उज्यालोले ठगी बस्छ एक जोडी चखेवा
उडी बस्छ भुरुरु कोठाभित्र
झ्यालका काँचमा ठोक्किइरहन्छ
न बाहिर निस्किन सक्छ
न त भित्र
निस्फिक्री रमाउन सक्छ
मायाको गहिराइमा पौडिन सक्छ
चिर्बिरे भाकामा गीत गाउन सक्छ
भुल्भुलैया कोठाका उज्याला काँचहरु
लाग्दछ एक बदनाम जिन्दगीजस्तै
कफिन ओडेर
सपना बेच्न विवश ।

एक जोडी चखेवा
झयालका उज्याला काँचमा
घरीघरी ठोक्किइरहन्छ
बल्ड्याङ्ग पछारिरहन्छ भुईंमा
तैपनि निरन्तर जोरी खोजिरहन्छ
भुईंबाट उठी फेरि उडिरहन्छ, उडिरहन्छ
झ्यालका काँचमा ठोक्किइरहन्छ ।
थकित चखेवा
कति गाली गर्दो हो उज्यालोलाई
अनि त्यो उज्यालो काँचलाई ।

चखेवा भन्ने गर्दछ
मैले चुमेथेँ तिनका चोँच अँध्यारोमै
लाखौँ तंरगित भएथे ती अँध्यारोमै
बर्साइदिए मायाको भेल र
पोखिदिएँ सबै मुटु अँध्यारोमै
जलाइदिएँ सबै वितृष्णाहरु र
ओच्छ्याइदिएँ मायाका कमलो अँध्यारोमै
तर पापी उज्यालोले त भुल्याइरह्यो
मायाको दृष्टिलाई सधैँ काँचमा ठोक्काइरह्यो ।

एक जोडी चखेवा अँध्यारोका
मधुरसमा निस्तब्ध डुब्न नपाउँदै
निःस्वार्थ मायाको सागरमा पौडिन नपाउँदै
अँध्यारो चिर्ने र त्यसका फाल्साफाल्सा लुछिलाने
मायाको दृष्टिलाई सधैँ दिवास्वप्नमा ठोक्काइरहने
त्यो गिद्दे उज्यालोलाई
त्यो उज्यालो काँचलाई
कति गाली गर्दो हो !
कति गाली गर्दो हो !