००० ०००
दिलीप सोरेन र उद्धव काउराका सम्बन्धमा उसलाई नवीन बाबुर मोती बाबुले पटकपटक चेताएका थिए । चरसाको विषयमा इन्द्रले सबिस्तारजानकारी लिन चाहेको थियो ।
“किन ? थाहा पाएर के गर्छौ ?”
निकै शङ्कालु पाराले इन्द्रले दुबै पाका कामरेडतिर हेर्यो – चम्किलो अनुहार,किमती नाडी घडी र सुकिलो परिधान । ‘के बाढीको पानी सबैतिर फैलिएको छ ?’स्वागत सोच्दै भन्यो, “भनेँ नि ,सबैथोक थाहा पाउनु जरुरी छ । ”
“के जरुरी छ ? तिमी बाहिरिया मान्छे हौ । इलाकाको कुरो बुझ्दैनौ । थाहा पाएरै पनि के गर्छौ ?”
इन्द्र अचानक रिसले मुर्मुरियो र भन्न थाल्यो, “म बाहिरीया मान्छे हुइनँ । ललित नाऊ मेरो बुबा हुनुहुन्थ्यो । जागुलामा टीनको टहरामा उहाँको सैलुन थियो । बुबाको देहावसानपछि अलिक दिनसम्म आमा त्यहाँका पसलहरूमा मुरही–लाई (मुरही–चामलको कमलो भुजा,लाई– मुरहीको लड्डु )बेच्नुहुन्थ्यो । अनि थाहा पाएर पनि के गर्छौ भन्नुको आशय के हो ?”
“तिमो बोलीचाली एकदम रुखो र ठाडो छ ।”
“भै गो । हामीले वर्षेनी रोटी–प्याज खाएर मजदुर सङ्घ बनाएका हौँ । अब तपाईँहरू बाबु–बाजेको जस्तो आदरभाउ खोज्नु हुन्छ । पार्टीको पुरानो कार्यकर्ता भएर पनि गुप्तचर र दलालहरूले झैँ मोज गर्दै महँगा चुरोट फुक्नुहुन्छ । लाज लाग्दैन ? पार्टीको निकै बेइज्जति भइरहेको छ ।”
“ए ऽ ऽ !”
“हरेक कुराको जवाफ दिनु पर्नेछ । तपाईँहरूतिर आएको छु त यो क्षेत्र छोडेर जाने छुइनँ । वर्षैाँको मेहनतले बनेको पार्टीको छवि तपाईँहरू जस्ताले छोटै समयमा धूलोपिठो पारिदिनु हुनेछ । किसान फ्रन्टको सिद्ध कार्यकर्ता रे ! जिल्ला समितिको सचिव । जुन गाउँमा नक्सली आन्दोलन भएको थियो र जहाँ म जाँदैछु त्यहाँको एउटा सफा र प्रष्ट चित्र मैले थाहा पाउनु पर्छ । तर त्यो तपाईँहरू मलाई दिन सक्नुहुन्न । तपाईँहरूसँग जुन जानकारी छ त्यसले त केही पनि बुझ्न सकिँदैन ।”
नवीन बाबुले र मोती बाबुले परस्पर हेराहेर गरे अनि लामो सुस्केरा काढदै भने, “दीनुले सबै थोक बताइदिनेछ ।”
“को दीनु ?”
“दीनु काउरा । हाम्रो कार्यकर्ता ।”
“चरसामा बस्छ ?”
“होइन । चरसामा हाम्रो सङ्गठन राम्ररी पस्न सकेको छैन । त्यसैले नै उद्धव र सोरेन किल्ला जमाएर त्यहाँ बसेका छन् ।”
दीनुलाई देखेपछि इन्द्रलाई लाग्यो कि यो लडको इमान्दार छ,शान्तिप्रिय छ,थोरै बोल्छ । इन्द्रसँग उसले भन्यो, “काली बाबुको जिल्ला वार्ताको फाइल समितिको कार्यालयमा बसेर पढिहाल्नुस । काली बाबु आफैँ गइगईकन सारा समाचार बटुल्नुहुन्थ्यो । त्यहाँ सबै थोक भेटिनेछ । उहाँ गाउँ–काँठ सबैतिरको आत्मा छाम्नुहुन्थ्यो । सबै थोक लेख्नु हुन्थ्यो । यिनीहरू त्यही पढछन् र त्यही कुरा भन्छन् । ”
“काली साँतरा ?”
“अँ , निकै प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । कुनै छलछाम,जालप्रपञ्च आउँदैनथ्यो । उहाँले जागुलालाई राम्ररी चिन्नु भएको थियो , कदर गर्नु हुन्थ्यो । गाउँ–देहात पनि राम्रोसँग चिन्नु भएको थियो । कलकत्तामात्र होइन ,कुनै पनि शहरमा उहाँ जानुहुन्नथ्यो । असाध्यै सरल मान्छे । हिँडनुस जाऊँ ।”
“के भयो त काली बाबुलाई ?”

दीनु झसङ्ग झस्क्यो । डराउँदै भन्यो, “थाहा छैन । थानामा तस्वीर झुण्ड्याइएकै छ । भन्छन् उहाँको केही पत्तो लागिरहेको छैन ।”
जिल्ला वार्ता अखबारको छपाइ धमिलो थियो । हरफ टुटेको थियो । तर पनि धेरै समाचार हुन्थ्यो त्यसमा । पार्टीका माझिएका– खारिएका कार्यकर्ताहरू आफ्नो लगन र मेहनतले अखबार चलाउँथे । समाचार पत्र देखेर इन्द्र चकित भयो । अखबार नियमित रूपमा सोह्र वर्षसम्म प्रकाशित भएको थियो । नवीन बाबुले पनि भनेका थिए, “ काली असाधारण व्यक्ति थियो । एक दिनका लागि पनि ऊ आदर्शच्यूत भएन ।”

इन्द्रले दीनुप्रतिको नवीन बाबुको व्यवहार देख्यो –पियनप्रति मजिस्ट्रेटको जस्तो । काली साँतराका सम्बन्धमा दीनु र नवीन बाबुले ‘थियो’ पदावलीको प्रयोग गरेका थिए । यसतर्फ पनि इन्द्रको ध्यान आकृष्ट भएको थियो । यस्तो शब्द त्यसबेला प्रयोग गरिन्छ जब मानिसलाई निश्चित रूपले थाहा हुन्छ कि जसको बारेमा कुरा गरिएको छ त्यो व्यक्ति अब यस जगतमा छैन ।

दीनुसँगै रिक्साचालक उसको सानोबुबाको घर मेलातलेमा इन्द्र दुई दिन बस्यो । कोठा ती दुईलाई छाडिदिएर सानोबुबा ओसरामै सुतेका थिए । सानिमा माइत गएकी थिइन् । दीनु यहाँ निकै सहज र स्वच्छन्द अनुभव गर्दै थियो । इन्द्रलाई नवीन र अरूहरूले जेजसो भन्थे ऊ ती सब कुरा निकै चाख दिएर सुनिरहन्थ्यो । सानोबुबा र इन्द्रको कुरा सुनिरहेको दीनुले प्रश्नसुचक आँखाले हेर्दै एक्कासी सोध्यो , “एउटा कुरा बुझिएन । तपाईँ सम्झाइदिनु हुन्छ कि ?”
“के ?”

दीनुको सानोबुबा ओसराको एउटा कुनामा खाना बनाउँदै थिए । उनले खोर्सानी फुराएर दाल झाने । तरकारीमा आलुको भुजिया बनाए । इन्द्रलाई पनि खाना पकाउन आउँथ्यो । उसको आमाले बनाउनु हुन्थ्यो ।त्यो उसले देखेको थियो । आलु,प्याज,नुन,बेसार हालेर थोरै तेलमा खोर्सानीसँगै भुट्नुपर्छ । दीनुका सानोबुबा भात बसाएर मसिनो स्वरमा काली किर्तन गाउँदै थिए , बिना सुरतालको । दीनुप्रतिको उनको व्यवहार स्नेहपूर्ण थियो । पढ्यालेख्या केटो ,पार्टीमा लागेको केटो हो दीनु ।

इन्द्र्रको मुखबाट ‘ के ?’ भन्ने सुनेपछि दीनुको सानोबुबाले त्यहीँबाट ठूलो स्वरमा सोधे,“ काली बाबुको कुरो, अनि बेतुलको कुरो…। तिमी यति बुझक्की छौ र पनि किन बुझिरहेका छैनौ कि दुबै मारिएका हुन् भनेर ? हाट बजार सबैतिर सबैलाई थाहा छ ।”
दीनुले ठूलो स्वरमा भन्यो , “होइन, त्यसो भनेको होइन ।”
इन्द्रले सोध्यो, “ के हो कुरो ? भन त मलाई ।”

सानोबुबा भित्र आएर भन्न थाले, “ त्यसले भन्न सक्दैन,बाबु । म भन्छु । काली बाबुलाई पुलिसले मारे । उनको त क्रियाकर्म पनि भएको छैन । उनको हाडखोर जङ्लबाट बर्कोमा पोको पारेर दीनुको ताऊ बेतुलले ल्याउँदै थियो । उसलाई पनि मारिदिए । सुनेँ कि बेतुलले थानामा आक्रमण ग¥यो । यो सब झुठो कुरो हो । सबैलाई थाहा छ । तर पनि काली बाबु छैनन भनेर स्वीकार गरिरहेका छैनन् र थानामा फोटो झुण्ड्याइराख्या छन् । बेतुलको लाश हामीलाई दिएका थिए । ढाँटेको होइन मैले । हामीले चन्दा उठाएर बडो श्रद्धाले उसलाई जलायौँ । जेठो छोराद्वारा श्राद्ध पनि गराइदियौँ । उद्धव धेरै दिनपछि आएको थियो । आश्चर्य ! केही भनेन । उद्धव नक्सली हो । उसलाई मारिदिए पनि केही भन्दैन । ऊ धुम्म परेर चुपचाप बसिरह्यो । अनि एक दिन सबैलाई लिएर चरसा गयो । अब आउँदैन ।”
“ कहाँ गयो ?”

“सन्थाल समाजमा घरजम गर्यो ।”
“चरसाको बारेमा दीनुसँग सोध्दै थिएँ..”
“ बिचरा ,उसलाई के थाहा छ र ! रतन डुम आयो भने उसले भन्ला..।”
“रतन डुम ?”

दीनुले जे भन्यो त्यसको अर्थ हुन्थ्यो – रतन डुम चरसाको बासिन्दा हो । एकदम फौजी मिजाजको मान्छे । चरसाबासीहरू वर्षको केही महिना खेतिमजदुरी गर्दछन् र बाँकी समय ढकी,डालो,नाङ्लो आदि बनेर निर्वाह गर्दछन् । यसका अतिरिक्त पेट भर्नका लागि चरसाको जङ्गलमा गई कन्दमुल बटुल्दछन् । दुम्सी,खरायो ,न्याउरी मुसा समात्दछन् र त्यसको मासु खान्छन् ।

रतनको छोरा मातो यो शहरमा रिक्सा चलाउँछ । थोरैतिनो नगद,अनि रङ्गीन गञ्जी तथा सस्तो सानो ट्रान्जीस्टर पाउनका लागि पुलिसको अह्रोट अनुसारको गुप्तचरी गर्दथ्यो मातो डुम । गुप्तचरी नगर्दा पुलिसको निर्मम कुटाइ खानुपथ्र्यो उसले । थानाको मिश्रले शहरका रिक्साचालकहरू ,पसलेहरू र गाउँबाट सामान ल्याउने पुरुष र महिलाहरूबाट गुप्तचरको काम लिने गर्दथ्यो । खुफियागिरी गरेकोले रतनले मातोलाई निकै चुट्यो र घरगाउँबाट पनि निकालिदियो । त्यसैले मातोले खुफियागिरी गर्न छाडिदियो ।
धेरै भयो मातोले खुफिया काम गर्न छाडेको । अब रतन बेलाबखत छोरासँग कुराकानी गर्दछ । जागुलामा आएपछि सबैको उठबस यहीँ हुन्छ । दीनुको सानोबुबा , रतन, बेतुल सबैजना एकताका काली किर्तन गाउँथे । मधु डुमले त्यो किर्तन रचेको–कथेको थियो ।

“रतन चरसामै बस्छ ?”
“अँ, कहाँ जावस त ?”
“तिमीले कुरो बुझेनौ कि कसो ?”
“चरसामा एकताका नक्सलीहरू निकै सक्रीय थिए । त्यसबाहेक बसाई टुडुको नाम तपाईँले सुन्नुभएको होला । उहाँले जब पार्टी छोडेर यस भेकका धेरै गाउँबस्तीहरूका सन्थालहरू र कृषिमजदुरहरूलाई सङ्गठित र एकीकृत गरेर सङ्घर्ष गर्नुभएको थियो त्यसबेला चरसामा सबैले त्यो सङघर्षमा सहभागिता जनाएर सहयोग गरेका थिए । त्यसैकारणले पुलिस र सैनिकले चरसामा निकै अन्याय अत्याचार गरे । निर्मम दमन चलाए । अझै पनि चरसाको स्थिति त्यस्तै नै छ । दमनको अन्त्य छैन, अत्याचारको अन्त्य छैन । अनिकाल र बाढीमा कुनै राहत छैन । मलखादको कुनै व्यवस्था छैन । किन ? चारैतिरबाट ओइरिएका अतिशय कष्ट–कहरका कारणले नै तिनीहरू नक्सली बनेका थिए । रतन डुम नेता थियो । हाम्रो कष्ट पनि के कम छ र ? तर पनि हामी किन विद्रोह गर्दैनौ ? किन सङ्घर्षमा उठदैनौँ ? अक्सर यही कुरो मेरो मनमा उठिरहन्छ ।”
“ नवीन बाबुहरू के भन्छन् त ?”

“ ठूला नेताहरू हाम्रा कुरा सुन्दैनन् । धेरै सोध्योभने भन्छन् कि ‘दीनु ,तँ त नक्सली भइछस् कि क्या हो ?’ ”
.“ तर के ?”
“नक्सली किन बनिरहेका छन् मान्छेहरू ? मान्छे यहाँ सोखले नक्सली बनेका होइनन् । बिरु पाठक पनि टोलकै केटा थियो । उहिल्यै मरिसक्यो । बसाईले नेतृत्व गर्नुभएको आन्दोलन यिनै कारणहरूले गर्दा नै भएको थियो । ती सारा कष्टहरू अझ पनि यथावत् छन् । नवीन बाबुहरू यो कुरा मान्न तयार छैनन् कि यावत् गाउँका
सन्थाल,डुम,काउराहरूले पुलिस र मिलिटरीका कस्ताकस्ता अतिचार सहे । तर तिनीहरू फेरि पनि भन्छन् कि यिनै नक्सलीहरू थिए जसले हाम्रो दुःखदर्द एवम् पीडालाई बुझ्दथे । बसाईले हाम्रो दुःखदर्द बुझ्नुभएको थियो । इन्द्रदा ,हामी सच्चा कार्यकर्ता हौँ । ज्यान फालेर काम गर्छौँ तर पनि तिनको चित्त बुझ्दैन । ”
“ किन ?”

दीनुले हकासिँदै भन्यो, “अपरेसन बर्गा( जोताहालाई मोही हक दिलाउने उद्देश्यले हदबन्दी भन्दा बढी र बेनामी ऐलानी जमीन भूमिहीन जोताहालाई बाँडने भनी बङ्गालको राज्य सरकारद्वारा जारी गरिएको अभियान )को बेलामा पनि ज्यानइमानको शपथ खाएर पत्ता लगाइयो कि कोसँग के कति बेनामी जमीन छ ।गौर,कदम र रजतले यसको सुचि बनाए । वकिल पनि इमान्दार थियो । नवीन बाबुले रामेश्वर भुइँया र रोतोनी साऊको नाम सुचिबाट खोई किन हो हटाइदिएका थिए । ठीक छ , उसले पार्टी फण्डमा रुपियाँ दियो तर उसैको मान्छे किन पञ्चायतको प्रधान बन्दछ ? जहाँ नक्सली स्थिति छ असल कार्यकर्ता त्यहीँ जानेछन् । उसलाई जब यो सोधिनेछ कि हजार बिघा बेनामी जमीनको मालिकको जमीन किन जफत गरिँदैन सरकारद्वारा .जबकि सय बिघाको जमीनको मालिकको, पचास बिघाको जमीनको मालिकको बेनामी जमीन किन खोसिन्छ ? म त कार्यकर्ता हुँ , पार्टी मेरो ज्यान हो । अनि म के जबाफ दिउँला ?”
“अनि , अरु ?”

“रोतोनी,रामेश्वर,ताराचाँद जसले जिल्लामा आधिपत्य कायम गरेका छन् तिनीहरू नै मजदुरलाई ज्याला दिँदैनन् । अनि तिनीहरूलाई त्यसबेला भन्नुपर्नेछ,‘भाइहरू,सरकारी मजदुरी दरलाई लिएर किन खिचौला गर्छौ ? जो दिन्छन् लेऊ र त्यसैमा चित्त बुझाऊ ।’ जागुलामा किराना पसल थापेको छ हरि पाडुईले । उसको दश बिघा जमीन कृषि मजदुरहरूकै भरमा छ । हरिसँग भन्नुपर्नेछ ,‘यो हकलाग्ने मजदुरी हो । मजदुरी नदिए धान रोपाइँ हुँदैन,धान गोडाइ हँुदैन, धान कटाइ पनि हुँदैन ।’ किन कतिथोक भन्ने ?मोति बाबुसँग पनि बेनामी जमीन प्रशस्त छ ।”
“को मोति बाबु ? कहाँ..”

“शहरमा । त्यो जमीन अधिकरण (हदबन्दीभन्दा बढी जग्गा सरकारले आफ्नो स्वामीत्वमा लिने काम , पश्चिम बङ्गालमा १८ एकड अर्थात् ७२ बिघा वा ९७२ रोपनी को हद कायम गरिएको थियो ।)गराएको भए पार्टीको छवि माथि उठथ्यो । ऊ के गर्दैछ कसैलाई थाहा छैन । सुनिन्छ उसको जमीनमा बर्गा ( एउटाको स्वामित्वको जग्गा अर्कोले अधिया अर्थात् आधा बाली जग्गाधनीलाई दिने गरी जग्गा कमाउने काम, बटैयामा जग्गा कमाउने काम,मोहियानी गराउने काम) नै भएको छैन । त्यसैले अधिकरण पनि हँुदैन ,अनि बर्गा दर्ता पनि हँुदैन । किन ?”
“अनि अरू के, दीनु ?अरू के ?”

“यही कारणले गर्दा हामीजस्ता सच्चा कार्यकर्तालाई कसैले विश्वास गर्दैनन् । कुनै जमीनदार र कुनै साहुमहाजनमाथि दबाब दिन मनाही छ । किन ?सुन्दछु –कुनै उपद्रव नमच्चियोस भनेर रे । फगत त्यतिका लागि । हिँडनुस न गाउँमा । सबैथोक आफ्नै आँखाले देख्न पाउनुहुन्छ । आफ्नै आँखाले रमिता हेर्नुस । बाढी आएको छ । ‘कामका लागि खाद्यान्न’ भनेर सुनिरहनु भएको छ नि । तर त्यहाँ गहँु कसले लगिरहेको छ ?”
“अर्थोक कुरा पनि होला ,दीनु ।”

“अँ , काम गर्ने मौका दिँदा हुन त हामी पनि देखाइदिन्थ्यौँ कि कृषि मजदुरहरूको लागि हामी पनि लडाइँ लडन सक्छौँ भनेर । कृषि मजदुरहरूबाट मद्दत पनि पाउँथ्यौँ । बेनामी जमीन खास गरेर (ऐलानी अर्थात् सरकारी स्वामित्वको बनाएर?)जमीनदार साखुल्ले बन्छ । देखाइदिन्थ्यौँ हामी पनि लडाइँ लडन जान्दछौँ भनेर । तर कुनै उपाय छैन । फगत झुठा कुरा गरेर दुःखी र भोकाहरूलाई अलमल्याउन सकिन्छ ?”
“किन ? के उनीहरू काम गर्न दिँदैनन ?”

“तर तपाईँ काम गर्न जानुभयोभने नक्सलवादी ठानिनुहुन्छ ।”
“धत् , यस्तो नि हुन्छ ?”

“यही हो सत्य । यस्तै भइरहेको छ । यही दुःखमा पिल्सिएर हामी गल्दैछौँ नत्रभने रोतोनि साऊको…”
“के भयो र उसलाई ?”
दीनु ‘अपरेसन बर्गा’(अधियामा जग्गा कमाउने बटदार वा मोहीको हितको संरक्षण गर्दै तिनलाई सरकारी अभिलेखमा दर्ता गरी कानूनी हक दिलाउने सरकारी अभियान)कार्यक्रमको एउटा प्रतिकात्मक घटनाको वर्णन गर्न लाग्यो । तर त्यसअघिनै ‘सदानन्द कहाँ छ ?’ भनी सोध्दै ‘ल , यो कुभिन्डो (कोँहडा?)समात् त । कस्तो गह्रौँ छ ! ’ भन्दै एक जना पुडको र काँठ्ठिएको बृद्ध त्यहाँ आइपुग्यो । उसको टाउको ,घाँटी र हातमा आलो खत थियो । मानौँ कसैले भर्खरमात्र खुकुरीले प्रहार गरेको होवोस ।
उसलाई थाहा छ कि मानिसहरू पहिले उसको घाउचोट हेर्दछन् र त्यसपछि मात्र उसको नाउँगाउँ जान्न चाहन्छन् । त्यसैले भन्न थाल्यो,“ दाबिलोले हानेका थिए । म रतन डुम हँु । तिमी त्यही बाबु होइनौ जो चरसा गएर किसानसभा गर्न चाहन्छौ । त्यहाँ गएर केही फाइदा छैन । फर्सी समात् न ,दीनु ।”

“किन फाइदा छैन ?”
“ठूला किसान त्यहाँ पटक्कै छैनन् । भोकानाङ्गा मजदुर मात्र छन् । त्यस्तो ठाउँमा किसानसभाका कमरेडहरू जालान् ?”

“मलाई थाहा छैन कि तिमीहरूलाई कसले के भनेका छन् ,कसले के सिकाएका छन् । तर यस्तै गाउँमा त किसान सङ्गठनले राम्रोसँग काम गर्न सक्दछ ।”
रतन डुम बस्यो र गमछालाई पङ्खा बनाएर हम्कन थाल्यो । अनि फेरि ओठमा हलुका हाँसो खेलाउँदै जवाफ फर्काउँदै भन्यो, “ पहिले गथ्र्यो तर अब गर्दैन । अँ , नक्सलीहरूलाई मद्दत गरेको छ । हो ,बसाईलाई इज्जत दिएको छ तर बाँच्नका लागि । जहिले सामन्त बाबुले काली बाबुलाई लगेर उम्मेदवार बनाएका थिए र सहयोग गर्न भनेका थिए त्यसबेलामा रतन डुमले वाचा गरेको थियो कि भोट दिलाउने छ । दिलाइ पनि दियो । किन दिलायो ? रतन डुमले सुरेश साऊको गुमस्ताको टाउको छिनाइदियो । यो कुरो सबैलाई थाहा छ । साऊको गुण्डाहरूको हातमा दाबिलो थियो । त्यसले हान्याहान्यै गरे तर पनि मैले टाउको छाडिनँ । काटेर ल्याएर देखाइदिएँ । भोट किन दिलाइदिएँ ,थाहा छ ?मलाई विश्वास थियो कि पुलिसले अरू अत्याचार गर्ने छैन ,जोताहाहरूको अत्याचारमा न्याय पाइनेछ । हह..ह..ह..! कस्ता मानिसहरूउपर विश्वास गरिएछ ?”
रतन छिटछिटो गम्छा हम्किँदै भन्न थाल्यो, “सामन्तले सत्ताको पक्ष लियो र काली बाबुलाई मारिदियो । तिमीहरूको पार्टीको नाममा गाउँघरतिर तिनै काली बाबुको अनुहार झुल्किन्थ्यो । उनै दौडधुप गर्थे,पार्टी भनेपछि मरिमेट्थे ।उनलाई मारिदिए,बेतुललाई मारिदिए ।पुलिसले अचेल दोब्बर अत्याचार गर्न थालेको छ ।र, तल्सिङहरू ? तिनले त तिमीहरूलाई चन्दा दिएर पार्टीसँग मद्दत लिइरहेका छन् । गरिब किसान,खेत मजदुरहरूउपर तिनीहरू त तिनगुना अत्याचार गरिरहेका छन् । ”
“ के यसका लागि हामी जवाफदेही छैनौँ त ?”

“ जवाफदेही को छ भन्नेकुरो रतनलाई थाहा छ । चरसाको बाढीले मार्यो । त्यो मुर्दो बाढीलाई बगाउन पनि आउँछ । बाढीमा मर्यो ,फाट्टफुट्ट राहत । तेलिलो शिरमा तेल तरर्र भयो र रुखोफुस्रो शिर काटियो । ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सुनेर काम गर्न चाहेँ तर कामै पाइएन,गहँु पाइएन । मानिसलाई भोकै–डल्लै राखियो । सुनेँ कि गहँु पनि फर्काइयो । कोही भन्छन् बेचे रे । कठै ! यस्तो पनि हुन्छ कहीँ ? यो जवाफदेही कसको हो , रतन डुमलाई थाहा छ । ”

निकै डरलाग्दा भेदहरू एकपछि अर्को गर्दै खुल्दैथिए । इन्द्रको अन्तरमनमा मानौँ केही डढेलो सल्केको छ । विश्वसनीय कार्यकर्ताले के भन्लान् ? नेताहरूसँग रतन डुमको कुराकानी हँुदैन । इन्द्रको त हुन्छ, दीनुको पनि कुराकानी भइरहन्छ । यी जोताहाहरूको शोषण किन हो ज्यँुका त्युँ छ ?यो हटाउनका लागि किन कन्जुस्याइँ गरिँदैछ ? किन डराएका हुन् ? कोसँग डराएका हुन् ?जसले भोट दिएर पार्टीलाई सत्ताको सिँहासनमा आसीन गराएका थिए तिनले इमान्दार तथा विवेकी प्रशासन मागेका थिए ,न कि यथास्थिति । ती सब त पार्टीका क्याडर र सदस्य त होइनन् नि । जनताको समर्थन पाएपछि सबभन्दा पहिले उत्तरदायित्व र जिम्मेदारी स्वीकार गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो नि ।
इन्द्रले सुस्तरी सोध्यो,“ सामन्तदालाई यो सबै थाहा छ त ?”

“काङ्ग्रेसी झण्डा उठाउने मोटो ध्वजदण्ड हो रामेश्वर भुइँया । चन्दा दिएर रामेश्वर अब पार्टीको खम्बा बनिसकेको छ । उसैको जीपमा बसेर सामन्त बाबु जागुला घुमेका थिए, स्वागत–सत्कारको माला पहिरेका थिए ,जितेपछि अबिरले नुहाएका थिए । के तिनलाई यो सब थाहा छैन र ? सबथोक थाहा छ –कदेखि ज्ञसम्म । अहिले उनलाई रतन डुमको खाँचो छैन । उनलाई थाहा छ – डुम त जुठोपुरो चाट्ने आशामुखी निकृष्ट जात न हो ,चुनावका बेलामा गएँभने फेरि ज्यान फालेर खट्नेछ ।”
“भनीहेर्या छौ ?”

“गएको थिएँ । चारजना साला काउरा सन्थालहरूका बर्गा दर्ता गराउन । रोतोनी साऊले चार लाख रुपियाँ पायो र हामीले चाहिँ लात खायौँ । अपमानित भएर सुकुल बाबुले पनि छाडिदिए । साह्रै बेइज्जति भयो ।”

दीनुले भन्यो, “ जुन कुरो त्यसबेला म भन्छु भन्ने बिचार गर्दैथिएँ त्यही कुरो तिनले भनेका थिए ।”
दीनुका सानोबुबाले भने, “ पहिले खाना खाइहालौँ, खानाको अघिल्तिर त म अरूको किस्साकहानी सुन्न सक्दिन । यो भात हो ,भात । दीनु , पसलबाट पत्तल(पातहरू सिन्काले गाँसेर बनाइएको घेरा नभएको थाल आकृतिको टपरी ) लिएर आऊ न त । ”

दीनुले सालको पत्तल ल्यायो । उनीहरू खाना खान बसे । माड न काढेको भात, दाल र आलुको भुजिया । भुजिया थोरै थियो । त्यसैले पुर्याइपुर्याई भात खाए । भात खाइसकेपछि रतनले आत्मा तृप्त हुनेगरी पानी पियो र भन्यो, “भोलि माछा ल्याउँला । गँगटा,माछा, खोर्सानी र प्याजसँग भात नखाएको निकै भयो ।”
“ र औषधि ?” सदानन्दले सोध्यो।
“नाईँ ।”
“ल्याएनौ ?”
“अहँ । अब ल्याउँदिन पनि ।”

दीनुले इन्द्रसँग भन्यो, “ उनी त बाथको दुःखाइको औषधि पनि गर्दछन् । तेल मन्तरेर दिन्छन् । बाथको दुःखाइबाट आराम मिल्दछ ।”
पहिला–पहिला इन्द्र यस्तो कुरो सुनेपछि बुर्लुक्क उफ्रन्थ्यो । ‘तेल मन्त्रिनु, पानी मन्त्रिनु ,जादु–टुना–मुना सबै मिथ्या हुन् ,सब ढोङ हो ,झुठो संस्कार हो ’ भन्थ्यो । तर अचेल त्यसो गर्दैन । यो सब धोखा–छल हो वा आफूलाई दिलासा दिइएको हो । वैज्ञानिक चिकित्सा पद्धति जसको लागि उपलब्ध हुन सकेको छैन , तिनै मानिसहरू यस्ता झारफुक र टुनामुनामा लाग्दछन् । बिस्तारै–बिस्तारै जब तिनीहरूसँग इन्द्रको मेलजोल बढदैजानेछ,घनिष्ठता कायम हुनेछ अनि यस प्रकारका अन्धविश्वासहरूलाई तर्कले पराजित गरेर उनीहरूको मनबाट त्यस्तो अन्धविश्वास हटाउन सकिन्छ भन्ने लाग्न थाल्यो । तर अज्ञानको अन्धकार हटाइसकेपछि पनि तिनीहरूलाई इन्द्रले के स्वास्थ केन्द्र वा अस्पताल जाऊ भन्छ त ? स्वास्थ केन्द्रमा गाऊँका गरिबहरूले के पाउँछन् र ? के हुन्छ त्यहाँ ? औषधिमुलो छैन, उपकरण छैन,उपचारको व्यवस्था पनि छैन । फगत एउटा डाक्टर छ –पराजित र थकित अनि प्रचारपोस्टरका शब्द–वाक्य अङ्कित अमूल्य भित्ता छ । चौबिस प्रगन्नाको देहाती इलाका घुमेर इन्द्रले धेरैथोक देखेको छ । सरकारी खैराते औषधिहरूका लागि पनि गाउँले गरिबहरूले पैसा तिर्नु पर्दछ ।