प्रतिभाले सम्पन्न कलाकारले पढ्नैपर्ने केही पुस्तकहरूको सूची हालै आर्टिस्ट इलुस्ट्रेसन्स मासिक पत्रिकाले जारी गरेको छ । साहित्यपोस्टका पाठकहरूका लागि यो रुचिकर नै होला भनी सो सूची यहाँ दिएका छौँ-
१. कलर (भिक्टोरिया फिन्ले)
भिक्टोरिया फिन्लेले जब बाल्यकालमा उनी जाने चर्च (क्याथड्रल)मा रङबिरङ्गी झ्याल देखिन्, त्यहाँ रङका विविध आयामले उनको मस्तिष्कसँग नृत्य गर्न थाल्यो, त्यसबेलादेखि नै रङप्रति उनको आकर्षण बढ्न थाल्यो । त्यसपछि उनले पत्रपत्रिकामा कलासम्बन्धी नै लेखेर धेरै समय बिताइन् । पत्रकारिता छाडेर उनी संसारयात्रा सुरु गरिन् । कहिले हङकङ त कहिले दक्षिण अमेरिका, कहिले अफगानिस्तानजस्ता ठाउँमा गएर एउटा रङ्गीन यात्राविवरण तयार पारिन् । रङसम्बन्धी यति विविध स्तरमा अर्को कुनै पुस्तक नभएको समीक्षकको दाबी छ ।
२. ब्लुएट्स (म्यागी नेल्सन)
निजी अनुभूति र रङका बारेमा लेखिएको स-साना टिप्पणी निकै रोचक छ । २४० वटा टिप्पणी यस पुस्तकमा समावेश गरिएका छन् । यहाँ ग्रिसेली फिलोसफीदेखि जोनी मिचेल र भेस क्लेनजस्ता सर्जक उनका डायरीमा अटाएका छन् । म्यागीले कलाका बारेमा निजी धारणा, जीवन र अफेयरको अन्त्यका बारेमा पनि टिप्पणी गरेकी छन् ।
३. इन्टरएक्टसन अफ कलर (जोसेफ अल्बर्स)
जोसेफ अल्बर्स आफैँमा चर्चित चित्रकार हुन् । उनी येल विश्वविद्यालयमा कला पढाउँछन् पनि । उनको यो पुस्तक सन् १९६३ मा निस्किएयता पाँच लाखभन्दा बढी प्रति बिक्री भइसकेको छ । यो पुस्तक पढिसक्दा पाठकले रङको प्रभाव, गहना, तापक्रम र अझै धेरै कुरा बुझ्ने अवसर पाउँछन् ।
४. ब्राइट अर्थ (फिलिप बल)
फिलिप बलको यो पुस्तकले रङको इतिहासका बारेमा मिहिनतापूर्वक केलाएका छन् । प्राचीन मिश्रमा पहिलो पटक डाइ कसरी बनाइयो, रङहरू कसरी सिर्जना भए, इटालेली पुनर्जागरणको फड्को कसरी मारियोदेखि आधुनिक कालसम्मका रङका कथा यसमा उनिएका छन् ।
५. सेल्फ-पोट्रेट (सिलिया पल)
भारतमा जन्मिई बेलायतमा कलाकारका रूपमा ख्याति कमाएकी सिलिया पलको यो संस्मरणात्मक कृति प्रख्यात चित्रकार लुसियन फ्रायडसँगको अन्तरङ्ग सम्बन्धमा समेत लेखिएका हुनाले यसको चर्चा स्वाभाविक रूपमा चुलियो । अँधेरोबाट प्रख्यातिसम्मको यात्राको झलक यो पुस्तकमा पाउन सकिन्छ ।
६. द जेन्टल आर्ट अफ मेकिङ इनेमिज (जेम्स म्याकनेल विस्लर)
सन् १८७८ ताका जब जेम्स म्याकनेल विस्लरको नक्चर्न इन ब्ल्याक एन्डगोल्डमाथि जोन रस्किनले टिप्पणी लेख्दा मुद्दा नै हालेका थिए । सोही पुस्तक यतिबेला पुनः प्रकाशन गरिएको छ र यो ऐतिहासिकताको आलोकमा एउटा गज्जबको पठन हुनसक्छ ।
७. डेली रिचुअल्स (मेसन करी)
पाब्लो पिकासो र वारहोलको सफलताको कथाका पछाडिका कथाहरू के के होलान् भन्ने मेसन करीको यो प्रस्तुति स्तुत्य छ । महान् सिर्जना कसरी तयार हुन्छन् भनी बुझ्न यो किताब निकै उपयोगी छ ।
८. अन बिइङ एन आर्टिस्ट (माइकल क्रेग-मार्टिन)
सन् २०१६ मा बेलायती महारानीले नाइटहुडबाट सम्मानित माइकल क्रेग मार्टिनको संस्मरणात्मक यो कृति किन पनि जरुरी छ भने उनले आफ्ना भोगाइ त लेखेका छन् नै, ती भोगाइमार्फत उनले नयाँ पुस्तालाई एउटा म्यानुअल पनि दिएका छन् । ससाना आकारका यी चित्रात्मक व्याख्याले चिया पिउँदै गहन कुरा पढ्न सजिलो बनाइदिएका छन् लेखकले ।
९. ह्वाट दे डिन्ट टिच यु इन आर्ट स्कुल (रोजालिन्ड डेभिस र एनाबेल टिली)
खास कलाकार बन्न के गुण हुनुपर्छ ? के भयो भने त्यो व्यक्तिले कलाकारितामा गरी खान्छ ? यस्ता अनेकन् प्रश्नहरू सर्वसाधारणको मनमा उठिरहेको हुन्छ । खासगरी सन् १९९० को मध्य दशकतिर यो कुरा निकै खुलेर उठेको थियो । कलेजहरूमा कलाकारका लागि चाहिने चिज कम पढाइ हुने र नचाहिने कुराहरू लिट्टी कसेर पढ्नुपर्ने देखिएपछि केहीले यसको धुँवाधार विरोध गरेका थिए । सोही सन्दर्भमा दुई कलाकार रोजालिन्ड र एनाबेलले यो पुस्तक तयार पारेका हुन् । यो एक किसिमले म्यानुअल पनि हो । यसमा स्टुडियत्र, ग्यालरी, बजेट तथा कलाकारिताको दैनन्दिनीमा आइपर्ने विषयमा जानकारी दिइएको छ ।
१०. द आर्ट स्पिरिट (रोबर्ट हेनरी)
ओहियोमा सन् १८६५ मा जन्मिएका रोबर्ट हेनरी प्रभाववादी कलाकार मेरी कसेटको दूरको सम्बन्धी हुन् । रोबर्टले मेरीको कदम पछ्याउँदै फ्रान्स मात्र गएनन्, जुलियन एकेडेमीमा प्रशिक्षण पनि लिए । त्यसपछि सोही प्रशिक्षणअन्तर्गत चित्रहरू बनाउन थाले । सन् १९०२ ताका बनाएको स्नो इन न्युयोर्क सोही अध्ययनको नतिजा थियो । यो पुस्तक चाहिँ हेनरीका नोट, निबन्ध, कक्षामा दिएका व्याख्यान आदिको सङ्कलन हो । पढ्नमा रोचक छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।