…………अमेरिकाका युवतीहरूले यस्ता कुरा गर्दैनन्‌ र ? विन्टरबोर्नले सोधे।

श्रीमती कोस्टलोले एकैछिन उनलाई क्वार्क्वार्ती हेरिन्‌ र गम्भीर हुँदै भनिन्‌, म मेरा नातिनीले यस्ता कुरा गरेको हेर्न चाहन्छु।’

यस कुरामा केही प्रकाश पार्नुपर्ने देखिन्थ्यो। उनले काकीका छोरीहरूलाई सम्झे । तिनीहरू न्युयोर्कमा थिए। तिनीहरू राम्रा थिए | तिनीहरू विवाहपूर्व युवासाथीसँग मायाप्रीतिको सम्बन्ध गाँसेर आनन्द लिने खालका थिए । काकीका तरूनी छोरीहरूले पाएको स्वतन्त्रताभन्दा बढी डेइजी अगाडि बढेको भए उनको बारेमा गरिएका कुनैपनि कुरा विन्टरबोर्नलाई स्वीकार्य हुन्थे । विन्टरबोर्न डेइजीलाई फेरि भेट्न अधैर्य भइरहेका थिए । विन्टरबोर्नले मनमनै चिन्ता मानिरहेका थिए । उनी उत्तेजित भइरहेका थिए तर विन्टरबोर्नले पनि डेइजीलाई यति छिटै सबै कुरा नबुझी प्रशंसा गर्नु हुदैनथ्यो ।

आफ्नी काकीले जे भने तापनि विन्टरबोर्नले डेइजीसँग गहिरो सम्बन्ध स्थापना गर्न चाहिरहेका थिए। उनी डेइजीलाई भेट्न हतार त भइरहेका थिए तर काकीको अस्वीकारबारे डेइजीसँग कसरी प्रस्तुत हुने भनी सोच्नसम्म पनि भ्याएका थिएनन्‌ । डेइजीलाई भेट्न हतार गर्दै हिँडेर जानु नपर्ने उनले चाल पाएका थिए । उनले त्यो सुन्दर रातमा डेइजीलाई
बगैँचामा देखे। उनी ताराको प्रकाशको उज्यालोमा खुसी मुद्रामा थिइन्‌। उनको हातमा ठुलो पड्खा थियो। उनी अल्छी परीले जस्तै गरी अगाडि पछाडि गरेर पिङमा झुलिरहेकी थिईन । यतिबेला रातको दस बजिसकेको थियो ।विन्टरबोर्नले काकीसँगै रात्रीको खाना खाइसकेका थिए । त्यसपछि उनले डेइजीलाई भेटे । उनलाई देखेर डेइजी ब्ज्यादै खुसि भइन । विन्टरबोर्नलाई भेट्रनको लागि ज्यादै लामो रात्री प्रतीक्ष गर्नुपरेको गुनासो उनले गम्भीरतापूर्वक भनिन् ।

“तपाईं यहाँ एक्लै हुनुन्छ ?’ विन्टरबोर्नले सोधे ।
“म आमासँग पैदल घुमफिर गरिरहेकी छु तर आमा थोरै हिँड्दा पनि थाक्नुहुन्छ , डेइजिले उत्तर दिइन ।
“त्यसो भए आमा सुतिसक्नु भयो होला ?’ विन्टरबोर्नले सोधे ।

“अहँ, उहाँलाई निद्रा मन पर्दैन। उहाँ तीनघण्टा पनि निदाउनुहुन्न । उहाँ भन्नुहुन्छ, यति थोरै समय निदाएर उहाँ कसरी बाँच्नुभएको छ ? उहाँलाई नै थाहा छैन रे। उहाँ यस कुराबाट एकदम त्रसित हुनुहुन्छ । मलाई लाग्दछ, उहाँ आफूले चाहेभन्दा बढी निदाउनुहुन्छ। यतिबेला उहाँले र्यान्डोल्फलाई खोजिरहनु भएको छ होला । उहाँले ऊ सुतेर निदाओस्‌ भन्ने चाहनुहुन्छ, तर उसलाई पनि निद्रा मन पर्दैन” ती युवतीले भनिन्‌ ।
‘आशा गरौँ उहाँले -र्यान्डोल्फलाई फकाएर निदाउने बनाउनुहुन्छ,’ विन्टरबोर्नले भने ।

‘उहाँ र्यान्डोल्फलाई आफूले सकेजति प्रयास गरेर निदाउने बनाउन चाहनुहुन्छ तर उसले उहाँसँग कुरा गर्न नै चाहन्न। उहाँले यसको लागि युजनलाई पनि खोज्ने प्रयास गरिरहनु भएको छ तर भाइ युजिनसँग झन्‌ डराउँदैन। युजिन फुर्तीलो कुरियर भए तापनि उसले भाइलाई धेरै प्रभाव पार्न सकिरहेको छैन। मलाई लाग्दछ, -र्यान्डोल्फ रातिको एघार बजेभन्दा अगाडि सुत्दैन’ आफ्नो हाते पङ्खालाई खोल्दै डेइजीले भनिन्‌ । डेइजीले आफ्नो भाइको राति अबेरसम्म बस्ने बानीको साँच्ची नै खुशीका साथ अवधि बढाएको भान हुन्थ्यो। यसले विन्टरबोर्नलाई ती युवतीसँग उनको आमाले थाहा नपाउने गरी केही समयसम्म पैदल घुमफिर गर्ने अवसर सिर्जना गराएको थियो । ‘तपाइँले मसँग परिचय राउन खोज्नुभएको मानिसलाई मैले पत्ता लगाउने प्रयास गरिरहेकी छु। उहाँ तपाईंकी काकी हुनुहुन्छ, हैन र ?’ उनकी साथी वार्तालापमा अगाडि बढिन्‌। विन्टरबोर्नले इजीको कुरा स्वीकार गरेका थिए । उनले आश्चर्य व्यक्त गर्दै मनमनै सोचे, डेइजीले काकीलाई कसरी चिनिन्‌ त ? ‘मैले होटलकी शयनकक्ष सफा गर्ने एक नारीबाट श्रीमती कोस्टलोको बारेमा जानकारी लिएकी हुँ। उहाँ एकदम शान्त स्वभावकी असल नारी हुनुहुन्छ । उहाँले आफ्नो सेतो कपालको राम्रो गुच्छा बनाउनुहुन्छ। उहाँ कसैसँग पनि कुरा गर्न रूचाउनुहुन्न । उहाँले कहिल्यै पनि समूहमा एउटै टेबलमा खाना खान मन पराउनुहुन्न । कोठमा नै मगाएर खान मन पराउनुहुन्छ । दुई दिनको एकपटक उहाँको टाउको दुखिरहन्छ। मलाई लाग्दछ, मैले काकीको पीडा र सबै स्वभाबको राम्रो वर्णन गरेँ। म व्यक्तिगतरूपमा उहाँसँग बढी परिचित हुन चाहन्छु। मैले उहाँसँग व्यक्तिगत अनुभव सिक्न चाहन्छु । मैले हाँलाई श्रद्दाका साथ मन पराउँदछु । उहाँले नयाँ मानिसलाई सजिलै उच्च सामाजिक स्तरमा स्वीकार्नु हुन्न। मलाई यस्तै नारी मन पर्दछ । मलाई पनि उहाँजस्तै हुने दृढ इच्छा छ। ठिक छ, आमा र म उहाँजस्तै छौँ। हामी जोसँग पनि अनावश्यक कुराकानी गर्दैनौं र अरूले पनि हामीसँग नचाहिँदा कुराकानी गर्ने साहस गर्दैनन्‌। जे होस्‌, मैले तपाईंकी काकीसँग परिचित हुने अवसर पाएँ भने खुसी हुनेछ,’ डेइजीले मसिनो स्वरमा भनिन्‌ ।

डेइजीका यी अभिव्यक्तिले विन्टरबोर्नलाई अप्ठ्यारोमा पारेका थिए। उनले भने, ‘मलाई लाग्दछ, उहाँ एकदम खुसी हुनुहुन्छ तर डर लागिरहेको छ, कतै उहाँको टाउको दुख्ने रोग खुसी जीवनको बाधक हुनेत होइन ?’

ती युवतीले विन्टरबोर्नलाई अँध्यारोमा गहिरिएर हेर्दै सहानुभूतिपूर्वक भनिन्‌, ‘तर मलाई लाग्दछ, उहाँलाई हरेक दिन टाउको दुख्दैन होला।’
विन्टरबोर्न एकछिन मौन रहे। यसबारे उनलाई यथार्थ जानकारी त थिएन, तर उनले झ्वाट्ट उत्तर दिए, ‘उहाँले मलाई हरेक दिन टाउको दुख्छ भन्नुहुन्छ त ।’

डेइजी वार्तालापमा एकछिन रोकिइन्‌। उनी उठिन्‌ र विन्टरबोर्नलाई गहिरिएर हेरिरहिन्‌। रातको अँध्यारोमा पानि उनको सुन्दरता झल्किरहेको थियो। उनले आफ्नो ठुलो हाते पङ्खा घरी खोल्ने घरी बन्द गर्ने गरिरहेकी थिइन्‌ । ‘तपाईंकी काकीले मसँग चिनजान गर्न चाहनुहुन्न । मलाई किन कुरा लुकाउनुहुन्छ ? तपाईं डराउनुपर्दैन। मैले यसबारेमा कत्ति पनि चिन्ता मानेकी छैन !’ मुसुक्क हाँस्दै डेइजीले भनिन्‌ ।

विन्टरबोर्नलाई लाग्यो, उनको स्वर डरले काँपिरहेको छ। यसले विन्टरबोर्नको भावनामा ठेस पुर्याइरहेको थियो । आघात पारिरहेको थियो र चित्त समेत दुखाइरहेको थियो । ‘मेरी प्यारी मैयाँ, खराब स्वास्थ्यको कारणले गर्दा उहाँको कसैसँग पनि चिनजान छैन,’ गम्भीर हुँदै विन्टरबोर्नले भने।

यतिबेला यी युवती हाँसिरहेकी थिइन्‌ । उनी उठेर हाँस्दै केही पाइला अगाडि हिँड्न थालिन्‌ । ‘तपाईं डराउनु पर्दैन । किन तपाइँकी काकीले मसँग, चिनजान गर्न चाहनुहुन्न ?’ उनले कुरा दोहोर्याउँदै भनिन्‌ र मौन भइन्‌ । उनी यति बेला बगैंचाको किनारमा थिइन्‌ । त्यहाँ ठुलो पर्खाल लगाइएको थियो । त्यसको अगाडि ताल थियो। तालमा ताराहरूले मधुरो प्रकाश छाडिरहेका थिए। तालको दृश्य अस्पष्ट देखिइरहेको थियो। तालपारिका पर्वतहरूका आकृतिमात्र देखिइरहेका थिए । डेइजी यी रहस्यमय भूआकृतिको दृश्य देखेर थोरै मुस्कुराइन्‌ । ‘अहो ! कस्तो अचम्म ! कति कठोर नारी ! उहाँ अरूलाई अस्वीकार गर्ने एकमात्र नारी हुनुहुन्छ होला !’ उनले भनिन्‌ । विन्टरबोर्नलाई लाग्यो, डेइजीलाई गम्भीररूपमा आघात परिरहेको छ। विन्टरबोर्नको मन खिन्न भएको थियो। उनी एकछिन शोचमग्न हुन पुगेका थिए । उनले ठाने, मैले डेइजीको मनमा परेको चोटलाई हटाउने प्रयास गर्नुपर्दछ र सान्त्वना दिई उनको मन हलुङ्गो बनाउनुपर्दछ । उनले मनमनै आनन्ददायी दृश्यको कल्पना गरे, डेइजी मबाट सान्त्वना पाउनको लागि मेरो नजिक आइरहेकी छिन्‌। उनले एकछिन सोचे। उनलाई लाग्यो, मैले डेइजीलाई प्राप्त गर्नको लागि काकीलाई त्याग्नुपर्दछ । मैले डेइजीसँग काकीको आलोचना गर्नुपर्दछ । काकी घमण्डी र कडा स्वभावकी भएको स्वीकार गर्नुपर्दछ अनि यस्ती काकीको कुरामा चित्त दुखाउन आवश्यक छैन भनी डेइजीलाई भन्नु समेत पर्दछ । विन्टरबोर्नको यो सोचाइमा उनी डेइजीप्रिय हुनको लागि आफ्नो काकीलाई समेत पाप चिताइरहेको आभास पाइन्थ्यो तर कस्तो अचम्म ! डेइजी त त्यहाँबाट हिँड्न पो थालिन्‌ । उनले आफ्नो गम्भीर प्रतिज्ञा डेइजीलाई भन्न नै पाएका थिएनन्‌ । डेइजीले एक्कासि भनिन्‌, ‘मेरी आमा हामी बसेको ठाउँतिर आउँदै हुनुहुन्छ । मलाई लाग्दछ, उहाँले यतिबेलासम्म पानि भाइलाई फकाएर सुताउन सक्नुभएको छैन होला।’ अँध्यारोमा आलि पर एउटी नारीको अस्पष्ट आकृति देखिएको थियो । उनी बिस्तारै हिचकिचाहट मान्दै अगाडि बढिरहेकी थिइन्‌ अनि अचानक रोकिइन्‌ पनि ।

‘उहाँ नै तपाइँकी आमा हुनुहन्छ ? तपाईं विश्वस्त त हुनुहन्छ ? यस्तो घना अँध्यारोमा पनि तपाईँले उहाँलाई चिन्न सक्नुहुन्छ र ?’ विन्टरबोर्नले सोधे।

‘उहाँ मेरी आफ्नै आमा हुनुहुन्छ। म राग्नोसँग अनुमान गर्न सक्छु । उहाँले मेरो दोसल्ला पनि ओढ्नु भएको छ। उहाँले सधैँ मेरा लुगा लगाउनुहुन्छ,’ डेइजीले हाँस्दै भनिन्‌ ।

ती नारीले आफू तिनीहरूको अगाडि तर्फ गइरहेको चाल पाएपछि हराउँदै तिनीहरूको अगाडि देखा पर्नुभन्दा पहिले नै फेरि पनि रोकिइन्‌ । ‘मलाई तपाईंकी आमाले तपाईंलाई देख्नुहुन्छ कि भनी ज्यादै डर लागिरहेछ । सायद देखिसक्नु त भएन ?’ शोचमग्न हुँदै उनले सोधे। ‘उहाँले आफूलाई तपाईंको दोसल्ला ओढेकोमा दोषी महसुस गर्नुहुन्छ होला,’ ठटयौली पारामा उनले भने ।

‘ए । यो एउटा पुरानो राम्रो खालको दोसल्ला हो। मैले नै उहाँलाई ओढ्न आग्रह गरेकी थिएँ । तपाईंलाई उहाँले देखिसक्नु भएजस्तो छ। उहाँ यहाँ आउनुहुन्न,’ युवतीले शान्त हुँदै जवाफ दिइन्‌ ।

“ए, त्यसो भए म तपाईंसँग बिदा लिनु नै राम्रो मान्नुहुन्न कि भनी मलाई डर लागिरहेछ, , विन्टरबोर्नले भने।

डेइजिले उनलाई गम्भीर हुँदै हेरिनन् र ‘ यो ममैले विचार गर्ने कुरा होइन । तपाई वा आमाले हो । थाहा छैन , तपाईंहरूमध्ये कसले हो ? तर आमाले मेरा कुनै पनि युवा साथीलाई मन पराउनुहुन्न । उहाँ काँतर स्वभावकी हुनुहुन्छ । उहाँले मेरा कुनै पनि युवा साथीको नाम सुन्नासाथ सबैँ गुनासो गर्नुहुन्छ तर मैले प्रायः जसो यिनीहरूको नाम उहाँलाई सुनाउने गर्दछु। मैले यिनीहरूको नाम उहाँलाई सुनाइन भने आफूलाई राम्रो स्वभावकी ठान्दिनँ,’ निराश हुँदै डेइजीले भीनन्‌।

तपाईंले मलाई आमासँग परिचय गराउनु हुन्न र ? यसको लागि तपाईँलाई मेरो नाम थाहा हुनै पर्दछ,’ विन्टरबोर्नले भने अनि उनले आफ्नो नाम डेइजीलाई बताएका थिए ।

‘ओहो ।, के भन्नुभएको ? मैले तपाईंलाई आमासँग परिचय गराउने ? अहँ, यस्तो काम मबाट हुन सक्दैन, डेइजीले हाँस्दै भनिन्‌ । तिनीहरू हिँड्दै जाँदा श्रीमती मिलरको नजिक पुगेका थिए। तिनीहरूलाई देखेर उनी बगैँचाको पर्खालतिर गइन्‌। उनले पर्खालमा अडेसा लागी तिनीहरूतर्फ पिठयूँ फर्काउँदै ध्यानमग्न भएर तालमा हेरिरहेकी थिइन्‌ । ‘ आमा !’ युवतीले ढुक्क हुँदै बोलाइन्‌ । आवाज सुन्नासाथ ती नारी डेइजीतर्फ फर्किइन्‌ । ‘उहाँ विन्टरबोर्न हुनुहुन्छ,’ डेइजीले भनिन्‌ । तिनले ती युवकलाई ज्यादै निष्कपट र राम्रो तरिकाले आफ्नो आमासँग परिचय गराएकी थिइन्‌ । श्रीमती कोस्टलोले भनेजस्तै श्रीमती मिलर सरल स्वभावकी नारी थिइन्‌ । विन्टरबोर्नलाई उनको सरल स्वभावमाथि आश्चर्य लाग्यो । उनीसँग अचम्मको उत्कृष्ट सुन्दरता भएको उनले चाल पाए।

उनी छोटो कदकी पातली र पहँली वर्णकी थिइन्‌ । उनका आँखा शङ्कालु खालका थिए। उनको चिटिक्क परेको सानो नाक थियो। उनको निधार ठुलो र चौडा थियो। उनको घुम्री परेको पातलो कपाल थियो। उनी आफ्नी छोरीका जस्तै एकदम सुहाउने कपडामा साजएकी थिइन्‌ । उनले कानमा ठुला हीराका रिङ्‌ पानि लगाएकी थिइन्‌ । विन्टरबोर्नले विचार गरे, तिनले उनलाई अभिवादन गरिनन्‌ । उनले विन्टरबोर्नलाई स्पष्ट आँखाले हेरेकी पनि थिइनन्‌ । डेइजीले नजिक गएर आफ्नी आमाको दोसल्ला तान्दै भनिन्‌, ‘आमा, तपाईंले उहाँको बारेमा के सोचिरहनु भएको छ त ?’ डेइजीले भनिन्‌ । उनले आमालाई यस्तो रूखो प्रश्न नगरेर नग्न अनुरोध गर्नुको पनि कुनै अर्थ थिएन ।

‘मलाई थाहा छैन,’ श्रीमती मिलरले भनिन्‌ र उनी पुनः तालतर्फ फर्किइन्‌।
“तपाईँले यो दोसल्ला मन पराउनुहुन्न होला,’ डेइजीले आश्चर्य मान्दै भनिन्‌।
‘अँ, मलाई मन परेको छ,’ उनकी आमाले हाँस्दै जवाफ दिइन्‌ ।
“तपाईँले -र्यान्डोल्फलाई सुताएर आउनु भएको हो ?’ युवतीले सोधिन्‌।

‘अहँ, मैले उसलाई सुताउन सकिनँ । ऊ होटलमा काम गर्ने केटासँग कुरा गर्दै बसिरहन चाहन्छ, सुत्ने त कुरै गर्दैन।’ श्रीमती मिलरले बिस्तारै भनिन्‌।

“अँ, मैले विन्टरबोर्नको बारेमा तपाईँसँग कुरा गरिरहेकी थिएँ,’ ती युवतीले कुरा अगाडि बढाइन्‌। यो कुरा ती युवकले सुने। उनलाई लाग्यो, डेइजीले धेरै प्रयत्न गरेर उनको नामको उच्चारण गरेकी थिइन्‌ ।

“ए, हो ! मलाई तपाईँको छोरासँग चिनजान गर्न पाउँदा खुसी लागेको छ, विन्टरबोर्नले भने ।

र्यान्डोल्फकी आमा मौन थिइन्‌। उनले ध्यानमग्न हुँदै तालतिर हेरिरहिन्‌ तर अन्त्यमा भनिन्‌, ‘हो, मैले बुझन सकेकी छैन, ऊ कसरी बाँचिरहेको छ।’

‘जे भए पनि, डोभरमा हुँदा ऊ राति यति अबेरसम्म गफ गरेर त बस्दैनथ्यो।’ डेइजीले भनिन्‌ ।

…………… क्रमशः