कवि मणि मोहनको परिचय
कवि तथा अनुवादक मणि मोहनको जन्म २ मई १९७६ मा सिरोंज (विदिशा) मध्यप्रदेशमा भएको हो । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र शोध उपाधि हासिल गरेका उनका कविताहरू देशका महत्त्वपूर्ण साहित्यिक पत्रपत्रिकाहरू (पहल, वसुधा, अक्षर पर्व, समावर्तन, नया पथ, वागर्थ, बया, आदि) मा अनुवाद प्रकाशन भएका छन् । वर्ष २००३ मा उनको मध्यप्रदेश साहित्य अकादमीको सहयोगमा कवितासङ्ग्रह ‘कस्बे का कवि एवं अन्य कविताएँ’ प्रकाशित छ । वर्ष २०१२ मा रोमेनियन कवि मारिन सोरेसक्युका कविताहरूको अनुवाद पुस्तक ‘एक सीढ़ी आकाश के लिए’ उद्भावनाबाट प्रकाशित छ । वर्ष २०१३ मा अंतिकाबाट कवितासङ्ग्रह ‘शायद’ प्रकाशित भएको छ । यसै सङ्ग्रहका लागि उनले २०१४ मा मध्यप्रदेश हिन्दी साहित्य सम्मेलनद्वारा प्रतिष्ठित वागीश्वरी पुरस्कार प्राप्त गरेका छन् । सन् २०१६ मा उनको ‘दुर्दिनों की बारिस में रंग’ र टर्किस कवि मुइसेर येनियाको अनुवाद कविता ‘अपनी देह और इस संसार के बीच’ प्रकाशित छन् भने २०२० मा उनको ‘भेडियों ने कहा शुभरात्रि’ कवितासङ्ग्रह प्रकाशित छ । प्रायः छोटो आयमका तीव्र संवेदनायुक्त कविता लेख्न रुचाउने कवि मणि मोहन शासकीय स्नातकोत्तर महाविद्यालय, गंज बासौदामा अङ्ग्रेजी विषय अध्यापन गर्दछन् । भाषान्तर कविताको यस शृङ्खलामा उनका केही कविताहरू समावेश गरिएका छन् ।
१. धार
मणि मोहन
घुमाइदेऊ अरु एकचोटि
दुखको पाङ्ग्रो
अहिले जीवनमा
अझै अरु
धार लाग्न
बाँकी छ ।
***
२. गुलाब
मणि मोहन
बडो अधुरोजस्तो लाग्दै छ
यो गुलाब
रङ
बासना
ताजापन
सबैथोक त छ
छैन भने
मात्र कुनै काँडा
बिझाइरहे झैँ छ
यो गुलाब ।
***
३. यो जून
मणि मोहन
कथा सकियो
तर चाहन्थ्यो एउटा हठी बालक
यो नसकियोस् अहिले
कथाको अन्त्यबाट उसले
टिप्यो पूर्णविराम
र फ्याँकीदियो
अन्धकार आकाशतिर ।
***
४. त्यान्द्रो र भाषा
मणि मोहन
निकै गह्रौँ हुन्छ
एउटा त्यान्द्रो पनि
सोधिहेर कहिले
कुनै चरासँग !
***
५. सपना
मणि मोहन
जसरी निद्रामा फुलेको
कुनै फूलमा
चुपचाप आएर बसोस्
कुनै निश्चिन्त पुतली ।
***
६. साँझ
मणि मोहन
साँझ पर्नासाथ
आआफ्नै घरतिर
फर्किए चराहरू
फेरि आज
झारेर गए
आफ्ना छायाहरू
मेरो छतमाथि ।
***
७. गुँड
मणि मोहन
मात्रै त्यान्द्राहरूबाट
बन्दैनन् गुँडहरू
हेर ! गहिरिएर हेर
यो सृष्टिलाई
देखिने छन्
यताउति
झरेका केही प्वाँखहरू पनि ।
***
८. पराजित
मणि मोहन
छोडिआएँ
आफ्ना कविताहरूलाई
सम्मान तथा पुरस्कारहरूको
घना र अन्धकार दुर्गमको
मुहानतिर…
फर्कीआएँ एक्लै
र पराजित ।
***
९. हरेकचोटी दङ्गामा
मणि मोहन
घरभित्रै
मारियो विश्वास
गल्लीको मोडमा
मारियो मित्रता
गाउँ, बस्ती, सहर, महानगर
मारिए सबैसबै
र, यी सबसँगै
मारियो देश पनि ।
***
१०. आकाश
मणि मोहन
कहिलेकाहीँ
कति स्वाभाविक लाग्छ
यो आकाश पनि
जस्तो कि बेरेकी हौ तिमीले-
हलुका आकासे रङको साडी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।