इतिहास तथ्यहरूको फेहरिस्त हो । इतिहासलाई धेरैजसो तथ्यका रूपमा बुझिन्छ र स्वीकारिन्छ । इतिहासका गर्तहरूलाई खोतल्दा पुरिएका घटनाहरू अस्थिपञ्जरका रूपमा मात्र निस्कन्छन् । तर, ती अस्थिपञ्जरहरुमा कस्ता भावनाहरू थिए भन्ने कुराको चासोलाई कान्छा महारानीजस्ता आख्यानहरूले निकै हदसम्म पाठकहरूलाई तृप्त पारिदिन्छ भन्ने कुरालाई नकार्न सकिँदैन् । त्यसैले, ऐतिहासिक विषयवस्तुहरूमा जब संवेदनाहरु वा कल्पना भरिन्छ तब त्यो रोचक विषय बनेर प्रस्तुत हुन्छ ।

“द अदर क्वीन” इतिहासका तथ्यहरूलाई आधार बनाएर लेखिएको उपन्यास हो भने “कान्छा महारानी” यसको अनुवाद । इतिहासका विषयलाई आख्यानीकरण गर्नु भनेकोे यसको विश्वसनियतालाई समेत कायम राखिराख्नु आवश्यक भएकोले यो लेखकका निम्ति चुनौतीपूर्ण पनि हु्न्छ जस्तो लाग्छ ।

यो उपन्यास मूलतः राजा राजेन्द्रकी कान्छी रानी अर्थात् राज्यलक्ष्मीको दृष्टिकोणबाट लेखिएको छ । रानी राज्लक्ष्मी नै सम्पूर्ण कथाकी केन्द्रबिन्दु पनि हुन् । राजा राजेन्द्रले कान्छीलाई जेठी महारानीभन्दा कम महत्त्व दिएको , जसले कान्छी महारानीमा उत्पन्न हिनताबोध वा लघुताभासका कारण उनमा पैदा भएको अस्थिर मानसिकता, काजी गगनसँगको क्रमिक रुपमा विकसित भएको उनको प्रेमसम्बन्ध, जेठी महारानीको मृत्युपश्चात् राजकाजमा आफ्नो वर्चश्वको स्थापित गर्न सफल हुन पुगेको अवस्था, जंगबहादुरको शासनमा जमाएकाे अधिपत्य आदि ऐतिहासिक घट्नाहरूलाई यो उपन्यासले मिहीन रुपमा पस्किन सफल भएको छ । कान्छा महारानी मानवीय संवेदनाहरुले भरिपूर्ण भएकोले पढ्दै गर्दा  इतिहासका रोचक दस्तावेज हाम्रा सामुन्ने पटकपटक उभिएका प्रतित भइरहन्छ ।

यद्यपि , ऐतिहासिक घट्नाका आधारमा लेखिएको उपन्यास भए तापनि नेपालको इतिहासमा कोतपर्वजस्तो रक्तरंजित घट्नालाई मूलतः रानीको महत्वाकांक्षाको उपजलाई इतिहासका तथ्यहरूले स्वीकारेको विषय हो । दरवारका अनेक भारदार र निर्दोषहरूको ज्यान लिने गरी घटाइएको यस घट्नापश्चात् राणा शासनलाई १०४ वर्षसम्म स्थापित गराउने महानायक जंगबहादुरको उदय भएको कोतपर्वलाई नेपालको राजनीतिक इतिहासमा “टर्निग पोइन्टका” रूपमा लिइन्छ ।

कान्छी र जेठी महारानी दुबै जना सहोदर दिदीबहिनी र एउटै महाराजका रानी भए तापनि आफ्नो हैसियत र राजाले गर्ने बेवास्ताबाट आजित भएकी कान्छी महारानीको केही समयपश्चात् काजी गगनसँग प्रेमसम्बन्ध झाङ्गिन्छ । जसले उनलाई शरिरीक र भावनात्मक तृप्तता पाइरहेकी महशुस गरिरहेकी हुन्छिन् । अनेक चुनौतीहरुका बबजुद पनि सो सम्बन्धलाई उनी तोड्न चाहदिनन् ।

यो कथाको आकर्षक विषयवस्तु आकर्षक भए तापनि सँगसँगै गइरहेको अन्य घट्नाहरू पनि उत्तिकै महत्त्वका छन् । जंगबहादुर सुुरुदेखि नै शासनमा आफ्नो महत्त्वपूर्ण स्थान सुरक्षित बनाउनैका लागि जस्तासुकै कृत्यहरू र दुःखहरू सहन गर्नसमेत पछि परेका छैनन् । आफ्नो सहन गर्ने क्षमताको दह्राे जगलाई साहारा बनाएर दरवारभित्रका किचलोहरूमा आफ्ना महत्वाकांक्षालाई विस्तारै “ फिट” गर्दै जान्छन् ।

राजा भने जेठी महारानीको शेषसम्म जेठी महारानीको राजकाजमा प्रभुत्व र निजको मृत्युपश्चात् कान्छी महारानीले दरवारभित्र शक्ति विस्तार गरिसकेपछि कान्छीकै निर्देशनमा राजकाज सञ्चालन गर्न बाध्य भइरहेका हु्न्छन् । त्यसैले त गगन र आफ्नी रानी बीचको जगजाहेर प्रेमसम्बन्धका बारेमा कुनै प्रश्न गर्न सक्दैनन् । राजा राजेन्द्रलाई असक्षम राजाको दर्जामा इतिहासले पनि उभ्याएको छ ।

कान्छी महारानी आफ्नो प्रेमसम्बन्धलाई ढाकछोप गर्न निकै कसरत गरिरहनुपर्छ । जंगबहादुरसँग उनको नजिक हुनुलाई पनि उनको प्रेमसम्बन्धलाई सुरक्षित बनाउन गरिएको आधार मान्न सकिन्छ ।

कथा पूर्णरूपमा ऐतिहासिक दस्ताबेजमा आधारित भएकोले सो बेलाको अंग्रेजहरूका नेपालमा गाढिदै गएका आँखा, नेपालको सिमानाको रक्षा र विवादका विषयहरुलाई पनि यस उपन्यासले छुटाएको छैन । उपन्यासको प्लट विकसित हुँदै कथा रोचक हुँदै जान्छ ।

दुबै रानीहरुले एकअर्काप्रति देखाउने व्यवहार, सामान्यतया सौता भएका आम स्त्रीहरूले एकअर्काप्रति देखाउने व्यवहारसँग मेल खान्छ । कथालाई रुचिकर बनाउन यी दुबैको आपसी सम्बन्धको वस्तुस्थितिलाई विस्तृत र घनिभूतरूपमा प्रकाश पारेको छ उपन्यासले । रानीले सुरेन्द्रलाई उत्तराधिकारीबाट हटाइ आफ्नो छोरालाई उत्तराधिकारी बनाउने मनशाय र सत्ताको दाउपेचको वरिपरि कथा घुमिरहेको हुन्छ ।

ऐतिहासिक विषयवस्तुमा कल्पना मिसाएर भारतीय साहित्यमा थुप्रै कृतिहरू रचना भएका छन् । इतिहास पढ्नु र अनुभव गर्नु फरक कुरो हुँदोरहेछ । इतिहास सधैँ एउटा क्यानभासमा पोतिएको चित्र झैँ हाम्राे सामु प्रस्तुत भएको हुन्छ । झन् नेपालमा शाह वंशीय शासन व्यवस्थाको भित्री इतिहासमा सबैको पहुँच नभएकाले पनि यस उपन्याको औचित्य वृद्धि हुन पुगेकाे छ ।

दुबै दिदीबहिनीहरूको विवाह कसरी र किन एउटै पुरुषसँग भएको थियो ? भन्ने कुरालाई प्रकाश पारिएको छैन । अर्थात्, रानीका विवाहअघिकाे परिवेश के हो ? भन्ने खुल्दुलीलाई उपन्यासले सम्बोधन गरेको छैन ।

कथाको अन्त निकै दर्दनाक छ, कोतपर्वसम्मको घटनाभित्र कथावस्तुलाई सीमित पारिएको छ । अर्थात् सत्ताको शक्ति राजपरिवारसँग रहुन्जेलसम्म मात्र कथाको विषयवस्तु हाे । कथाको अन्तिम दृश्यहरू चलचित्रका अन्तिम दृश्यहरुजस्तै सनसनीपूर्ण छन् ।