साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

वास्तुकला हिजो र आज

Chovar Blues Mobile Size

वस्तुकला विश्व इतिहासमा परापूर्वककालदेखि नै स्थापित रही आएको कला हो । नेपालमा यो कलाको विकास लिच्छवि र मल्लकालमा अधिकतम भएको भेटिन्छ । हिजोआज देखिएका मन्दिर र ठूल्ठूला भवनहरु वास्तु कलाका नमूनाहरु हुन् ।

वास्तुकलाको चर्चा गर्नुपर्दा यो कलाको शुरुवाती बिन्दुबाटै चर्चा गर्नुपर्ने देखिन्छ । यसको विकाश मानव सभ्यताको विकाश संगसंगै जोडिएर आएको पाइन्छ । सर्वप्रथमतः गुफायुगको समाप्तिको क्रममा मान्छेहरुले ढुङ्गा, चपरा, रुखका हागापातबाट गुफा जस्तै लाग्ने थुम्के घरहरु बनाउन थाले । वास्तुकलाको जग वास्तवमा यहीँदेखि शुरु भएको हो भन्ने अनुमान लगाउन सकिन्छ । स्पेनको वार्सेलोनामा भेटिएको ईशापूर्व पाँच हजार दुई सयको थुम्को नै वास्तु विधानको प्रारम्भिक र पहिलो रुप हो ।

वास्तुकलाको सन्दर्भमा मिश्रको पिरामिडले महत्त्वपूर्ण स्थान ओगटेको छ । वर्गाकार आकृतिमा तल फराकिलो र माथि साँघुरिदै चुच्चिएको स्मारक पिरामिड नै सर्वप्राचीन वास्तु स्मारक हो । मृत शरीर सुरक्षित राख्न मिश्रको मरुभूमिमा बनेका यस्ता गगनचुम्बी पिरामिड मानव जातिको अद्भूत उपलब्धि हो ।

मिश्रका सम्राट फरुन धनी र प्रभावशाली हुँदै जाँदा पिरामिड बनाइन थालिएको थियो । ईशापूर्व तीन हजारमा फरुनको शव समाधिस्थ गर्न यस्ता विशाल पिरामिड बनाइयो । काहिरा निकट मरुस्थलमा राजा खुपुले भव्य पिरामिड ‘गिजे’ बनाएका थिए । करिब २३००००० ग्रेनाइट ढुंगाका ढिक्काले एक लाख दासी श्रमबाट बनेको ४८१ फिट अग्लो यो पिरामिड ७५० फिट अग्लो जगमाथि बनेको इतिहास छ । मिश्र सभ्यतामा ३० वटा अजङ्गका केही मझौला पिरामिड ज्यूँका त्यूँ छन् । हेरोडोट्सकानुसार मिश्रको इतिहासमा ठूला ढुंगाले बनेका यी पिरामिड बनाउन ३००००० मानिसले २० वर्ष काम गरेका थिए ।

sagarmani mobile size

त्यसताका यस्ता पिरामिडहरु लगायत मिश्रबासीहरुको शिल्प शहर र मन्दिर निर्माणहरुमा पनि उत्तिकै छाएको देखिन्थ्यो । मिश्रमा मन्दिर निर्माण शैली अत्यन्तै भव्य हुन्थे । सुसज्जित शहरमा मन्दिरहरु भव्य रुपमा निर्मित हुन्थे । खासगरी मन्दिरको छेउछाउ शालिकहरु र भव्य मूर्तिहरु सजाइन्थे । कैयन चौक, कलात्मक ढुंगे खम्बाहरु लगायत बैठकहरु बनाउने चलन रहेको पाइथ्यो । खम्बाहरुको वरिपरि कलात्मक नरसिंह मूर्तिबाट सजाइन्थ्यो । सिंहको शरीरमा मानव शिर अंकित रहेको हुन्थ्यो । वास्तुकलामा भित्ते चित्रहरु प्रशस्तै बनाइएका हुन्थे । र, विषयवस्तुमा विशेषतः धर्म, युद्ध र समाजकै विम्बहरु प्रस्तुत हुन्थे । मिश्रकालीन समय वास्तुकलाको पहिचानको समृद्ध थलो थियो ।

मिश्रजस्तै रोम पनि कलाको पुजारी हो । रोममा सिंगमरमरका भव्य महलहरु गुम्बज शैलीमा बन्थे । बेबिलोनमा ईंटाको गारो लगाएर घरहरु बनाउने चलन थियो । बेबिलोनियालीको घर निर्माण प्रायः सामान्य ढंगको हुन्थ्यो । मन्दिरहरु पनि प्रशस्तै बन्थे तर उति बलिया हुँदैनथे । कोठाहरुका भित्ताहरु प्रायः भित्ते चित्रहरुले सिंगारिन्थे । असिरियालीहरु माटोको गारो भएको घर बनाएर बस्थे । ठूला भवनहरुमा सिंह र गोरुको टाउको भएको मूर्ति राख्थे । यिनीहरुले मूर्तिको विकास सँगसँगै मन्दिर र भवनहरुको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

यी कालजस्तै ऋग्वेद कालमा पनि भवन निर्माण कला राम्रो फस्टाएको पाइएको छ । त्यतिबेला सुनियोजित रुपमा नगरहरुको विकास भएको पाइन्छ । त्यसताका घरहरु गोबरले लिप्ने चलन थियो । जो फाट्टफुट्ट रुपमा पूर्वीय भूमिका देहाती र पहाडी क्षेत्रमा अद्यापि कायमै छ । चीनमा वास्तु योजना राम्रा हुन्थे । घर, दरबार काठ र माटोले पालिसदार बनाइन्थे । र हस्तीहाड जोडिएका हुन्थे । यस्तै ग्रिक कला खास गरी मन्दिरमा बढी भेटिन्थ्यो । मध्यकालमा युरोपका वास्तुकला भन्नु नै चर्चका भवनहरु थिए । प्रारम्भिक चर्चहरु रोमेनेली शैलीमा बन्थे ।

यसरी नै क्रमशः बाह्रौं शताब्दीबाट पुनर्जागरण काल हुँदै आजको आधुनिक कालसम्म वास्तुकला आइपुग्दा मानव समाजले यसमा ठूलै उपलब्धि हासिल गरेको छ । यसले मानव सभ्यताको विकासको पहिचानमा ठूलै भूमिका निर्वाह गरेको छ ।

लेखक परिचय

तीर्थ निरौला एक सफल चित्रकारका साथै कडा कला समीक्षकका रूपमा समेत चिनिनु हुन्छ । उहाँका चित्रकलाहरू देशमा मात्र नभएर विदेशमा समेत प्रदर्शित छन् ।

प्रतिक्रिया
Loading...