी सुनेर नजिकै रहेका अरू मानिसले पनि दुःखी बोन्निभार्डको इतिहास थाहा पाएका थिए । डेइजीले विन्टरबोर्न आफ्नो परिवारसँगै विभिन्न देशको भ्रमण गरोस्‌ भन्ने चाहना राखेकी थिइन्‌ । यसो भएमा डेइजीको परिवारले विन्टरबोर्नसँग धेरै कुरा सिक्न सक्दथे। उनले यो कुरा विन्टरबोर्नलाई भनिन्‌ । “तपाईंले हामीसँग यात्रा गर्दै र्यान्डोल्फलाई पढाउन चाहनु हुन्न र ?’ डेइजीले सोधिन्‌ । विन्टरबोर्नले उत्तर दिँदै भने, ‘म यस कुराबाट धेरै खुसी भएको छु । मलाई सम्भवतः यस बाहेक अरू कुनै पनि कुराले यति धेरै खुसी बनाउँदैन, तर दुर्भाग्यवश मैले अरू नै काम गरिरहेको छु।’ ‘अरू काम ? म विश्वास गर्दिनँ । तपाईँले भन्न खोज्नु भएको के ? तपाईंले अरू कुनै पनि काम गरिरहनु भएको छैन,’ डेइजीले अपत्यारिलो हुँदै भनिन्‌ । ती युवकले डेइजी समक्ष आफूले यतिबेला कुनै पनि काम नगरिरहेको कुरा त स्वीकार गरे तर यथार्थमा उनले कुनै काम गरिरहेका थिए, त्यसको लागि उनी एक वा दुई दिनभित्रमा त्यहाँबाट जेनेभा जानुपर्ने बाध्यता थियो । ‘ए ! हजुरले मलाई कति जिस्काउनु भएको ! म यस कुरालाई विश्वास गर्दिनँ नि !’ डेइजीले भनिन्‌ अनि उनले विन्टरबोर्नसँग अरू नै केही कुरा गर्न सुरू गरेकी थिइन्‌ । केही समयपछि विन्टरबोर्नले डेइजीलाई महलभित्रको राम्रो खालको प्राचीन अग्निकक्षको नमुना देखाइरहेका थिए, उनले अचानक असान्दर्भिक तरिकाले दृढइच्छा व्यक्त गर्दै भनिन्‌, ‘ तपाईँले जेनेभा नगरी फर्केर जाने इच्छा नगर्नुहोस्‌ नि ।’

“यो दुःखदायी यथार्थ हो, म भोलि जेनेभा नगरी फर्कदै छु,’ विन्टरबोर्नले निराश हुँदै भने।

“अँ, विन्टरबोर्न, मलाई लाग्दछ, तपाईँ मसँग ज्यादै बेखुसी हुनुहुन्छ !’ डेइजीले भनिन्‌।

“ए, यस्तो मनमा चोट पार्ने कुरा नगर्नुहोस्‌ । ठान्नुहोस्‌ कि तपाईँले यो कुरा अन्तिमपटक भन्नुभयो । अब यसलाई नदोहोर्याउनुहोला,’ विन्टरबोर्नले भने।

‘अन्तिम पटक ! म ठान्दछु, म यो कुरा पहिलो पटक गर्दैछु । मेरो आधी मनले तपाईंलाई यहाँ नै छाडी एक्लै सिधै होटलमा जाऊँ भन्दछ,” युवतीले आँशु झार्दै भनिन्‌ । यसपछि दस मिनटसम्म डेइजीले विन्टरबोर्न डरलाग्दो मानिस भएको कुरा बाहेक अरू केही पनि भनिनन्‌। बिचरा विन्टरबोर्न ज्यादै किंकर्तव्यविमूढ भइरहेका थिए । विन्टरबोर्नले धेरै युवतीसँग पहिले नै यस्ता यात्रा गरिसकेका थिए । उनले उनीहरूसँग यस्ता कुरा पनि गरेका थिए, तर कुनै पनि युवतीले अहिलेसम्म उनलाई यस्ता कुराप्रति आपत्ति जनाएका र चिढाएका पानि थिएनन्‌ । त्यसपछि विन्टरबोर्नको साथी चिलोन महल तथा तालको सुन्दरताको बारेमा अरू कुनै पनि जानकारी लिन उत्सुक भइरहेकी थिइनन्‌ । उनले जेनेभा नगरीमा विन्टरबोर्न आर्कर्षित हुनुको कारण सोच्दै पानीजहाजलाई छिटोछिटो अगाडि बढाउन भनिरहेकी थिइन्‌ । उनी किन हतार गरेर त्यहाँ जान चाहिरहेका छन्‌ त ? उनी त्यहाँ जाने कुरालाई छिट्टै किन स्वीकार गरे त ? डेइजीले गम्भीर हुँदै आँफैसँग प्रश्न गरिन्‌। डेइजीले म जेनेभा नगरीमा आकर्षित हुनुको कारण कसरी थाहा पाइन्‌ त ? विन्टरबोर्नले मनमनै भने । विन्टरबोर्नलाई लाग्यो, डेइजीजस्ती युवती सन्सारमै प्राप्त गर्न गाह्रो हुन्छ। उनले यस्ती युवतीलाई यसभन्दा अगाडि कहिल्यै पनि भेटेका थिएनन्‌ । विन्टरबोर्न डेइजीले यति छोटो समयमै प्रभाव पारेकोमा आश्चर्यचकितका साथै उनले निश्चल भावनाले जिस्क्याएकोमा आनन्दित पनि भइरहेका थिए। यी दुई कुराको बिचमा उनको मन विभत्त भइरहेको थियो। उनलाई लाग्यो, डेइजी निर्दोषता र निर्दयिता सम्मिश्रण भएकी एक असाधारण प्रतिमूर्ति हुन्‌ । ‘उनले तपाईँलाई कहिल्यै पनि तिन दिनभन्दा बढीको बिदा दिने गरेकी छैनिन्‌ र ? उनले तपाईंलाई गर्मी बिदा दिने गरेकी छैनिन्‌ र ? यति कठोर परिश्रम गरेर काम गर्ने तपाईँ बाहेक अरू कोही छैनन्‌ होला ! गर्मीको समयमा जसले पनि कुनै ठाउँ घुम्न बिदा पाउनु त पर्छ नि । मलाई लाग्दछ, तपाईँ अझ अर्को दिन पनि यहाँ रहनुभयो भने उनी डुङ्गामा तपाईंलाई खोज्दै आउनेछिन्‌ होला। तपाईं शुक्रवारसम्म यहीं रहनुहोस्‌, म तलको डुङ्गाघाटसम्म तिनी आउँदै गरेको हेर्न गइदिने छु, हुँदैन र ?’ डेइजीले विन्टरबोर्नलाई जिस्क्याउँदै सोधिन्‌ । विन्टरबोर्नले सोचे, अहिले उनी केही नबोल्नु नै जाती हुन्छ, किनभने उनले आवेगमा आएर डेइजीका यी भनाइमा निराशाको अनुभव गरेँ भने डेइजीले अर्कै कुरा पनि सोच्न सक्दछिन्‌। विन्टरबोर्नले डेइजीलाई व्यक्तिगत कुरा नभनेको भए उनले विन्टरबोर्नलाई जिस्क्याउने थिइनन्‌, तर अब डेइजीलाई खुसी पार्नको लागि स्पष्टरूपमा विन्टरबोर्नले अरू बढी व्यक्तिगत कुरा गर्नुपर्ने देखा परिरहेको थियो । विन्टरबोर्नले डेइजीसँग थुप्रै व्यक्तिगत कुरा गरेका थिए। डेजीले भनिन्‌, ‘यदि तपाईँले जाडो ऋतुमा मलाई भेट्न रोम आउने प्रतिज्ञा गर्नुहुन्छ भने मैले तपाईँलाई अब जिस्क्याउने छैन ।’

“मलाई तपाईंसँग यस्तो प्रतिज्ञा गर्नुमा कुनै गाह्रो छैन । मेरी काकीले जाडो ऋतुको लागि रोममा कोठा लिइसकेकी छिन्‌। उनले मलाई पहिले भेटनको लागि रोम आउनु भनिसकेकी छिन्‌,’ विन्टरबोर्नले भने।

“ म चाहन्छु तपाईं रोममा मलाई भेट्न आउनुपर्दछ, काकीलाई होइन, डेइजीले भनिन्‌ । विन्टरबोर्नले काकीबाट डेइजीका बारेमा सुनेका कुरामा विश्वास गरिरहेका थिएनन्‌ । उनले सोचे, यो केवल काकीको डेइजीप्रतिको भ्रम मात्र हो। विन्टरबोर्नले भने, ‘म जसरी भए पनि तपाईंलाई रोममा भेटन आउने छु।’ अनि डेइजीले उनलाई जिस्क्याउन छाडेकी थिइन्‌ । तिनीहरू गोधूलि साँझमा सानो रेलगाडीबाट भेभेई फर्किरहेका थिए। यतिबेला ती युवती एकदम शान्त भएकी थिइन्‌ ।

विन्टरबोर्नले आफू दिउँसो डेइजीसँग चिलोन महल घुमेको कुरा साँझ श्रीमती कोस्टलोलाई सुनाए |

“ती अमेरिकीहरू – करियरको साथमा ?’ ती नारीले सोधिन्‌ ।

“ए, खुसीका साथ। कुरियर होटलमै बसेको थियो,’ विन्टरबोर्नले भने।

‘तिनी तिमीसँग बिल्कुल एक्लै गएकी थिइन्‌ त ?’ श्रीमती कोस्टलोले सोधिन्‌।

बिल्कुल एक्लै,’ विन्टरबोर्नले जवाफ दिए

त्यसो भए तिमीले मलाई चिनाउन चाहेको युवती उनी नै हुन्‌ त ? श्रीमती कोस्टलोले बोतलबाट नाकले हावा तानी आश्यचर्य व्यक्त गर्दै भनिन्‌।