साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

खण्डकाव्य के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला ९

Chovar Blues Mobile Size

१. विषय प्रवेश
कविताको लघु रूपभन्दा ठुलो र बृहत् रूपभन्दा सानो मध्यविन्दुको रचनालाई खण्डकाव्य भनिन्छ । अर्थात् यो फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो हुन्छ । आकार–प्रकारका दृष्टिकोणले नै यो दुवैतिरबाट भिन्न हुन सक्छ । अर्थात् यसले कविताको लघु रूप र बृहत् रूप छुट्याउनमा लक्ष्मणरेखाको काम गरेको छ । काव्यको एक देशको अनुसरण गर्ने काव्य नै खण्डकाव्य हो भनी आचार्य विश्वनाथले यसलाई परिभाषित गरेका छन् । खण्डकाव्यमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । फुटकर कविताभन्दा विस्तृत हुँदै गइरहेको अनुभूतिले आख्यानलाई समात्छ भने आख्यानले कवितालाई विकसित हुन सहयोग गर्छ । अनुभूतिको एकोहोरो प्रवाह मात्र वा आख्यानको एक्लो प्रबलता मात्र खण्डकाव्य बन्न सक्दैन, यसमा त यी दुवैको सन्तुलित अभिव्यक्ति हुनुपर्छ । फुटकर कवितामा आख्यानको एउटा सानो ढिस्को हुन सक्छ भने खण्डकाव्यमा एउटा सानो पहाड नै भेट्न सकिन्छ त्यसैले पनि यो कविताको मध्यम रूप हो । नेपाली कविताको प्राथमिक कालमा नै नेपाली खण्डकाव्यको पनि प्रवर्तन भएको हो । वि.सं. १८३९ तिर दैवज्ञकेशरी अर्यालद्वारा लिखित ‘अश्वशुभाशुभ परीक्षा’लाई नेपालीमा लेखिएको पहिलो खण्डकाव्य मानिन्छ । यसपछि वीरधाराका उदयानन्द अर्याललगायतका कविहरू, कृष्णभक्ति धाराका वसन्त शर्मा, रामभक्ति धाराका भानुभक्त आचार्य र निर्गुण भक्तिधाराका ज्ञान दिलदास आदि कविहरूले प्राथमिक कालीन खण्डकाव्यलाई उचाइमा पु¥याए भने मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल आदि कविहरूले माध्यमिक कालीन खण्डकाव्यको परिचय प्रदान गरे । यसरी नै आधुनिक कालमा लेखनाथ पौड्याल र बालकृष्ण सम जस्ता शास्त्रीयतावादी परिष्कारवादी धाराका कविहरू, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे जस्ता स्वच्छन्दतावादी कविहरू, गोकुल जोशी, युद्धप्रसाद मिश्र जस्ता प्रगतिवादी कविहरू, मोहन कोइरालालगायतका प्रयोगवादी कविहरू र वर्तमान खण्डकाव्य साधनामा समर्पित समसामयिक धाराका कविहरू सबैको विशिष्ट योगदानबाट वर्तमानमा नेपाली खण्डकाव्यको स्वरूप निर्माण भएको छ । यस लेखमा खण्डकाव्यको विधागत चिनारीका साथै रचनाविधानका बारेमा विशेष जानकारी प्रस्तुत गरिएको छ ।

२. खण्डकाव्यको परिचय
खण्डकाव्य कविताको मध्यम रूपअन्तर्गत पर्दछ । ‘खण्ड’ र ‘काव्य’ गरी दुई शब्दको मेलबाट ‘खण्डकाव्य’ शब्दको निर्माण भएको पाइन्छ । ‘काव्यस्य खण्डम् = खण्डकाव्यम्’ संस्कृत षष्ठी तत्पुरुषात्मक विग्रहबाट बनेको ‘खण्डकाव्य’ शब्दको नेपाली निर्माण भने ‘काव्यको खण्ड = खण्डकाव्य’ पष्ठी तत्पुरुषबाट नै गर्नुभन्दा विशेषण र नामको योगबाट हुने कर्मधारय समास गर्दा बढी अर्थपूर्ण हुन्छ । यसले काव्यको एउटा खण्ड, टुक्रा वा अंश नभएर समग्रमा फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो कविताको मझौला रूप भन्ने अर्थ दिन्छ ।
‘काव्य’ शब्दका माध्यमबाट आशयमूलक अर्थमा खण्डकाव्यलाई चिनाउने काममा छैटौँ शताब्दीका भामहदेखि दण्डी, वामन, मम्मट, आनन्दवर्धनको पूर्वभूमिका देखिए पनि खण्डकाव्यलाई ‘खण्डकाव्य’ नै भनेर औपचारिक रूपमा परिभाषित गर्ने प्रथम आचार्य चौधौँ शताब्दीका विश्वनाथ हुन् । विश्वनाथले (खण्डकाव्यं भवेत् काव्यस्यैकदेशानुसारि च) काव्यको वा जीवनको एउटा विशिष्ट कालखण्डको चित्रण गर्ने वा एक देशको अनुसरण गर्ने काव्यलाई खण्डकाव्य भनिन्छ भनी परिभाषित गरेका छन् । यसरी सुरु भएको खण्डकाव्यसम्बन्धी परिभाषामा पछिल्लो चरणका पूर्वीय विद्वान्हरूले पनि विश्वनाथीय परिभाषाकै सेरोफेरोमा रहेर खण्डकाव्यलाई चिनाएको पाइन्छ । खण्डकाव्य कविताको विकसित रूप भएका कारण यसमा पनि कवित्व शक्ति उच्च रूपमा रहनुपर्ने कुरामा विभिन्न विद्वान्हरूले जोड दिएका छन् । अनुभूतिको बाक्लो उपस्थिति देखिने फुटकर कवितामा आख्यानले प्रवेश पायो वा अनुभूति केही तरल बन्न थाल्यो भने खण्डकाव्यको निर्माण हुन थाल्छ । खण्डकाव्य परिभाषाका रूपमा वा सैद्धान्तिक स्वरूप निर्माणमा निकै पछि देखापरे पनि रचनात्मक प्रारूप भने वैदिक कालदेखि नै प्राप्त हुन्छ । वैदिक युगका अपेक्षाकृत लामा र एकै वण्र्य विषय प्रसङ्गमा केन्द्रित सूक्त, उद्गीथ वा अनुवाक्मा उत्तर वैदिक लघु, खण्डकाव्यको पूर्वाभास प्राप्त हुने कुराको उल्लेख डा. वासुदेव त्रिपाठीले गरेका छन् । उत्तरवैदिक कालखण्डमा कालिदास आदिका सिर्जनामार्फत खण्डकाव्यको विधागत उपस्थिति सबल रूपमा देखापरे पनि सैद्धान्तिक परिभाषा भने केही पछि मात्र भएको हो । हालसम्ममा यसलाई चिनाउनका लागि विभिन्न विद्वान्हरूले आआफ्नै तर्कहरू प्रस्तुत गरेका छन् । डा. महादेव अवस्थीले खण्डकाव्य कविता विधाको त्यो प्रबन्धात्मक रूप हो, जो सर्गरहित अनि सर्गसहित हुन सक्छ, जसले समग्र सन्धिको अपेक्षा गर्दैन, जो आख्यानात्मक वा सर्गरहित अनि एकान्वितिपूर्ण पद्यरूपद्वारा संरचित हुन्छ र जसमा एकै उद्देश्य प्राप्तिमा प्रवृत्त जीवन खण्डको वा जीवनगत कालखण्डको र कुनै एक पुरुषार्थ वा मानवार्थको र रस विशेषको अभिव्यक्ति हुन्छ भनी परिभाषित गरेका छन् । यस परिभाषाले खण्डकाव्यको बाह्य तथा आन्तरिक दुवै पक्षको उद्घाटन गरेको छ भने डा. कुमारबहादुर जाशीले जीवन जगत्को एक खण्ड वा जिन्दगीको एक सानो धारा यसमा प्रवाहित हुन्छ । यसमा अनुभूतिको सानो खोलो बग्छ भनी परिभाषित गरेबाट यसको संरचनात्मक स्वरूप पनि स्पष्ट हुन्छ । यसका आधारमा हेर्दा सूक्ष्म आख्यानात्मक रचना वा अनुभूतिको आख्यानीकरण गरिएको कविताको मध्यम वा मझौला रूप नै खण्डकाव्य हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
पूर्वीय साहित्य परम्परामा खण्डकाव्य भनेजस्तै पाश्चात्य साहित्यमा यसलाई लामो कविता भनिन्छ । हुनत, खण्डकाव्य समकक्षी रचनालाई पाश्चात्य साहित्यमा रोमान्स, एलिजी, पास्टोरल, इपिक, लङ पोएम आदि विभिन्न नाम दिइएको पाइन्छ तापनि नेपाली सन्दर्भमा भने लामो कविता (लङ पोयम) नै उपयुक्त मानिन्छ । लामो कविताको रचना विधानका विषयमा भने अर्को छुट्टै शृङ्खलामा चर्चा गरिने छ ।
नेपाली साहित्यमा खण्डकाव्य समकक्षी रचनाहरूलाई गाथा, गाहा, श्रवण, गीतिकाव्य, चरित्र काव्य, साना वंशकाव्य, आख्यान र खास गरी उपाख्यान काव्य, छोटा कथाकाव्य, पयार्यबन्ध र मुक्तक काव्य, स्फूटकाव्य, कोषकाव्य, पत्रकाव्य र दूतकाव्य, सन्देश काव्य, ऋतुकाव्य, शतक, अर्धशतक काव्य, स्तुतिकाव्य, स्तोत्रकाव्य तथा भक्तिकाव्य, लहरी काव्य, प्रशस्ति काव्य र अभिलेख काव्य, साना इतिहास काव्य, नीतिकाव्य, सुभाषित काव्य, शृङ्गार काव्य, वैराग्य काव्य, साङ्गीतिक उपरूपक काव्य, लघुकाव्य, खण्डकाव्य आदि विभिन्न नामले चिन्न सकिने अवधारणा डा. वासुदेव त्रिपाठीको रहेको छ । यी रचनाहरू आन्तरिक प्रवृत्तिका कारण केही फरक जस्ता लागे पनि ती सबै कविताको मझौला रूपअन्तर्गत नै समेटिन आइपुग्छन् ।

३. खण्डकाव्य हुनका लागि के के चाहिन्छ ?
खण्डकाव्य कविताकै विकसित वा मध्यम रूप भएकाले कविताका लागि आवश्यक कुराहरू खण्डकाव्यका लागि पनि आवश्यक हुन्छन् तर यसमा आख्यानको प्रवेश पूर्ण वा आंशिक रूपमा हुने हुनाले कवितामा भन्दा केही थप तत्त्वहरू खण्डकाव्यमा देखिन्छन् । भानुभक्त पोखरेलले विषयवस्तु, अनुभूति, रसभाव, सौन्दर्य चेतन, कल्पना, संरचना, छन्द वा लय र शिल्पमय शब्दार्थ खण्डकाव्यका लागि अनिवार्य तत्त्व मानेका छन् भने महादेव अवस्थीले शीर्षक, भाषाशैली, लयविधान, प्रबन्ध विधान, सर्गयोजना, विषयवस्तुगत भावविधान, उक्तिढाँचा, विम्ब, प्रतीक विधान र अलङ्करणका प्रविधि र आयामलाई खण्डकाव्यका प्रमुख तत्त्व मानेका छन् । यी विचारलाई हेर्दा शब्दगत रूपमा वा सङ्ख्यामा केही तलमाथि परे पनि सैद्धान्तिक आशयमा भने त्यति भिन्नता पाइँदैन ।

उल्लिखित सन्दर्भहरूलाई हेर्दा खण्डकाव्यलाई खण्डकाव्य बनाउनका लागि निम्नलिखित कुरामा ध्यान दिनुपर्ने हुन्छ—

(क) विषयवस्तु, घटना वा आख्यानको प्रयोग
खण्डकाव्य जेका बारेमा लेखिने हो त्यसलाई ‘विषयवस्तु, घटना वा आख्यान’ भनिन्छ । खण्डकाव्य जेका बारेमा लेख्न लागिएको हो त्यही खण्डकाव्यको विषयवस्तु हो, काव्यमा जुन कुरालाई जोड दिइएको छ त्यो घटना हो र जुन कथावस्तु समेटिएको छ त्यो आख्यान हो । खण्डकाव्यमा आएको कथावस्तु वा घटना कुनैमा स्पष्ट रूपमा देखिन्छ भने कुनैमा नदेखिन पनि सक्छ । देवकोटाको ‘मुनामदन’मा घटनाक्रम र आख्यानको प्रत्यक्ष अनुभव गर्न पाइन्छ तर लेखनाथको ‘ऋतुविचार’मा घटनाक्रम र आख्यान दुवै कुराको अभाव छ । यसका आधारमा खण्डकाव्य ‘मुनामदन’ जस्तो आख्यानयुक्त पनि हुन सक्छ र ‘ऋतुविचार’ जस्तो आख्यानविहीन पनि हुन सक्छ भन्ने थाहा पाइन्छ तर आख्यानहीनताचाहिँ खण्डकाव्यको साँचो चिनारी होइन । प्रत्यक्ष बाहिर नदेखिए पनि आन्तरिक आख्यानविन्यास हुन सक्यो भने त्यो ‘खण्डकाव्य’ नै मानिन्छ ।

sagarmani mobile size

(ख) अनुभूतिको आख्यानीकरण
अनुभूतिको आख्यानीकरण खण्डकाव्यका लागि अनिवार्य मानिन्छ । यसले काव्यलाई वर्णनबाट बचाउँछ र कलात्मक बनाउँछ । कथा भन्नु खण्डकाव्यको उद्देश्य होइन त्यसैले खण्डकाव्यमा ‘अनुभूतिको आख्यानीकरण’ हुनुपर्छ । यसको आशय खण्डकाव्यमा सरासर कथाको वर्णन गर्नु हुँदैन, कथावस्तु कवितामा उनिएर अगाडि बढ्नुपर्छ भन्ने हो ।

(ग) पात्र वा चरित्रको छनोट
आख्यानलाई वहन गर्नका लागि ‘पात्र वा चरित्र’ चाहिन्छ । त्यो पात्र वा चरित्र पनि कवितामै उनिएर अनि कलाले सिँगारिएर अगाडि बढेको हुनुपर्छ ।

(घ) अनुकूल परिवेशको छनोट
पात्र खेल्नका ‘परिवेश’ चाहिन्छ । परिवेशभित्र देश (स्थान), काल (समय) र वातावरण (पर्यावरण) चाहिन्छ । यसको प्रत्यक्ष सम्बन्ध घटना र पात्रसँग हुन्छ । परिवेशले काव्यलाई विश्वसनीय बनाउँछ ।

(ङ) निश्चित उद्देश्य र वैचारिक धरातलको निर्धारण
खण्डकाव्य किन लेख्ने ? भन्ने बारेमा स्रष्टा स्पष्ट हुनु आवश्यक छ त्यसैले ‘उद्देश्य वा विचार’ यसका लागि आवश्यक छ । पूर्वीय मान्यतामा धर्म, अर्थ, काम र मोक्ष चतुर्वर्गको प्राप्तिलाई महाकाव्यको उद्देश्य मान्ने गरिन्छ भने खण्डकाव्यमा यीमध्ये कुनै एकको प्राप्ति हुनुपर्छ भन्ने मान्यता राखिन्छ तर वर्तमानमा लेखिने खण्डकाव्यमा त्यसको अनुसरण नभए पनि केका लागि भन्ने कुरामा चाहिँ स्पष्ट हुनु अनिवार्य छ । यही उद्देश्यमा स्रष्टाको वैचारिक धरातल निर्धारित हुन्छ ।

(च) लयविधान
कवितालाई अन्य विधाबाट अलग गराउने एक मात्र तत्त्व लय हो, त्यो बाह्य र आन्तरिक दुवै हुन सक्छ । शास्त्रीय छन्द वा लोकछन्दका कवितामा बाह्य लयविधान पाइन्छ भने मुक्त छन्द वा गद्य कवितामा आन्तरिक ‘लयविधान’ पाइन्छ । खण्डकाव्य कविताकै विकसित रूप हुनाले यसका लागि पनि लयविधान अनिवार्य हुनुपर्छ । खण्डकाव्य वार्णिक छन्द, मात्रिक छन्द, लोकछन्द वा मुक्त छन्द जुनसुकै छन्दमा पनि लेख्न सकिन्छ तापनि प्रायः मुक्त छन्दको प्रयोग लामो कवितामा र बद्ध छन्दको प्रयोग खण्डकाव्यमा हुने गरेको पाइन्छ ।

(छ) भावविधान
खण्डकाव्यमा विषयवस्तुको सशक्तताका लागि ‘भावविधान’को आवश्यकता पर्दछ । विषयवस्तुले प्रदान गर्ने आन्तरिक अर्थ, व्यञ्जनात्मक शक्ति, ध्वन्यात्मक अर्थ, लक्षित सन्देश आदि जस्ता कुराहरू यसअन्तर्गत आउने गर्दछन् । खण्डकाव्यले समग्र रूपमा प्रदान गर्ने आर्थिक शक्ति वा अभिव्यञ्जनामा नै भावगत शक्ति जोडिएको हुन्छ । यस प्रकारको भावगत अभिव्यञ्जनाका लागि रस, उक्तिवैचित्र्य वा कथनपद्धति आदिको विशेष भूमिका हुने गर्दछ ।

(ज) विम्ब, प्रतीक र अलङ्कार विधान
खण्डकाव्यमा चमत्कारपूर्ण अर्थका लागि ‘विम्ब, प्रतीक र अलङ्कार’को आवश्यकता पर्दछ । सोझो अभिव्यक्ति कविताका लागि सुन्दर मानिँदैन । भन्न चाहेको कुरालाई कुनै विम्ब वा प्रतीकका माध्यमबाट प्रस्तुत गरियो भने अथवा शब्दालङ्कार र अर्थालङ्कारमाध्यमबाट अभिव्यक्तिमा चमत्कार उत्पन्न गरियो भने त्यो काव्य उत्कृष्ट हुने गर्दछ ।

(झ) भाषाशैली
विषयको सम्प्रेषणका लागि ‘भाषा’ चाहिन्छ भने प्रस्तुतिको कलात्मकताका लागि ‘शैली’को आवश्यकता पर्दछ । खण्डकाव्यको भाषा विषयवस्तुअनुकूल, ललित, कोमल र मनोरञ्जक हुनुपर्छ भने शैली अत्यन्त आकर्षक र पाठकमा उत्सुकता जगाउने खालको हुनुपर्छ ।

यसरी अनुभूतिलाई आन्तरिक लय चेतना वा बाह्य लय चेतना दुवै माध्यमबाट प्रस्तुत गर्दै र विषय, पात्र, परिवेश र विचारलाई शिल्प सचेत अभिव्यक्तिका साथमा प्रस्तुत गर्न सफल खण्डकाव्यको यात्रा कविताको यात्रा सँगसँगै अगाडि बढेको देखिन्छ । कवितामा अनुभूति सघन हुने र खण्डकाव्यमा केही तरल हुने अनि खण्डकाव्यमा कविता र कथा दुवैको स्वाद एकैपटक ग्रहण गर्न पाइने हुनाले कतिपय सन्दर्भमा खण्डकाव्य कविताभन्दा पनि लोकप्रिय बन्न पुगेको देखिन्छ ।

४. खण्डकाव्यको आकार कत्रो हुनुपर्छ ?
खण्डकाव्यको आकार यत्रो हुनुपर्छ र श्लोकसङ्ख्या यति नै हुनुपर्छ भन्ने सीमाङ्कन कतै पनि गरिएको पाइँदैन तर आचार्य विश्वनाथले महाकाव्यको संरचना आठ सर्गभन्दा माथिको हुनुपर्छ भनी स्पष्ट उल्लेख गरिदिएका हुनाले खण्डकाव्यको आकार आठ सर्गभन्दा कम हुनुपर्छ भन्न सकिन्छ । साथै श्लोकसङ्ख्याका आधारमा पनि २५० श्लोकभन्दा माथि खण्डकाव्यमा हुनुपर्छ भन्ने एक थरी तर्क पनि पाइन्छ तर यो नै शास्त्रीय मान्यता होइन । माधव घिमिरेको ‘राजेश्वरी’ खण्डकाव्यमा जम्मा १०० श्लोक छन् तर ती २० छालमा विभाजित छन् । यो नेपाली खण्डकाव्य परम्परामा अत्यन्त सफल र सबल खण्डकाव्य मानिन्छ । त्यसैले खण्डकाव्यलाई बाहिरी सर्गविभाजन वा श्लोकसङ्ख्या निर्धारणका आधारमा भन्दा पनि विषयवस्तुको पूर्णता र त्यसले पार्ने प्रभावका आधारमा हेरिनुपर्दछ । जीवनको एउटा विशिष्ट कालखण्डको चित्रण, विशिष्ट घटना वा सन्दर्भको सशक्त स्थापना र कविले चयन गरेको विषयको काव्यिक पूर्णताको अपेक्षा खण्डकाव्यले गरेको हुन्छ । उल्लिखित अपेक्षाको परिपूर्ति जति सर्ग वा श्लोकमा गर्न सकिन्छ त्यही नै खण्डकाव्यको आकार हो तर आठ सर्गभन्दा माथि र ४००/५०० श्लोकभन्दा माथि हुन गयो भने त्यसलाई खण्डकाव्य भन्न मिल्दैन । कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो कृति ‘तरुण–तपसी’लाई नव्यकाव्य भन्नुको कारण त्यही हो ।

५. खण्डकाव्य कसरी लेखिन्छ ?
खण्डकाव्यमा एउटा सिङ्गो जीवनको चित्रण नभएर जीवनको एउटा पाटाको चित्रण हुन्छ । समयावधिका दृष्टिले पनि अधिकतम एक दशकको घटनाक्रमलाई यसले समेटेको हुनुपर्छ । जीवनको कुनै एउटा मार्मिक घटनाविन्दुमा खण्डकाव्य सीमित रहन्छ । एउटै प्रसङ्ग, एउटै घटनाक्रम, कथानकको एउटै शाखा खण्डकाव्यमा हुन्छ । यसमा एकोन्मुखता पाइन्छ त्यसैले कविले खण्डकाव्यको सिर्जना गर्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरण: विषयवस्तुको चयन
खण्डकाव्य केका बारेमा वा के विषयमा लेख्ने हो खण्डकाव्यकार स्पष्ट हुनुपर्छ । खण्डकाव्य जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । महाकवि देवकोटाको ‘कुञ्जिनी’ सामाजिक विषयमा लेखिएको छ, माधव घिमिरेको गौरी पत्नीवियोगको विषयमा लेखिएको छ, ‘राजेश्वरी’ र ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयमा लेखिएका छन्, बालकृष्ण समको ‘आगो र पानी’ दार्शनिक विषयमा लेखिएको छ, सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’ र युद्धप्रसाद मिश्रको ‘मुक्तसुदामा’ पौराणिक मिथकमा आधारित भएर लेखिएका छन् भने रामचन्द्र भट्टराईको ‘बोई’ सामाजिक असमानताका विरुद्धमा लेखिएको छ । यसरी नै ऋषिराम न्यौपानेको ‘मुक्तिका मुटु’ जीवनीमूलक खण्डकाव्य हो, मित्रलाल पंज्ञानीको ‘गतिमान् गण्डकी’ वैचारिक खण्डकाव्य हो, जगत् उपाध्याय ‘प्रेक्षित’को ‘ज्वाला’ दैलेखको अद्भुत प्राकृतिक महत्त्व उद्घाटनमा केन्द्रित छ, भुवनहरि सिक्देलको ‘डल्ले’ वर्गीय यथार्थको उद्घाटनमा आधारित छ, रामप्रसाद ज्ञवालीको ‘एकादेशमा’ खण्डकाव्यले लोकविम्बलाई सशक्त विचारका साथ उतारेको छ भने प्रकाश चापागाईंको ‘बुलेट नम्बर पाँच’ खण्डकाव्यले माओवादी जनयुद्धपछि परिवर्तित परिवेशलाई देखाएको छ । त्यसैले विषयवस्तुको छनोट कवि आफैँले गर्ने हो । त्यो विषय जुनसुकै क्षेत्रको पनि हुन सक्छ ।

दोस्रो चरण: अनुभूतिको आख्यानीकरण गरी खेस्रा लेखन
यस चरणमा खण्डकाव्यको निर्धारित सिद्धान्तमा केन्द्रित रहेर काव्यरचना गर्न थाल्नुपर्छ । यसका लागि विषयवस्तुअनुकूल पात्र, परिवेश, उद्देश्य आदिको निर्धारण गरी त्यसका लागि आवश्यक र सुहाउँदो लयविधान, भावविधान, विम्ब, प्रतीक र अलङ्कार विधान, भाषाशैली आदि जस्ता कुरालाई ध्यानमा राखेर कवित्वको विस्तार गर्दै जानुपर्छ । विषय वा प्रसङ्गमा केही फरक मोड दिनुपर्ने भएमा त्यसलाई सर्ग, खण्ड वा अध्यायमा विभाजन गर्न सकिन्छ । खण्डकाव्यमा एउटै विषय र घटनाको निरन्तरता हुने हुनाले तदनुकूल फरक फरक शीर्षक दिएर खण्ड विभाजन गर्न पनि सकिन्छ । यसरी आख्यान र कवित्वलाई मिश्रण गराउँदै काव्यको आदि, मध्य र अन्त्य भागसम्मको संरचना निर्माण गरी खण्डकाव्यको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरण: आवश्यक परिमार्जन गरी साफी लेखन
यस चरणमा आफैँले लेखेको खण्डकाव्यको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा लयविधानमा, विम्ब वा प्रतीक छनोटमा केही दोषहरू भए तिनलाई हटाउनुपर्छ । यसका साथै कुनै शब्दचयनमा आफूलाई चित्त बुझेन भने वा अभिव्यक्तिलाई अझै आलङ्कारिक र कलात्मक बनाउन मन लाग्यो भने त्यसलाई पनि परिष्कार गर्नुपर्छ । यति भइसकेपछि अब आफैँ समालोचक बनेर भावपक्ष र शिल्पपक्ष दुवैको निर्मम समीक्षा गर्नुपर्छ र त्यसमा पनि केही अभाव देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो खण्डकाव्य प्रकाशन योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका कविहरूका लागि हुन् तर सिद्धहस्त कविले त एकैपटकमा एउटा खण्डकाव्यको साफी लेखन नै गर्न सक्छ । नेपाली खण्डकाव्य परम्परालाई हेर्दा एकै दिनमा ‘कुञ्जिनी’ जस्तो शक्तिशाली खण्डकाव्य लेख्ने महाकवि देवकोटा र तीन तीन पटक परिमार्जन गरेर ‘ऋतुविचार’लाई पूर्णता दिने लेखनाथ दुई कविलाई हेर्दा अनुभूतिको प्रवाह र परिष्कार दुवैको खण्डकाव्य सिर्जनामा विशिष्ट स्थान छ भन्ने कुरा स्पष्ट हुन्छ । यति हुँदाहुँदै पनि एउटा सुन्दर खण्डकाव्य सिर्जनाका लागि निम्नलिखित कुराहरूमा ध्यान दिनु राम्रो मानिन्छ—

— जीवन र जगत्का जुनसुकै क्षेत्रबाट विषयवस्तुको छनोट,

— अनुभूति र आख्यान वा विषय र कवित्वको अन्तर्घुलन गरी विषयवस्तुको विस्तार,

— निर्धारित तत्त्वमा आधारित भएर आवश्यक सर्गविभाजन, प्रभावकारी भावविधान र युगीन महत्त्वको काव्यसिर्जना,

— स्वतःस्फूर्त कवित्वको प्रयोग गरी खण्डकाव्य सिर्जना, निष्पक्ष पाठक बनी प्रथम पठन र परिमार्जन, गुणदोषको

परीक्षणसहितको समालोचनात्मक दृष्टि राखी भाव र शिल्प दुवैको समीक्षापछि अन्तिम स्वरूप प्रदान र प्रकाशन ।

६. निष्कर्ष
नेपाली खण्डकाव्य परम्परामा प्रशस्त खण्डकाव्यहरू सिर्जना भएका छन् । थालनीदेखि हालसम्म आइपुग्दा सङ्ख्यात्मक दृष्टिले हेर्दा लामाछोटा गरी झन्डै १५०० खण्डकाव्यहरू प्रकाशन भइसकेको तथ्याङ्क फेला पर्दछ तर गुणात्मक मूल्यका दृष्टिले हेर्दा लगभग १०० खण्डकाव्यहरूको नाम लिन सक्ने अवस्था देखिन्छ । यस आधारमा हेर्दा अबको खण्डकाव्य लेखन मात्रात्मक प्रतिस्पर्धामा नभएर गुणात्मक प्रतिस्पर्धामा जानुपर्ने देखिन्छ । समयको माग, युगको आवश्यकता र पाठकको अपेक्षाअनुकूल जीवनबोध, युगबोध र समाजबोधसहितका खण्डकाव्यहरू आउन सक्ने हो भने अहिले पनि यसको आवश्यकता रहेको यथार्थलाई भने नकार्न मिल्दैन ।

क्रमशः अर्को हप्ता….

प्रतिक्रिया
Loading...