भाग ८

म खत्रक्क परेँ । म फर्किनै लागेको थिएँ कि एकजना लामो, खुल्ला सेतो कमिज सुर्वाल लगाएको मान्छे सोचमग्न मुद्रामा बरन्डामा हिँडिरहेको देखेँ । म हाम्रा तेत्तीसकोटी देउता राखेर कसम खान सक्छु श्रीमान्‌ कि जब मैले उसको अनुहार देखेँ मलाई लाग्यो मेरो मालिक यही हो ।

कुनै अदृश्य श्रापले उसको र मेरो जीवन गाँसिएको रैछ किनकि त्यति बेला उसले नजर जुधाएर मलाई हेरेन ।

मैले बुझेँ अब उसले नै मलाई जोगाउँछ । मलाई जसरी भए पनि त्यो नेपाली मूलालाई एकछिन अलमल्याउनु थियो ।

“सर म कुशल चालक हुँ । म चोर्दिनँ, चुरोट पिउदिनँ, रक्सी खान्न ।” “कस्तो कुरा नबुझ्या, गैहाल यहाँबाट”
“म भगवान्‌मा विश्वास गर्छु, परिवारलाई माया गर्छु, सर ।’
“हैन तेरो फुस्क्यो कि क्या हो ? गैहाल्‌ ।’

“म आफ्नो मालिकको कुरा काट्दिनँ, चोर्दिनँ, भगवान्‌को अनादर गर्दिनँ, सर ।”

त्यसै बेला घरको ढोका खुल्यो । पहिल्यै देखेको मान्छे होइन, एउटा हातमा ब्याग लिएको, सेतो, ठूलो, माथि फर्केको तिखो जुँगा भएको बूढो मान्छे फुत्त निस्कियो ।

“रामबहादुर, कोसँग बोलेको तिमी ? उसले नेपालीलाई सोध्यो ।”
“पैसा माग्ने मगन्ते हो हजूर, मगन्ते

ढोकामा ड्याम्म हान्दै म चिच्याएँ, “हजूर, म तपाईंकै गाउँको हो । लक्ष्मणगढको ! कालो किल्लाको छेउको गाउँ | तपाईंकै गाउँ हजूर !”
त्यो बूढो मान्छे भुँडीफोर पो रैछ !
मलाई लामो समय नियालेपछि उसले नेपालीलाई भन्यौं, “ए त्यसलाई भित्र आउन दे ।’

उसस्स ! गेट के खुल्याथ्यो, मैले सीधै हान्निएर भुँडीफोरको खुट्टामा निधार टेकाएँ । ओलम्पिक खेलमा तीव्र गतिको धावक पनि यति छिटो दौडन्न होला । नेपालीले बाटो छेक्ने मौकै पाएन ।

त्यो दिनको मेरो अभिनय देख्न पाउनु भएको भए तपाईं जिल्ल पर्नुहुन्थ्यो । म उनको खुट्टा समातेर चुम्बन गर्दै कति रोएँ, कति बिलौना गरेँ ! तपाईंले मलाई मेरो जात नै अभिनयकर्ता रैछ भनिठान्नु हुन्थ्यो होला । उनको खुट्टा च्याप समातेर मैले उनका मैला, नकाटेका लामा नङ्ग हेर्दै अचम्म मानेर सोचेँ “यो मान्छे गाउँमा गएर गरिब माझी र तिनका छोरीहरूलाई सताउन छोडेर यहाँ धनबादमा के गरेर बसेको होला ?”

उनले “ल भो, भो, उठ्‌’ भन्दै खुट्टा उचाले । उनको लामो नङ्ले मेरो गालामा चिथोर्यो । अघि बरन्डामा उभिएको मानिस अशोक अहिले उनको छेउमै छ |
” तँ साँच्चै लक्ष्मणगढकै हो त ?’
“हो हजूर । म त्यही गान्धीको ठूलो फोटो भएको चिया पसलमा काम गर्थे । म कोइला फुटाउने काम गर्थे । तपाई एकपटक चिया पिउन आउनु भाथ्यो ।’
“ए, त्यो पुरानो गाउँ” उनले आँखा चिम्लँदै भने । “के त्यहाँका मान्छेले मलाई अहिले पनि सम्झन्छन्‌ ? म त्यहाँ नगएको ३ वर्ष भइसक्यो ।”

“किन नसम्झनु हजूर ! अझै पनि मानिसहरू हाम्रो बुबा जानुभो । सबैभन्दा असल र सहयोगी हाम्रो जमिनदार साप गएपछि अब हाम्लाई कस्ले हेर्छ, भनिरहन्छन्‌ ।’ यो सुनेर भुँडीफोर खुसी भो र अशोकतिर फर्क्यो । अनि भन्यो, “हेरौं न यो गाडी चलाउन कति जान्दो रै छ । मुकेशलाई बोलार त ! यसो घुम्च जाऊँ ।’

म कति भाग्यमानी रैछु, त्यो मैले अलि पछि बुझेँ । अस्तिमात्र अशोक अमेरिकाबाट फर्केका थिए । उनका लागि एउटा नयाँ कार किनिएको थियो । एउटा ड्राइभर चाहिएको थियो र संयोगले म त्यही दिन पुगेको थिएँ ।

ग्यारेजमा दुईवटा कार थिए । एउटा तपाईंले भारतमा जताततै देख्ने त्यही सानो सेतो मारूती र अर्को होन्डा सिटी | मारूती अति सामान्य सानो कार हो जुन ड्राइभरको नोकरै

सरह हो । तपाईं के चाहनुहुन्छ, यसले साँचो खोलेपछि पक्का गर्छ । होन्डा सिटी अति सुविधासम्पन्न अलि ठूलो प्राणी हो जसको सोच्ने शक्ति पनि छ । यसको स्टेयरिङ हाइड्रोलिक, अत्याधुनिक इन्जिन छ र यसले जे मन लाग्यो त्यही गर्छ । श्रीमान्‌, यदि भुँडीफोरले मेरो परीक्षा त्यही कार चलाउन लगाएर गरेको भए म त डुब्ने रैछु, तर धन्न भाग्य मेरो साथी रैछ र मलाई तिनले मारूती .चलाउन लगाए ।

भुँडीफोर र अशोकपछि बसे, अलि कालो, भुँडीफोरको अर्को छोरो अगाडिको सिटमा बसेर मलाई यो गर, ऊ गर भन्न थाल्यो । नेपाली पालेले गेटबाट कार निकालेर हामी धनबादतिर तेर्सिएको अँध्यारो मुख लगाएर हेर्यो ।
आधा घन्टा चलाएको हेरेपछि उनीहरूले मलाई गाडी फर्काउन लगाए । ‘ठीकै छ । होसियार रैछ” गाडीबाट ओर्लदै बूढोले भन्यो । फेरि सोधे, ‘तिम्रो थर के हो?
“हलुवाइ
हजूर ।’
“हलुवाइ रे ?” बूढोले त्यो सानो कालेतिर फर्केर सोध्यो, “त्यो जात चाहिँ माथिल्लो हो कि तल्लो हँ ?’
|
मलाई प्रस्ट भो अब कि मेरो भविष्य यही एउटा प्रश्नको उत्तरमा अड्केकी छ ।
म जातको बारेमा एक दुई कुरा भन्न चाहन्छु । सहरका शिक्षित मानिस पनि यो शब्द सुनेपछि वाल्ल पर्छन्‌ । तिनीहरूले तपाईलाई यो शब्दको अर्थ बताउन थाले भने साँच्चै गन्जागोलमा पार्छन्‌, तर साँच्चै भन्नुपर्दा यो सरल छ ।
यो मबाटै सुरू गरौं ।

हेर्नुस्‌ हलुवाइ भनेको “मिठाइ बनाउने जात हो ।’
मेरो भाग्य र जात त्यही हो । अन्धकारका हरेक बासिन्दाले मेरो नामले मलाई तुरून्तै चिन्छन्‌ । त्यसैले जहिले गए पनि किसनले र मैले मिठाइ पसलमा काम पायौं । पसलेले सोच्थ्यो कि ‘चिया पकाउने र मिठाइ बनाउने यिनको खानदानी परम्परा नै हो भने के को डर” र हामीले सजिलै काम पाउँथ्यौं ।

हाम्रो जात हलुदाइ भए पनि किन मेरो बाले मिठाइ नबनाएर रिक्सा चलाउनुभो? जहाँ जतिखेर मन लाग्यो त्यतिखेर मन चाहे जति गुलाबजामुन र पेडा खान पाउनु पर्नेमा किन मेरो बचपन टेबुल पुछेर कोइला फोरेर बित्यो ? मिठाइ खाएर हुर्कको बच्चाको जस्तो सेतो हँसिलो अनुहार नभएर किन मेरो शरीर दुब्लो र कालो, हेर्दै फटाहाको जस्तो भयो ?

हेर्नुस्‌, यो देश कुनै बेला जब संसारकै धनी र वैभवशाली थियो, यो चिडियाखाना जस्तै थियो । सफा र व्यवस्थित चिडियाखाना। सबै आआफ्नो ठाउँमा खुसी | सुनारहरू यहाँ थिए । गोठालाहरू यहीँ थिए । जमिनदारहरू त्यहाँ थिए । हलुवाइ भन्ने एकजना मिठाइ बनाउँथ्यो । गोठालो भन्नेले गाईहरूको स्याहार सुसार गर्थ्यो । अछुतहरू दिसापिसाब सफा गर्थे । जमिनदारहरू रैतीहरूप्रति दयाभाव राख्ने । महिलाहरू पर्दा लगाउँथे र नयाँ मान्छेसँग बोल्दा तलतिर हेर्थे ।

दिल्लीका ती सबै राजनीतिज्ञलाई मुरीमुरी धन्यवाद । जब १५ अगस्ट १९४७ मा बेलायत भारत छाडेर गयो, पिँजडा खुल्यो र जनावरहरू एकआपसमा हानाहान र मारकाट गर्न थाले ! चिडियाखानाको राजमा जङ्गलको राज आयो । जो साह्रै भोका र निष्ठुरी थिए, तिनले सबैलाई खाएर मोटाए । अहिले सबैले मान्ने तपाईंको जस्तै ठूलो भुँडीलाई हो । तपाईं पुरूष हो कि महिला, मुसलमान हो कि अछुत कुनै अर्थ छैन, मात्र भुँडी हुन पर्यो अनि त्यो माथि जान्छ । मेरो हजूरबुबा हालुवाई नै हुनुहुन्थ्यो, तर जब हजूरबाको शेषपछि बुबाले त्यो पसल चलाउनुभो, पुलिसको आडमा अरू जार्दले सिध्याए । मेरो बुबाको प्रतिकार गर्न सक्ने खालको ठूलो भुँडी थिएन । त्यही भएर मेरो बुबा गरिबीमा पुरिनुभो र रिक्सा चलाउन थाल्नुभो । त्यसैले म गोरो वर्णको, मोटो र हँसिलो अनुहार हुनबाट ठगिएँ ।

छोटोमा भन्नुपर्दा पुराना दिनहरूमा भारतमा एकहजार जात र भाग्य थिए । आजभोलि जम्मा दुई जात छन्‌- सानो भुँडी भएका र ठूलो भुँडी भएका । मात्र दुईवटा भाग्य- खाऊ वा अरूलाई खान देऊ ।

अशोकको भाइ काले मुकेशले उत्तर जानेनन्‌ । मैले अघि नै भनिसकेको छु कि सहरियाहरूलाई जातको बारेका त्यति ज्ञान हुँदैन । त्यसैले भुँडीफोरले सीधै मतिर सोध्यो, “एँ तँ माथिल्लो जात हो कि तल्लो जात ?”
ऊ मबाट के उत्तर जान्न चाहन्थ्यो त्यो मलाई थाहा भएन | मैले दुवै उत्तर यसो सोचेँ । सायद जुन भनेको भए पनि ठिकै हुन्थ्यो होला, तर पनि भनेँ, “तल्लो जात हजूर ।’

मुकेशतिर फर्केर बूढाले भने, “हाम्रा सबै कामदार माथिल्लो जातकै छन्‌ । एक दुईजना तल्लो जात भएर केही फरक पर्दैन ।”

मुकेशजीले मतिर छड्के नजरले हेरे । गाउँको बारेमा उनी अनिभज्ञ थिए, तर एउटा जमिनदारमा हुनुपर्ने धुर्त्याइँ सबै उनमा थियो ।
“रक्सी पिउँछस्‌ ?’ उनले सोधे ।
“पिउदिनँ हजूर । हाम्रो जातमा कसैले पिउँदैन ।’
‘हलुवाइ रे – – -” अशोकजी ङिच्च हाँस्दै फेरि सोधे, ‘तँ हलुवाइ हो? फुर्सदमा तैँले हाम्रो खाना पकाउन सक्छस्‌ ?”

“किन नसक्नु हजूर । म मिठो पकाउँछु ! गुलाबजामुन, लड्डु जे भन्नुस्‌ । तपाईले चाहेको संबै पकाउन सक्छु । मैले धेरै वर्ष चियापसलमा काम गरेको छु ।’
यो सब सुन्दा अशोकलाई रमाइलो लागेछ । उनले भने, “यो भारतमा मात्र सम्भव छ । ड्राइभरले पनि मिठाइ बनाउन सक्छ । यो यहाँमात्र होला । ल भोलिदेखि नै सुरू गर !”

मुकेशजीले भने, “किन यति हतार ? पहिला उसको परिवारको बारेमा सोधौँ । कति जना छन्‌, कहाँ बस्छन्‌ आदि इत्यादि । “अर्को कुरा तँलाई कति तलबको आशा छ ?”
फेरि अर्को परीक्षा ।
“मलाई केही पनि चाहिँदैन हजूर ! तपाईं मेरो आमाबुबा सरह हो | मैले आफ्नै आमाबाबुसँग कसरी पैसा माग्नु ?”

“एक मैनाको आठ सय दिन्छु, हुन्छ ?” उनले भने ।
“होइन तपाई, यो त अति भो । त्यसको आधा भए मलाई प्रशस्तै पुग्छ ।
“तँलाई हामीले अरू २ महिनाभन्दा बढी राख्यौं भने यो एक हजार पाँचसय
हुन्छ |”
फुरूङ्ग पर्दै मैले तलब स्वीकारेँ ।
मुकेशजीलाई मेरा बारेमा अझै चित्त बुझ्या थिएन | तलदेखि माथिसम्म नियालेर हेरे अनि भने, “यो त अलि काँचो उमेरको छ । अलि पाको खोजौं न हुन्न र ?”

भुँडीफोरले टाउको हल्लाउँदै भन्यो, “युवक ड्राइभर राख्यो भने जिवनभरिलाई हुन्छ । चालीस वर्षको राख्यो भने बीस वर्षपछि आँखा देख्दैन, अनि के गर्ने । यो केटोले तीस पैंतीस वर्ष सेवा दिन सक्छ । कपाल राम्रो छ | दाँत टम्म मिलेको छ । शरीर पनि मजाको छ ।”

मुखभरि भएको पानको रस तान्दै एकतिर फर्केर रातो पिचकारी छोडे ।
अनि उनले मलाई दुई दिनपछि आउन भने ।
उसले लक्ष्मणगढमा पक्कै फोन गरेर कसैलाई मेरो बारेमा सोध्यो होला । त्यो मान्छे पक्कै पनि कुसुमलाई सोध्न गयो होला र हाम्रो छिमेकीसँग पनि कुरा बुझ्यो होला र अनि जवाफ पठायो होला- “उसको परिवार राम्रो छ । यिनीहरूले कसैसँग नराम्रो गरेका छैनन्‌ । बाबु बूढो क्षयरोगले केही वर्ष अघि मर्यो । ऊ रिक्सा चलाउँथ्यो । उसको दाजु पनि धनबादको यौटा चियापसलमा काम गर्छ । नक्सलवादी र अरू कुनै आतङ्ककारी समूहसँग साँठगाँठ छैन । यिनीहरू ठाउँ सरिरहँदैनन्‌ । यिनीहरू कहाँ बस्छन्‌ हामी ठ्याक्कै थाहा पाउन सक्छौँ ।’

त्यो अन्तिम जानकारी धेरै महत्त्वपूर्ण थियो । सधैँभरि मेरो परिवार कहाँ बस्छ भन्ने जान्न उनीहरूलाई जरूरी थियो ।

घरमा राखेको आफ्नो कामदारलाई त्यो भैँसीले के गर्यो, त्यो त मैले तपाईंलाई भनेकै छैन ! त्यो व्यक्ति उसको सानो छोराको सुसारे थियो । त्यो सानो बच्चालाई नक्सलवादीले अपहरण पश्चात यातना दिएर मारे | त्यो कामदार पनि हाम्रै जातको थियो हजूर । हलुवाई नै थियो त्यो । म केटाकेटी छँदै उसलाई एक दुई पटक देखेको थिएँ |

त्यो नोकरको अनुसार छोराको अपहरणमा उसको कुनै संलग्नता थिएन तर भैँसीले किन पत्याउँथ्यो यौटा गरिबको कुरा । चारजना भाडाका सिपाही लगाएर उसलाई यातना दिएर टाउकोमा गोली हानेर मारियो |

कुरा जायज हो । मेरो छोरालाई अपहरण गराउनेलाई म पनि पक्कै त्यही गर्थे ।

भैँसीले के ठान्यो भने त्यो नोकरले जानेरै पैसाको लोभमा उसको छोरालाई अपहरण गराएको हो । त्यसैले उसले त्यसको परिवारजनलाई पनि छाडेन । यौटा भाइलाई खेतमा काम गरिरहेको बेला पिटेरै मारियो । उसको श्रीमतीलाई सँगै काम गरिरहेका तीनजनाले सिध्याए । एउटा अविवाहित बहिनीलाई पनि सिध्याइयो । उनीहरूको घरलाई उसका चारजना बफादार सुकुलगुन्डाले घेरा हालेर आगो लगाएर खरानी पारे |

हाम्रो परिवारको यस्तो होस्‌ भन्ने को चाहन्छ र हजूर ? आफ्नो हजूरआमा, दाजु, काकी, भतिजाहरू, भतिजीहरूलाई कालको मुखमा पठाउन कुन निस्ठुरी राक्षसले सक्छ र तपाईं ? ल सोच्नुस्‌ त ।

क्रमत्र………