१. विषय प्रवेश
‘छन्द’ भनेको कविताको लय हो । सामान्यतः पद्य, छन्द वा लय भन्नु एउटै हो । यो बद्ध र मुक्त गरी मूलतः दुई प्रकारको हुन्छ । शास्त्रीय वार्णिक, मात्रिक, लोकछन्द र बहर (गजलको फारसी लय) आदि बद्ध छन्द हुन् भने गद्य कवितामा प्रयोग हुने आन्तरिक लय मुक्त छन्द हो । यति हुँदाहुँदै पनि परम्परागत रूपमा छन्द भन्नासाथ कविताको एउटै लयविधान वा शास्त्रीय पिङ्गल छन्दअन्तर्गतको वार्णिक छन्दलाई मात्र बुझ्ने प्रचलन छ । त्यसैले छन्दकविता भन्नासाथ वार्णिक छन्दका कवितालाई नै बुझ्ने गरिएको हो । जसका कारणले गर्दा छन्दलाई जटिलताको पर्यायवाची शब्दका रूपमा प्रयोग गर्ने प्रचलन बसेर आयो । हाम्रा गुरुहरू र अग्रजहरूबाट पनि छन्दकविता भन्नासाथ यो चानचुने कुरा होइन भनेर नयाँ पुस्तालाई तर्साउने काम भयो । छन्दमा कविता लेख्न त भानुभक्त, लेखनाथ, देवकोटा र घिमिरेहरू नै हुनुपर्छ भन्दै डर देखाउनाले नयाँ पुस्ताले छन्दकवितालाई पुरानो पुस्ताको सिर्जना र मिठो शैलीमा वाचन गर्ने कविताका रूपमा मात्र बुझ्यो । हामीले जानेकै कुरालाई छन्दको सूत्रमा राखेर अभ्यास गर्दै जाँदा हामी पनि सुन्दर छन्दकविता सिर्जना गर्न सक्छौँ भन्ने कुराको बोध नयाँ पुस्तालाई गराउनु जरुरी छ । यस लेखमा त्यही कुरालाई प्रमुख लक्ष्य बनाएर छन्दमा कविता लेख्न गाह्रो छैन भन्ने कुरालाई प्रयोगात्मक रूपमा सिद्ध गर्ने प्रयास गरिएको छ ।
२. छन्द के हो ?
‘छदि संवरणे’ धातुमा ‘इयसुन्’ प्रत्यय लागेर ‘छन्दस्’ शब्दको निर्माण हुन्छ र यसको अर्थ हुन्छ– ‘आकाशले जस्तै सबैतिर ढाक्नु’ । यस व्युत्पत्तिका आधारमा ‘छन्दस्’ शब्द हलन्त हो । ‘छदि आह्लादने’ धातुमा ‘अच्’ प्रत्यय लागेर ‘छन्द’ शब्दको निर्माण हुने अर्को मान्यता पनि पाइन्छ । यस व्युत्पत्तिका आधारमा चाहिँ ‘छन्द’ शब्द अजन्त हो । यसको अर्थ हो, ‘आनन्द दिनु’ । व्यावहारिक रूपमा हेर्दा यसका लागि पहिलोभन्दा दोस्रो अर्थ नै उपयुक्त देखिन्छ । बालकदेखि वृद्धसम्मलाई लयका तरङ्गमा लट्ठ पार्ने छन्दको शक्तिलाई हेर्दा र यसको साङ्गीतिक झङ्कारले पशुप्राणीदेखि चराचुरुङ्गीसम्मलाई पनि लोभ्याएको देख्दा चाहिँ यसको दोस्रो अर्थ नै शक्तिशाली भए जस्तो लाग्छ । चाहे जे भए पनि संस्कृत साहित्य परम्परामा चाहिँ यी दुवै अर्थको प्रयोग बराबर जस्तो देखिन्छ । नेपाली लोकजीवनमा पनि ‘छन्द न बन्दको कुरा’ वा ‘छन्द न बन्दको मान्छे’ भन्ने चलन छ । यसले नियमसङ्गत नभएको, लय नमिलेको वा गति, यति एवं सन्दर्भसँग नजोडिएको भन्ने अर्थ दिइरहेको छ । यसका आधारमा हेर्दा पनि छन्द शब्दले अनुशासन र आनन्द दुवै कुराको अपेक्षा गरेको पाइन्छ ।
शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी छओटा वेदका अङ्ग मानिन्छन् । वेदमा गायत्री, त्रिष्टुप्, जगति, पङ्क्ति, अनुष्टुप्, बृहति, उष्णिक् आदि छन्दको चर्चा पाइन्छ । वेदलाई अलौकिक सिर्जना मान्नेहरूले छन्दको उत्पत्तिलाई पनि अलौकिकतासँग जोडेका छन् । छन्दको प्रत्यक्ष सम्बन्ध सङ्गीतसँग जोडिएको छ । सङ्गीतको उत्पत्ति सामवेदबाट भएको हो । त्यसैले सङ्गीत र छन्द समकालीन हुन् र यी दुईको उद्गमस्थल वेद नै हो भन्न सकिन्छ । यस विषयमा अनेकौँ किंवदन्तीहरू पाइन्छन् तर ती किंवदन्तीहरूलाई चिर्दै छन्दलाई लौकिक युगसम्म ल्याइपु¥याउने प्रथम आचार्य पिङ्गल हुन् र उनको ‘पिङ्गलच्छन्दसूत्र’ शास्त्रीय छन्दको आधिकारिक लक्षणग्रन्थ मानिन्छ । आचार्य पिङ्गलले एक अक्षरदेखि छब्बिस अक्षरसम्मका हरेक शब्द र वाक्यलाई कुनै न कुनै छन्दभित्र समेटिने गरी प्रस्तारविधि निर्माण गरिदिएका छन् । जसका कारण छन्दका भेद, उपभेद आदि हुँदै यसको सङ्ख्या सय, हजार, लाखभन्दा माथि गएर करोडौँ हुन पुगेको छ ।
३. नेपाली कवितामा छन्दको प्रयोग
कवि सुवानन्द दासदेखि आजसम्म लेखिएका सम्पूर्ण कविता, गीत र गजलहरू वार्णिक, मात्रिक, लोक, मुक्त र बहर गरी जम्मा पाँच प्रकारका छन्दमा समेटिएका छन् । वि.सं. १८२६ मा सुवानन्द दासद्वारा लिखित ‘पृथ्वीनारायण’ कवितालाई नेपाली कविताको पहिलो स्वरूप मानिन्छ । उक्त कवितामा लोकलयको प्रयोग भएको छ । १८३९ तिर लेखिएको शक्तिवल्लभ अज्र्यालको ‘तनहुँ भकुन्डो’ कविता नै नेपालीमा लेखिएको पहिलो वार्णिक छन्दको कविता हो । त्यो कविता ‘स्वागता छन्द’मा लेखिएको छ । यसका आधारमा हेर्दा नेपाली छन्दकविताले २४० वर्षको यात्रा पूरा गर्न लागेको देखिन्छ ।
प्रस्तुत अवधिलाई पाँच चरणमा राखेर अध्ययन गर्न सकिन्छ । शक्तिवल्लभ अर्यालदेखि भानुभक्त आचार्यभन्दा अगाडिको समयलाई ‘प्रवर्तन काल’, भानुभक्तको आगमनदेखि लेखनाथभन्दा अगाडिको समयलाई ‘विकास काल’, लेखनाथदेखि देवकोटाको अवसानसम्मको समयलाई ‘उत्कर्ष काल’, मोहन कोइरालाको आगमनदेखि २०५० सम्मको समयलाई ‘सङ्क्रमण काल’ र २०५० को दशकदेखि हालसम्मको समयलाई ‘पुनर्जागरण काल’ भनिन्छ । यसरी थालनीदेखि हालसम्म आइपुग्दा नेपाली कवितामा झन्डै चार सयओटा वार्णिक छन्दको प्रयोग भएको पाइन्छ ।
४. छन्दकविताका लागि नजानी नहुने कुरा
मुक्त छन्दमा कविता लेख्दा अरूले भाषा सम्पादन गरिदिन मिल्छ तर छन्दकविताका लागि वर्णविन्यासको ज्ञान हुनै पर्छ । त्यसमा पनि ह्रस्वदीर्घको नियम बुझ्नु अनिवार्य छ । छन्दको भाषामा ह्रस्वलाई लघु र दीर्घलाई गुरु भनिन्छ । सामान्यतः अ, इ, उ र ऋ स्वर वर्ण र तिनमा जोडिएका सबै व्यञ्जन वर्णहरू ह्रस्व हुन् भने आ, ई, ऊ, ए, ऐ, ओ, औ, अं, अः स्वर वर्ण र तिनमा जोडिएका सबै व्यञ्जन वर्णहरू दीर्घ हुन् । यसका अतिरिक्त पछिल्लो आधा अक्षरलाई अघिल्लो वर्णले तान्यो भने र पाउको अन्त्यमा छ भने ह्रस्व वर्ण पनि दीर्घ हुने थप नियम छन्दशास्त्रमा पाइन्छ । छन्दमा (।) ले ह्रस्व वा लघुलाई र (ऽ) ले दीर्घ वा गुरुलाई सङ्केत गर्ने परम्परा छ । यिनै लघु र गुरुका आधारमा छन्दमा आठओटा गणहरू निर्माण गरिन्छन् । तिनै गणका आधारमा सम्पूर्ण छन्दहरू बन्दछन् । आचार्य पिङ्गलले गण–निर्धारणलाई सहज बनाउन एउटा सूत्रको निर्माण गरेका छन् । त्यो सूत्र हो– यमाताराजभानसलगा ।
यस सूत्रका हरेक तीन तीन अक्षरबाट एउटा गण निर्धारण हुन्छ । जस्तैः यमाता (।ऽऽ) ‘य’ गण = ‘हिमाली’, मातारा (ऽऽऽ) ‘म’ गण = ‘नेपाली’, ताराज (ऽऽ।) ‘त’ गण = ‘नेपाल’, राजभा (ऽ।ऽ) ‘र’ गण = ‘भावना’, जभान (।ऽ।) ‘ज’ गण = ‘असार’, भानस (ऽ।।) ‘भ’ गण = ‘सागर’, नसल (।।।) ‘न’ गण = ‘कमल’, सलगा (।।ऽ) ‘स’ गण = ‘कमला’ गरी आठओटा गण र लघु (।) = ‘म’ र गुरु (ऽ) = ‘यो’ निर्माण हुन्छन् । यिनै गणबाट सबै वार्णिक छन्दहरू निर्माण हुने गर्दछन् ।
५. छन्दमा कविता कसरी लेख्ने ?
छन्दमा कविता लेख्न थाल्दा सबैभन्दा पहिले कुनै एउटा छन्द चयन गर्नुपर्छ । हामीले गणनिर्धारण गर्न सिक्दा सबैभन्दा पहिले यमाताबाट ‘य’ गण सिकेका हुन्छौँ । सुरुमा त्यही ‘य’ गणका प्रशस्त शब्दहरूमा खेल्नुपर्छ । एउटा हरफमा चारओटा ‘य’ गण राखेर शब्दहरू सङ्कलन गर्न थाल्नुपर्छ । चारओटा ‘य’ गण हुनासाथ त्यो ‘भुजङ्गप्रयात छन्द’ बनिहाल्छ । भुजङ्गप्रयात छन्दमा कविता रचना गर्दा सुरु सुरुमा तीनओटा चरण अपनाउन सकिन्छ । जस्तैः
पहिलो चरणः शब्दछनोट— यस चरणमा अर्थमा ध्यान नदिईकन ‘य’ गणका कम्तीमा १६ ओटा शब्दहरूको छनोट गर्नुपर्छ । जस्तैः
य (।ऽऽ) य (।ऽऽ) य (।ऽऽ) य (।ऽऽ)
बहाना / बिरालो / फसायो / मलाई
सराबी / बिहानी / हजारौँ / बितायो
नशामा / पहाडी / निराशा / सुनौलो
सुनायो / जवानी / अनौठो / कहानी ।
यहाँ ‘य’ गणका १६ ओटा शब्द छन् । यिनलाई लयमा पढ्दा त्यहाँ मिठो लय निर्माण हुन्छ तर तिनमा कुनै पनि प्रकारको अर्थको तालमेल पाइँदैन । अब यसलाई दोस्रो चरणमा गएर अर्थको तालमेल मिलाउनुपर्छ ।
दोस्रो चरण: अर्थको तालमेल— यस चरणमा ‘य’ गणका कम्तीमा १६ ओटा शब्दहरूलाई अर्थ मिल्ने गरी राख्नुपर्छ । जस्तैः
बहाना / बनाई / मलाई / फसायो
हजारौँ / बिहानी / निराशा / सुनायो
सराबी / नशामा / कहानी / छ नौलो
नटेरी / बितायो / जवानी / सुनौलो ।
यत्तिको रचनालाई हामीले छन्दकविता नै मान्ने गरेका छौँ तर यो अझै पनि कविता बनेको छैन । यहाँ ‘य’ गणका १६ ओटा शब्द छन् र तिनमा अर्थको तालमेल पनि मिलेको छ । यिनलाई लयमा पढ्दा त्यहाँ मिठो लय निर्माण हुन्छ तर तिनमा कुनै पनि प्रकारको प्रभावकारी भावविधान पाइँदैन । अब यसलाई तेस्रो चरणमा गएर प्रभावकारी भाव निर्माण गर्नुपर्छ ।
तेस्रो चरण: प्रभावकारी भाव निर्माण— यस चरणमा चारओटा ‘य’ गण मिल्ने गरी शब्द र अर्थको तालमेल मिलाउँदै विभिन्न विम्ब, प्रतीक र अलङ्कारका माध्यमबाट शक्तिशाली भाव निर्माण गर्नुपर्छ । जस्तैः
सुनौलो उषामा निशा देख्छ मान्छे
निराशा भरेको कथा लेख्छ मान्छे
म आशा जलाई बनौँ दीप भन्छु
अँध्यारो हटाई नयाँ सूर्य बन्छु ।
प्रस्तुत चार हरफमध्येमा हरेक हरफमा चारओटा ‘य’ गण पनि मिलेका छन्, तिनमा अर्थको तालमेल पनि छ र शक्तिशाली भाव पनि सिर्जना भएको छ । यहाँ उषा, निशा, आशाको दीप, अँध्यारो हटाउने नयाँ सूर्य आदि जस्ता विम्बहरूको प्रयोग गरिएको छ । भुजङ्गप्रयात छन्दमा सामान्यतः चारओटा ‘य’ गण हुनुपर्छ । एक हरफमा १२ अक्षर हुनुपर्छ र ६ अक्षरमा विश्राम हुनुपर्छ । माथिका चार हरफमा यी सबै कुरा मिलेका छन् । यसरी नै निरन्तर अभ्यास गर्दै जाने हो भने यस छन्दमा सुन्दर सूक्तिहरू निर्माण गर्न सकिन्छ ।
यसरी सुरुमा एउटै गणबाट बनेका छन्दहरूमा अभ्यास गर्नुपर्छ अनि बिस्तारै विभिन्न गणहरू मिसिएर बन्ने लामा छन्दहरूमा पनि कविता लेख्न सकिन्छ । नेपाली कविता परम्परामा सबैभन्दा लोकप्रिय छन्द ‘शार्दूलविक्रीडित’ हो । यो छन्द नेपाली लोकछन्द जत्तिकै बनेको छ । छन्दमा कविता लेख्ने भन्नासाथ प्रायःको बुझाइ शार्दूलविक्रीडित छन्द नै हुने गर्दछ । यस छन्दमा कविता लेख्दा सुरुमा ‘मसजसतत र गुरु’ गरी १९ अक्षरको संरचना मिलाउनुपर्छ । यसको १२ अक्षरमा विश्राम मिल्ने गरीका शब्दहरूको छनोट गर्नुपर्छ । जस्तैः
म (ऽऽऽ) स (।।ऽ) ज (।ऽ।) स (।।ऽ) त (ऽऽ।) त (ऽऽ।) गुरु (ऽ)
नेपाली / छहरा / हजार / पहरा / आकाश / नेपाल / हो
गोर्खाली / कविता / हरेक / रमिता / सौन्दर्य / माधुर्य / हो
हामीले / अहिले / बनेर / हरियो / विश्वास / यो देश / को
आशाले / मनमा / छरेर / ममता / ब्रह्माण्ड / आधार / हो ।
यी चार हरफमा गणअनुसारका शब्दहरू राखिएका छन् । कतै पनि छन्दभङ्ग भएको छैन । १९ अक्षर पनि छन् र १२ अक्षरमा विश्राम पनि मिलेको छ तर यो कविता होइन । यो छन्द हो, कविता होइन । यसलाई कविता बनाउनका लागि त्यसमा विभिन्न विम्ब, प्रतीक र अलङ्कारहरू राखेर शक्तिशाली भाव निर्माण गर्नुपर्छ । जस्तैः
नेपाली पहरा हजार छहरा बोकेर हाँस्छन् यहाँ
कोसीका जलमा अपार कविता आएर बाँच्छन् जहाँ
माटो होस् अथवा अदम्य मुटु होस् एकै छ नेपालमा
गोर्खाली महिमा बनेर गरिमा बाँच्ने छ संसारमा ।
यी चार हफरमा पनि माथिकै शब्दहरू छन् तर यहाँ देशभक्तिको शक्तिशाली भाव निर्माण गरिएको छ । पहरा हाँस्ने, कोसीका जलमा कविता बाँच्ने, माटो र मुटु एउटै हुने र गोर्खाली महिमा विश्वको गरिमा बनेर बाँच्ने सन्दर्भमा देशभक्तिको सशक्त भावविधान भएको छ । यसरी निरन्तर अभ्यास गर्दै गएपछि सिर्जनाका लागि दुई वा तीन चरण पूरा गर्नु पनि पर्दैन, गण राखेर अभ्यास पनि गर्नु पर्दैन, स्वतःस्फूर्त रूपमा भावअनुकूल शब्दहरू आउन थालिहाल्छन् ।
६. छन्द मिल्नासाथ कविता किन हुँदैन ?
सामान्यतः छन्दको नियमभित्र समेटिएको भाषिक अभिव्यक्तिलाई छन्दकविता भन्ने गरिन्छ तर छन्दमा र कवितामा निकै ठुलो भिन्नता देखिन्छ । छन्द बाह्य पक्ष हो भने कवित्व आन्तरिक पक्ष हो । छन्दको साँचोमा शब्दहरू भर्दैमा कविता निर्माण हुँदैन । यसका बाह्य र आन्तरिक दुवै पक्ष सबल हुनुपर्छ । छन्दकवितामा अभिव्यक्ति वा भाषिक शुद्धताको प्रयोग र गति–यतिको भूमिका यसका बाह्य पक्ष हुन् भने कवित्वको निर्माण वा भावविधान आन्तरिक पक्ष हुन् । यी सबै कुरा मिलेपछि मात्र छन्द, कविता बन्छ, नत्र छन्द, छन्द मात्र रहन्छ । यसका लागि निम्नलिखित कुरामा ध्यान जानु आवश्यक छ ।
(क) शुद्ध लिखित भाषाको प्रयोग अनिवार्य
नेपाली छन्दकविहरूलाई जथाभावी भाषाको प्रयोग गरेको आरोप लाग्ने गरेको छ । भानुभक्तले ‘एक्दिन् नारद सत्यलोक् पुगिगया लोक्को गरूँ हित् भनी’ लेख्दा एउटा हरफमा पाँच ठाउँमा खुट्टा काटिदिएकाले अहिलेका कविहरूले पनि त्यसैको अनुकरण गरेको पाइन्छ । साथै ‘अपि मास मसं कुर्यात् छन्दोभङ्गं नकारयेत्’ (बरु ‘मास’ शब्दलाई ‘मस’ बनाइयोस् तर छन्दोभङ्ग नगरियोस्) भन्ने संस्कृतको उक्तिलाई आदर्श मानेर मनलागी वर्णविन्यासको प्रयोग गर्नाले र शब्दलाई जथाभावी भाँचकुँच वा तोडफोड गरेर प्रस्तुत गरिदिनाले छन्दकविहरूले विभिन्न आरोपको सामना गर्नुपरेको हो । विगतदेखि वर्तमानसम्मका सबैखाले छन्दकविताहरूलाई हेर्ने हो भने छन्द मिलाउनका लागि ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व पार्ने प्रचलत छ । यो छन्दकविताको एउटा समस्या हो । यसका साथै औ, लौ, नै, नि, विषे, महाँ, जहाँ, कसोरी, जनम, गरने, राखन, कस्को, तिन्को, गृहै, ह्रस्वै, वन्मा, सहर्, झनझट जस्ता अशुद्ध प्रयोगहरू त छन्दकविताका लागि अक्षम्य दोष नै हुन् । जस्तै:
गृहैमा राम्ले गै नविन अरती लौ गरिदिए
जिवन् औ खूसीको सुखद सपना नै छरिदिए
कसोरी पो तीमी अब दिपसमानै घरमहाँ
बलेरै बस्सौली जनम नि क्षणैको सब जहाँ ।
यो श्लोक दोषपूर्ण छन्दकविता यस्तो हुन्छ भन्ने नमुना प्रस्तुत गर्न नियोजित रूपमा लेखिएको हो । यसमा राम्, गै, नविन, अरती, जिवन्, खूसी, कसोरी, तीमी, दिप, महाँ, बस्सौली, जनम आदि अशुद्ध शब्दको प्रयोग गरिएको छ भने गृहलाई गृहै, समानलाई समानै, बलेरलाई बलेरै गरी जबर्जस्ती ऐकार थपिएको छ । साथै छन्दकविताबाहेक कतै पनि प्रयोगमा नआउने औ, महाँ जस्ता पदहरूको प्रयोग गरिएको छ र पो, नि जस्ता निपातहरूको अस्वाभाविक प्रयोग पनि गरिएको छ । माथिको श्लोक शिखरिणी छन्दमा लेख्न खोजिएको छ । यस्तै शार्दूलविक्रीडित छन्दको एउटा उदाहरण हेरौँ—
जीवन्को फुल यो फुलोस भुमिमा हीमाल हँसाउँदै
हज्जारौँ दिपझैँ कयौँ जनमको माला त गँसाउँदै ।
प्रस्तुत दुई हरफमा जीवन्, फुल, फुलोस, भुमि, हीमाल, हँसाउँदै, हज्जारौँ, दिप, कयौँ, जनम र गँसाउँदै गरी एघार ठाउँमा भाषिक गल्ती पाइन्छ । यसरी जबर्जस्ती छन्द मिलाउने प्रचलनले एकातिर नेपाली भाषाको मानक रूप बिगारेको छ भने अर्कातिर छन्दकविहरू र छन्दकविता दुवैको बद्नाम गरेको छ । यस कुरामा छन्दकविहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
(ख) विश्राम मिल्नै पर्ने बाध्यता
छन्दकविता वाचन गर्दा रोकिनुपर्ने ठाउँलाई विश्राम भनिन्छ । यसैलाई यति पनि भन्ने गरिन्छ । उच्चारणगत गमन वा निरन्तरतालाई ‘गति’ भनिन्छ भने विश्रामलाई ‘यति’ भनिन्छ । छन्दकवितामा विश्रामको महत्त्वपूर्ण भूमिका हुन्छ । कुनै पनि छन्दमा लेखिएका श्लोकहरूलाई पढ्दा बिच बिचमा छोटो अडान वा रोकाइ हुन्छ भने अन्त्यमा लामो विश्राम हुन्छ । छन्दकवितामा प्रयुक्त शब्दहरूमा विश्रामको समस्या देखियो भने त्यसलाई ‘यतिभङ्ग दोष’ भनिन्छ । कस्तो अवस्थामा विश्राम दोष हुन्छ र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने जानकारीका लागि तलका दुइटा उदाहरणहरूलाई हेर्न सकिन्छ—
विश्राम नमिल्दा
आमाको का/ख पनि खुसिया/लीबिनै रित्तिने भो
बाबाको आँ/सु पनि हरिया/ली नभै सिद्धिने भो ।
यी मन्दाक्रान्ता छन्दका हरफ हुन् । यस छन्दमा ४ र १० अक्षरमा विश्राम हुनुपर्छ । यस उदाहरणमा अघिल्ला चार अक्षरमा ‘आमाको का’ र ‘बाबाको आँ’ परेका छन् भने पछिल्ला दश अक्षरमा ‘खुसिया’ र ‘हरिया’ परेका छन् । यसरी शब्दलाई टुक्रा पारी निरर्थक बनाएर विश्राम गर्नाले शब्दको सामथ्र्य समाप्त हुन्छ । यसलाई यसरी प्रस्तुत गर्दा त्यो दोष रहँदैन—
यी आमाको रहर नपुगी काख नै रित्तिने भो
ती बाबाको पनि बगरमा आँसु नै सिद्धिने भो ।
हरेक छन्दमा विश्रामको आफ्नो नियम हुन्छ त्यस नियमको पालना छन्दकविताका लागि अनिवार्य मानिन्छ ।
(ग) भाव वा कवित्वको सिर्जना
छन्दकवितामा भावको विशिष्ट भूमिका हुने गर्छ । शब्द एवं लय कविताको शरीर हो भने भाव वा कवित्व आत्मा हो । त्यसैले यी दुवै कविताका लागि अनिवार्य तत्त्व हुन् । लयको सम्बन्ध शब्दविन्याससँग हुन्छ, भाषिक प्रयोग र गतियतिको सम्बन्ध अभिव्यक्तिकलासँग हुन्छ भने भावको प्रत्यक्ष सम्बन्ध विषयगत संवेदनासँग जोडिन पुग्छ । छन्दकविताको पहिलो आकर्षण नै त्यसको गुञ्जनमा रहने हुनाले यसमा भाव गौण रहेजस्तो लाग्छ तर लयले कानलाई सन्तुष्टि दिन सक्छ, आत्मालाई होइन । कविता सुन्दा वा पढ्दा मस्तिष्कमा उत्पन्न हुने एक किसिमको विद्युतीय तरङ्गको कारण भाव नै हो । यो धेरै समय पछिसम्म पनि मनको कुनै कुनामा स्थायी रूपमा रहिरहन्छ । लय कविताको चिनारी हो तर गणका साँचामा भरिएका शब्दहरूले मात्र त्यसलाई जीवन्त बनाउन सक्दैनन् । सामान्य अभिव्यक्ति र भावसहितको कवितात्मक अभिव्यक्तिको अन्तरलाई बुझ्नका लागि एउटै सन्दर्भमा लेखिएका दुईओटा पद्यलाई एकै ठाउँमा राखेर हेर्दा थाहा हुन्छ । जस्तै—
अनुष्टुप् छन्दको सामान्य अभिव्यक्ति
देखेँ हिमालको टुप्पो सेतो सफा र सुन्दर
निकै अग्लो छ हेर्दामा भन्छन् सबै हिमालय ।
अनुष्टुप् छन्दको कवितात्मक अभिव्यक्ति
हिमालको लिई माथ म बन्छु उच्च सुन्दर
विश्वले भन्छ नेपाली शिर हो वा हिमालय !
प्रस्तुत पहिलो पद्यमा मैले हिमालको सेतो, सफा र सुन्दर टुप्पो देखेँ । हेर्दा यो निकै अग्लो छ र यसलाई सबैले हिमालय भन्छन् । यस प्रकारको बाहिरी आँखाले हेरेर बोलेको सोझो वर्णन मात्र यहाँ पाइन्छ तर दोस्रो पद्यमा प्रकृतिलाई मानवभित्र प्रवेश गराइएको छ । म हिमालको शिर लिएर उच्च र सुन्दर बन्छु अनि त्यो नेपाली शिर हो कि हिमालय हो ? भनेर विश्व झुक्किने छ । यस भनाइमा बाहिरी आँखाभन्दा हृदयको आँखा सक्रिय छ र बाहिरी अभिव्यक्तिभन्दा संवेगात्मक अभिव्यक्ति छ त्यसैले यहाँ कवित्व पनि छ । यसको प्रस्तुति आलङ्कारिक र व्यञ्जनात्मक छ । यसरी नै अर्को उदाहरण हेरौँ—
इन्द्रवज्रा छन्दको सामान्य अभिव्यक्ति
खाली छ धर्ती न त रोप्छ बाली
मान्दैन अर्ती कति गर्नु गाली
बाबा म एक्लो छु सकिन्न काम
सन्तान अल्छी शिव राम राम !
इन्द्रवज्रा छन्दको कवितात्मक अभिव्यक्ति
खाली गरा छन् श्रमशून्य लाग्छन्
सन्तान मेरा किन दूर भाग्छन्
निभ्दो दियोले कति छर्छ ज्योति ?
डुब्दै नडुब्दा किन मिल्छ मोती ?
प्रस्तुत पहिलो पद्यमा एक जना बुढा मान्छेको गुनासो छ । धर्ती खाली छ, कसैले बाली रोपेनन्, अर्ती कसैले मानेनन्, म बुढो एक्लो छु, सन्तान अल्छी छन्, हे शिवराम के गर्ने होला ! यस्तो सोझो गुनासो कविता हुन सक्दैन तर दोस्रो पद्यमा श्रमशून्य गरा, दूर भाग्ने सन्तान, निभ्दो दियो, नडुबी मोती खोज्ने प्रवृत्ति आदि आलङ्कारिक भनाइभित्र कति शक्तिशाली भाव समेटिएको छ । यहाँको ‘निभ्दो दियो’ पदावलीभित्र लुकैको ज्येष्ठ नागरिकको पीडाको संवेगात्मक व्याख्या जति पनि गर्न सकिन्छ । छन्दकवितामा यसरी सशक्त भाव निर्माण गर्न सकिन्छ ।
७. निष्कर्ष
उल्लिखित साक्ष्यहरूका आधारमा हेर्दा छन्दमा कविता लेख्न त्यत्ति गाह्रो छ जस्तो लाग्दैन तर यसका लागि प्रशस्त साधना, समर्पण र अभ्यासचाहिँ आवश्यक हुन्छ । सुरु सुरुमा यो भवसागर जस्तै लाग्छ तर अभ्यास गर्दै गएपछि यो पनि सामान्य बन्ने गर्दछ । छन्दमा र कवितामा रहेको अन्तरसम्बन्धलाई बुझ्न नसक्नेहरूले कोरा छन्दलाई मात्र पनि कविता भनिदिन सक्छन् र लयात्मक वर्णन भएपछि कविता लेखेको अनुभूति गर्न थाल्छन् तर छन्द बाहिरी तत्त्व हो भने कवित्व आन्तरिक शक्ति हो । अर्थात् छन्दले अपेक्षा गरेको गणका सूत्रमा शुद्ध शब्दहरू भर्दैमा, गति–यति मिलाएर राख्दैमा अथवा सुन्दर अन्त्यानुप्रासको संयोजन गर्दैमा छन्दकविता बन्दैन । त्यसमा बलियो अन्तर्दुष्टि हुनुपर्छ, संवेगको पोखाइ हुनुपर्छ, जीवन र जगत्सम्बन्धी साधारणीकृत दृष्टिकोण हुनुपर्छ र पाठकको मनमा लामो समयसम्म अनौठा तरङ्ग सिर्जना गर्न सक्ने विद्युतीय भावझङ्कार हुनुपर्छ । यति हुन सक्यो भने छन्दकविहरू कोरा भावुकतामा रमाउँछन्, छन्दमा युग बोल्न सक्दैन, समाज र जीवनको प्रतिविम्बन छन्दकविताले गर्न सक्दैन भन्ने आरोपबाट पनि बच्न सकिन्छ । छन्दकविता पनि युगको आवाज हो भन्ने कुराको स्थापना वर्तमानको आवश्यकता हो ।
क्रमशः अर्को हप्ता…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

