१. पहिलो लघुकथा

(डोटेली भाषाको पहिलो लघुकथा)

अहिंसा परमो धर्म
पुष्करराज भट्ट

आज बुद्ध जयन्ती । जुजुमानमा अलग्गै प्रकारको उत्साह पलाएको छ । “ ए ढिलो हुन लाग्यो । छिटो गर छिटो । जुलुुसमा छिट्टै पुग्नुपर्छ ।” ऊ आफ्ना परिवारगण सबैलाई बुद्ध जयन्ती समारोहको जुलुसमा लैजानका निमित्त कटिबद्ध देखियो । आफूलाई बुद्धको सच्चा अनुयायी देखाउन चाहन्थ्यो ऊ ।

जुलुस प्रारम्भ भयो । जुजुमान पनि परिवारगण सहित स्वरमा स्वर मिलाउँदै नारासँगै अगाडि बढयो । केही समयपछि र्याली समाप्त भयो । सबै मानिस जस्तै ऊ पनि आफनो गन्तव्यतिर लाग्यो ।
केही समय पछिको कुरा हो । आफ्नो नियमित दिनचर्या जस्तै जुजुमान आफनो होटलको काममा लाग्यो । उसलाई कामदारहरूले काममा ढिलासुस्ती गरेजस्तो लाग्यो । त्यसपछि ऊभित्रको साहु जुर्मुरायो अनि बेस्सरी करायो, “ ए सन्ते, हैन तैंले मासु काटिस् कि काटिनस् ? ग्राहकले मागेको बेला दिन सकेन भने के होला ? ”
क्यासेटमा बुद्धको अहिंसासम्बन्धी भजन जोर–जोरले घन्किरहेको थियो ।
–चेतना वर्ष १ अंक १, २०६३ विजयादशमी

###
(डोटेली भाषामा पहिलो लघुकथा २०६३ सालमा “चेतना” पत्रिकाको वर्ष १ अंक १ मा छापिएको पाइन्छ । पुष्करराज भट्टले लेखेको यो लघुकथा उनकै लघुकथा संग्रह “एक थोपा सागर – २०६४” मा प्रकाशित पनि छ ।
डा.पुष्करराज भट्ट नेपाली लघुकथामा विद्यावारिधि गर्ने प्रथम व्यक्ति हुन् । उनी नेपाली लघुकथाको अध्ययन, अनुसन्धान र विकासमा लागेका छन् । लघुकथा समाज, नेपालसंग आबद्ध डा. भट्ट “आधुनिक नेपाली लघुकथा” फेसबुक ग्रुप पेजको संस्थापक एडमिन पनि हुन् ।
प्रस्तुत लघुकथा “अहिंसा परोमो धर्म” ले मान्छेको कथनी र करणीको भेद प्रस्तुत गरेको छ ।)

 

२. सकृयकालीन लघुकथा

आतङ्क-छायाँ
रासा

ठम्ठम्ती बुट बजार्दै ऊ समीप आयो , र कडा स्वरमा बोल्यो -” ए कवि , के गरिरहेका छौ ?”

कवि मौन रह्यो ।

ऊ पुन: बोल्यो -” कविताहरू नलेख अब । लेख्नु नै छ भने अरू कुराहरू लेख , बुझ्यौ ?”

“मेरो कामै हो – लेख्नु । अरू लेख्न आउँदैन मलाई । “- कवि उत्तरित भयो ।

“त्यसो भए , कविता लेख्न त लेख , लेखिएको कविता नछाप ।”- उसले आदेश दियो ।

कविले तत्क्षण जवाफ दियो -” नछापिए कविताको मूल्य नै रहँदैन । छाप्नुपर्छ ।”

ऊ रिसको आवेगमा करायो,  “बढी नबोल कवि ! तिमी कविता त लेख्न सक्छौ , लेख । छाप्न पनि सक्छौ , छाप । तर त्यो मेरो नाममा छापिनुपर्छ । नत्र ……।”

कवि अवाक् रह्यो ।

वातावरण सुनसान ।

###
(नेपाली लघुकथामा ५० को दशकलाई सकृयकालीन समय मानिन्छ । यही समयदेखि नै लघुकथामा काव्यिक चेत सहित् लघुकथाकार रासाले कलम चलाएका हुन् । रासा कवि, गजलकार र कथाकार भएकाले पनि लघुकथालाई लय र गति दिन खप्पिस छन् । शब्दहरूको सटिक छनोट उनको लेखनीको विशेषता हो ।
प्रस्तुत लघुकथा “आतङ्क-छायाँ” मा लघुकथाकार रासाले कवितालाई विषय बनाएर काव्यिक पारामा साहित्यमा अधिनायकवादको तीखो व्यङ्ग गरेका छन् । कथाले राजनीतिलाई पनि छोएको छ भनि महसुस गरियो भने त्यो लघुकथाकारको निजि सफलता हो ।)

 

३. मलाई मन परेको लघुकथा

कमरेड कुक
राजव

ऊ राजधानीको एउटा अत्यन्त चालु केटरिङ्ग सर्भिसको कुक हो । विचारले ऊ कम्युनिष्ट हो । त्यस कारण ऊ त्यही विचारको एउटा पार्टीको सदस्य पनि हो । उसको साहु उसलाई कमरेड कुक भन्नेगर्छ । एक दिन उसले आफ्नू त्यस कमरेड कुकलाई सोध्यो,
” तँ र ममा के फरक छ तँलाई थाहा छ …..? ”
” छ ।”
” के ? ”
” तपाइँ साहु ,म कुक …।”
” गलत .. । ”
” किन ? ”
” किनभने म स्वतन्त्र छु, तँ छैनस् , त्यस कारण म साहु भएँ, तँ कमरेड कुक……। ”

###
(स्रष्टा राजव नेपाली कथाको विशिष्ट हस्ताक्षर हुन् । पछिल्लो दुई दशक उनी विदेशी भूमिमा रहेर पनि निरन्तर र उत्कृष्ट साहित्यिक सृजाना गरिरहेका छन् । चुपचाप साहित्य सृर्जना गरी पाठकको मस्तिष्कमा रहनु स्रष्टा राजवको खुबी हो ।
पछिल्लो समय लघुकथामा पनि कथाकार राजवको रुचि देखिएको छ । “देशमा बाङ्गिन थालेको राजनीतिले गर्दा” नामक लघुकथाको पाण्डुलिपिबाट लिइएको प्रस्तुत “कमरेड कुक” लघुकथा आफैमा सफल लघुकथा हो ।कथालाई सिलसिलामा उनेर अन्त्यमा पाठकलाई तरङ्ग छोड्नु राजवको कथाकारिताको विशेषता हो । प्रस्तुत लघुकथाले वर्तमान राजनीतिलाई झटारो त हानेकै छ यसको अलावा यसले तथाकथित साम्यवादलाई पनि दह्रो व्यङ्ग गरेको छ ।)