साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नोवेल पुरस्कारलाई अगस्त स्ट्रिनवर्गको हाँक

Chovar Blues Mobile Size

अगस्त स्ट्रिनबर्ग आफ्नो जन्मदेश स्वीडेनमा कथा, उपन्यास, कविता र आत्मकथात्मक रचनाका लागि उत्तिकै महत्वपूर्ण र विलक्षण प्रतिभा मानिए पनि स्वीडेन बाहिरको संसारमा भने नाटककारको रुपमा बढी चिनिए । र त्यो भन्दा बढी नोवेल पुरस्कारलाई हाँक दिएपछि उनको वारेमा चासो र चर्चा व्यापक र घनिभूत भयो ।
उनको जन्म २२ जनवरी १८४९ का दिन स्टक होममा भएको थियो । उनी पानी जहाजमा शिपिङ एजेण्टको काम गर्ने कार्ल ओस्कार स्ट्रिनबर्ग तथा घरेलु नोकर्नी ईलोनोरा उलृका नोर्लिङका छोराको रुपमा जन्मेका थिए । उनले आफ्नो आत्मकथा “नोकर्नीको छोरा” मा उल्लेख गरे अनुसार उनको वाल्यकाल भावनात्मक असुरक्षा, गरिवी र धार्मिक अन्धाधुन्दता र वेवास्ताले असर पारेको थियो । सानै उमेरमा विभिन्न स्कूलहरुमा उनले भौंतारिनु परेको थियो । उनी १३ वर्षको उमेर पुग्दा उनले मातृ वियोग सहनु पर्यो । त्यतिमात्र नभएर आमा वितेको एक वर्ष नपुग्दै वावुले अर्की स्त्री एमिलिया सारलोट्टा भित्र्याए जसलाई उनले एक निकृष्ट शत्रुको रुपमा लिएको उनका बहिनीहरुको कथन थियो ।
उनले स्कूले शिक्षा सकेर सन् १८६७ मा उप्शाला विश्वविद्यालयमा प्रवेश लिए । तर पढाईलाई पूर्णता दिन सकेनन् । त्यसको मुख्य कारण आर्थिक थियो । उनले काम गरेर पढाई धान्नु परेकोले पढाईमा एकाग्रता दिन सकेनन् । उनले विद्यार्थीकालमै विश्वविद्यालय शहर दक्षिणी स्वीडेनको लुण्डमा औषधी पसलमा सहायकको रुपमा काम पनि थाले । उनले प्राथमिक विद्यालयको शिक्षक तथा दुई प्रख्यात चिकित्सकका केटाकेटीलाई ट्यूसन पढाउने काम पनि गरे । यसरी उनले मेहनत गरेर आफ्नो कमाईले आफ्नो खुट्टामा उभिने काम गरेका थिए । पछि प्राईभेट ट्यूटर भए र अन्तत रोयल थिएटर स्टकहोममा अतिरिक्त कलाकारको रुपमा काम थाले । यो कामले उनको जीवनको लक्ष र उद्देश्यमा पूरै परिवर्तन गरिदियो ।
उनी सन्१८७० को जनवरीमा पुन: उप्साला विश्वविद्यालय फर्किए । यसैवेला उनले चार्ल्स डार्विनको बारेमा जानकारी पाए । उनी यसै ताक “रन सोसाइटी ” को सह संस्थापक बने । यो यौटा सानो साहित्यिक क्लव थियो । उनले डेनमार्कका मूर्तिकार वर्टेल थोर्भाल्स्टनको जीवनमा आधारित एकाङ्की नाटक लेखे -” ईन रोम” । यो नाटक प्रदर्शनका लागि रोयल थियटरले स्वीकार गर्यो र १३ सेप्टेम्बर १८७० मा यसको प्रथम प्रदर्शन भयो । यसरी शुरु भएको नाटक लेखन यात्राले जीवनभर विश्राम लिएन । यो वेग्लै कुरा हो उनको पहिलो महत्वाकाँक्षी नाटक “मास्टर ओलोफ” भने रोयल थियटरले अस्वीकार गर्यो ।
उनी कथा लेखनमा पनि सकृय भए । सन् १८७७ मा उनले पहिलो कथा सङ्ग्रह “टाउन एण्ड गाउन” लेखे जसमा उनले उप्साला विश्व विद्यालयमा व्यहोरेका विसंगतिलाई चित्रण गरेका छन् साथै त्यहाँका प्रोफेसरहरुको आलोचना गरेका छन् ।
लेखनलाई निरन्तरता दिंदै उनले सन् १८७४ देखि ८ वर्षसम्म रोयल लाइब्रेरीमा लाइब्रेरियनको रुपमा काम गरे ।
सन् १८७५ मा उनको भेट २४ वर्षिया सोफियासँग भयो । तिनी मेजर कार्ल गुस्ताफकी पत्नी थिइन् र तिनको यौटा छोरी पनि थियो । उनीहरुको भेट प्रेममा वदलियो । सोफियाले सन् १८७६ मा आफ्नो लोग्नेसँग पारपाचुके गरिन् र सन १८७७ मा अगस्त स्ट्रिण्डबर्गसँग विहा गरिन् ।
यो विवाहको फलस्वरुप चार सन्तान भए । पहिलो सन्तान छोरीको जन्मने वित्तिकै मृत्यु भयो । तर करिन र ग्रेटा दुई छोरीहरु र हान्स छोरो भने सकुशल रहे । सोफियाको घनिष्ठ साथी डेनमार्ककी महिला मेरीसँगको गाढा सम्वन्ध अगस्त स्ट्रिण्डबर्गलाई सह्य भएन र उनीहरु वीच यही कुराले मनोमालिन्य बढ्यो र अन्तत सन् १८८१ मा उनीहरुको पारपाचुके भयो । यो वैवाहिक अन्तरकलह उनका कैयन् नाटकका लागि कथा श्रोत बने । साथै ” डिफेन्स अफ अ फूल” उपन्यासको कथावस्तु पनि उनीहरुको दु:खदायी दाम्पत्यको कथाश्रोत बन्यो । सोफिया र अगस्त स्ट्रिनबर्गको चिनजानीदेखि विवाह हुनुपूर्वको प्रेम समयमा आदान प्रदान गरिएका चिट्ठीहरुको सङ्ग्रह ” हि एण्ड हर” पनि प्रकाशित गर्न चाहन्थे उनको आत्मकथात्मक उपन्यास “द सन अफ द सर्भेण्ट वुमन” को अर्को खण्डका रुपमा, तर प्रकाशकले अस्वीकार गरे ।
अगस्त स्ट्रिन्डवर्गसँग पार पाचुके भए पनि सोफियाले अगस्तका नाटकहरु “जुली”, “द स्ट्रोङ्गर”, “द क्रेडिटर्स” मा अभिनय गरेकी थिइन् ।
सन् १८९३ मा अगस्ट स्ट्रिन्डवर्गको २० वर्षिया अष्ट्रियन लेखिका, अनुवादक फ्रिदा उलसँग भेट भो र उनीहरुले तुरुन्तै विहा पनि गरे । उनीहरुको यौटा छोरी पनि भयो । मारिया निकै चल्तापूर्जा थिईन् । विहा हुने वित्तकै मारियाले बेलायतमा अगस्तका नाटकरु प्रदर्शनको चाँजो पाँजो मिलाइन् । आर्थिक मामला पनि आफैंले सम्हालिन् । तर यो उनको चल्तापूर्जापन अगस्तलाई मन परेन र मारियाको सकृय सहभागितालाई स्वीकारेनन् । यही अस्वीकार नै मनोमालिन्यको कारण बन्यो र यो विवाह २ वर्षमै टुङगियो । उनीहरुको सन्१८९५ मा पारपाचुके भयो ।
अगस्त स्ट्रिनवर्गको तेश्रो विवाह २३ वर्षकी हेरियट बोससँग सन् १९०१ मा भयो । यो तेश्रो विवाहको वेला अगस्त स्ट्रिनवर्ग ५२ वर्षका थिए । तिनी नर्वेली कलाकार थिइन् । उनीहरुको भेट, प्रेम र विवाहको सूत्रधार रङ्गमञ्च थियो । यो विवाहकाल अति छोटो भयो तर अगस्त स्ट्रिन्डवर्गका लागि भने लेखनको उच्चतम उर्वर काल थियो । तर उनको आफ्नै डाढे स्वभावका कारण यो वैवाहिक सम्बन्ध २ वर्ष पनि टिकेन ।
पारपाचुकेपछि बोसले अगस्त स्ट्रिनवर्ग संगको सम्बन्धका बेलाका प्रेमालाप र विवाहका चिट्ठीहरु प्रकाशित गरिन्, जुन उनका जीवनी लेखकहरुले स्ट्रिनवर्गको मनोविज्ञान अध्ययनका लागि सहायक सामाग्रीका रुपमा प्रयोग गरेका छन् ।
अगस्त स्ट्रिनवर्ग र वोसको पहिलो भेट निकै रोमाञ्चक थियो । उनले वोसलाई ढोकामा मधुर मुस्कानकासाथ स्वागत गरेका थिए । उनलाई राम्ररी सजाइएको फलफूल र वाईन प्रस्तुत गरेका थिए । अनि स्ट्रिनवर्गले वोससित उनको ह्याटमा जडित प्वाँख मागेका थिए । वोसले सहर्ष उनलाई दिएकी थिइन् र अगस्त स्ट्रिनवर्गले त्यही प्वाँखमा निव राखेर कलम बनाएका थिए । अनि उनीहरुको बैवाहिक दिनहरुमा जति पनि नाटक लेखे, त्यही कलमले लेखेका थिए । अहिले त्यो स्टकहोमको स्ट्रिनवर्ग म्युजियममा प्रदर्शनका लागि राखिएको छ ।
उनीहरुवाट २५ मार्च १९०२ मा यौटा छोरी पनि भएको थियो-अन्ना मेरी ।
तेश्रो विवाह पनि सफल नभएर पारपाचुकेमा टुङ्गिएपछि उनले अरु विहा गरेनन् ।
लेखन बाहेक उनलाई चित्रकारितामा पनि रुचि थियो । यसको फलस्वरुप उनले सन् १८७२ मा चित्रकला पनि अध्ययन गरेका थिए । उनी कलाकारितामा पनि आफ्नो प्रतिभा देखाउन सक्षम भए ।
उनले लेखेको कथा सङ्ग्रह “गेटिङ म्यारिड” को सन् १८८४ मा प्रकाशन भएपछि धार्मिक कट्टरपन्थीहरुले मुद्दा हाले । उनले त्यस मुद्दाको सामना गरे । उनलाई लगाईएको अभियोग सावित भएन र सफाई पाए ।
अगस्त स्ट्रिनवर्ग आफ्नो जीवनकालमा सपरिवार फ्रान्स, स्वीजरलैण्ड, डेनमार्क अनि जर्मनीमा समेत वसोवास गर्न पुगेका थिए ।
सन् १९०९ को नोवेल पुरस्कारका लागि अगस्त स्ट्रिनबर्गको नाम मनोनयन भएको थियो । उनी पुरस्कारका लागि आशावादी पनि थिए । तर त्यस वर्षको नोबेल पुरस्कार स्वीडेनकै सेल्मा लागरलोफलाई दिईने निर्णय भयो र उनी नोवेल पुरस्कार पाउने प्रथम स्वीडिस तथा प्रथम महिला साहित्यकार बनिन् । यो घोषणाले अगस्त स्ट्रिनवर्गलाई चोट पुग्यो । उनी आक्रोशित भए र संस्थापक अल्फ्रेड नोवेलको ईच्छापत्र अनुसार निर्णय नभएको भन्दै नोवेल पुरस्कार कमिटीलाई नै हाँक दिए ।
उनलाई नोवेल पुरस्कार नदिइएको विरोधमा सोसियल डेमोक्र्याट एलायन्सले चन्दा सङ्कलन गर्यो र उनलाई ” जनताको पुरस्कार” नाम दिएर ४५,००० स्वीडिस क्रोनर हस्तान्तरण गर्यो । यस प्रकरणलाई स्ट्रिनवर्गका मित्र नाथन सोदेब्लोमले नेतृत्व गरेका थिए । यसका लागि कन्जरभेटिभ पार्टी र चर्चले नाथन र स्ट्रिनवर्ग दुवैको आलोचना गरेका थिए ।
यसै साल प्रकाशक अल्वर्ट बोन्नियर्स फोर्लागले उनका समग्र रचना प्रकाशनका लागि सम्झौता गर्यो र दुईलाख क्रोनर लेखकस्व दियो । यो रकम उनले पाँच भाग लगाए-तीन सन्तानलाई एकएक भाग, एक भाग आफूलाई र एक भाग प्रथम पत्नीलाई । उनले पैसा हस्तान्तरण गर्न फिनल्याण्डमा वसोवास गरिरहेका उनीहरुलाई आमन्त्रण गरेका थिए । तर प्रथम पत्नी सोफिया आइनन्, छोराछोरी मात्र आए । अनि सोफियाको भाग पठाइदिंदै उनले भनेका थिए-” यो तिम्री आमालाई, उसँग पुरानो हिसाव मिलाउनु छ ।”
आफूले त्यसरी अनपेक्षित रुपमा त्यो रकम प्राप्त गरेपछि आश्चर्य मान्दै सोफियाले भनेकी थिइन्-” म यसलाई पुरानो हिसावको रुपमा स्वीकार्छु ।
अगस्त स्ट्रिनवर्ग सन् १९११ को क्रिसमसमा निमोनिया भएर बिरामी परे । उनलाई सन् १९०८ मा देखिएको पेटको क्यान्सरले पनि दु:ख दिन थाल्यो । त्यसकै कारण सन् १९०९ को अप्रिलमा अमेरिकामा पहिलोपल्ट मञ्चन हुन लागेको उनको नाटक” द फादर” को प्रदर्शन हेर्न आउन पाएनन् । ६३ वर्षको उमेरमा १४ मे १९१२ का दिन उनको निधन भयो आफ्नै गृहदेश स्वीडेनको स्टकहोममा । उनको ख्याति शिखरमा थियो । उनको निधनमा ६०,००० मानिसले भाग लिएका थिए ।
बाल्टिक सागरको नजिक रहेको स्विडेनमा चल्ने सामुद्रिक लहरले अगस्त स्ट्रिनवर्गको साहित्यिक लहर आज पनि लहराईरहेको छ :

हामी छालहरु

अगस्त स्ट्रिनवर्ग

हामी, हामी छालहरु
त्यसले उछालिरहेछन् बतास
विश्रान्तिका लागि
झुलिरहेका हरित, हामी छालहरु !

भिजेका छौं हामी, र छौं नुनिला
आगोको मुस्लोले झैं चाट्छौं
भिजेका मुस्लो हामी
बलिरहेको, समन गरिरहेको
सफा गरिरहेको, बुझिरहेको
खपिरहेको, समाहित भैरहेको ।

sagarmani mobile size

हामी छालहरु
त्यसले उछालिरहेछन् वतास
विश्रन्तिका लागि ।

०००

२१ फरवरी २०२१, फल्स चर्च, भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया
Loading...