सीमा !
सीमा र म एक समयमा एक अर्कासँग माया गर्दथियौं। म उनको मात्र राजो थिएँ भने उ मेरी एक मात्र सीमा । उनले लेखेका चिट्ठी र मेरा पत्र यसका प्रमाण थिए। हामी एक अर्कामा मिलेझैं थियौं।
म बाहिरका जेलबाट छुटे पछि सर्वप्रथम सीमालाई नै सोधेको थिएँ। भाउज्युले मेरा लुगा थन्क्याउँदै भन्नु भएको थियो, छोड राजु त्यस अर्काकी छोरीका त तीन जना नानी भई सके।
– के भन्नु भो भाउज्यु ?
– तिम्री सीमा भनेकीका त दुई छोरा एक छोरी तीन सन्तान भई सके। उनका पति पनि तिम्रा दाई भन्दा केही साना भए पनि उनीहरूकै उमेरका जस्ता हुन् ।
– के सीमाले…?
– अँ हौ, खोलापारीका अहनजाउ बाबैकी छोरी
-अँ! सीमा ?
उनैको त कुरा हो। भयो थाकेका छौ आराम गर। भरे तिम्रा दाई आएर आराम गराइनस भनी कुरा सुनाउनु हुन्छ। भात खाएर आराम गर भोलि बात मारौंला ।
सीमाको ! अरे ! सीमाले ! मलाई निन्द्रा लागेन । तीन दिनसम्म थाकेको शरीर आँखै लागेनन्। आँखा चिम्लिने कोशिस गरें, कति प्रयास गरे पनि आँखा जोडिएनन्। सीमाले… । सीमाको… !! उज्यालो हुने खेर केही झकाएँ। मेरा जेलका कोठामा आगो लागो भनी सबै चिच्याई रहेका थिए। झ्याप्पै दाह्री भएका जेलरले हस्याङ फस्याङ गर्दै आएर भन्दै गरे जस्तो लाग्दै थियो- ‘मिस्टर राजेन्द्र सिंह तिमीले सीमालाई छोड्नु पर्छ। नत्र-
-नत्र के ?
– नत्र तिम्रो अपराध माफ हुँदैन, मर्नु बाँच्नु तिम्रो खुशी।
– किन मेरो अपराध र सीमामा के सम्बन्ध छ ?
– सम्बन्ध, उनका दुई छोरा एक छोरी तीन सन्तान…म झसङ्ग व्यूझें। जेलर जस्तो पनि लाग्छ, भाउज्यूको आवाज झैं जस्तो पनि लाग्छ। तर दुवै होइन रहेछन्। दिवाल घडीको आवाज रहेछ। उठेर एक गिलास पानी खाएँ, आँग तान्दै सिराने पल्टाएर टक टक्याँए। फेरि सुतें । केही बेर सुतेंछु। पाँच दश दिन व्यस्ततामै बिते। केही मित्रहरू भेट्न आउने र म कसैलाई भेट्न जाने, धेरै वर्ष पछि घर फर्केको हुनाले, मनमा उमङ्गै उमङ्ग भरिएको थियो। भेट भएका पुराना साथी कति र नयाँहरू कतिसँग फेरि पूर्ण नयाँ तरिकाले भेट हुन्थ्यो। मेरो कोठै पनि मेरा लागि पूर्ण नयाँ थियो। घरमा पनि आफै लाज लागेझैं हुन्थ्यो । एक्लै भएका बेला मनका कुनै कुनामा उमङ्ग भएको अनुभव हुन्थ्यो बुबा र ठूल्दाईले बेला-बेला अब त के गर्छस भनी सोधी रहनु हुन्थ्यो। म यसै जवाफ दिन्थें- केही समय विचार गर्छु’
अहिले सोच्न पाएकै छैन भन्द थिएँ।
तर बुबा र ठूलदाईलाई मेरो धेरै चिन्ता भएझैं थियो। सबै भन्दा कान्छो फेरि आमाको मुख न देखेको हुनाले साह्रै माया गर्नु हुन्थ्यो। कतै बिग्रने पो हो कि भन्ने डर रहेको पनि मैले अनुभव गरें। बुबा प्रख्यात ठीकादार र ठूलदाई नामी वकील हुनुहुन्छ। भाउज्यू कालेजमा पढाउने । धन सम्पत्तिको कमी थिएन। तर एउटा काम गर भनी बुबा ढिपी गरी रहनु हुन्थ्यो । धैरै सोचे पछि एक दिन बिहानको चिया खाँदै भने- बुबा दाई, म पहिले बाटै सबैको सेवा गरी आएको हुँ र गरी ल्याएको छु अगाडी पनि गर्ने विचार छ, म राजनीतिमा लाग्छु।
बुबा र भाउज्यू मान्नु भएन, दाई मान्नु भो। अनेक प्रकारले मलाई समर्थन गर्नु भयो। सेवा, राजनैतिक दल मलाई नयाँ थिएनन्। एउटै कुनै दलको न भए पनि राजनैतिक जीवन छात्र जीवनैबाट शुरू भएको थियो। केही कष्ट भएन।
समयको खोला बगेर गई रहन्छ, कसैले रोक्न सक्दैन। जीवन राम्ररी बित्यो भन्न न पाए पनि, राम्ररी कति बिते पनि बित्ती जाने समय। कहिले काहिँ जटिल घडी पनि आयो तर त्यो पनि बित्यो। लागेका घाउहरू भरिन थाले । एक दिन चिया खाँदै गर्दा भाउज्यूले मेरा बिहेको कुरा चलाउनु भयो । बुबाले लाउनु भएको होला । शरम गर्छु भनी भाउज्यूले अभिभारा लिनु भएको होला । मैले समय विचार गर्दै भने-
– भाउज्यु भयोम बिहे गर्दिन।
_ किन अस्ती गरे जस्तो, के हुन्छ र ?
– तपाईंहरू आइमाई जंजाल। विश्वास घातक ।
– के अरे राजु। तिमीहरू लोग्ने मान्छे आइमाई न भए, हात खुट्टा भाँचिए जस्ता । वेटर हाफ हुन्छौ।
– उसो न भएर “सिल्ली हाफ” भए चैं तपाईंहरू आइमाई वचनका पक्का हुनुहुन्न, माया त आज एउटा भोलि अर्को फेरि-फेरि गर्ने। मायालाई माया भन्न खिसी जस्तो लाग्छ।
-ओहो ! तिम्रो त आफ्नी पुरानी मायालुको कुरो जस्तो छ। तिम्रो भूल पनि हुन सक्छ राजु। मान्छे परिस्थितिको दास हो।
– होइन, उनको कुरा होइन, कुरै कुरामा प्रसंगवश आएको हो। ‘बाई द वे’ उनका पति के काम गर्छन् ?
– मेडिकल डाक्टर हुन्, तिमीले पनि त चिन्नु पर्ने त डाक्टर विजय टी.बी. डिपार्टमैण्टमा एम.ओ. छन्।
– चिन्दछु, चिन्दछु। अनि उ चाहिँ काम गर्छिन् ?
– को सीमा उ त गर्दिनन् होला।
डाक्टर, मेडिकल डाक्टर। एम.ओ. हेरौं। जिल मात्र त जितौं, यहाँ जा यता बस भन्दा बस्नु पर्छ। मन्री मेडिकल एण्ड हेल्थ मन्त्रीले औंलामा नचाउने । चुनाउ, मन्त्री सेवा, कार, फ्लेग कार, सभापति, मुख्य अतिथि भाषण। डाक्टर नोकर सेवा के को सेवा ? वेतनको सेवा। राजनितीले पैसाको कुरो सोच्दैन । मन्त्रीले कमाएका पैसाको तुलना हुन्छ र ?… |
– राजु चिया सेलायो होला।
– म चिसै खान्छु।
– चिया त चिया हो। बिहे चाहिँ उमेर बितेर हुँदैन। न डराउ आइमाईहरूसँग न डराउ। बिहे व्यर्थ हुने छैन यति चै ध्यानमा राख।
– साँचो हो र मैले त चिथोर्छन रे भन्ने सुनेको छु।
– मैले ख्याल ठट्टा गरेको मात्र हो। भाउज्यूले के सोच्नु भयो म जान्दिन्, कप र प्लेट उठाएर फर्केर हेर्नु भो, शर्माएर हाँसेझैं भित्र पस्नु भो। म पनि हाँस्दै बसेँ मन तरङ्गित भयो।
एक दिन छेउकै एउटा क्लबमा निम्तो पाएर भाषण दिन गएँ। साफ सफाईका विषयमा बोल्दा-बोल्दै माझमा डाक्टरका मन न परेका कुराहरूको चर्चा गरेर मन न पर्ने कुराहरूको सामना गर्ने सल्लाह दिएँ। युवकहरूले बेला बेलै ताली मारी रहे। अन्तमा विषयमा राम्ररी घुमाई फिराई ल्याएँ। एम.ओ. हरू सबैको सम्झना आयो मैले चिनेका पनि न चिनेका पनि।
पार्टीका कार्यालयमा धेरै बेरसम्म बस्न थालियो । कामका कुरा भन्दा धेरै यसै बात-चित गर्नु, छलफल आदि काम हुन्थ्यो। चिया धेरै खाइन्थ्यो। एक दिन युवा भाईहरूसँग माया प्रीतिको र आइमाइको पनि कुरा निस्कियो । उनीहरूले ध्यान दिए जस्तो लागेर मैले अनेक विश्वास लाग्ने गरि उदाहरण दिँदै भने- आइमाइहरू कपटी स्वार्थी र प्रतीक्षा गर्न न सक्ने, वाचा विर्सने हुन भने। धेरै बेर बात-चित भयो। कसैले विरोध गरे पनि भाईहरू धेरै खुशी थिए। पक्षमा रहनेहरू थिए। बेलुका ढिलो फर्कदा, आफै खुशी थिएँ। आफ्नै सूरमा थिएँ।- प्रेम- पागल भएर, प्रेक्टिकल न भएको, बुद्धको काम | जवानहरूलाई वर्वाद गर्ने। आधुनिक माया प्रेमका काल्पनिक कथाहरू उपन्यास पढेर… “सूर्य देवता पश्चिमबाट झुल्केलान, जुन ताराहरूले आफ्नो बाटो छोड्लान तर बैनीले आफ्नो विचार कहिलै पनि छोड्दिन। बैनीको तन मन धन सबै दाज्यूकै हो।” तन पनि मन पनि…धोखा स्वार्थी आफ्नो मात्र हेर्ने। तिमीहरूलाई बनाउने भगवानलाई चिन्ने मन लाग्यो।
एउटा कागज खोज्दा-खोज्दै धेरै अगाडीको एउटा सानो डायरी भेटियो । फर्र-फर्र पल्टाउँदा एउटा सानो फोटो भेटियो, सीमाको रहेछ। पछाडी उनकै हातले लेखेको तारिख र वर्ष रहेछ। मैले राखेको फोटो सट्ट हेरेँ। म सँग भेट हुँदाको हसाँईं उनकै उभ्याई, अनुहारमा आएको कपाल सबै मलाई मन पर्ने मात्र । अर्काको भए पनि मेरो हाम्रो मात्र ठानेको सानो पार्कको रूखको फेद। फोटो खिची सकेर हामी पहिलेकै झैं बसेका। के बस्नु र मैले भनेको थिएँ-
– खोई काखमा सिराने गर्छु।
_छि : कस्तो मान्छे, कस्तो बानी, मान्छेले देखे, कस्तो लाज न लागेको
– केहुन्छ र ? मान्छेलाई के खाँचो पर्यो हामी लोग्ने- स्वस्नी आराम गर्दा ।
_ छिया के के भन्न सकेको, डरले मरें म त।
– किन ? सीमा ? तिमी मेरी भएकी छैनौ र, हँ ?
– भई हालेकी त छैन त।
– उसो भए भई हाल न त जाउँ।
– कहाँ-कता ?
– मन्दिरमा, अनि पछि एउटा होटलमा हुन्छ ?
– मेरो सातो जाने पर्यो। जाउँ ढिलो भयो भरे वार्डनको गनथन सुन्नु पर्छ। उनले पनि म तिमीसँग हिँडेको….. .तिमीसँग भेट गर्छु भन्ने चाल पाए जस्तो छ।
– के हुन्छ त चाल पाउँदा । उनकै अगाडी बिहे गरी दिए भई गयो त। त्यो जवान पनि त तिम्रो हेड महाशयासँग हिँड्छ, मलाई मन पर्दैन भरे भनी देउ है।
– तिमीले भन्यौ भनेर भन्नु ?
– येश मैले भनेको भन्नु
– भयो डर लाग्छ, तिमी आफैं भन।
– ल न त भन्छु। छेउमा आउ त एक थोक भन्छु।
– न मातियौ न। मान्छे-सान्छे केही न देख्ने। मलाई त रिस उठ्छ।
– ऊ रिसाइन कुममा ताने केही तर्सिंन। अन्तमा टाउको छोपेर ढल्किइन। फेरि पछि-पछि त कर्के नजरले हेर्न छोड्नि। उनलाई र मलाई बानी भई सकेको थियो ।
त्यहाँ माझमा भएका च्यातिएका कागजका बाकसमा फ्याँकिदियौं किं झैं लाग्यो। तर एक पल्ट तिघ्रामा पुछेर फेरि पहिलेकै ठाउँमा राखेँ । डायरी पहिलेकै पड्डाले थिचेर राखेँ । खोज्दै गरेको कागज फेरि खोज्न लागें, तर भेटिएन ।भेटिनु पर्ने कागज, हिजो अस्ती देखेको। उनी पनि भएको। के अचम्म।
एक दिन होटलमा चिया खाएर निस्कँदै गर्दा सीमासँग भेट भयो। म निस्कँदै थिएँ उनी पस्दै थिइन, ढोकैमा भेट भयो। उ पहिले नै तर्केर अलि पर सरिन।
– अबुई सीमा !
– दाई चिया खानु भएको।
– होइन ! आराम गरेको । चिया खाने ? जाउ-जाउ भित्र पस।
– नानीहरूको सामान गर्न आएकी।
– दुख बिराम त छैन होइन ?
– छैन…दाज्यू।
उनको पहिलेकै हँसाई त्यै हो।म निस्केँ। फर्केर हेर्ने मात्र हैन बसेर एक दुई कुरा गर्ने विचार थियो। ऊ एक्लै थिइन्, म फर्किन | धेरै हतार भए सरी सरासर हिँडेँ। घर जान निस्केको थिएँ। तर पार्टी कार्यालय तिर लागें । चुरोट सल्काउँदै सम्झेः- केही मोटाएकी रहिछन्। रूप उस्तै सुन्दर छ। तीन सन्तान छोरा दुई छोरी एक। एउटा एम.ओ. का सन्तान, मेरा पनि हुन सक्ने थिए। कहाँ हुन सक्ने मात्र, हुनु नै पर्ने। कसरी… । उनको वाचा मेरो आशा-। धोखा…डाक्टर, मन्त्री हेरौंला।
बुबाले नातीको मुख हेर्ने, ठूलदाईले छेड हानी हानी भन्ने, भाउज्यूले जिस्क्याई रहनाले बिहे गरें। हुन्छ भने पछि हेरियो-कोरियो लगन टक्रक्कै जुर्यो। कामको व्यस्तता र चुनाव नजीकै हुनाले मैले ध्यान दिइन । भाउज्यूले केटी आफै हेरेर कुरा कानी गर्नु भन्नु हुन्थ्यो । सबैले हेरे भईगयो भनी मैले त्यति ध्यान दिइन । हेरे पनि न हेरे पनि बिहे त गर्नै हो भनेर मैले वास्तै गरिन। भोलि बिहे भन्दा पनि म व्यस्त रहेँ। त्यस बेलुकी घर ढिलो फर्के। घरमा हो हल्ला थियो । म पनि बुढापाकाहरूसँग कसो कसो गर्नु पर्छ राम्ररी गरी दिनुहोस भन्दै; बेहुलाका लोकन्ते हुने काकासँग रूखका चिन्हले जित्छ, माछाले जित्छ, गाई पछाडि हटेको छ आदि चर्चा गरी बसेँ। भाउज्यू मेरा कोठामा केही चिन्चीत झै देखिए पनि भुँडी मिची मिची हाँसी रहनु भएको थियो। म केही गुन गुनाउँदै पस्दै थिएँ, झोक्किएर भन्नु भो
– के हो राजु यस्तो… ।
– किन के भयो र ? सातो पनि गयो
– बिहे त तिम्रो पो हुन आँटेको त।
_ कसले होइन भनो त ?
_ यसो लजाएर चुप बस्नु पर्ने, चुनाव प्रचारमा कुदेका छन्, बुढेसकालका बिहेमा पनि ।
– शर्माउनु पर्ने भोलि होइन र कि आजैबाट शर्माऔं। भोलि मेरा कोई साथी रहेनन् भने। उता गाउँमा सानु कार्यालय (अफिस) खोल्नु छ।
_ मेरी आम्मै गर्ने परेछौ, तमासा होला है। लौ आराम गर।
भाउज्यु आतिएको डराएको देखेर अझ खुशी लाग्यो । मैले भाउज्यूलाई देखाउनै यसो गरेको भन्ने थाह भएछ। मेरो बेहोरा त भाउज्यूले जान्नु हुन्छ नै। साँच्ची आतिनु भएको रहेछ, राती धेरै राती मेरा कोठामा आउनु भयो । म न निदाएको चाल पाएर विस्तारो बोलाउनु भयो। मलाई फुल्याए झैं गर्नु भो। कुजबा (समधीनीले दिएका उपहारहरू बेहुलाकी आमाले थाप्नु पर्ने) उहाँले नै लिनु पर्ने। बेउली उहाँले नै अँगालो हालेर मित्र्याउनु पर्ने आदि र अनेक सुख-दुखका कुरा भए। मैले मलाई शंका न गर्नु होस म सबै राम्रो गर्छु भनी सम्झाएँ विश्वास साथ जाने बेलामा मेरो टाउको मुसार्दै भन्नु भयो-
– राजु जीवन भनेको यही हो । केही पाउनु केही गुमाउनु समय समयको खेल। विर्सनु पीरको सबै भन्ना ठूलो उपचार हो। हामीले हेरेकी बेहुली पनि कम छैनन्। मैले मज्जाले हेरेको हो। दिदी मात्र न भएर सासु पनि हुनु पर्नाले मैले जति सक्दो मिलाएकी छु। तिमीलाई धोखा हुँदैन राजु विश्वास गर।
धुमधामले बिहै भयो । सबैको भन्दा बडीको बिहे भयो भन्ने चर्चा चलेको बिहे भयो। मलाई न केही दुख न हर्षको अनुभव भयो। सामान्य दिन जस्तो त्यो दिन पनि लाग्यो। तर हेरौंला, न देखाई छोड्दिन भन्ने आरिस जस्तो भावना पनि आफू भित्र रह्यो। यसबाट आफू फुत्किन सकिन।
समय थाह बिनै बित्दछ, बित्दै गयो। नानीहरू हुँदै गए । यो चा। पल्टको छोरोका पाली मैले चुनाव जितें । अर्को वर्ष कान्छी छोरीका पाली कारणवश सरकार पिरवर्तन भयो र म पनि एउटा मन्त्री पर्यो । मैले मेडिकललाई रोजें , र सन्तुष्ट भएँ ।
कुशल कार्य गर्ने भई मेरो प्रशंशा हुन थाल्यो । जती सक्दो साँचाे कार्य गर्न चेष्टा गरें पहिलेका असत्य कार्यहरूलाई सच्याउँने प्रयास गरेँ। सफलता मिल्यो ।
व्यर्थमा पैसा लिन्न थिएँ। पैसै न लिने त होइन तर लिई सकेपछि काम पक्का गर्दथिएँ। मलाई थाह भयो मेरा कार्यले सबै सन्तुष्ट थिए। कोई-कोई विरोधी पनि थिए। अनियमित काम गर्नेहरूलाई ट्रान्सफर, ससपेण्ड, डिसमिस तथा अन्य कति सजाय निडरतासँग दिन्थेँ । मन्त्रीमण्डल भित्रै पनि मलाई मन न पराउने धेरै भएको आभास मैले पाई सकेको थिएँ। तर साँचो र सत्यका लागि पद, पैसा अनि इज्जतको मलाई डर थिएन । कोही-कोही म सँग करले मात्र राम्रो व्यवहार गर्न वाध्य थिए भन्ने मलाई थाह भएको थियो। केही शक्तिशाली अफिसरहरू त मलाई मारौं झै जस्तो गरी रिसाएका छन् भन्ने पनि मैले सुनेको थियो।
पाँच दश दिन पहिले देखि एउटा नयाँ केशको चर्चा अधिक चलेको थियो। मेडिकल डाइरेक्टर रिटायर भएका पोस्टमा नयाँ नियुक्तिको केश थियो। भन-सुन, लेन-देन बजारको जस्तो मोल यसमा चलेको मैले सुनेको थिएँ। म सँग आई पुग्दा केशले विराट रूप लिएको थियो। कुनै वृद्ध डाक्टरहरूका मानिस अदृश्यरूपले हाम्रा मानिसहरूसँग भेट गरेको कुरा सुनेको थिएँ। एक जनासँग त बुबाले कुरा गरी सक्नु भएको रहेछ। भाउज्यूले पनि केही भन्न खोजे-खोजे जस्तो गरेको पाँच दश दिन जस्तो भएको थियो । मेरी पत्नी मेरा डरले चुपै थिइन, यो मलाई थाह थियो। त्यस विषयमा सबै फाइलहरू ल्याएर एक्लै राम्ररी हेर्ने अठोट गरेँ। भित्र कोठामा ती सबै मिलाएर हेर्दा सात जनाको नाउँ भेटाइयो। एक-अर्कालाई हेर्दै गएँ। माथिका छ वटाको डिग्री डिप्लोमा, पदहरू दुई-तीन पंस्तिमा लेखेको रहेछ। अन्तमा थियो डा.पी. विजय एम.एस. । एम.एस. ले सक्यो, तुलना गर्दा हाँस-हाँस उठ्यो। उनको सर्भिस बुक पल्टाएँ र पढ्न लागें, ध्यानले इच्छा सहित सबै पढे, हेरें। त्यस दिन मलाई आघात भएझै लाग्यो। भोलिपल्ट मन्त्रीका एउटा पार्टीमा जानु पर्ने हुँदा धेरै हेर्न पाइँन । उज्यालो हुना साथ हतार-पतार अलि-अलि हेरेँ। केही कुरा बुझ्न सकिन। मैले बुझेको भनेको मलाई अलि रिस-रिस उठ्यो।
अर्को दिन फेरि सर्भिस बुकहरू सबै हेरेँ। मेरा विचारमा पानी फेरियो । सातवटै सबै हेरें, पढेर तुलना पनि गरें। यहाँ सत्यताले मलाई वाधा गर्छ र। उनको त भलाई यहाँ गरिदिने मन छैन। उनको भलाई र भलापन मलाई सहन हुँदैन, म उनको कुभलो चाहन्छु। उनका रिकार्डमा फियर त छाडौं, गुड्सम्म छैन। वेरी गुड; एक्सलेन्ट, आउट स्टेटिङ्ग मात्र, किन हो उनले जादू लगाएकै हो कि ? क्या हो? हेरौंला । उसरठठमा सीमाको अनुहार देखियो । सर्भिस बुक बंद गरेँ । ठुई-तीन दिन पछि फेरि हेरें। हाल उनको पद सबैको भन्दा सानो थियो । उमेर र नियुक्तिको वर्षले उनी दोस्रो नम्बरमा थिए। पाँच दश दिनसम्म उनीहरूले अ-आफ्ना मानिसहरू पठाए; कति साथी कति संगी। घुमाई फिराई रूपियाँ पैसाको पनि कुरो भयो। त्यस बेलासम्म पनि उनको कोई मान्छे आएन। न आए के छर, उनीहरूकै त नोक्सान हो भन्ने लागो। सीमा पनि-। सीमा, सीमा पनि उनीसँगै त होलिन, हेरौंला।
पालैसँग टुर प्रोग्राम कति ठाउँ गरियो । अन्त तिर पहाडको त्यो सानो डाक्टर खानामा गइयो। पहाड्क्रो लामो बाटो, पुग्दा लखतरान परियो। घुम फिर त परै जाओस गाडीबाट ओर्लदा खुट्टा निदाएर झम झम भई रहेका थिए। धुम धामले स्वागत गरे। त्यहाँका मानिसको सत्कार गराई, भगवाननै साक्षात आए जस्तो सत्कार थियो। केहि बेर आराम गरे पश्चात् निरिक्षण गर्न निस्कियो । बिरामीहरू हेरियो, भेट गरियो। त्यहाँको व्यवस्था जाँचियो। आफिसको कागज पत्र हेर्दै त्यहाँकी मुख्य नर्सलाई, संकोचसँग सोधें-
– यहाँको एम.ओ. को हो ?
– सर एक जना डा. विजय हुनुहुन्छ।
– खोई त डाक्टर देखिँदैनन् त, कहाँ गए ?
– अहिलेसम्म पर्खनु भएको थियो, जरूरी काम पर्नाले भर्खरै जानु भयो।
– उनलाई हामी आउने थाह थिएन र ?
– थाह किन नहोस, सबै व्यवस्था उहाँले नै गर्नु भएको त हो।
जरूरी काम…. ।
– के जरूरी काम, ? इनस्पेक्शन चाहिँ जरूरी भएन छ।
एकै क्षणमा त्यस ठाउँका एस.डी.ओ. हड्बडाउँदै आई पुगे। बाटामा गाडी बिग्रनाले ढिलो भयो भन्दै थिए। कुरा कुरामा ठाउँ पारेर उनलाई डाक्टर अनुपस्थित रहेको र उनलाई होशियार गराउने कुरा पनि सुनाएँ। उनलाई पनि असर पर्ने हुनाले मान्छे लगाएर सोध्ने खोज्ने काम सबै गरे। अझ मान्छे खोजेर बोलाउन पठाउने कुरो गर्दै गरेको सुनियो। मैले आफ्नो विचार प्रकट गरेँ:-
– एस.डी.ओ. साहेब भयो छोड्दिनोस्। काम छैन । मैले बुझेँ। जरूरी काममा गएका छन् रे। यो भन्दा जरूरी काम के रहेछ त्यही जाच्नु पर्यो। तपाईंका असुविधाहरू के के छन् केही सेवा गर्न सक्छु कि भन्नु होस्।
उनको इच्छा, विचार सब पालैसँग सुनाए। अन्तमा पहाडमा सरूवा भएको धेरै भयो र अब आफ्नै शहरतिर जाने विचार प्रकट गरे। गर्न सके जति सहायता गर्छु भन्ने विश्वास दिलाएँ। भात खाएर विश्राम गर्नु पत्यो भन्दै थिएँ त्यस ठाउँका पास्टर आएछन् । राम्रो मणिपुरी मै (मणिपुरका पहाडी निवासीको मातृभाषा मणिपुरी होइन, जनजातीय भाषा हुन्छ) उनले भने ऊ आफै डाक्टर बोलाउन गएका थिए। उहाँ छोड्न न पाएर जति सक्दो चाँडै आउँछु भने भन्ने कुरा सुनाए। मैले अलिक रिसाएझै गरेर सोधें-
– के काम हो छोड्नै न हुने ?
– सर, एउटी आइमाईलाई बेथा लागेर एउटा सानो अपरेशन गर्दैछन् ।
– त्यस आइमाईलाई यहीं ल्याउँदा हुँदैन थियो, अस्पताल त्यसैका लागि त बनाएको हो। आफ्नो प्राइभेट प्रेक्टीस गर्नलाई त होइन त, कि कसो पास्टर साहेब?
– सर हाम्रा डाक्टर त त्यसो गर्दैनन् । प्राइवेट भिजीट पटक्कै गर्दैनन्।
– त्यसो भए घर-घर किन गएका त ?
– ती आइमाई सारै कमजोर थिइन, मर्न आटेकी थिइन। हिँड्नै न सक्ने, बाटो पनि ठाड्डो उकालो, यहाँबाट निकै टाडा पर्छ। मरे जस्तो धुक-धुकी मात्र थियो। बोकेर ल्याउने पनि खेती-पातीको बेला हुनाले कोई थिएन। अहिले पनि ती विरामीलाई एक्लै छोडी सबै गएका छन्। डाक्टर र उनकी श्रीमतीले मात्र सेवा गर्दै छन्।
– उनकी श्रीमती चैं किन गएकी ?
– सँगै सेवा गर्न गएकी ।
बुझेँ ! बुझेँ डाक्टर दवाई गर्न जाँदा सीमा सँग-सँगै जाने। कि विजयले लिएर गएका हुन, म आउँछु भन्ने जानेकै त हो, भेट न गर्ने बहाना मात्र हो। ठीकै छ भेट न गर्दा मन्त्रीको के हानि छ र। मन्त्रीले त परेको काम सबै गर्नु पर्यो। अब सबै जाने। आफ्नो पारामा सबै भेदभाव बिनै देशको नेता हुनुपर्छ। ठीकै छ न आए के भयो र भन्दै पास्टरलाई भने। मेरा कुराले ती बुढा पास्टर केही शंकित भएझै गरे। केही भन्न खोजै झैं गर्दै निस्के। सोचें- यसमा पुरस्कार अथवा दंडको त कुरो आउँदैन। लेख्नु पर्ने, गर्नु पर्ने गर्नै पर्छ। मेरा विभागमा मैले सबैको भलाई सोच्नु पर्छ। सीमा । उ पनि पछि-पछि हिँडेकी, मज्जाले मिली जुली रहेका होलान्। मैले पनि नानीकी आमालाई घुमाउन लिएर आएको भए हुने थियो।
आराम गर्दा-गर्दै धेरै बेर निदाएँछु। व्युझिँदा धेरै ढिलो भएछ। चिया ल्याउने मेरा अर्दलीले भने- सरलाई भेट्न धेरै मान्छे आएका छन्। के काम छ कुन्नि एउटी आइमाई त पर्खेको धेरै बेर भई सक्यो । डाक्टर एम.ओ. की पली हुन भन्दै थिइन।
– के एम.ओ. चाहिँ आएका छैनन् ?
– आएको देखिन सर।
– यसो गरौं न त सबैलाई आज थाकियो भोलि भेटौं भन। अनि एम.ओ.की पत्नीलाई बोलाएर मेरा भेट-घाटका कोठामा ल्याउ। चिया-चमेना राम्ररी गर। आफिसरकी पली हुन। धेरै बेर भएको होइन त ?
– हो, तपाईं ढल्किने साथ हो।
– बोलाउनु पर्दैन थियो । मान्छेले के ठान्छन्, ठूलो भयो भन्दैनन्। म मुख धोएर आउँछु बसाउ है।
सीमा मैले चिने जानेकी हुन्। धेरै दिन पछि भेट हुँदैछ। भेट्ने बेलामा खुशीले उफ्रिएको मुटुको ढुक ढुक फेरि शुरू भयो। फूर्ति अझै बढ्यो । मुख धोएर पुछ्न
खोज्दा तौलिया दुई पल्ट खस्यो। कपाल कोर्दा-कोर्दै मेरा तालुमा सेतै फुलेको कपाल देखियो । त्यो-फुलेको न देखेको धेरै भएको थियो । तेल न लाएको कपाल। उनले उस बेला भनेको तेलको नाउँ र कपाल कोर्ने तरिका सम्झना आयो । कपाल धेरै बेर कोरी रहेँ। टोपी मिलाएर लाउँदै बाहिर निस्किएर- ‘हैलो सीमा। धेरै बेर भयो तिमी यहाँ छौ भन्ने चाल पाएको । भन्दै उ बसेका बेतका सोफामा बसें। उ चिया राखेर जुरूक्क उठेर उभिइन । हात जोडेझै गर्दै म सँग डराएझै गरी हेरी रहिन। मैले जिस्क्याए जस्तो गरेर भने-
– ए ! उभिएर व्यवहार त धेरै जानेछौ। बस न, चिया सेलाउँछ। मलाई को..हो..को जस्तो किन गरेको ।
– दाज्यू न बसे पनि म केही सानो कुरा गर्न-
तिम्रो कुरा छोड्, यत्रो दिन पछि भेट भएको केही बात-चित गरौं न, के हुछ। डाक्टरले पर्खनु हुन्छ ?
– उ झसङ्ग भइन। अलि-अलि हाँस्दै बसीन। छेउमै लड्ने पो हुन कि जसरी बसीन। उनले आधी छोडेको चिया, मैले उठाएर दिन लाग्दा छछल्किएर मेरा पाखुरामा खनियो । उनले ‘सोरी’ भन्दै ओडरेका मजेत्राका छेउले अतालिँदै पुछिन्। म ध्यानले उनलाई हेरी रहेँ। मैले पहिले हेर्ने हेराई यही थियो। उनले थाह पाइन। हात तुरून्त हटाएर भन्न लागिन्-
– सबै दाग लाग्यो होला । दूध नत्र निम्बुका रसले धोए जान्छ। यो त जाओस नजाओस् के छ र। जीवन भर न मेटिने रङ्ग लागेको छ त। लागेको मात्र होइन, भित्र भिजेको रङ्ग छ, छुटाउन सारो छ, सीमा।
– दाज्यू-दाई म पछि आए-।
– भै गयो नि त, मलाई भेट्ने मन भए पो त बिर्सी सकेको म, मलाई त एकैक्षण पनि सम्झन्नौ होइन त ? डाक्टर भए भै गयो नि।
– तपाईंले त्यसै सम्झे मैले अरू के भन्नु छर।
– सम्झेको मात्र होइन सीमा, मैले देखेको, बुझेको आँखा अगाडीको कुरा हो। मेरो भाग्यै यस्तो । चिताएको केही न पुग्ने भाग्यको म। व्यर्थको जीवन भनेको यही हो। अस्ती घर आउने बित्तीकै फर्कि हाल्नु पर्ने थियो (त्यो सिगार निम्नाले फेरि सल्काएँ) तिमी नै सोंच सीमा आफ्नै हातले रोपेर, आफ्नै हातले जाडा गर्मीमा मल जल गरेको, आफ्नो मात्र ठानेको फूल; दुई दिन छाडेर जाँदैमा कुनै एउटा परायाले ।
– दाई माफ गर्नोस, म आज जानु पर्यो, फेरि एक दिन आउने छु।
– तिमी आज नत्र भोलि एक पल्ट अवश्य आउछौ भन्ने मलाई विश्वास थियो अब फेरि तिमी आउँदैनौ म जान्दछु। म तिमीलाई राम्ररी चिन्दछु, बानी बेहोरा जान्दछु। म रिसाएको होइन । तर तिमीले मलाई चिनेनौं, दुई दिन जस्तो नचाएर छोडीदियौ। यो किन ? यही सोध्ने विचार छ। हामी दुईको सम्बन्ध त्यति छिटो कसरी तोड्यो । किन कुनै खेल खेले जसो गरेको ?
– जवाफ त म सँग पनि छन्, तर बैनी हुँ क्षमा मात्र माग्छु। खेलाउने चीज त म पो भए जस्ती छु। मान्छेका हात पर्ने केवल त्यस फूलको मात्र दोष हुँदैन, यो सत्य कुरा हो। तर पनि दोष जति सबै मेरो हो भनी माफ गर्नु होला।
– माफ गर्नु न गर्नु म केही जान्दिन। माफ दिँदा के गर्नु, त दिँदा के गर्न सकिन्छ र? तर सीमा पर्ख म एक थोक सोध्छु, यो जान्ने तिव्र इच्छा छ। मनले हो या मुखले केही दिन तिमीले म सँग माया गर्यौ। अहिले तिमी डाक्टर विजयलाई माया गर्छौ ?
मेरा प्रश्नले ऊ केही गम्भीर भइन । तेल न लाएको निधारमा छरिएको कपाल पन्छाइन। अनायासमै लुगा अलिक सम्हालेझै गरिन । उनको आफ्नै असजीलोपनको हाँसो हाँस्दै भनिन-
_ के जवाफ दिइँ। माया गर्छु गर्दिन म भन्न सक्दिन, तर सँगै छौं। चार जना नानी भए। उहाँ मेरा पति म उहाँकी पली । मलाई सारै राम्रो गर्नु हुन्छ, मैले उहाँको सेवा गर्छु।
_ ओ हो ! त्यसैले पो बिरामी हेर्न जाँदासम्म न छोडेको रहेछ त।
– समय समयको कुरा हो। आज नर्सहरू सबै तपाई आएका कारण व्यस्त थिए, त्यसैले मलाई जाउँ भन्नु भएको हो । मैले केही जान्ने सक्ने विरामीको सेवा गरेकी मात्र हुँ। उनीहरू सबैले गरेको देखी मैले पनि केही सिकेकी हुँ। राम्ररी त जान्दिन।
– तिमी मलाई माया गर्छौ ?
-यो प्रश्न गर्ने समय पार भयो । घाउमा नुन छर्कनाले के सुख पाइन्छ र। यही प्रश्न म तपाईंलाई गर्न सक्ने थिएँ।
– प्रश्न गर न त। साँचो जवाफ दिउँला | म मेरी पत्नीसँग बस्छु। सँगै छौं। तर सँगै मात्र म तिमीलाई माया गर्थे; गर्छु र जीवनभरी गरी रहन्छु।
– दाईका जवाफले म कति खुशी छु भन्न सक्दिँन। तर तपाईंका मनमा भाउज्यूको अलिकति स्थान छ होला, म अरू केही सोच्न सक्दिन, सोचे मलाई सगर झरेर थिच्ने छ। आइमाई हुँ एउटी आइमाईको सुख दुख बुझ्दछु।
– होला सीमा आइमाईको कुरो, म जान्दिन। आइमाई त जानेर जानी न सकिने । लोग्ने मान्छेको कुरा म भन्छु, तिमीले बुझी सक्यौ पनि होला।
– भन्नुहोस्।
त्यो सीगार एकातिर मात्र सल्किएर फेरि अर्को पल्ट सल्काएँ। उम तिर ध्यानले हेरेर उभिई रहिन। गहिरो विचार सँगै लामो धूवाँ छोडुँ। धूवाँ अझ छोड्दै ढल्कि बसेवाट सोझो हुँदै ऊ तिर फर्के। अझ नजीक हुँदै निहुरिएर उनलाई विस्तारो भने-
– सीमा बगैंचामा हामी दुई बस्थ्यौं होइन। तिम्रा काखमा सिरानी लाएर म बारम्बार सुत्द थिएँ होइन ? त्यो त म भन्दिन, बेला होइन। तिमी अनर्थ न लेउ म उही सीमालाई भन्दै छु है….।
विस्तारै बोल्दा बोल्दै उनको तिघ्रामा भएको हात समातेँ। मलाई पुलुक्क हेरेर टाउको निहुराइन। म अझ छेउमा सरें। उतेजना बढ्यो। चाल न पाउने गरी दुई पल्ट थुक निल्दै भने-
– आज अंतको, सबै भन्दा अन्तमा एक पल्ट म्वाई खान्छु, मुखमा एकै पल्ट मात्र ल। दिस मच।
ऊ विस्तारै उठिन, म पनि उठेँ। उ अलिक पर सरेर उभिइन। म नजीकै जान लाग्दा हातले इशारा गर्दै भनिन-
– दाई फेरि पनि माफ गर्नुहोस् भन्नु पर्यो । कृपा गर्नुहोस्।
– सीमा
– प्लीज दाई प्लीज।
-हाई ? केही बिग्रैँदैन। पढे लेखेकी, जान्ने बुझ्ने मेरी सीमा कनजर्विटिव हुन्छिन् भन्ने मलाई विश्वास छैन। यो नयाँ कुरो पनि त होइन । धेरै जसो-
– त्यो हाम्रो समय थियो।
– अहिले पनि छ तिमी मेरी हौ।
– होइन दाई प्लीज।
म अझ नजीक गएँ। उ अझ पर सरिन। मैले हात समातेर ताने। घाँटीमा
अँगालो हाल्न खोजें। बल गरी फुत्किन। ढोका तिर लागिन्। म पनि एक पल्ट
झसङ्ग भएँ। विस्तारो बोलाएँ –
सीमा ! ऊ ढोकाकै छेउमा ठिङ्ग उभिइन। नयाँ आशा, इज्जत अनि हिम्मतसँग छेउमा गएँ। ढोका छेकेर छेउमै उभिएँ। टाउको छोपेको कपडा घाँटी तिर हटाउँदै भने-
– केही बिग्रैँदैन, मैले होशमै सबै भनेको हुँ सीमा ।
– दाई हुँदैन, म जान्छु।
– तिमीले मलाई त्यति पराई ठान्यौ सीमा ?
– कुनै समयमा एकदमै नजिक थिएँ। तर त्यस बगैचाकी सीमा अब म होइन।
– सीमा।
– प्लीज।
– तिमी सोच। मलाई पनि हेर।
फेरि नजीकै गएँ। अँगालो हाल्न खोजें, उ उम्किइन टाडै उभिइन। कपाल पन्छाइन, टाउको छोपिन। म छेउमा जान खोज्दा अलि पर सर्दै उनले भनिन-
– दाई म जान्छु ढोका छोडी दिनोस।
– सीमा तिमीले म को हुँ जानेकै छैन होला।
– जानेकी छु, दाई हुनुहुन्छ।
– एउटा मन्त्री हुँ। लोग्ने मान्छे पनि हुँ।
मलाई बल प्रयोग गर्न मन छैन। तिम्रो कनसेन्ट विनै म…..
– कसै गरे पनि म मान्दिन, पटक्कै मान्दिन।
नमान्दा मान्दै जबरजस्ती गरे मेरो के लाग्छ र। तर म विन्ती गर्छु यो म बाट हुन सक्दैन।
– सोच सीमा।
– मेरो अटल निर्णय हो यो।
– म पनि केही गर्न सक्छु, मन्त्री हुँ। तिम्रा विजयका कामको, पदको, ठाउँनै कुरा सोच। :
“हाम्रा डाक्टरले परवाह न गरेका कुरालाई म पनि ध्यान दिन्न दाई।
– त्यसो भए यस्ता साँझमा किन आयौ त?
– विन्ती, लोलोपोतो उहाँले मान्नु हुन्न मलाई पनि त्यो सिकाउनु भएन । विन्तीःसिन्तीका निम्ति होइन म त तपाईंलाई भैटौं भनेर आएकी।
– एउटा मन्त्रीलाई जिस्क्याउन आएकी त ?
– होइन। मन्त्री भएको भेटाएँ। म त मेरा उनै लोकल गार्जेन भएर हेर विचार गर्ने दाईलाई भेट्न आएकी थिएँ। दुर्भाग्यवश मन्त्री हुनु भएछ।
त्यस मन्त्रीका _हातमा शक्ति छ, अनि तिमीले माया गरेका डाक्टरका जीवनको कैरियर सबै मन्त्रीका हातमा छ भन्ने तिमीले बुझेकी हौली।
– राम्ररी बुझेकी छु।
-एक अर्कामा भनसुन, विन्ती विनय गर्नु नियम हो। मेरो कुरा तिमीले, तिम्रो मैले मान्ने हुने कुरा हो सीमा । ठट्टा न सोच। भन-सुन, लेन देनको कुरा यस युगमा चलेका कुरा हुन। तिमी एक्लै छैनौं । घर छ, छोरा छोरी छन्। पद, वेतन, इज्जतको कुरा छ। तिमी विन्ती गर्नै न जान्ने त होइनौ म जान्दछु।
_ न सक्ने त थिइन तर बिसेँ, उहाँलाई मन न पर्ने कुरा हुन। उहाँ त्यसो गर्नु हुन्थ्यो भने आज यस स्थितिमा रहने थिएन जस्तो लाग्छ। तर यसैमा उहाँ खुशी
हुनुहुन्छ, म पनि संतोषसँग छु। यसैको काम हो भने म सँग त्यो विचार छँदै छैन।
– निकै धन सम्पत्ति भएझै जीवन ढुक्कले बिताउन थालेछौ, पैसा धेरै कमाएको छ होला।
– वेतनको कुरा छाडेर, केही विना पनि यस टाडा सुनसान पहाडमा बस्न सकिन्छ दाई। बैनीले कष्टमा पनि बाँच्न सिकी सकी। अझै गरीबीमा बाँच्नु परे पनि म सामना गर्न सक्छु, उहाँ पनि सक्नु हुन्छ।
– त्यसो भए मेरो आशा पूरा भएन ?
– बैनी भनी, माफ गर्नु होस भन्दैछु।
– माफ न दिएर यस सुनसान एक्ला बेलाको लाभ उठाए कसो होला ?
_ सबै भन्दा अभागी आईमाई हुनु सिवा अरू के हुने र।
– अहिले तिमी भाग्न सक्छौ र। तिमी चिच्याए पनि कोई बा । होइन, कोई पस्ने होइन। भोलि वदनाम गर्न मात्र सक्छौ। त्यसमा पनि त तिम्रा इज्जतको कुरा आउँछ। घर गृहस्थ भताभुङ्ग हुन्छ, सम्बन्ध टुट्न सक्छ। मेरै तागतले जित्छ सीमा ।
– मलाई तपाईले साँचो माया गरेको भए त्यसो गर्नु हुन्न, यही मलाई विश्वास छ।
– त्यसो गरे ?
– हामी दुवैको भाग्य फुट्यो।
_ तिम्रो कनसेन्ट न भए पनि मैले मेरी पुरानी मायालु भनी दुई पाइला अघि सरेर तिमीलाई पाउने कोशिस गरेँ भने, तिमीले मेरो के बिगार्न सक्छौ र ?
_ केही गर्न सक्दिन, गर्न पनि गर्दिन। फेरि पनि विन्ती गर्दै भन्छु, मलाई डाक्टरकी पत्नी पनि होइन, सीमा पनि भएर एउटी निर्बल नारी भनेर माफ गर्न होस्।
– माफ गर्न न सके ?
_ वीथ प्रोटेस्ट, म तपाईकी होइन एउटा मन्त्रीका चंगुलमा फस्नु पर्यो। म केही न भएकी, गति हीन मलाई पाउन देशका मालिक मन्त्रीले नै इच्छा गरे मेरो के उपाय लाग्छ र। अन्तमा अझै पनि विन्ती छ मलाई छाडी दिनोस । म बलिको बोको जस्तो अगाडी उभिएकी छु। काट मार खप्नु पर्छ, भाग्य नै हो। मेरा उस समयका दाईलाई अझै भन्न मन छैन। तर मन्त्रीलाई त भन्न सक्छु- मन्त्रीले आफ्नो इच्छा अनुसार जे पनि गर्न सक्नु हुन्छ। तपाईका इच्छाले खेलाउन सक्ने परालकी मूर्ति सरी भएँ म स्वयम् तयार भई त्यति तल झर्न सक्दिँन। मन्त्रीज्यू त काजुन बनाउने, कानुन लागु गर्ने, कानुनको रक्षा गर्ने तिनै हातले यस बलिका बोकालाई काट्नुहोस्। म केही बोल्दिन, छोरा छोरी र पतिको बाचा गर्छु। बोल्दै गरेका यस क्षणमा मेरो फाँसी लाग्ने बेलाको इच्छा- म यस कोठामा जिउँदी पसेकी थिएँ। निस्कँदा लाश निस्कन्छ। त्यो लाश हालेको टाँडलाई दह्वा काँटीले ठोकेर बनाउनुहोला । त्यसलाई कसैलाई खोल्न न दिनु । पतिलाई पनि जिम्मा न दिनु, घरमा पनि समाचार न दिनु टाड्ा नालामा फ्याँकी दिनु होला। यदि हुन्छ भने जानवरले पनि देख्न न सकुन उनीहरूपनि जीव हुन। आत्मा छ भने त उनीहरूलाई पनि मंगल हुँदैन। यति मात्र मन्त्रीज्यूलाई विन्ती छ। यहाँ पहाड्मा उज्यालो चाँडै हुन्छ, हुन आँट्यो आउनुहोस्
म गइन उनलाई हेरेर उभिरहेँ। ऊ मलाई पुलुक्क हेरी केही झुकिन। दुवै आँखामा बलिन्द्र आँसु झरेका थिए। खल्तीबाट एउटा सीगार निकालेर सल्काएँ। ढोका गएर विस्तारै ढोका उघारेँ। एक क्षण निस्तब्ध छायो। निस्तब्ध तोडेर भने-
– सीमा तिमी जान सक्छौ। समय पूरा भयो।
ऊ विस्तारै ढोका तिर लागिन। म फर्केर भित्ता तिर हेरेर उभिएँ। उनले ति पार गरे पछि बोलाएँ-सीमा। उ ठिङ्क उभिइन। म फर्कदा ऊ पनि फर्किइन ।
अचम्मले, शंकाले हेरी रहिन। सीगारको खरानी हातले झारेँ अनि भने-
– आजसम्म मेरा आफिसबाट आँसुसँग कोई फर्केको थिएन, रुँदै आए पनि। तिमी त हाँस्दै आएर, आँसु पुछ।
आँसु पुछिनन्। विस्तारै मेरा छेउमा आइन। सीगार समातेको दाहिने हात समाउँदै मेरो हात दुवै हातले समातेर छाती नेर, ल्याएर विस्तारी आवाजले भनिन्-दाहिने अर्काको भए पनि देब्रेले पुछिदिए हुन्छ, एउटी सीमाको अधिकारसम्म नदिएको । भन्दै मेरो हात समातेर आँखा अनुहार पुछिन्। म यति टाडा हुनु पर्यो भनिन। मैले भने-
– अधिकार त लिनमा रहेछ, दिनमा होइन रहेछ, सीमा ।
– साँच्ची मन्त्रीको पनि
– डैम मन्त्रीपद, हालियो आगामा ।
– न रहनु पर्ने मानिस पनि, रहिन्छ।
यो कुरा भन्दै मेरो दाहिने हातको धुँवा उड्दै गरेको सीगार खोसेर भुँइमा फ्याँकेर खुट्टाले कुल्चिइन। मेरा दुवै हात उनका पिठ्यू तिर लगिन। फर्केर म तिर हेरिन। मैले समातेको शिर, दुवै आँखाले छड्के नजर चोरेर हेर्दै केही सोधेझैं गरे। उनले टाउको केही हल्लाएर आँखा चिम्लिन। उनको देब्रे हात तान्दै उनका दाहिने हातले दाहिने गालामा औंला घुमाउँदै संकेत गरिन। हामी दुवैले दर्बिलो गरी अँगालो हाल्यौं। पूर्ण निस्तब्धता छायो ।
– लौ ! सर्वनाश भयो, मैले त बिर्सेंछु।
– के ? (उ अतालिए, तर्सिए झैं गरिन)
– अब कसो गर्ने ?
– के भयो र ? (अझै नजीकै भयो) ।
– तिमीलाई डाइरेक्टरले पर्खेका होलान्।
– डाइरेक्टर भनेको को ? (आश्चर्यले सोधेको थियो)
– लाटी अझै बुझेनौ, धेरै न गर है।
– वाई गोड ! साँच्ची को हो चिन्दिन।
_ मेडिकल डाइरेटर, डा्क्टर पी. विजय, एम.एस. मेरा मित्र, तिम्रा कोई होइनन्, के न जाने जस्तो गरेको । (अति हर्षको एउटा मुस्कान देखियो )
-हेर ! हेर !! अहिलेको पागलपन गएकै छैन, फेरि मन्त्री भएका यी।
_ ऊ जाडामा एक्लै सुतेका होलान् जाउ।
-छी लाज शरम पचेका।
_ के को लाज, कराई चाट्नेलाई मोशो त लाग्छ नै
– कुरा गर्नका माहिर झ्याउसे दारी वाला।
उनी निस्के पछि चियाले भिजेको पाखुराको दाग देखियो। दैलो समातेर एकक्षण हेरी बंद गरेँ। मलाई थाह भएन सारो ढपक्याँएछु क्यार-
– ढयाप् ! पल्ला कोठाका अर्दली ढोका खोली डराएझैं हतार हतार मेरा छेउमा आए।
-सर !के आज्ञा ?
– भेट गर्न आउने को छ, पालै सँग जानु भनी, तिमी गएर सुत।
– ए अनि एउटा कुरो।
-सर।
– मेडिकल सेक्रेटरीलाई बोलाउ। एपोइण्टमैण्टको फाइल लिएर आउनु भन।
– सर सेक्रेटरी साहब त आउनु भएको छैन त।
-ए हो त। भयो-भयो जाउ सुत।
मैनपुर (उत्तर प्रदेश)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
