(१) लायक नागरिक

आफू अपठित र गँवार हुनुको पीडाले कोक्किएर उसले आफ्नो एक मात्र छोरोलाई खाईनखाई ऋणधन गरेर भए पनि एकमुठी चेतना किनिदिन चाह्यो ।

लक्ष्मण अर्याल

छोराले सानैदेखि देश बुझ्यो, समाज चिन्यो, पढेर यहाँ के हुँदो रहेछ र ? सम्झ्यो, पढेकाहरू सबै ताँती लागेर विदेसै हिंडेका देख्यो । उसको चाहानाले चलेन छोरो । उसको पीडामा भक्कानिएन छोरो ।

विस्तारै छोराले पैसा कमाउने दाउ खोज्यो । सीप सिक्यो । डन बन्यो र नामुद भयो ।

ऊ कोक्किएर रोयो, ऊ भक्कानिएर रोयो – छोराको प्रसिद्धिमा ।

नेताले उसको छोरोलाई धाप मार्दै भने – ”बधाई छ तिमीलाई, यो देशका लागि लायक नागरिक बनेकामा ।”

आज उसको छोरो मन्त्री बनेर देश चलाउन थालिरहेछ ।

 

(२) नालायक नागरिक

उनले खाईनखाई ऋणधन गरेर छोराछोरीलाई हुर्काए, बढाए र पढाए पनि । उनको सपनाको बादलु आकाश खुल्यो । छोरो खगोलविद् बन्यो, छोरी इन्जिनियर ।

छोराले विदेश ताकेन – देशमै खोज्यो भगीरथ सम्भावना ।
छोरीले पनि स्वदेशै रोजी – देशमै अडिने ठाउँ खोजी ।

छोराले सम्भावनाको आकाश भेटेन । छोरीले अडिने एक मुठी साहस पनि भेटिन ।

धर्मरायो खगोलविद् क्षमता, लर्वराई इन्जिनियर सम्भावना । खपत भएनन् सम्भावनाहरू ।

सजल नयनले उनले भने – ”बधाई छ तिमीहरूलाई, यो देशका लागि नालायक नागरिक बनेकामा ।”