” प्याजले आकाश छोयो । कृषि देशको हालत बिदेशी साथीलाई के भनेर सुनाउनु? ” बिनय कंशकार आफुले आफैँलाई धिक्कार्दै थिए ।
“सबै मिलेर ब्यापारीको गोदाममा छापा हानम साथी हो ।” युवराज लामाले वडा बासीलाई नयाँ उपाय सुनाए ।
प्रायजसो ब्यापारीहरुले कृतिम अभाव देखाएर पहिला देखि नै यसै गरि सताएका थिए । राजधानी बासीहरु पीडामा थिए । पूरा वडाका नागरिक जम्मा भएर गोदाम छापा हान्ने निर्णय भयो । प्रहरीलाई पनि सुचित गरियो । सबै जना गोदाम खोज्दै सम्बन्धित ठाउँमा पुगे ।
“लौ! सटर तोड्नु पर्यो प्रहरी ज्यूहरु ” सबै वडा बाशीले प्रहरी अधिकृत सामु अनुरोध गरे ।
प्रहरीले सटर तोड्यो । गोदाम भित्र प्याज नै प्याज थियो । सबै वडावासीहरु देखेर अचम्म भए । गोदाम सँगैको होटलबाट ठूलो स्वरमा आवाज निस्कँदै थियो । आवाज दोहोरियो ।
बालकृष्ण गजुरेल
– “२० करोड दिन्छु, हुन्छ भन्नूस् ! “
– “के को २० करोड? अर्को समुहले २५ करोड दिन्छु भन्नु भाको छ । “
सबै जना करोड- करोडको बोली सुनेर अचम्म भए । बिनय कंशकार र अरु यूवा मिलेर हत्तपत्त गोदाम बाट होटल सम्म देखिने गरि सानो प्वाल पारे । प्वालबाट चियाउँदा बिनय कंशकार तीन छक् परे । आफुले चिहाइ सकेपछी अरुलाई पनि चियाउन आग्रह गरे । वडा बाशीले पालै पालो होटल भित्र चिहाए । प्रहरीले पनि चिहायो । अन्त्यमा प्रहरी लज्जित भयो । “
धारे हातले आफैँलाई धिक्कार्दै प्रहरी अधिकृत बोले – ” संसद किनबेच हुने देशमा प्याजको कृतिम अभाव किन नहुनु ? यी बिक्रीका बस्तुहरुले कुरो नमिल्दा मात्र प्रहरीलाई दुःख दिँदा रहेछन् ।”