डि राम पाल्पाली

‘घरान’ शब्द र स्थानबाट ‘धरान’ नामाकरण हुन पुगेको पूर्वको धरान सहर हरेक दृष्टिकोणले समृद्ध र विकाशोन्मुख छ । प्राकृतिक, धार्मिक र गठिलो सामाजिक पृष्टभूमि अँगालेको यो शहरलाई आज शिक्षा, स्वास्थ्य, संगीत–नाट्य र साहित्यमा मजबूत छ भन्दा सही ठहर्छ । सबै क्षेत्रको समानुपातिक विकास र गतिमा विश्वास राख्ने यो शहर समुन्नत छ भन्दै जाँदा यो शहर एउटा क्षेत्रमा भने गतिलो उडान भर्न सकेको देखिँदैन । त्यो क्षेत्र हो, ललितकलाको क्षेत्र (चित्रकला, मूर्तिकला र अन्य शिल्पयुक्त कलाहरु) ।

तीर्थ निराैला

ललितकलामा धरानले सन्तुष्टको श्वास फेर्न नसक्नुमा यस क्षेत्रमा विद्यमान रहेका विविध समस्याहरू घटकको रुपमा रहेका छन् । पुरानो धरानसँग जोडिएर आएको र एकताका काठमाडौंलाई नै कलागतिविधिको सन्दर्भमा मात दिने हैसियत राख्ने धराने ललितकलाको क्षेत्र आज कछुवाको चालमा छ भन्दा अतिशयोक्ति नहोला । यसो भनिरहँदा धरानमा कलागतिविधिहरू हुँदै नभएका वा हुँदैनन् भने होइनन् । तर जति पनि भए र हुन्छन्, तिनीहरूले राजधानीलाई हाँक दिन सकिरहेका देखिँदैनन् । यसको एउटै कारण हो– प्रोत्साहन, अवसर र दामको कमी । प्रोत्साहन, अवसर र दाममा समृद्ध भएको काठमाडौंको कुनै पनि किसिमका कलागतिविधिहरुले प्रायः राष्ट्रिय महत्त्व पाउँछन् । तर धरान क्षेत्रमा भएका कला गतिविधिले राष्ट्रिय कला आवृत्तिमा खासै महत्त्व पाउँदैनन् । प्रचार र पहुँचका अभावमा झिनो साबित हुँदै गएको धराने कलाले हाल उचाई छुने सामर्थ्य राख्न नसक्नु हाम्रो पहिलो कमजोरी हो भने राजधानीमुखी कला सञ्जालको आँखाले हेर्ने हेपाहा दृष्टिकोण दोस्रो कमजोरी हो ।

अर्को पक्ष, राजधानीस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कला विकासको कार्यक्रमहरू प्रायः अन्यन्त्र गएको देखिन्छ । तर सम्भावना बोकेको धरान भने सम्बन्धित निकायको चासोभित्र परेको देखिँदैन । विगतका दिनमा धरान क्षेत्रबाटै उठेर नेपाल ललितकला प्रज्ञापतिष्ठानमा प्राज्ञपरिषदको सदस्य बन्न पुगेका प्राज्ञले समेत धराने कलाविकासको निम्ति गहकिलो भूमिका खेल्न नसकेको परिघट्ना टड्कारो देखिन्छ । हाम्रोमा प्रज्ञाप्रतिष्ठानका प्राज्ञपदाधिकारीहरू राजनैतिक भागबण्डाको आधारमा नियुक्त हुने चलन चल्दै आएकाले पनि यस्तो भएको हुन सक्छ । जे जस्तो भएता पनि राज्यले मोफसलबाट प्राज्ञ छनोट गरी केन्द्रमा ल्याउनुको अर्थ मोफसलको कलाविकास गर्न र गराउनको निम्ति नै हो, न कि छानी-छानी चार वर्षे जागीर र सरकारी सुविधा खुवाउनका लागि हो । ललितकला प्रज्ञाप्रतिष्ठानको विधानको मर्म र आदर्शले पनि समग्र क्षेत्र र जातिको कलासंस्कृतिको विकास तथा उत्थान गर्ने भनेको छ । विधानको आदर्श र उद्देश्यलाई तिलाञ्जली दिएर पाइएको सुनौलो मौका तथा अवसरलाई जागीर खाने थलोको रुपमा परिभाषित गर्न खोज्नु जुनसुकै नियुक्त प्राज्ञपदाधिकारीको अबौद्धिक र नादानी हुनेछ । यस्ता प्रवृत्ति वा सोचबाट जो कोही प्राज्ञपदाधिकारीहरु टाढा बस्नु नै उचित हुनेछ ।

फेरि धरानतिर फर्केर हेर्दा, धरानको कला गतिविधिको त्यो पुरानो इतिहासले धरानलाई गौरवान्वित बनाएको छ भन्ने कुरा पुराना धरानबासीहरु भन्ने गर्छन् । धरानको ललितकलाको संक्षिप्त इतिहास भन्ने हो भने, धरानमा वि. स. २०११ वा १२ सालदेखि भारतको जे. जे. स्कूल अफ आर्ट कलेजबाट कलामा डिप्लोमा पढेर आएका श्रीसुब्बाको धरान बसाईदेखि धरानमा ललितकलाको उठान भएको हो । कला गतिविधिको सन्दर्भमा धरानमा २०१४ सालदेखि नै कलाका गतिविधि सञ्चालन हुन थालेका हुन् । त्यसताका पूर्वाञ्चलमा मुकेश मल्ल, स्व. कर्ण मास्के, नरेन्द्र श्रेष्ठ, तोया गुरूङ, श्री सुब्बा, मानबहादुर श्रेष्ठ, उपेन्द्र पागल, देवकुमारी थापा, गोपाल कलाप्रेमी, गोपाल थापा, रणबहादुर थेगिम, भीम सुब्बा, शिशिर योञ्जन, मानबहादुर श्रेष्ठ, अशोक श्रेष्ठ, रमेश राई लगायत सक्रिय थिए । उनीहरूमध्ये केहीले धरानमा युवा कला केन्द्र भन्ने कला संस्था नै स्थापना गरेका थिए । जसले राजधानी लगायत भारतमा समेत धेरै कला कार्यक्रमहरू गरेको थियो । वि. स. २०३३ सालमा स्थापित सो कला संस्थाले त्यसताका राम्रो काम गर्दागर्दै केही वर्षपछि छिन्नभिन्नको अवस्थामा पुग्यो र धराने कला विकासले निश्चित गन्तव्य पाउन सकेन । खासमा अहिले पनि स्थानीय निकायको उदासिनता, असहयोगी मनस्थिति, जनचेतनाको कमी लगायत कलाकारको सुझबुझको कमी नै धराने कला विकास हुन नसक्नुको मूल कारण हो ।

यद्यपि धरान क्षेत्रमा प्रोत्साहन र सहानुभूतिको अभावका बाबजुद पनि धरानमा पुराना र नवपुस्ता कलाकारहरुः तीर्थ निरौला, मुकेश मल्ल, रमेश खनाल, स्वर्गीय योगेन्द्र सुब्बा, स्वर्गीय स्वयंप्रकाश श्रेष्ठ, हरिलाल उदास, महेन्द्र राई, प्रनोद दत्त, हेमन्त थापा, लेखबहादुर थापा, कमल मगर, देवल राई लगायत थुपै कलाकारहरुले विविध परिस्थिति र समस्यालाई चिर्दै कलासिर्जना गर्ने र प्रदर्शनी गर्ने काम गरिरहेका छन् । यी कलाकारहरुमध्ये कतिपय कलाकारहरु राजधानीमा रहेर क्रियाशील छन् भने कतिपयहरु स्थानीय रुपमा क्रियाशील रहिआएका छन् ।

हरिलाल उदास

प्रमोद दत्त

रमेश खनाल

डि राम पाल्पाली

तीर्थ निरौला

तीर्थ निरौला