(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाो, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीको स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

कविता नै मेरो जीवन हो

राजकुमार केसी

कविता लेखन वास्तवमा कुनै चमत्कार होईन, शब्दहरूको जाल र भ्रमपूर्ण अभिव्यक्ति पनि होईन । यो जीवनको यथार्थतालाई अभिव्यक्ति दिने एउटा संगीत हो । कविताले मानव मूल्य र मानव संवेदनाका वास्तविकतालाई बोकेको हुनुपर्छ भन्ने ठान्दछु । यही मानव मूल्य र संवेदनाभित्र यदि कुनै वाद पर्दछ भने म त्यसको पक्षधर हुँ भन्न गर्व गर्दछु ।

जहाँसम्म मेरो कविता लेखनको सवाल छ त्यस सम्बन्धमा म सरल छु । जसरी म सरल छु त्यसैगरी मेरा कविताहरूपनि सरल छन्‌ भन्ने कुरा दावि गर्दछु र कवितामा मानवीय पक्ष पनि त्यतिकै समाहित भएको छ भन्ने कुरामा विश्वस्त छु ।

कवितामा विचार र कलाको समन्वय हुनु जरूरी छ। विचार पक्ष बढी लादिएमा कविता नारा बन्छ भने विचार नभएको कविता करिब अपाँग नै हुन्छ।

कविता बढी घटनाप्रद हुनुहुन्न त्यस्ता कविताको आयु छोटो हुन्छ भन्ने मलाई लाग्छ । यस्तै नारा स्तुतिगान, भजन, आदि प्रवृतिप्रति मेरो घुणाको ग्रन्थीले सीमा नाघ्छ ।

म जताजतै असमानता देख्छु र त्यसैको कविता लेख्छु । जुन पीडा, असमानता देखेको मात्न होइन मज्जासंग भोगेको छु आफैले ।

कवितामा पाब्ली नेरुदा, ब्रेख्त, वाल्ट ह्वीटम्यान, ई ई वमिग्स, एलेन गीनसबर्गं, आइ छिङमा मैले महासागर भेट्टाएको छु ।

सामन्यतः मेरो लेखन वैचारिकतोको धरातलसंग आवद्ध छ । जुन धरातल मानव सवेदनासंग गाँसिएको छ । यसरी मैले आफ्नो काव्य यात्रा अगाडि बढाएको छु र यसलाई निरन्तरता दिदै जानेछु । जुन दिन म अध्ययन र लेखनबाट पूर्णत हराउँछ त्यसदिन म यस संसारबाटै हराउने छु, मेरो लेखन यात्रा नै मेरो जीवन हो ।

सम्भवतः मसँग बाँकी केही रहने छैन

अलिअलि गर्दै
जसरी
हिउँहरू पग्लिएर
मात्र नाँगा डाँडाहरू रहन्छन्‌
ठीक त्यसैगरी
बेमौसम म पग्लिनेछु
र विस्तारै आफैलाई नांगो पारेर
निर्लज्ज उभिनेछु
ङिच्च दाँत देखाउँदै
रित्ता हातहरू आकाशतिर फैलाएर
उभिरहनु पर्ने छ मैले
त्यतिबेला संभवतः मसंग बाँकी केही रहने छैन ।
मात्र लौकाको रित्तो खपटो रहने छ
तोरी फुल्ने टार बारीहरू रहने छैनन्‌
र उखुका घारीहरू पनि रहने छैनन्‌
मेरो छातीमा बाँधहरू बाँधिनेछन्‌
बत्तिहरू बल्नेछन्‌
र त्यतिबेला म अँध्यारोमा टुलुटुलु हेर्दै
टुकी बालेर छ
नुनसँग सुखारोटी चपाइरहेको हुनेछु
मसँग केही हुनेछैन त्यतिबेला
हराउँदै जानेछन्‌ सब चिज अनि मेरो अस्तित्व
खै?
हुनसक्छ छातीभरि बुल्डोजरै बुल्डोजर दौडने छन्‌
र जबरजस्ती ‘एफ्लक्स बन्ड’हरू बन्नेछन्‌
म उभिएको माटोमा ।
बिस्तारै पाखाहरू, बस्तिहरू अन्तै सिमाबद्ध हुनेछन्‌
यी कुराहरू सबै यथार्थ हुनेछन्‌ त्यतिबेला
जतिबेला
कुनै बजारमा मेरो लिलाम बढाबढ हुनेछ
त्यतिबेला पनि रून्चे हाँसोमा मैले
गर्वित हुनुपर्नेछ ।
अन्ततः आफ्नो भन्नु केही रहने छैन
हुँदा हुँदै नामै मेटिनेछ मेरो
यो संसारको इतिहासबाट
हुनसक्छ मैले कुनै बेला आफूलाई खोज्न
प्राग ऐतिहासिक ग्लोबहरू घुमाउन पर्नेछ ।
आफ्नै नाउँ सोध्न पर्नेछ
इतिहासविद्‌हरूलाई,
अलि अलि गदै यसरी मसंग केही रहने छैन
म रित्तो हुनेछु त्यतिबेला
बिल्कुल रित्तो ।