भालोज्या आयो ! – कसैले चोक-आँगनमा करायो । भालोजिछ्का आउनुभयो !
– नातालिया चिच्याइन् डाइनिङ् हलतिर दगुर्दै । आहा, हे भगवान ! कराल्योफको सम्पूर्ण परिवार, जो घण्टा घण्टामा आफ्नो भालोज्यालाई पर्खिरहेको थियो, झ्यालतिर हुत्तियो । प्रवेशद्वारनिर स्लेज (बेपहियाँको गाडी) थियो, र यहीँ सेता – सेता घोडाहरूको त्रोइका (तिकडी) बाट बाक्लो तुवाँलो निस्किरहेको थियो । स्लेज खाली थियो, किनकि भालोज्या हलमा पुगिसकेको थियो र राता राता कठाङ्ग्रिएका औँलाहरूले आफ्नो बाहिरी कोट (हुड) खोल्दै थियो । उसको जिम्नाजियमको ओभरकोट, (हिउँ पर्दा लगाउने) टोपी, ओभरशुज्, कञ्चटका रौँ सब बरफले ढाकेको थियो, अनि उसले पूरापूर शीरदेखि पाउसम्म त्यस्तो मीठो हिउँको वासना दिइरहेको थियो, उसलाई हेर्दाखेरि एउटा चिसो अनुभूत गर्न र “बररर् !” भन्न मन लाग्थो । आमा र अन्टी हुत्तिएर म्वाइ खान गए उसलाई, नातालिया चाहिँ उसको गोडातिर परिन् र उसका पञ्जाहरू फुकाल्न लागिन्, बहिनीहरूले हो-हल्ला गरे, ढोका बज्यो, ताली बजे, अनि भालोज्याको बुवा चाहिँ एउटा गञ्जीमा नै हातमा कैँची लिएर अग्र भागतिर दगुरे र डर मानेको जस्तो गरी कराएः – हामीले तिमीलाई हिजै पर्खिबसेका थियौँ ! राम्रोसँग आइपुग्यौ के ?
राम्रैसँग ? हे भगवान, उसलाई बुवासँग अभिवादन गर्न त देऊ ! के म बुवा होइन कि कसो ? भौँ ! भौं ! धोद्रो स्वरले गर्ज्यो मिलोर्द्, भीमकाय कालो डाँगे कुकुर पुच्छरले भित्ता र फर्निचरमा यताउता पार्दै । यो सब एउटा गाढा हर्षित् आवाजमा मिसिएको थियो, जो अन्दाजी दुई मिनेट लम्बिएको हुँदो हो ।
खुशीको पहिलो क्षण सिद्धिँदै गर्दा कराल्योफहरूले के थाहा पाए भने अगाडिपट्टि भालोज्याबाहेक अर्को पनि बसेको थियो एक जना सानो केटो, (टाउकोमा) रूमाल बेरेको, (जीउमा) पछ्यौरा ओढेको, ….. हिउँले ढाकिएको । ऊ कुनै चल – हल नगरीकन कुनातिर उभिएको थियो, एउटा ठूलो फ्याउरोको न्यानो ओभरकोटमा ।
-भालोजिछ्का, यो को हो नि ? –आमाले सोधिन् खानेखुशीको आवाजले ।ओहो ! यसो संझियो भालोज्याले । यो, परिचय गर्ने सौभाग्य पाऊँ, मेरो साथी छिछिभित्स्ईन्, दोश्रो कक्षाको छात्र ….। मैले उसलाई सँगै ल्याएको छु हामीकहाँ पाहुनाको रूपमा । – एकदम खुशीको कुरा, कृपा होस् ! –बुवा चाहिँले भने खुशीसाथ । माफ गर्नुहोला, म घरायसी रूपमा, बिना कुनै औपचारिकता । स्वागत छ !
नातालिया, छिरिपित्स्ईन् महोदयलाई लुगा फुकाल्न सघाऊ न ! हे भगवान, यो कुकुरलाई उता लखेटो न ! यो त सजायँ भयो नि ! यो त अझै गुलाफी नै छ चिसोले गर्दा, टेबुल छेउमा बसे र चिया पिए । हिउँदको सूर्य हिउँ भएर, बुट्टाहरू झ्यालमा परेर निस्कँदै गर्दा ‘समाभार’मा टिलपिल-टिलपिल गर्थे र आफ्ना किरणहरू फरफरिएको कपमा पौडी खेल्थे । कोठामा न्यानो थियो, अनि केटाहरू यस्तो अनुभूति गर्थे, कसरी उनीहरूका ठिहिरिएका जीउमा एक अर्कालाई छोड्न नचाहेर न्यानो र कठ्याङ्ग्रिदो चिसो गर्दै थिए काउकुती एकआपसमा । – अनि अब त छिट्टै ख्रिस्टमस् पनि आइहाल्यो ! – बुवाले भने यसै कालो – खैरो सुर्ती -बट्टाबाट सुर्ती निमोठ्दै । -धेरै नै भयो गर्मी गएको पनि, आमा रोएकी थिई तिमीलाई बिदाइ गर्दा ? अब तिमी फर्केर आयौ नि … । समय, छ नि बाबु, छिटै बित्छ ! हाइ गर्न भ्याएको हुँदैनस्, बूढ्यौली लागिहाल्छ ।
छिबिसिन् महोदय, खानुहोस्, म अनुरोध गर्छु, लाज नमान्नुहोस् ! हामीकहाँ सामान्य छ । भालोज्याका तीन बहिनीहरू काच्या, सोन्या र माशा – यिनीहरूमध्ये जेठी एघार वर्ष पुगेकी थिई – टेबुलमा बसेका थिए र नव परचितबाट आँखा झिम्म गर्थेनन् । छिछिभित्स्ईन् पनि उस्तै उमेर र कदको थियो, भालोज्या जस्तै, तर त्यस्तो भुक्के र गोरो होइन, बरू दुब्लो, गहूँगोरो थियो, चायाँले भरिएको । कपालहरू उसका ठाडा-ठाडा थिए (सुँगुरको) जगर जस्तै, आँखा चिम्सा थिए, ओठ मोटा-मोटा थिए, समष्टिमा थियो त ऊ एकदम नराम्रो केटो, उसको शरीरमा जिम्नाजियमको ज्याकेट नहुँदो हो त, उसको बाहिरी आकृतिबाट उसलाई भान्सेको छोराको रूपमा लिन सकिन्थ्यो । ऊ अँधेर मुखे थियो सधैँ चूप रहने, अनि एक ताल पनि हाँसेको होइन । केटीहरूले उसलाई हेरेर तुरून्तै के चाहिँ बुझे भने यो, वास्तबमा, एउटा बुद्धिमान र विद्वान लडका हुनु पर्छ । ऊ केको बारेमा हो त, सधैँ सोच्थ्यो, र आफ्ना विचारहरूले ऊ यतिबिघ्न व्यस्त हुन्थ्यो कि कुनै कुराको बारेमा कसैले सोद्दाखेरि ऊ झस्किन्थ्यो, टाउको झट्कार्थ्यो र सवाल दोहर्याउन अनुरोध गर्थ्यो ।
केटीहरूले के बुझे भने भालोज्या पनि सधैँ हँसिलो, गफाडी केटो, यस पाली त समष्टिमा हाँस्दै हाँस्थेन र मानौँ कि घरमा आएकोमा पनि ऊ खुसी थिएन । चिया पिउँदै गर्दा उसले बहिनीहरूलाई एक ताल मात्र संबोधन गर्यो, त्यसमा पनि कुनै अचम्मका शब्दहरूले । उसले ‘समाभार’तिर देखायो र भन्योः – क्यालिफोर्नियामा चाहिँ चियाको सट्टामा जिन पिउँछन् । ऊ पनि कुनै विचारहरूमै व्यस्त हुन्थ्यो, र ती मुखाकृतिहरू, जसले ऊ आफ्नो साथी छिछिभित्स्ईनसँग आदान-प्रदान गर्थ्यो, को आधारमा भन्दाखेरि, (यी दुबै) केटाहरूका विचारहरू साझा थिए ।
चियापछि सबै बाल-कोठातिर लागे । बुवा र छोरीहरू टेबुलको आडमा बसे, अनि आफ्ना कामतिर लागे, जो केटाहरूको आगमनसँगै रोकिएको थियो । उनीहरूले रङ्गीचङ्गी कागजहरूबाट फूलहरू र रिबन बनाउँदै थिए ख्रिष्ट्मस् ट्रीको लागि । यो मनोरंजक र हो-हल्लाको काम थियो । हरेक पुनः निर्मित फूललाई केटीहरू हर्षोल्हासको चिच्याहटसाथ स्वागत गर्थे, संत्रासको चिच्याहटले समेत, मानौँ यो फूल आकाशबाट झरेको हो; बुवा पनि खुशी हुन्थे र यदाकदा कैँची भुईँमा फाल्थे, उनीहरूसँग रिसाएर यसकारण कि उनीहरू बुद्दू छन् । आमा चाहिँ बाल-कक्षमा दगुर्दै पस्थिन् एकदम चिन्तित अनुहार लिएर, सोध्थिन् – कसले लियो मेरो कैँची ? फेरि पनि तिमीले नै लियौ, इभान् निकालाइछ्, मेरो कैँची ? हे भगवान, कैँची समेत दिँदैनन् ! –जवाफ दिन्थे इभान निकालाइछ् रूञ्चे स्वरमा, र कुर्सीको पछाडिपट्टी यसो अढेस लाउँथे अपहेलित मान्छेको मुद्रामा, तर एकछिनपछि पुनः हर्षित हुन्थे ।
पहिले पहिलेका आफ्ना आगमनहरूमा भालोज्या पनि ख्रिष्ट्मस ट्रीको तयारीमा जुट्थ्यो, वा आँगन-चोकमा दौडेर पुग्थ्यो, कसरी सइस र गोठालो हिउँको ढिस्को बनाउँदै छन् भनी हेर्नको लागि, तर अहिले चाहिँ ऊ र छिछिभित्स्ईनले बिबिध रङगको कागजमा कुनै ध्यान दिएनन् र एक ताल पनि तबेलामा पुगेनन्, बरू झ्यालको आडमा बसे र केको बारेमा हो त खास-खुस गरे; यसपछि यी दुबैले भूगोलको नक्सा खोले र कुनै नक्सा अवलोकन गर्न थाले ।- पहिले पेर्ममा…. – बिस्तारै बोल्यो छिछिभित्स्ईनले …. – त्यताबाट च्युमेनमा … पछि तोम्स्क्मा … त्यसपछि …त्यसपछी …. कमछ्यात्कामा …. । यहाँबाट नेनेत्स्हरूले डुङ्गामा तारिदिने छन् बेरिङ् खाडी हुँदै …. । यी यही हो अमेरिका तँलाई …। यहाँ थुप्रै भुत्ले जनावरहरू छन् । अनि क्यालोफोर्निया ? – सोध्यो भालोज्याले ।
क्यालिफोर्निया तल … । आमेरिकामा झर्न पाए मात्र, क्यालिफोर्निया डाँडाहरूको पारिपट्टी त हो । आफूलाई चाहिने खाना शिकार गरेर र लुटेर जोहो गर्न सकिन्छ । छिछिभित्स्ईन दिनभरि नै केटीहरूबाट टाढिन्थ्यो र आँखीभौँ खुम्च्याएर उनीहरूलाई हेर्थ्यो । बेलुकाको चियापछि यस्तो भयो कि उसलाई एक्लै छोडिदिए केटीहरूसँग पाँच मिनेटको लागि । असहजै थियो चूप लाग्नु । उसले बेस्सरी खोक्यो, दाहिने हत्केलाले देब्रे हात पुछ्यो, अँध्यारो मुखले काच्यालाई मुसार्यो र भन्यो : – तपाईँले माइन रिडलाई पढ्नुभएको छ ? छैनँ, पढेकी छैनँ … । सुन्नुहोस् त, तपाईँलाई स्केटिङ् गर्न आउँछ ? आफ्ना विचारमा सोच – मग्न भएर छिछिभित्स्ईनले यो प्रश्नमा कुनै उत्तर दिएन, आफ्ना गालातिर बरू एकदम फुक्यो र यस्तो निस्वास लियो, मानौँ उसलाई एकदम गर्मी भएको थियो भनेर । उसले पुनः आँखा उठायो र काच्यालाई भन्यो, – जब जंगली भैँसीहरू पाम्पासमा दगुर्छन्, जमीन थर्किन्छ, अनि यस बेलामा सन्त्रस्त मस्ट्याङ्हरू खुट्टा बजार्छन् र हिनहिनाउँछन् । छिछिभित्स्ईन् उदासीनताका साथ मुस्कुरायो, अनि थप्यो : – यस्तै रेड इन्डियनहरू रेलहरूमाथि जाइलाग्छन् । सबभन्दा खराब त मच्छड र दिमक-कीराहरू हुन् । – अनि यो के हो नि ? यो कमिलाहरू जस्तै हुन् मात्र पखेटा भएका । एकदमै
टोक्छन् । थाहा छ, म को हुँ ?
–छिछिभित्स्ईन् महोदय ।
होइन । म मोन्टिगोमो हुँ । बाजको पञ्जा, अजेय नेता । माशा, सबभन्दा सानी केटी, ले उसलाई हेरी, अनि झ्यालतिर हेरी, जसको पछाडि साँझ परिसकेको थियो, सोच्-मग्न भएर भनी : – अनि हामीकहाँ हिजो मुसुरोको दाल पकाथे ।
छिछिभित्स्ईनका सबभन्दा नबुझिने शब्दहरू यी पनि थिए कि ऊ बारंबार भालोज्यासँग कानेखुसी गर्थ्यो, अनि त्यो पनि कि भालोज्या खेल्थेन, बरू केको बारेमा हो त सोचिरहन्थ्यो, – यो सब सहस्यमय र अचम्मको थियो । दुबै ठूला बहिनी, काच्या र सोन्या, ले चाहिँ तीक्ष्ण दृष्टिले केटाहरूका क्रियाकलापहरूको चियो गर्न थाले । बेलुका, जब केटाहरू सुत्न पल्टिन्थे, केटीहरू लुसुक्क ढोकानजिक आउँथे र उनीहरूका कुराकानी लुकेर सुन्थे । ओ, उनीहरूले के थाहा पाए त !
केटाहरू कता हो अमेरिकातिर भाग्न तयारी गर्दै थिए सुन र हस्तिहाड खोज्न; उनीहरूको बाटोको लागि सब तयार थियो, पिस्तोल, दुईवटा चक्कु, सुकाएको पाउरोटी, आगो पार्नको लागि आवर्धक (म्याग्नीफाइङ्) सिसा, कम्पास र चार रूबल पैसा ।उनीहरूले के पनि थाहा पाए भने केटाहरूलाई केही हजार कोश बटो पार गर्नु पर्ने हुन्छ पैदलै पैदल, अनि बाटोमा बाघहरू र जङ्गली जनावरहरूसँग लड्नु पर्ने हुन्छ, त्यसपछि सुन र हस्ति हाड खोज्ने, वैरीहरूलाई मार्ने, समुद्री डाँकाहरूभित्र छिर्ने, जिन पिउने र अन्ततः सुन्दरीहरूसँग विवाह गर्ने र प्लान्टेशनको लागि आबाद गर्ने ।
भालोज्या र छिछिभित्स्ईन् कुरा गर्थे, अनि उत्तेजित भएर एक अर्कालाई उछिन्थे कुराकानीमा। आफूलाई यहाँ छिछिभित्स्ईनले यो नाम दिन्थ्यो : -“ मान्चिगोमः यास्त्रीब्न्ईइ कोगच्” (मोन्टिगोमो वाजे पञ्जा), अनि भालोज्यालाई – ब्लेद्नलित्स्ईइ ब्रात मोइ ( फिकाचेहरी भाइ मेरो) । – तँ हेर् नि, आमालाई चाहिँ नभन् नि, – काच्याले भनी सोन्यालाई, उसँगै सुत्न जाँदै गर्दा । भालोज्याले हामीलाई अमेरिकाबाट सुन र हस्तिहाड ल्याइदिने छ, यदि तैँले आमालाई भनिस् भने, उसलाई छोड्ने छैनन् ।
ख्रिष्ट्मसको पूर्वसन्ध्यामा छिछिभित्स्ईन् दिनभरि एशियाको नक्सा हेरिरहन्थ्यो, अनि के हो लेख्थ्यो; भालोज्या, निस्तेज, बारूलाले टोकेको जस्तै भुक्क परेको केटो चाहिँ उदास भएर कोठाहरूमा यताउता गर्थ्यो, अनि केही पनि खान्थेन । एक चोटि त बाल-कोठामा क्राइष्टको मूर्तिसामु टक्क रोकियो, क्रस बनाएर ढोग्यो र भन्योः – परमेश्वर, म पापीलाई क्षमा गर ! भगवान, मेरी विचरी आमालाई रक्षा गर ! बेलुका हुँदो खूब रोयो ऊ । सुत्न जाँदाखेरि उसले धेरै बेरसम्म बुवा, आमा र दिदीबहिनीहरूलाई अङ्कमाल गर्यो । काच्या र सोन्याले बुझेका थिए यहाँ कुरा के भइरहेको छ भनेर, तर सबभन्दा कान्छी चाहिँ माशालाई केही सुझिरहेको थिएन, साँच्चै केही पनि बुझिरहेकी थिइन, मात्र छिछिभित्स्ईनको चेहराबाट चिन्तामग्न थिई र लामो सास फेरेर भनीः – व्रतको बेलामा, न्यानी भन्छिन्, केराउ र मुसुरो खानु पर्छ … । ख्रिष्ट्मसको दिनमा बिहान सबेरै काच्या र सोन्या बिस्तारै बिछ्यौनाबाट उठे र हेर्न गए कसरी केटाहरू अमेरिका भाग्ने छन् भनेर । बिस्तारै ढोकानिर पुगे । – त्यसो भए तँ नजाने भइस् त ? –रिसाएर केरकार गर्दै थियो छिछिभित्स्ईनले । बोल्, जाँदैनस् ? भगवान ! –बिस्तारै रुँदै थियो भालोज्या । – म कसरी जान्छु र ? मलाई आमाको दुःख लाग्छ । मेरो पीतमुखवाला भाइ, म तँलाई बिन्ती गर्छु, जाऔँ ! तैँले मलाई विश्वास दिएको थिइस्, जान्छु भनेर, आफैँले मलाई धोका दिइस्, अनि कसरी जाने, यी यसरी डराइस् ।- म … म डराएको होइनँ, बरू मलाई … आमाको दुःख लागेको हो । तँ भन्, जान्छस् कि जाँदैनस् ?
म जाउँला, मात्र …मात्र पर्खी । मलाई घरमा केही बस्न मन लागेको छ । – यसो हो भने म आफैँ जान्छु ! –निधो गर्यो छिछिभित्स्ईनले । – तँ नभए पनि चल्छ । अनि बाघहरूको शिकार गर्न, लड्न चाहेको थिइस् ! उसो भए, दे मलाई पिस्तोल ! भालोज्या यति जोडले रोयो कि बहिनीहरूले सहन सकेनन् र उनीहरूले पनि सुँक्क सुँक्क गरे । सुनसान भयो । -तँ जाँदैनस् ? फेरि सोध्यो छिछिभित्स्नले । जा … न्छु । त्यसो भए लगा लुगा ! अनि छिछिभित्स्ईनले भालोज्यालाई फकाउनको लागि अमेरिकाको प्रशंसा गर्यो, बाघ जस्तै गरेर गर्ज्यो, समुद्री जहाजको प्रतिबिंब बनायो, भालोज्यालाई आफ्नो हस्तिहाड दिने कबूल गर्यो, अनि त्यसैगरी सिंह र बाघका सबै छालाहरु पनि दिने वाचा गर्यो । यो पातलो, गहूँगोरो, ठाड-ठाडो कपाल र चायाँ-पोतो भएको केटो केटीहरूलाई चाहिँ असाधारण ढङ्गले बिलक्षण किसिमको लाग्यो । यो एउटा नायक थियो, दृढ, निडर मान्छे, र ऊ यसरी गर्जन्थ्यो कि ढोका बाहिरै उभिँदा पनि सोच्न सकिन्थ्यो, यो कि सिंह हो कि त बाघ भनेर ।
जब केटीहरू आफूकहाँ फर्किए र लुगा लगाए, काच्याले गहभरि आँशू पारेर भनीः –ओहो, मलाई त कस्तो डर लागेको ! दुई बजे, उनीहरू दिउँसोको खाना खान नबसूञ्जेलसम्म, सब सुनसान थियो । तर खाना खाँदाखेरि, अचानक के थाहा भयो भने केटाहरू घरमा छैनन् । (उनीहरूलाई खोज्न) बैठकतिर पठाए, तबेलामा पठाए, कारिन्दा बस्ने टहरामा पठाए – उनीहरू त्यहाँ थिएनन् । गाउँतिर पठाए – त्यहाँ पनि उनीहरूलाई फेला पारेनन् । र पछि चिया पनि केटाहरूबेगर नै खाए, अनि बेलुकाको खाना खान बस्दाखेरि आमा बेसरी आत्तिइन्, रोइन् पनि । राति फेरि गाउँतिर गए, खोजे, टर्च-लाईट लिएर नदीतिर गए । भगवान, कस्तो हो-हल्ला भयो !
भोलि पल्ट एकजना सिपाही आयो, डाइनिङ रूममा बसेर कुनै कागज लेखे । आमा रोइन् । पोर्च (कौसी) निर स्लेजहरू रोकिए, सेता घोडाहरूको त्रोइकाबाट सेतो वाफ निस्किरहेको थियो । भालोज्या आयो ! – कसैले घर-आँगनमा करायो । भालोजिछ्का आउनुभयो ! –नातालियाले चिच्याइन् भोजन-कक्षतिर दगुर्दै । मिलोर्ड पनि करायो धोद्रो स्वरमा ‘भौ ! भौ !” गर्दै ।
के भएछ भने केटाहरूलाई शहरमा समातेछन्, पाहुना चोकमा (त्यहाँ उनीहरू यताउती गर्दै पाउडर कहाँ पाइन्छ भनेर सोध्दै रहेछन्) ।
भालोज्या प्रवेश कक्षभित्र के पसेको थियो, बेस्सरी रोयो र आमाको गलामा हुत्तियो । केटीहरू, थरथर काम्दै, डरलाग्दो किसिमले यस्तो विचार गरे, अब होला, सुन्याथे, जसै बुवाले भालोज्या र छिछिभित्स्ईनलाई आफूकहाँ कार्य-कक्षतिर लगे र धेरै वेरसम्म उनीहरूसँग कुराकानी गर्दै रहे; आमा पनि बोलिन् अनि रोइन् ।- यस्तो गर्नु हुन्थ्यो त ? – विश्वस्त बनाउँदै थिए बुवाले । भगवानले यस्तो नदिऊन्, गिम्नाजियममा थाहा पाऊन् अनि तिमीहरूलाई निकालिदिऊन् । अनि तपाईँलाई लाज लाग्यो, छिछिभित्स्न् महोदय ! नराम्रो हजूर ! तपाईँ त भड्काहा हो, र आशा गर्छु, तपाईँले आफ्ना बुवा-आमाबाट सजायँ पाउनुहुने छ । यस्तो गर्नु हुन्थ्यो त ? तपाईँहरूले रात कहाँ बिताउनुभयो नि ? –प्लेटफर्ममा ! –सगौरव उत्तर दियो छिछिभित्स्ईनले । भालोज्या पछि ओछ्यान पर्यो, अनि उसलाई टाउकोमा सेके अमिलोमा भिजाएको रूमालले । कतै तार-वाणी पठाए, अनि भोलिपल्ट एकजना महिला आइपुगिन्, छिछिभित्स्ईनकी आमा, र आफ्नो छोरालाई लिएर गइन् ।
छिछिभित्स्ईन निस्किँदै गर्दाखेरि उसको अनुहार कठोर, अभिमानी थियो, अनि, केटीहरूसँग बिदावारी हुँदाखेरि उसले एउटै शब्द पनि बोलेन; मात्र काच्यासँग एउटा कापी लियो र संझनाको लागि लेख्योः “मान्चिगोमः यास्त्रेब्न्ईइ कोगच्” (मोन्टिगोमो वाजको पञ्जा) ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।