१. एउटा लास

(शेखर गिरी)

मेरो अगाडिबाट
एउटा अर्थी जान्छ,
अन्यौलमा पर्दछु
चारैतिर हेर्दछु,
को मरेछ आज ?
कसको लास रहेछ ?

नगिचै नियाल्छु
लासको मुहार उघारै रहेछ
मेरै अनुहार पो रहेछ
मेरै लास पो रहेछ !
हो, मेरै बितेका दिनहरूको !!

 

२. प्रतिबन्ध

(लोकेन्द्र शाह)

बत्ती बाल्नु हुँदैन
उज्यालोमा कीराहरू देखिन्छन्
र लामखुट्टेहरूले टोक्न पाउँदैनन् !
बत्ती बाल्नु हुँदैन
उज्यालोमा हातहरू गतिशील हुन्छन्
र कुनै मीठो कविता लेखिन्छ !
बत्ती बालेपछि
मानिसहरू आफ्नो घडीमा
समय हेर्ने गर्छन् !
बत्तीको उज्यालोले
कोठाका सबै चीजहरू
चम्किला देखिने गर्छन् !
त्यसैले बत्ती नबाल्नू !

 

३. युग र म

(झमक घिमिरे)

अशक्त शिवजीका
डमरुहरू बजाएर नाच्ने
शशिदिदीको कमारो होइनँ म !
निष्पट्ट चकमन्नतामा रमिरहने
कालरात्रिको दास पनि होइनँ म !
नरसंहारले जेलिएको,
त्यसैको चित्कारले ऐठन गरेको
निरीह तन्तु होइनँ म !
विश्वक्रान्तिमा मारिएको
कमरेड चे ग्वेभाराको
२ नम्बरको ख्याक पनि होइनँ म !

 

४. सम्पादक

(सुस्मिता नेपाल)

उसको परिचय
मेरा जीवनका
ढोकाहरू बने

कहाँबाट पसुँ
कताबाट पसुँ
रुमलिरहेँ

उसको भेटमा पनि
मैले आफ्नो जीवनको
ढोका उघार्न सकिनँ

उसका शब्दहरूले खोलुन्
मेरा जीवनका
ढोकाहरू ।

 

५. सम्पादक

(छवि अनित्य)

आखिर नाङ्गो आङ नै त रैछ
तिम्रा अखबारको मसला,
छाडिदेऊ डार्करुमभित्र
फ्लास हान्न !
छाडिदेऊ खोलाका तिरहरूमा
यौवन छोडाउन !

आऊ मेरो बस्तीमा
लाज ढाक्न आङ च्यातिएका
चेलीहरू प्रशस्त छन् !