भुँडीफोरले र उसका छोराहरूले त मेरो बफादारीलाई उच्च मुल्याङ्कन गर्नुपर्छ । जब म तोकिएको दिनभित्र आएँ त्यो नेपाली पालेले केही नबोली लुसुक्क गेट खोलिदियो । म परिसरभित्र छिरेँ ।
जहाँसम्म मालिकहरूको कुरा छ, अशोकजी, मुकेशजी र भुँडीफोर त दसजनामा नौजनाभन्दा राम्रै थिए । नोकरहरूलाई खानाको राम्रो व्यवस्था थियो | आइतबार त अझै मिठो परिकार हुन्थ्यो- भातमा हड्डीबिनाको कुखुराको मासु राखेर भुटेको । मेरो जीवनमा त्यति बेलासम्म बिहानबेलुकै कुखुराको परिकार मैले कहिल्यै खाएको थिइनँ ! प्रत्येक आइतबार कुखुराको मासु टन्न खाएर औँला चाट्दा म आफुलाई राजा नै ठान्थे । मेरो सुत्नलाई एउटा गुमुक्क परेको कोठा थियो | अँध्यारो मुख लाउने ड्राइभर रामप्रसाद र म यसमै अटाउनुपर्थ्यौ । उसको राम्रो ठूलो बिस्तारा थियो तर म भुइँमै सुत्नुपर्थ्यो तर पनि पेटीको बासभन्दा त यो छानो भएको कोठा राम्रै थियो । किसनले र मैले धनबादमा सडकमा काटेको रातभन्दा त राम्रै थियो ।
जे भए पनि मैले हामी अन्धकारमा बाँच्ने सबै लालायित हुने चिज पाएँ- गाँस र बास ! अनि खाकीको पोसाक | कस्तो अचम्म ! |

भोलिपल्ट म सिसैसिसाले बनेको पर्खाल भएको ठूलो बैङ्कमा गएँ | सिसामा मैले खाकी पोसाकमा आफ्नो अनुहार देखेँ । म आफ्नो रूप सिसामा नियाल्दै दर्जनौं पटक यताउता गरिरहेँ ।

यदि मलाई चाँदीजस्तै टल्कने सिठी दिइएको भए त म कुनै देवदूत नै हुन्थेँ होला!

किसन प्रत्येक महिना मलाई भेट्न आउँथ्यो । कुसुमको अनुसार मैले महिनामा मात्र नब्बे रूपियाँ राख्न सक्थेँ र बाँकी सबै सीधै किसनलाई बुझाउनुपर्ने र उसले सीधै गाउँमा लगेर हजूरआमालाई बुझाउनुपर्ने भयो । प्रत्येक महिना मैले पछाडिको गेटबाट छिराएर किस॒नलाई पैसा दिन्थेँ र यसो एक दुई शब्द बोलिन्थ्यो । अलि बेरपछि नेपाली पालेले, “भयो भयो, केटाको अरू काम छ’ भन्दै चिच्च्याइहाल्थ्यो ।

२ नम्बर ड्राइभरको काम सजिलो थियो । १ नम्बर ड्राइभर रामप्रसादले मालिकहरूलाई होन्डा सिटी लिएर सहर घुमाएर नफर्कदै कसैलाई बजार वा कोइलाखानी वा रेल स्टेसन जानुपर्यो भने मैले मारूतीमा लिएर जान्थेँ । नत्र मेरो काम घर -वरिपरि नै बसिरहने र परिआए सहयोग गर्ने !

अहिले मलाई ड्राइभरको रूपमा उनीहरूले पूरा विश्वास गरेका छन्‌ । तपाईहरू चीनमा नोकरहरूको व्यवस्थापन कसरी गर्नुहुन्छ मलाई थाहा छैन, तर भारतमा, अझ अन्धकारमा त धनीहरूकहाँ सवारी चालक, भान्से, हजाम, दर्जी, कोही हुँदैनन्‌, उनीहरूका मात्र नोकर हुन्छन्‌ ।

कार चलाउन नपरेको समय मैले आँगन बढार्ने, लामो कुचोले माकुराको जालो सफा गर्ने, चिया पकाउने, आँगनमा आएका छाडा गाईलाई धपाउने गर्नुपर्थ्यो । मलाई होन्डा सिटी कार छुने अनुमति चाहिँ थिएन | रामप्रसादलाई मात्र त्यो छुने र सफा गर्ने अनुमति थियो । साँझपख म उसले कार धोएको र भित्री चिल्लो भागलाई नरम कपडाले पुछेको हेरिरहन्थेँ । म ई्ष्याले भुतुक्क हुन्थेँ ।

बाहिरबाटै यो अति सुविधासम्पन्न अत्याधुनिक गाडी हो भन्ने कुरा छर्लङ्ग देखिन्थ्यो ।

यसमा वातानुकूलित प्रणाली, रेडियो, चम्किला छालाका सिटहरू र सिटको पछाडिपट्टि स्टिलको थुकदानी थियो | म सोच्थे यस्तो गाडी चलाउन पक्कै पनि स्वर्गीय आनन्द हुँदो हो । मेरो त त्यही कुच्चिएको थोत्रो मारुती मात्र थियो ।

एक साँझ अशोकजी नाक कोट्याउँदै कारको वरिपरि नियालेर हिँडिरहेको देखेँ । उनी बडो खोजीनीति गर्ने खालका मान्छे रहेछन्‌ भन्ने मैले थाहा पाएँ । सोधे, “त्यो पछाडिको टिलिक्क टल्केको भाँडो के हो ?”

“थुकदानी हो हजूर”
को रे?

रामप्रसादले प्रस्ट्यायो । त्यो थुकदानी पानको सौखिन भुँडीफोरका लागि थियो । झ्यालबाट पान थुक्दा कारमा छिटा पर्ने डर त्यसैले उनले तल आफ्नो गोडा
छेउमा राखिएको थुकदानीमा थुक्थ्यो जसलाई प्रत्येक यात्राको अन्त्यपछि चालकले माझेर सफा गर्थ्यो ।

“छ्या” अशोकले नाक खुम्च्याए ।

उनी अरू केही सोच्दै थिए, मुकेशजीको छोरो रोशन प्लास्टिकको ब्याट र बल लिएर दगुर्दै हाम्रो छेउमा आइपुग्यो । रामप्रसादले मलाई हातले इसारा गर्यो ।

(खेल्न मन गर्ने त्यस घरको कुनै बाँदरसँग क्रिकेट खेलेर उसलाई जानीजानी जिताउनु २ नम्बर ड्राइभरको कर्तव्य नै थियो ।)
अशोकजी खेल्न थाले । उनी विकेट किपर बने अनि मैले बाँदरलाई सजिलो गरी बलिङ गर्दिन थालेँ ।

प्रत्येक पटक चौका छक्का हान्दा ऊ चिच्च्याउँथ्यो, ‘म भारतको टिम क्याप्टेन अजरूद्दिन हुँ ।’
“गावस्कर हो भन्‌ बजिया ! अजरूद्दिन त मुस्लिम हो” यो भुँडीफोरको आवाज थियो । ऊ खेल हेर्न आँगनमा आएको थियो ।
“छ्या बुबा कस्तो वाहियात कुरा गर्नुभाको ! हिन्दु होस्‌ कि मुसलमान, के फरक पर्छ त ?” अशोकले प्रतिवाद गरे ।

“यो युवाहरूको नयाँ विचार हो, हैन ?” भुँडीफोर चिढियो । मलाई थपथपाउँदै भन्यो, “रोशन एक घन्टाका लागि मैले ड्राइभर लिएर जान पर्ने भो, ठिक छ ?’

भुँडीफोरले २ नम्बर ड्राइभरको राम्रो उपयोग गर्थ्यो । उसका निला ठूलाठूला नसाहरू प्रस्टै देखिने कमजोर गोडाहरू थिए | डाक्टरले उनलाई प्रत्येक साँझ तातो पानीमा डुबाएर मालिस गर्न सल्लाह दिएका थिए ।

मैले भाँडोमा पानी तताएर, आँगनमा लगेर, एक एक गरी उसका खुट्टा उचालेर पानीमा चोब्दै मजाले मालिस गर्नुपर्थ्यो । मैले यो गर्दा ऊ आँखा चिम्लेर अँ अँ अँ गरी बस्थ्यो ।

आधा घन्टापछि भन्थ्यो, “पानी त चिसो भो ।’ अनि एकएक गरी उसको गोडा उचालेर बाहिर राख्दै म पानीको भाँडो लिएर चर्पी घरतिर लाग्थे । फुलेका रौँ र कत्ला तैरिरहेको पानी कालो रङको हुन्थ्यो । फेरि तातो पानी भरेर मैले ल्याउनुपर्थ्यो ।
जब म मालिस गरिरहन्थेँ, उसका दुवै छोराहरू कुर्ची तानेर बूढोछेउ कुरा गरी बस्थे । रामप्रसादले सुन्तलाको रस जस्तो झोल भएको ठूलो बोतल ल्याउँथ्यो, तीनवटा गिलासमा खन्याउँथ्यो र वरफका टुक्रा राखेर प्रत्येकलाई दिन्थ्यो ! बूढोले पहिलो चुस्की लिएर “ए हिवस्की हो” नभनेसम्म छोराहरू पर्खिरहन्थे । “यो नभए त यो देशलाई हामी कसरी उँभो लाउन सक्छौँ ?” अनि गफको रफ्तार सुरू हुन्थ्यो । उनीहरू जति चर्को बोल्थे म त्यति छिटो मालिस गर्थे । उनीहरु राजनीति, कोइला अनि तपाईंकै देश चाइनाको बारेमा कुरा गर्थे । कताकता राजनीति, कोइला र चाइना, भुँडीफोरको परिवारको भाग्यसँग जोडिएको थियो । हल्का रूपमा म पनि यही परिवारको सदस्य भएकाले मेरो भाग्य पनि उपर्युक्त तीनवटा कुरासँग नै जोडिएको छ भन्ने बुझँ । चाइना र कोइलाको कुरा हिवस्कीको वास्नासँगै मिसियो । तातो पानीले उसको तिघ्राबाट निस्केको पसिनाको गन्ध, गोडाको कत्ला, अशोक वा न्याउरीमुसो यताउता फर्किंदा चप्पलले मेरो ढाडमा लाग्ने चोट सबै सहनु पर्थ्यो । सफल उद्यमीको विशेषता नै यही हो कि मैले सबै पचाउँथेँ । हामी स्पन्जजस्तै हो- पचाउँछौँ र बढ्छौँ ।
चोटिलो मुक्का मेरो टाउकोमा पन्यो ।
यसो माथि हेरेको त भुँडीफोरले मेरो टाउकोमाथि मुट्ठी उचालेर ठोकुँछा जस्तो गरी हेरिराख्या रैछन्‌ । »

“मैले मुट्ठी किन उचालेको हो, बुझिस्‌ ?’ ऊ पङ्क्यो ! बनावटी हाँसो लिएर मैले भनेँ, ‘बुझैँ हजूर ।”
“ल ठिक छ ।’ एक मिनेटपछि फेरि टाउकोमा प्याट्ट हाने ।
‘बुबा यसलाई भनिदिनोस्‌ यो केका लागि हो | यसले बुझेन क्यारे ।’
“ए भाइ अलि बिस्तारै माड । बुबालाई दुख्यो । तिमी एकदम उत्तेजित भयौ ।”
“हुन्छ हजूर ।”
“ए बुबा कामदारलाई पिट्नै पर्छ ?’ अशोकले सोधे ।
“यो अमेरिका होइन केटा | यस्तो प्रश्न नसोध यहाँ ।”
“किन नसोध्नु ? सोध्न पनि पाइन्न ?”
“यिनीहरू यही चाहन्छन्‌, अशोक यसै कारणले यिनीहरू हामीलाई मान्छन्‌, बुझिस्‌ ।’

पिङ्की मेडमले यस्तो गफमा कहिल्यै भाग लिन्नथिन्‌ । कालो चस्मा लगाएर रामप्रसादसँग टेनिस खेल्नभन्दा बाहेक उनी कोठा बाहिर आउँथिनन्‌ । म छक्क पर्थे, किन होला ? लोग्नेसँग लंडाइँ पर्यो कि ? बूढो राति सँगै सुत्दैन कि ?
दोस्रो पटक बूढोले “पानी चिसो भो’ भनेर गोडा बाहिर निकालेपछि मेरो काम सकिन्थ्यो । :

चिसो पानी मैले भाँडा धुने ठाउँ (सिङ्क) मा लगेर फ्यालिदिन्थेँ । दस मिनेट हात धोएर सुकाउँथेँ र अनि फेरै धुन्थेँ, तर त्यसले केही फरक पार्दैनथ्यो । बूढो मान्छेको खुट्टा मालिस गरेपछि जति हात धोए पनि त्यो कत्ले छालाको गन्ध दिन भरि हातमै रहिरहन्छ ।