लिस्नु नै त हो
तलबाट माथि
माथिबाट तल
अरुणोदय देखि गोधुलीसम्म
जिन्दगीको खुशी फैलाउन
जीवनको बोझ बिसाउन
आशातित जिन्दगीहरु ओसार्न।

भाँचिदियौ किन अँध्यारोमा
आफ्नो उछृंखल खेलमा
आफ्नै अनियन्त्रित भावावेशमा
आफ्नै कुटिल स्वार्थमा
कहिल्यै ननुँघ्ने आडम्बरमा।

देखेनौ पीरहरुको थुप्रो,
बुझेनौ मनका बाँधहरू,
थाकेका ती आत्माहरू,
भिंजेका ती परेलीहरु,
भारी भएका ती छातीहरू,
अनायास निस्कने सुस्केराहरु।

कुल्चिदियौ
ती बामे सर्ने इच्छाहरू,
आशाका ती त्यान्द्राहरु।
तिम्रो त्यो अतृप्त लालचले।
कष्ट फैलियो सर्वत्र
लिस्नु भाँचिए पछि।

त्यही एउटा लिस्नु थियो
आत्मा सबैको बाँधिदिने
सम्बन्ध एक आपसको जोडिदिने।
आड र भरोसाको,
प्रेम र स्नेहको,
आदर अनि सद्भावको
भावी सार्थकताको।

त्यही लिस्नु त थियो
एउटा पुल
आँशु पुछ्ने हातहरुकालागि,
एउटा तुईन
स्वतन्त्र जिन्दगी जिउनेहरुकालागि।

पोल्ने छ तिमीलाई ती आँशुले
सराप्ने छ तिमीलाई ती अतृप्त आत्माले
बढार्ने छ तिमीलाई ती सुस्केराले
थिच्ने छ तिमीलाई ती भरोसाका खम्बाहरुले।
ढल्ने छ त्यो आडम्बरको पर्खाल
कहिल्यै नउठ्ने गरी
भोग्ने छौ नतिजा त्यो
लिस्नु भाँचिएपछिको।